अनुपम मित्रता

साँध सीमा जोडिएको
मेरो नजिकको छिमेकी ऊ
भाषा मिल्दो भेष मिल्दो
खाना मिल्दो गाना मिल्दो
मेरो हितैषी मित्र ऊ
अनुपम मित्रता छ हाम्रो ।

हामीले हात जोडेर सम्बन्ध साटेको
हामीले टाउको ठोकेर मितेरी गाँसेको
उसलाई ढोका मात्र होइन
दिलै खोली स्वागत गर्छु
मेरो हितैषी मित्र ऊ
अनुपम मित्रता छ हाम्रो ।

उसका पाउ कमन्डलुको जलले धुन्छु
उसका गला रेसमको खादाले बेर्छु
उसको स्वागतमा सडक पानीले पखाल्छु
उसको सत्कारमा देशै ठप्प पार्छु
मेरो हितैषी मित्र ऊ
अनुपम मित्रता छ हाम्रो ।

ऊ कहिले मेरा लागी ढोका खोलिदिन्छ
म जलामए भै डुब्छु, ऊ हेरिरहन्छ
ऊ कहिले मेरा लागी ढोका थुनिदिन्छ
म भोक भोकै पर्छु, ऊ त्यो पनि हेरिरहन्छ
मेरो हितैषी मित्र ऊ
अनुपम मित्रता छ हाम्रो ।

उसका सिनेमामा मलाई
उसको घरको कान्छा र बडी गार्ड बनाइदिन्छ
गोर्खालीलाई एउटा लौरो थमाइदिन्छ
म खुकुरी र लौरो एकै हो भन्छु र दंग पर्छु
उसको स्वागतमा एक अर्बको अवार्ड चढाइदिन्छु
मेरो हितैषी मित्र ऊ
अनुपम मित्रता छ हाम्रो ।

हाम्रो सम्बन्ध मेल हो या बेमेल
ऊ आलू र प्याज दिन्छ
बदलामा बुद्ध र सगरमाथा माग्छ
ऊ चामल र साग दिन्छ
बदलामा जमिनको भाग नै लान्छ
मेरो हितैषी मित्र ऊ
अनुपम मित्रता छ हाम्रो ।

मेरो घर,बाटो ऊ बनाउन खोज्छ
सहर मेरो, मर्जी ऊ चलाउन खोज्छ
मेरो निन्द्रा, सपना ऊ देख्न खोज्छ
मेरो निधार, भाग्य ऊ लेख्न खोज्छ
मेरो हितैषी मित्र ऊ
अनुपम मित्रता छ हाम्रो ।

गोमन बनी ऊ बिष बमन गरिरहन्छ
बासुकी नाग भनी म दुध चढाइरहन्छु
तर पनि,
ऊ जे भनोस् जे गरोस्, अन्तिम श्वास रहेसम्म
म जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी भनिरहन्छु
यस्तै अनुपम मित्रता छ हाम्रो​ ।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *