नियात्रा: न्युजिल्याण्डको भाग दुई
|‘किन आयौ तिमी यो शहरमा ?’
हङकङ। सय वर्षसम्म ब्रिटिसको उपनिवेश रहेको हङकङ विश्वको एउटा प्रमुख वाणिज्य केन्द्र बनेको छ। चीनको अधीनमा रहे पनि हङकङमा आफ्नै प्रकारको स्वायत्व शासन रहेको छ। पूर्ण स्वायत्वताका लागि त्यहाँका नागरिक संघर्षरत छन भने चीनको सरकार अहिलेसम्म त दमन नीतिले आफ्नो कब्जामा राख्न सफल भएको छ। मुक्तिकामी जनगणले एकदिन चीनको स्वैराचारी व्यवस्थालाई हटाएर जनप्रिय लोकतन्त्र प्रतिष्ठा गर्नेछन।
दक्षिण चीन सागरको एउटा सानो टापु चेकलापको तटमा रहेछ हङकङको सानो एयरपोर्ट। धीमा गतिमा विमान अवतरण गर्ने क्रममा देखें सागरको नीलो जलराशिका बीचमा नीलै रङका विभिन्न आकारका पहाडका थुम्काहरु, छेउछाउमा अनेकौ नौका र जहाज ओहोरदोहोर गर्दै गरेको मनोरम दृश्य। त्यो कुनै पारखी कलाकारले अङ्कन गरेको चित्र जस्तै सुन्दर देखिन्थ्यो।
साढे नौ बजेको थियो बिहानको। सारा दिन यहीँ बसेर बिताउनु छ किनभने यसपछिको मेरो फ्राइट राति नौ बजे मात्र उडनेछ। हातमुख धोएर एक पेला मनतातो पानी पिएर एक घन्टा जति बसेरै यसै यताउति हेरें। त्यस पछि चिया नास्ता खानु पर्यो भनेर छेवैको स्टलमा गएँ। मेरो युनियन ब्याङ्कको भिसा कार्ड देखाएँ, नचल्दो रहेछ। दिल्लीमा साटेको न्युजिलेण्ड डलर थियो, त्यो पनि नलिने अरे। चाइनीज युआन कि त युएस डलर कि त क्रेडिट कार्ड चाहिने रहेछ। मेरा मनमा चिसो पस्यो, आज खान नपाइने भयो भनेर होइन। मसँग दिल्लीमा साटेको पाँच सय न्युजिलेण्ड डलर मात्र छ। फर्किने टिकट दुइ हप्ता पछिको छ। आयोजक समितिले मिटिङको तीन दिन प्लस अरु तीन दिन राख्लान। त्यस पछि एक हप्ता पाँच सय डलरले कसरी थेग्ला। छोरालाई फोन गरेर समस्या सुनाएँ। “ए त्यसो भए आज तपाईको बर्त भएछ। कसरी निस्कँदैन पैसा, निस्कन्छ नै”— उसले स्योर भएर भन्यो। “कुनै कारणले निस्केन भने पनि मलाई फोन गर्नु। मनमा कुनै चिन्ता फिक्री नलिनू. चौबीस घन्टा भित्रमा रुपियाँ पुग्छ।“
उटपटाङ कुरा गर्थ्यो घरमा। विदेशको भ्रमण र बसाइले मान्छेलाई प्रेगम्याटिक पार्दोरहेछ। आज किन हो उसका कुरामा भरोसा भयो, भरोसा नगरी उपाय पनि त थिएन।
पर्खनु साह्रै कठिन काम हो, समय पटक्कै जाँदैन। एयरपोर्टमा मान्छे नै मान्छे, कोइ बसेका छन, कोइ निदाएका अनि कति ओहोरदोहोर गरिरहेका थिए। हजारौं मान्छेका बीचमा म एक्लो छु। साथमा पुस्तक भए पछि अरुको खाँचो अनुभव हुँदैन। म यस्तैमा बानी परेकोले होला पर्खाइ त्यति पट्याइलाग्दो लागेऩ। मन मनै सोचें, नेपाली डायास्पोराका एक सय बाइसजना कवि मेरा छेउछाउमा थिए। खेपि तीनेक यताउति ओहोर दोहोर गरें, दुइ पटक मनतातो पानी पिएँ अनि पुस्तक पढें, पढदा पढदै निदाएँ पनि । पढुञ्जेल भोकतिर्खा बिर्सने, एक छिन बिसायो पेटमा मुसा दगुरेको चाल पाउँथें।
ब्याग खोतलिहेरें, तै केही खाने कुरा भेटिन्छ कि भनेर। भेटियो डायास्पोरा : सिद्दान्त र समालोचना। दुइटा मात्र किताप बोकेको थिएँ— युवल नोवा हरारीको सेपिएन्स चाहि ठूलो हुनाले लगेजमा जाने ब्यागमा घुसारेको थिएँ। डायास्पोरा : सिद्धान्त र समालोचना भेटें, आज यसैलाई खानु पर्यो। शुरुदेखि नै खाऊँ कि ! होइन, बीचबाट कोपर्नु पर्यो। पहिले चाखिहेरेको थिएँ, गुलियो छैन यो। अमला जस्तो अमिलो, हर्रो जस्तो टर्रो, चिरैतोको डाँक्ला चबाएजस्तो तीतो छ। स्वादे जिब्रोलाई मन नपरे पनि यो धेरै उपकारी, पुष्टकारी छ। सोठियाका नारद गुरुजीले रटाएको सिलोक याद आयो—
नपियते काव्यरस पिपासितै।
नभुञ्जते पुस्तकाणि वुभुक्षितै।
आज हङकङ एयर पोर्टमा उपवास, ऒंसी-पुर्ने-एकादशी केही त परेकै होस आज। पुस्तकको फलाहार र काब्यरस पान गरी तृप्त हुनुपर्यो।
अनेक डायास्पोराका कवितामा पसेर हराएँछु। कति समय हिँडिरहें एकोहोरो, काव्यकाननमा रङविरङका फूलहरु फुलिरहेका थिए। तिनको मनमोहक वास्नाले म लट्टिएँछु। कवि कीट्सले ओड टु अ नाइटिंगलमा कविताका दृश्य पखेटाले उढ्दै जाँदा देखेको कानन थियो कि, वर्डसवर्थको डेफोडिलसँग नाच्ने हृदयको ब्लिस अफ सोलिच्युड ! कि मलाइ कमिलाले भेटे ? हातमा टिफिन केरियर झुण्ड्य़ार देश सुब्बा मतिरै आइरहेछन ! पक्कै मेरा लागि खाजा लिएर आएका हुन !
बम पड्के जस्तो शब्दले झसङ्ग भएँ। हातको पुस्तक खत्रक्क भूइँमा खसेको रहेछ। निहुरेर किताप टिपें। पढ्दै जाँदा जुन पातोमा पुगेको थिएँ, त्यही खोलिएकै रुपमा रहेछ। म हङकङ मै खसेको रहेँछु।
रुद्र नाल्बो रुञ्चे स्वरमा भन्दै थिए—-
यो हङकङको सानो चौघेराभित्र
यहाँ कोही कसैलाई फुर्सत छैन।
निकै चर्को आवाजमा अर्का छेउमा दीपक भेटवाल भन्दै थिए——
यहाँ केही हुँदैन
कि खरीद हुन्छ, कि विक्री हुन्छ।
यो क्रेता विक्रेताहरुको शहर हो
जाली ढक तराजु बोकेर
छली व्यापारीहरु गौंडो ढुकिरहेका छन
तिमी किन आयौ यो शहरमा ?
तिमी किन आयौ यो शहरमा ? मलाई नै भनेको त होइन ! यताउति हेरें पुलुक्क। रुद्र नाल्बो थिएनन, भेटवाल पनि भेटिएनन। देश सुब्बा पनि खाजा लिएर नआउने रहेछन, बुझें।
मोबाइल निकालेँ, फोन गर्नुपर्यो दुइचार ठाउँमा। बिहान त लागेको थियो। अहिले वाइफाइ कनेक्ट नै हुँदैन। तिमी किन आयौ यो शहरमा ? —- यस पालि आफैंलाई प्रश्न गरें।
हङकङदेखि अकलेण्डसम्म प्रशान्त महासागरमाथिको उडान
राति नौ बजे बोर्डिङ शुरु भयो, लाइनमा उभिनु पर्दा भोकले रिङटा छुट्ला जस्तो भएको थियो।
केथे पेसिफिक कम्पनीको यो विमान अझ ठूलो रहेछ, 3-3-3 गरी एक लहरमा नौ जना बस्न सकिने, दुइवटा कोरिडोर। सबै यात्रुले आसन ग्रहण र औपचारिकता पछि विमानले गति पक्रियो। मेरा लागि यो पहिलो सबैभन्दा लामो दूरीको अनि धेरै समयको निरन्तर हवाई यात्रा थियो। विमानले 11 घन्टा 15 मिनटमा 9164 किमि दूरी तय गर्ने रहेछ। प्रशान्त महासागरमाथि एघार घन्टा ! सोच्दै रोमाञ्चित भएँ म। मैले मेरो गाउँलाई सम्झें— सोठियाको कोरेनी गाउँ। मलाई चिच्याउँदै भन्न मन लाग्यो — यी हेर, कोरेनीको ज्ञाने यतिखेर प्रशान्त महासागर माथि उडिरहेछ !
