असमर्थ

हरेक पल आँफैले
आफैलाई सम्झिएर
आँफैले बिर्सिरहेछु
भुल्भुलैयाको रोटेपिङमा फन्को मार्दै
भवसागरको माया मोहमा
चुर्लुम्म डुबेर
फन्को मारिरहेछु।

कहिले,
अनकन्टार मरुभूमि पारगरी
अग्ला अग्ला पहाड़ छिचोलि
कहिले,
अक्करको बाटोमा चिप्लँदै
कहिले,
पार गर्न नसक्ने
झोलुगें पुलमा हल्लिएर झुलिरहेकोछु ।

बिहानी झुल्कने घामदेखि
क्षितिज पारि उदाउने जुनसम्म
रातमा टिल्पिलाउने तारा झैं
धरातलमा टिल्पिलाईरहेछु
नभरिने लोभको भाँडो बोकेर
नअघाउने मायाको कुम्लो च्यापेर
झिनो आसाको त्यान्द्रोमा अल्झिदै
लोभको धरातल कुण्डलिनी वरिपरि घुमिरहेछु।

शुन्य छिचोल्न खोज्दै
आँफैले आँफैलाई च्यातेर
आँफैले आँफैलाई भुलेर
आँफैले आँफैलाई खोजेर
छाम्छाम् छुम्छुम् गर्दै शून्यमा
म आँफैलाई भेट्न असमर्थ भएको छु ।

Add a Comment

Your email address will not be published. Required fields are marked *