अशान्त शान्ति
|
आज भोलीको यो शान्ति
किन यति अशान्त
किन यति पिडादायी !
यो शान्ति, यस्तो शान्ति
न हामीले चाहेका थियौं
न हामीले मागेका थियौं
समयको कठोर प्रहारले
समयलाई नै आतंकित बनाउने
किन आयो यस्तो शान्ति !
अहिले शान्तिको साम्राज्य छ
जता सुकै शान्ति नै शान्ति छ
मन्दिर ,मस्जिद ,चर्च ,गुम्बा
बाटो, घाटो, चौक, चौतारो
घर,गाउँ, शहर, बजार
सबै शान्त छन्
सबैतिर चुपचाप छ
तर यो शान्तिमा
शान्त हुन को सकेको छ ?
यो शान्तिमा
हर कोही अशान्त छ
हर कोही छट्पटीमा छ
शान्ति पनि
किन यति भयावह छ
किन यति आतंकित छ !
चहल पहल बिनाको
यो नचाहेको शान्तिले
कति थर्कमान छ जगत
कति असहज छ दुनियाँ !
आफ्नै घर भित्र पनि
कति त्रसित छ जिन्दगी !?
बन्द ढोका भित्रबाट
हरदम चिच्याई रहेछ मान्छे
बिना आवाज !
बुद्ध पनि आत्तिइ सके होलान्
यो शान्तिले
भगवान स्वयंलाई
असह्य भएको छ होला यो शान्तिलाई पनि !
यो शान्ति-
बाध्यताको शान्ति
विवश र असहाय बनेको शान्ति
शक्तिमानहरु सबैलाई
शक्तिहीन बनाउने यो शान्ति
यो अशान्त शान्तिकै कारण
मन्दिर,मस्जिद,चर्च,गुम्बा भित्र
छट्पटाइ रहेछन्
हाम्रा आस्थाका आधारहरु
विश्व अत्तालिइ रहेछ हरपल !
यो आतंकित शान्ति
छिट्टै हट्ने आशामा
आत्मिक शान्तिको कामना बाहेक
केही गर्न नसक्ने
कति असहाय !
शान्तमा पनि अशान्त
कति विवश हामी !