सानो चाहना

कसरी कम्युनिष्टको शासनमा पनि
गरीब हुन्छ
अनि त्यो भोकाएको मान्छे भोकले
धुरु-धुरू रुन्छ

पसिनामा डुबेका भरिया दाइ सकि नसकि
भारी बोकिरहनुभएको छ
औषधी खर्च नभएर बुढी आमै झुप्रोमा
तडपिएर खोकि रहनुभएको छ
आफ्नै सरकार उडेको हेलिकप्टरको छायाँले
कहिले भरिया दाइको पसिना सुकाउला
आफ्नै सरकारको सरकारी अस्पतालहरुले
कहिले बुढी आमालाई औषधी गराउला

सर्वहारा सबैको एउटै सानो चाहना
“सुखी जीवन उत्तम शासन व्यवस्था”
कम्युनिष्ट शासनमा पनि किन भयो
दु:खी सुकुम्बासीको दयनीय अवस्था

काम खोज्ने सबै दाजुभाइ दिदीबहिनीले
बिदेशकै मुख ताक्नु परेको छ
पदमा पुग्नेको मात्र भलो हुने यो देशमा
केही गर्छु भन्नेहरूको जाँगर मरेको छ
देशमै काम र माम पाइएला भन्ने आशा
कहिले पो पुरा होला
सबैलाई समान अवसर र समान व्यबहारले
बदलिदिए पो चोला

प्रजाले नखाएसम्म खाने उदार राजा
महिन्द्र मल्ल जस्तै
यो युगको कम्युनिष्ट शासनमा पनि
जनताको आशा त्यस्तै ।

Add a Comment

Your email address will not be published. Required fields are marked *