एक घन्टा कट्यो, उडिरहेको छु प्रशान्त महासागरमाथि। यतिखेर कथङ्काल इञ्जन बिग्रेर होस अथवा अन्य कारणले विमान महासागरमा खस्यो भने के होला ! डिसेम्बरको महिना, पानी त साह्रै चिसो होला !
खाना दिँदैन कि क्याहो ! पेटमा मुसा कुदिरहेका थिए भने मेरा मथिङलमा अनेक प्रकारका कुरा सगबगाउँदै थिए —
झरे पनि डिनर खाइसके पछि झरोस। पपुवा न्यु गिनि माथि उडदै गरेको बेला झरोस। प्रशान्त महासागरमा खसेर मर्नु पनि ठूलो कुरा हो। विश्वका सबै इलेक्टोनिक र प्रिन्ट मिडियामा खबर आउँनेछ, फोटो छापिनेछ। जीबीएलओ वर्ल्ड कन्फरेन्समा एक मिनट मौन धारण गरी मेरो आत्माको सदगति कामना गरिनेछ। संस्था संगठनहरुले शोक सभा आयोजन गर्नेछन र शोकप्रस्तावको प्रति घरमा पठाउनेछन। घरको ड्रइङ रुममा एउटा ठूलो फोटोको फ्रेममा मैले आफैंलाई एउटै मुद्रामा हाँसिरहेको देखें। फोटोलाई सयपत्री फूलको मालाले बेरेको छ, छेवैमा भर्खरै बालेको धूपबाट मगमग बास्ना आइरहेछ।
म फेरि झस्कें। सपना हो कि के हो यो! म त निदाएकै छैन। कस्तो भ्रम!
अँ, आए है ट्रली ठेल्दै सुन्दरीहरु। होइन रहेछ डिनर। रेड वाइन, जूस, कफी र ब्लेक टी दिँदै थिए। मैले कफी लिएँ, साथमा एउटा भुक्क फुलेको, पाउरोटी। मैले अरु एउटा मागें। मुसुक्क हाँस्तै उसले दुइटा दिइ। थेंक यु नजनीन भनें अनि पाइरोटी कोपर्न थालेँ। म भोकाएको छु भन्ने कुरा उसले थाहा पाई होला। एक कप कफी र तीनोटा बन खाए पछि मेरो शरीरमा निकै शक्ति आए जस्तो लाग्यो। छेउको साथी घुर्दै छ। अब प्लेन झरे पनि झरोस, चिन्ता छैन। उमेरले 62 पुगिसकेको छु, दुइचार वर्ष पछि सर्नु र अहिले जानुमा खास फरक पर्दैन। छोरी स्नातक, बिहे भइकेको छ अनि छोरो विश्वविद्यालयमा पढ्दैछ—- साना छैनन। फेमिलि पेन्सन र घरभाडाबाट श्रीमतीलाई सजिलै गुजारा चल्छ।
ए, म त मरे पछिका कुरा पो सोच्न थालेंछु। फर्केर आएँ मर्त्यलोकमा।
प्रशान्त महासागर। प्राथमिक तहमा पढदादेखि यसले मलाई आकर्षण गरेको हो। हाइस्कुलमा भूगोल पढाउने गुरुले भनेका थिए, हामी बसोबास गरेको पृथ्वी नामको ग्रहको लगभग तीन चौथाइ नै पानी अनि सबै भन्दा ठूलो जलभागको नाम हो प्रशान्त महासागर। हाम्रो हिमालय पर्वतलाई जुरुक्क उठाएर प्रशान्त महासागरमा थपक्क राखिदिनु हो भने सगरमाथासहित चुर्लुम्म डुब्नेछ भनेर गुरुले भनेको कुरा याद आयो। यसका छातीमा सिङ्गो अष्ट्रेलियासहित जापाल,फिलिपिन, पपुवा न्यु गिनि, फिजी आदि कति देश साना ठूला कति द्वीप अटाएका होलान। यसको गर्तमा मेरिना ट्रेञ्च जस्तै गहिरा खाडलहरुमा कति रहस्य लुकेको होला। हजार वर्षको सभ्यतामा मान्छेले कति रहस्य भेद गर्यो, अझ कति रहस्य नै रहेका छन। अचम्म।
पानी, पानी सबैतिर पानी
पिउनका लागि एक थोपो छैन पानी ।
(Water, water everywhere
Nor any drop to drink.)
