नियात्रा: न्युजिल्याण्डको
|(एक)
वरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईले जीबीएलओ (Global Bhutanese Literary Organization ) को चौथो आन्तराष्टिय साहित्य सम्मेलन २१ २२ र २३ दिसम्बर २०१९ मा न्युजिलेन्डमा हुँदैछ भन्ने सूचना दिँदै त्यसमा भाग लिन सकिने कुरा बताउनु भयो। त्यस विश्व महासम्मलनमा विश्वका विभिन्न मुलुकमा संस्थापित भुटानी नेपालीहरुको समस्या र समग्रमा, नेपाली डायस्पोराको विषयमा चर्चा र छलफल हुने रहेछ। डा. भट्टराईको उत्तरआधुनिक विमर्श र डायास्पोरा सिद्धान्त र समालोचना यी दुइ पुस्तकले धेरै सहायता गरे । त्यस अघि, टी. बी. सुब्बा, ए. सी. सिन्हा अजय कुमार साहुका लेख-पुस्तक पढेको थिएँ तर त्यो सिरियस अध्ययन थिएन, त्यसैले डायास्पोरा विषयको एउटा धमिलो र खज्मजिएको विचार मात्र थियो । डा भट्टराईका उल्लेखित पुस्तक र अन्य फुटकर लेख (कार्यपत्र) पढेर मेरो विचार निकै सङ्लो भएको महसुस गरेको छु। डा. भट्टराईका पुस्तकमा सन्दर्भमा उल्लेख गरिएका केही ग्रन्थ र जर्नलहरु पनि इन्टरनेटमा हेर्न पाइयो ।
प्रो. भटराई पनि जाने हुनाले यस्तो सुनौलो मौकालाई उम्किन दिनु हुँदैन, यसलाई डोकाले छोप्ने निश्चय गरें। जीबीएलओका सभापति डेन्जोम साम्पाङ स्वाक्षरित आमन्त्रण पत्र पाउने साथ भिसाको लागि आवेदन गरें। तर असममा नवेम्बरदेखि नै केब (Citizenship Amendment Bill )को विरोधमा आन्दोलन चलिरहेको थियो, दिसम्बरमा बिल पारित भएर का (Citizenship Amendment Act) आउनाले राज्यको परिस्थिति थामिनसक्नु भयो। सरकार बहादुरले इन्टरनेट सेवा बन्द गरिदियो। न्युजिल्याण्ड भिसाका लागि आवेदन गरेको थिएँ तर यस्तो स्थितिमा पाउने आशा थिएन ।
सत्र डिसेम्बर बिहान भाग्यवान बरुवाले भिसा ल्याइदिए। आजै टिकट गर्नु पर्ने किनभने भोली अठार तारिखै नहिँडे जीबीएलओको मिटिङ नभ्याइने । न्युजिलेन्डको समय हाम्रो देशको भन्दा झन्डै आठ घन्टा अघि रहेछ। मैले यसरी हठात जान नसक्ने, यात्रा क्यान्सिल गर्ने कुरा गरें। श्रीमती, छोरो सन्तोष र ज्वाईँ पङ्कजले जानेमा जोड दिए। उनीहरुको जुक्ति, न्युजिलेन्डको भिसा त्यति सजिलै पाइँदैन, मिस नगर्नु । उनीहरु सामान ब्यागमा मिलाइदिन थाले ।
राति इ-टिकट आइपुग्यो, भाग्यवान भरपर्दा एजेन्ट रहेछन ।
टिकटमा यात्रा विवरण हेरेर रिँगटा लाग्यो, चारवटा विमान फेर्दै गन्तव्य स्थानमा पुगिने रहेछ—– गुवाहाटीदेखि दिल्ली, दिल्लीदेखि हङकङ, हङकङदेखि अकल्यान्ड अनि अकल्यान्डदेखि वेलिङटन— दुइ दिनको विमान यात्रा। गुगलमा विश्व मानचित्र निकालेर ठाउँहरु फेरि एक पटक हेरें। हो त, दक्षिण प्रशान्त महासागरको तल एन्टार्क्टिका कै छेउको त्यो ठाडो लुम्सो जस्तो देखिने न्युजिल्यान्ड देश रहेछ ।
