जीवन यही हो की ?
|चिसो सिरेटोभित्र खुम्चिएको छ,
ताता-ताता उच्छ्वास ।
बिहानीको घाममा पनि शीत ढलपल गर्छ ।
र अदृश्य बन्छ भोलीको प्रतीक्षामा ।
जीवन यसरी नै ढलपल छ ।
कहिले रमाउँछ त कहिले खुम्चिन्छ ।
घामको ताप सहन नसकी
जुनेली रातमा शीतलता खोज्न
जीवन धरमर छ ।
ताप र सन्तापमा खुम्चिंदै गए पनि ।
जीवन कहिले मुस्कान बन्छ त
कहिले विषाद बन्छ ।
घर आंगनमा उफ्रने जीवन
तर संघारमा नै अलमल छ ।
बिहानीको उज्यालो छर्दै आउने घामलाई देखी
हतपत गरी लम्कने पाइला
फेरि जीवनलाई समाउने उपक्रम गर्छ,
मनलाई छल्ने स्वाँग गर्छ ।
बिहानीको शीतलाई हातमा हाल्ने निहुँमा
शीत हातबाट नै गुमाउँछ ।
आँखाबाट झर्ने आँसुलाई आँखाले नै निल्छ ।
तर ओठको हाँसोलाई भने सबैतिर बाँड़ेको छ ।
सायद
जीवन यही हो कि ?
अहिले जीवन कठोर यात्ना बनेको छ ।
कारागारको शास्ती खपी रहेको छ ।
बिना पहराको शासित मन बनेको छ ।
डर र त्रासको डेरा बनेको छ ।
आफ्नै घर नै आज बन्दीगृह बनेको छ ।
मनको तहमा एउटा सन्त्रास पसेको छ ।
सायद
जीवन यही हो कि ?
जीवनलाई हेरें मैले ।
जीवनलाई खोजें मैले ।
घरलाई स्प्रे पनि गरें मैले ।
तर मनलाई तार्न सकिन मैले
सायद
यही नै जीवन हो कि ?
जीवनको
शास्वत सत्यलाई
बुझ्न असमर्थ
मैले प्रत्येक घर आँगनमा
डर, भय र मानसिक सन्ताप पाएँ
सायद
जीवनको एउटा सत्य
यही हो कि ?
समयसापेक्ष रसिलो रमाईलो र प्राज्ञिक खुराकले परिपोषित कविताका स्रष्टा आदरणीय गुरुमालाई साधर प्रणाम ।