एन्सिएन्ट मेरिनरको एक लाइन कविता याद आयो। कतै प्रशान्त महासागरमा सफर गर्दा त लेखेका होइनन यो कविता कलेरिजले ? आज कोरेनीको ज्ञाने त्यही प्रशान्त महासागर माथि माथि उडिरहेको छ। कवि भानुभक्तलाई सम्झें। तर्छु क्षार समुद्र आज सहजै भन्ने इरादा धरी —- हनुमानलाई आँट आएकै हो। फरक यतिनै, त्यतिखेरका हनुमानले साँच्चै छलाङ्ग लगाएका थिए भने यतिखेरकाले काल्पनिक। त्यो हिन्द महासागरमा लगाइएको महाकाव्यिक छलाङ थियो भने यो प्रशान्त महासागर माथिको छलाङ्ग प्रोजेइक फन्टासी।
मैले व्यागबाट गोविन्दराज भट्टराईलाई निकालें।
प्रशान्त महासागरको पारावारहीन विस्तीर्ण जलराशि, त्यसमा उठेका छालहरु हेर्ने तीव्र इच्छा थियो। मेरो आसन झ्यालका छेउ मै थियो। हेरें पनि, निस्पट्ट अन्धकार, केही देखिएन। राति भएर पो हो कि। अघिल्तिरको कम्प्युटर स्क्रीनमा हेरें— हाम्रो विमान चालीस हजार फीट माथि उडिरहेको देखायो। के त्यति माथिबाट हेर्दा केही देखिन्छ । भारतमा डोमेस्टिक फ्लाइटमा भ्रमण गर्दा धेरै पटक झ्यालबाट हेरेको छु— सेता बादलका टुक्रा मात्र देखेको छु। विमान उत्रिने समयमा भने शहरका भवनहरु, बाटामा गाडी कुदिरहेका र नदीको दृश्य साह्रै आकर्षक लाग्छ। एक पटक बिराट नगरदेखि काठमाडौको विमान यात्रामा हिमालय पर्वतमालाको छेवै छेउ नयनाभिराम दृश्य देखेर आश्चर्यचकित भएको थिएँ।
अबको दुइ घन्टा पछि 1600 मील दूरी अतिक्रम गरे पछि हाम्रो विमान अकलेण्ड आन्तराष्ट्रिय हवाइ अड्डामा उत्रने सूचना स्क्रीनमा देखियो। टिमिक्क परेको रातो सर्ट र कालो स्कर्ट लाएकी एउटी परिचारिका पर्चा बाँडदै आएको देखें। थ्याप्चे नाक, पुरिएका आँखा भए पनि त्यो निकै राम्री देखिन्थी। उसले मलाई पनि पर्चा दिई। त्यो एउटा फारम रहेछ, ब्यागमा के के सामान छ, मसला खानेकुरा छ छैन घोषणा गर्नु पर्दो रहेछ। मसंग कलम थिएन। दिल्लीको चेकिङमा मैले बिर्सेर राखेको गोजीमै राखेको कलमले सुरक्षा अधिकारीलाई गिज्याएछ क्यार, जेपबाट थुत्त झिकेर ढ्वाङमा हालिदियो। मे आइ ह्याव अ पेन प्लीज ? फारम देखाएर भने। उ गई , लगत्तै फर्केर आई र कलम दिँदै भनी, दिस इस फर यु—फर्काउनु पर्दैन भन्ने संकेत थियो।
फारम पासपोट भिसा सबैथोक हातमा राखेर इमिग्रेसनतिर जाने लाइनमा लागें। मेरो पासपोर्ट स्टाम्प मारेर फर्काइ दियो। रातो मसीको न्युजिलेन्ड एन्ट्री लेखिएको थियो।
प्रशान्त महासागरको पर पर आँखाले भ्याएसम्म सुनील सलिलराशि। गोवाको कलङगुटि बीचको जस्तो उत्ताउला छाल देखिनँ। म सबैभन्दा ठूलो भन्ने कुनै घमण्ड छैन। धीर, शान्त, त्यसैले होला नाम प्रशान्त ।
मेरो मन पनि शान्त भयो।
मन शान्त थियो, तर निद्रा पटक्कै लागेन।
हङकङबाट बिहान साढे नौ बजीको समयमा समयमा उडेको हाम्रो विमान 11 घन्टा 5 मिनट निरन्तर उडेर अकल्याण्डमा उत्रिँदा दिउँसोको त्यहाँको घडीले डेढ मात्रै बजेको देखायो। अचम्म।
हाइस्कुलमा पढदा द्राघिमा रेखा इन्टरनेशनल डेट लाइन सम्झिएँ। अकल्याण्ड इन्टरनेशनल डेट लाइनको छेवैमा पूर्वी द्राघिमा 175 डिग्रीमा पर्दो रहेछ, त्यसैले हाम्रो देश भारतको भन्दा समय साढे सात घण्टा एडभान्स रहेछ।
अब डोमेस्टिक एयरपोर्टमा पुग्न हतार भयो फ्लाइट उम्किने हो कि भनेर मनमा खटपटी हुनथाल्यो किनभने चेकिङ सकेर बाहिर निस्कँदा 0230 बजिसकेको थियो। बाहिर निस्कना साथ चिसो सिरटोले मुटुनै छेडेजस्तो लाग्यो। कोट र सर्टका बटन घाँटीसम्म लगाएँ। मफलरले टाउको कान छोप्ने गरी बाँधे। सिमसिम पानी पनि परिरहेको थियो । एउटालाई सोधें, डोमेस्टिक एयरपर्ट उसले औलाले देखाउदै उ त्यो हरियो बस जान्छ, यही रोक्छ भन्यो। त्यसलाई भन्यवाद भन्न नभ्याउँदै बस आएर मेरै अगिल्तिर घ्याच्च रोकियो। हस्याँङफस्याँङ गर्दै चढेँ। हिड्यो पनि, दस मिनट लाग्यो पुग्न तर मलाई दस घण्टा जस्तो लाग्यो। गेट बन्द भइसक्यो होला, फिटफिटी छ मनमा। बस रोकिना साथ उत्रेर एउटा ब्याग पिठ्युमा अर्को गुडाउँदै, ठेल्दै, ठोक्किँदै सरी भन्दै एयरपोर्ट भित्र पसें । फ्लाइट दुइ घण्टा ढिलो, पाँच बजे मात्र छुटने रहेछ। मलाई बल्ल ढुक्क लाग्यो। सानो एयरपोर्ट, बोर्डिङका समयमा एकैचोटी सुरक्षा जाँच गर्ने रहेछ। चार डलर तिरेर एक कप कफी र एउटा पाउरोटी जस्तो देखिने कोनि के हो खाएँ। प्रतीक्षालयमा बसेर यताउति आँखा डुलाएँ। कुनै नेपाली अनुहार देखिन्छ कि भन्ने सोच आयो, तर देखिएन। चेयरमा बसेर धेरजसो मोबाइलमा घोप्टिरहेका थिए भने कोही पुस्तक हातमा लिएर पन्ना पल्टाउँदै थिए। अलिक पल्लो छेउमा एउटा भुस्तिघ्रे काले र एउटी उमेर ढल्केकी गोरी मुख जोडेर अर्कै दुनियामा थिए।
लाजपचेका नकच्चरा, छाडाहरु। हग्नेलाई भन्दा देख्नेलाई लाज लागेर हो कि किन अरुले त्यतातिर ध्यान दिएका थिएनन। तर मेरा आँखा भने बारबार त्यतैतिर गइरहेका थिए।
एकै घण्टामा वेलिङटन पुर्यायो । उत्रेर लगेज लिएँ अनि वासरुम छिरें। हातमुख धोएर ब्रस गरें, टाइ पनि ठिक गरें। लिन आउऩे मान्छे प्लेकार्ड लिएर बाहिर पर्खिरहेका होलान। बाहिर निस्केर हेरें प्लेकार्ड देखाउऩे चार पाँच जना थिए तर मेरो नाम लेखेका कोही थिएनन। फ्लाइट दुइ घण्टा लेट थियो, कि पर्खिंदा पर्खिदा गरेर फर्किए । ढिलै भए पनि प्लेनको उडान-अवतरणको जानकारी नहुने कुरा त होइन। कि मेरा छोराले इमेलमा एटाच गरिपठाएको इटिनरी पाएनन।
वेलिङटनमा अभर पो परिने हो कि
(क्रमश:)
राम्रो लाग्यो । नियात्रा: न्युजिल्याण्डको भाग दुई
ज्ञानबहादुर छेत्री दाइ ।