यसरी चारवटा विमान फेर्दै कसरी न्युजिल्यान्डको राजधानी वेलिङटन पुग्न सकुँला भन्ने डर मेरो अनुहारमा पढेर होला छोरो सन्तोषले मिसिक्क हाँस्तै भन्यो, “बाबा, बाटामा कुनै समस्या हुँदैन, भयो भने उहाँ पुगे पछि होला। वेलिङटनमा कोही रिसिभ गर्न आउँछन होला नि ?” ऊ युरोपको नेदरल्यान्डमा छ महिना बसेर भर्खरै आएको, निकै आँट भरोसा दियो। “पक्का आउँछन, तर मेरो यात्रा विवरण पठाएकै छैन। तेजपुरमा इन्टरनेट सेवा बन्द छ।“ उसले पढने तेजपुर विश्वविद्यालयमा इन्टरनेट सेवा उपलव्ध हुनाले त्यहींबाट जीबीएलओ चीफ डेनजोम साम्पाङलाई मेरो यात्रा वृतान्त मेल गरिदिन्छु भन्यो ।
एउटा फ्लाइटबाट अर्कोमा सर्नु पर्दा, समय कम छ भने निकै दौडधूप गर्नु पर्छ। म यस्तोमा दुइ पटक परेको छु। एक पटक राँची जाँदा कोलकातामा अनि अर्को पटक गोवा जाँदा मुम्बइमा। त्यो थियो आफ्नै देशको कुरा । बिरानो देशमा, कनेक्टिङ फ्लाइट पो मिस हुन्छ कि, विचल्नी पो परिन्छ कि भन्ने डर त छँदै थियो । तैपनि जे पर्ला भनेर जाने आँट गरें ।
बिहान आठ बजे घरबाट निस्कें। ज्वाईँ पङ्कज र श्रीमतीले मलाई गुवाहाटी एयरपोर्ट पुर्याएर फर्के। तोकिएको समय भन्दा भण्डै एयर एसियाले एक घन्टा ढिलो गर्यो, तर मलाई हतार थिएन किनभने त्यस पछिको फ्लाइटका लागि दिल्लीमा पर्खिनै पर्ने थियो । दिल्लीको इन्दिरा गान्धी आन्तराष्ट्रिय हवाइ अड्डामा ओर्लँदा छ बजेको थियो । हातमा छ घन्टा समय छ । इन्टरनेट सेवा उपलव्ध नहुनाले असमबाट सम्पर्क गर्न सकेको थिइनँ । सर्वप्रथम काठमाडौ डा. गोविन्दराज भट्टराईलाई फोन गरेर सबै वृतान्त बेलिबिस्तार सुनाएँ किनभने उहाँकै संयोजकत्वमा न्युजिल्यान्डको प्रोग्राममा हाम्रो सहभागिता तय भएको थियो । काठमाडौमा न्युजिलेन्डको दूतावास नहुनाले दिल्लीबाट प्रोसेस गर्न धेरै ढिलो भएकोले उहाँको जानु मिलेन । डा. गोविन्दराज भट्टराई जस्तो विद्वान व्यक्ति साथमा हुँदा धेरै कुरामा आड भरोसा हुने थियो । जेहोस, उहाँबाट शुभकामना पाएँ, त्यसले उर्जा दियो, मेरो डगमगाएको आत्मविश्वास सुदृढ भयो ।
यात्रामा साथी हुँदा दोहोरो बोल्न पाइन्छ। मेरो भने सम्बाद एकोहोरो हुने भयो किनभने मेरा साथी भर्चुअल छन, एकजना पुराना साथी डा. गोविन्दराज भट्टराई र अर्का भर्खरै बनेका साथी युवल नोवा हरारि, दुबैलाई ब्यागमा हालेको छु । मेरो ब्यागमा डा. भट्टराईको डायास्पोरा सिद्धान्त र समालोचना छ भने हरारीको होमो सेपिएन्य़ । पुस्तकै सही, यात्रामा याथी छन भने एक्लो महसुस हुँदैन ।
यस अघि पनि राष्ट्रिय आन्तराष्ट्रिय संगोष्ठीहरुमा भाग लिएको अनुभव नभएको होइन तैपनि आफ्नो प्रस्तुति नसकिउञ्जेल एक किसिमको वेचैनी रहिरहन्छ । जीबीएलओको दुबै दिनको संगोष्ठीका लागि होमवर्क राम्रै गरेको थिएँ तैपनि धुकचुक छँदै थियो किनभने कतिपय राष्ट्रिय संगोष्ठीमा प्रश्नकर्ताले र्याखर्याख्ती पारेको देखेको छु। सेसन सकिए पछिको मीट द प्रेस मा पत्रकारको अंग्रेजी भाषा नबुझिने पो हो कि भन्ने पनि लागेको थियो ।
ब्याग स्केन गराएर म केथे पेसिफिकको काउन्टर अघि लाइनमा उभिएँ। मेरो डिटेल्स हेरेर तीनवटा बोर्डिङ पास दिँदै मेरो लगेज अकलेन्डमा लिनु भन्ने जानकारी पनि दिइन। बोर्डिड पास हेरें—–
दिल्लीदेखि हङकङ केथे पेसिफिक ।
हङकङदेखि अकलेन्ड केथे पेसिफिक ।
अकलेन्डदेखि वेलिङटन एयर न्युजिल्यान्ड (डोमेस्टिक) ।
आन्तराष्ट्रिय हवाइ अड्डाको प्रतिक्षालयमा यति धेरै मान्छे, सानो तिनो बजार जस्तै । लहरै इमिग्रेसन अधिकारीहरु बसेका, उनीहरुको अघिल्तिर एक एकवटा लाइनमा उभिनु पर्ने। ‘इन्डियन पासपोर्ट होल्डर्स अन्ली’ साइनबोर्ड भएतिर सबै भने जसो ग्वारग्वार्ती जाँदै थिए। म पनि त्यतै लाइनमा लागे। कहाँ हिँडेका होलान यति धेरै मान्छे। थाहा भयो, धेरजसो दुबइ अनि चाइना जाने रहेछन ।
सिक्युरिटी चेकिङमा मेरो एक सय चालीस रुपियाको कलम गुमाउनु पर्यो। कोट, पर्स, पेटी एउटा ट्रेमा हाली ह्यानब्यागको छेउमा राखेर स्केनरमातिर पठाएँ अनि आफु दैलोमा उभिएको के थिएँ सुरक्षा अधिकारीले मेरो गोजीको कलम थुत्त थुतेर ढ्वाङमा हालिदियो ।
मलाई त्यहींबाट फर्काइ दिने पो हो कि भन्ने शङ्का पनि थियो किनभने मेरो इ-भिसामा कुनै अधिकारीको सही थिएन, न त त्यहाँ मेरो फोटो नै टाँसिएको थियो। आवेदन गर्दा फोटो दिएको थिएँ। हाइ रिजोल्युसनको फोटो चाहिन्छ भनेर एक पटक फेरि फोटो मागेको थियो। अधिकारीले मेरो भिसा र पासपोर्ट ओल्टाइपल्टाइ हेरो अनि मतिर पुलुक्क हेर्यो किन जादैछु विदेश, हिन्दी मै सोध्यो। मैले न्युजिलेन्डमा विश्व साहित्य महासम्मेलनमा जाँदैछु भनेँ र जीबीएलओको कार्यक्रम सूची पनि देखाइदिएँ। ती अधिकारीले मुसुक्क हाँसेर ‘शुभकामना छ, भने। मेरो पासपोर्टमा रातो मसीले DEPARTED लेखेको गोलो मोहर हानेर फर्काइदिए। ‘धन्यवाद’ भनेर म पल्लोछेउ छिरेँ।
राति १२:४० मा बोर्डिङ शुरु भयो ।
पहिलो पटक ठूलो बोयिङमा चडेर रोमाञ्चित भएँ। चारैतिर आँखा डुलाएँ। एउटा लहरमा आठजना यात्रु बस्ने आसन २-४-२, बीचको हारका दुबैतिर कोरिडोर । मेरो सीट ४३ सी कोरिडोरकै छेउमा रहेछ । छेउको साथी बडेमाको जिउडाल भएको, घटोत्कचको वंशज जस्तो, कुन देशको हो कुन्नि। सीटमा बसें र बेल्ट कसें । अब केही बेरमा उड्छ भन्ने सूचना फोनमा छोरालाई दिएँ, ऊ मेरो फोनलाई पर्खिबसेको रहेछ ।
११३० मा विमानले गति पक्रियो । ३७५० कि मि दूरी तय गरेर पाँच घन्टा बीस मिनटमा हङकङ समय ०९२० मा पुग्ने रहेछ हङकङ । अघिल्तिर जडान गरेको कम्पुटरमा फ्लाइटको विवरण हेर्दै थिएँ, दुबैतिरका कोरिडोरबाट ट्रली ठेल्दै परिचारिका आए, खाना ल्याएका रहेछन। रोटी, दालभात, मिक्सड भेज, पनीर, फ्रुट सलाद थियो । भोजन स्वादिष्ट लाग्यो। छेउको साथीले कति छिटै खायो अनि घुप्लुक्क सुत्नेसाथ घुर्न थाल्यो । एकछिन भए पनि सुतौंला भन्ने थियो, नसकिने भो । दुइटा ससाना सिराने र एउटा चादर पनि दिएका थिए। ब्यागबाट किताप झिकौं कि भनें तर अल्छी लाग्यो । अघिल्तिरको कम्प्युटरमा आँखा डुलाउन थालेँ । तल माथि, घच्याकघुचुक नगरी एउटै गतिमा विमान उडेको थाह नहुँदो रहेछ। मलाई भने घरि घरि यो विमान यतिखेर कुन ठाउँको माथि उडिरहेको होला भन्ने सोच आउँथ्यो । के यसले मेरो असम माथिको आकाशलाई छुन्छ । धेरजसो यात्रुहरु चादरले मुख छोपेर सुतेका थिए भने कतिपय कम्प्युटरमा बिजी देखिन्थे । पाँच-छ जना माझको खुला ठाउँमा उभिएर पिउँदै पनि थिए । झ्यालबाट बाहिर हेर्न मन लागेको थियो, छेउमा झ्याल थिएन । कतिखेर झपक्क निदाएँछु ।