माफ
|तिमी माफको कुरा गर्छौ
वाह ! दवावको कुरा गर्छौ
क्या ! रवाफको कुरा गर्छौ ।
तिम्रो एक शव्द माफले
मेरो टुटेको विश्वास फिर्ता दिन सक्ला ?
मुटुभित्रको बेहिसाब दर्द फिर्ता लिन सक्ला ?
मुटु फुट्ने र विश्वास टुट्ने भन्ने कुरा
भाँडाकुटी खेलमा माटोको भात
पकाएजस्तै, खाएजस्तै र अघाएजस्तै गर्ने कुरा हुन् ?
के लाग्छ तिमीलाई ?
तिम्रो एक शव्द माफको महानता
मेरा छट्पटीको ओढ्ने ओढेर
छ्याङ्ग बिहान पार्ने ,
संकुचित र निर्मम रातहरूहरूलाई
स्पर्ष गरेर फर्किन सक्लान् ?
के साँच्चै निको पार्छ त
तिम्रो एक शव्द माफले
एकान्तको मौका छोपी छोपी
मेरो मुटुभित्र बाट निस्कने
असह्य दुखाईको चित्कारलाई ?
म जान्दछु
म जान्दछु तिमीसँग
मेरो खोसिएको निन्द्रा
फर्काउन सक्ने कुनै तागत छैन ।
मेरा झरेका आँशु टिप्न सक्ने
कुनै हतियार छैन ।
त्यसैले प्रिय
मेरा असंख्य घाउहरूको
अदृष्य दुखाईको हिसाब मिलान
एक शव्द माफी कदापी हुन सक्दैन ।
अरू केही पनि हुन सक्दैन
अहँ
कहिल्यै पनि हुन सक्दैन ।
तिमी
मेरो पीरहरूको
दर्दहरूको , दुखाईहरूको
एकमात्र ॠणी ।
जसरी मेरो हृदयको चोट
मभित्र गढिएर
मलाई अनन्त दुखिरहन्छ ।
त्यसरी नै
अनन्त कालसम्म
तिमी मेरो दुखाईहरूको ऋणी ।
मेरो चित्कारको ऋणी ,
अताल्लिएर घुटन हुँदै खसिरहने
थोपा-थोपा आँशुहरूको ऋणी ।