स्वर्गीय पत्रकार बानियाको परिवारलाई नेजाको सहयोग

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले स्व. पत्रकार बलराम बानियाको परिवारको सहयोगार्थ संकलन गरेको चारलाख ३१ हजार रूपैयाँ नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले हस्तान्तरण गर्नुभयो ।

आइतबार स्व. बानियाको १३ औं दिनमा तनहुँको मिर्लुङ्ग स्थित घरमा पुगेर रकम परिवारलाई हस्तान्तरण गरिएको हो ।

अमेरिकास्थ्ति नेपाली पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघले (नेजा)ले आफ्ना सदस्यहरूबीच स्व. बानियाको परिवारको सहयोगका लागि आव्हान गरेको थियो । त्यसक्रममा सहयोग संकलनका क्रममा प्रयोग गरिएको पेपललाइ तिर्नुपर्ने शुल्क कटाएर ३ हजार ६ सय ७८ डलर ५१ सेन्ट नेजाको खातामा संकलन भएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, सदस्य खिलबहादुर भण्डारी, पत्रकार महासंघका गण्डकी प्रदेश कमिटीका अध्यक्ष त्रिभुवन पौडेल, पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य लगायतको उपस्थिति रहेको जानकारी नेजाका महासचिव किरण मरहठ्ठाद्धारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।

गत साउन २६ गतेबाट हराउनु भएका बानियाको शव दुइ दिनपछि मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युतको बाँधमा फेला परेको थियो । बानिया करिब तीन दशकदेखि कान्तिपुर दैनिकमा कार्यरत रहनु भएको थियो ।

नेजाले स्व. बानियाको परिवारको सहयोगार्थ संचालन गरिएको सहयोग अभियानमा साथ दिने सबैप्रति धन्यवाद र आभार प्रकट गरेको छ । साथै यसै पुण्यको अभियानमा सहयोग गर्ने नेपाल पत्रकार महासंघप्रति पनि नेजाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *