नियात्रा: न्युजिल्याण्डको भाग तीन
|वेलिङटनमा एक रात : पाण्डे परिवारको आतिथ्य
बाहिर निस्कने एक्जिट अर्कातिर पनि छ कि भनेर एउटालाई सोधें। उसले सायद मेरो अंग्रेजी बुझेन, र अलिक पर उभिरहेको एउटा मान्छेलाई बोलायो। त्यो सुटटाइ लगाएको गोरे, अग्लो मान्छेले साह्रै विनम्र भएर स्पष्ट अंग्रेजीमा म तपाइको के सेवा गर्न सक्छु भनेर सोध्यो। मैले आफ्नो समस्या बताएँ। ती भलादमीले आफ्नो परिचय दिए, उनी ट्याक्सी ड्राइभर रहेछन। उऩले भने, फोन नम्बर दिनुहोस म सम्पर्क गराई दिन्छु। मसंग आयोजक समितिको फोन नम्बर थिएन। फाइलमा पामिस्टनका चेयरम्यान ग्रान्ट स्मिथको नम्बर भेटियो। उनी आफ्नो मोबाइलबाट स्मिथसँग सम्पर्क स्थापन गर्न प्रयास गर्दै थिए। कुनै कारणले नम्बर भेटिएन भने पनि उनले आफ्नो ठ्याक्सीमा पामिस्टन पुर्याइदिने कुरा गरेका थिए। मेरो मन भने ‘आज यस गोरेले बिताउने भो’ भनेर ढुक ढुक गर्दै थियो। यत्तिकैमा देखें एउटा नेपाली अनुहार हातमा नेपाली टोपी हल्लाउँदै मतिरै आउँदैछ। मलाई लिन आउने मान्छे यिनै हुन भन्ने तत्कालै बुझें। मेरो बुझाइ सही रहेछ। मलाई रिसिभ गर्न खटिएका उनी विक्रम रहेछन, विक्रम पाण्डे। उऩले पनि परैबाट मलाई चिनेछन। विदेशमा नेपाली अनुहार सजिलै चिनिन्छ, तर कहिले काहिँ झुक्किइन्छ पनि।
गोरे भलादमीलाई धन्यवाद भनेर एक छिन पर्खिएँ। विक्रमले गाडी लिएर आए। ती गोरेले मेरो ब्याग डिकीमा हाल्नमा बिक्रमलाई सघाए। पाँच बजे फ्लाइटको समय बुझेर विक्रम दुइ घन्टा अघि नै आएछन। एयर पोर्टमा च्रको पार्किङ चार्ज हुनाले उनले गाडी निकै पर राखेर आएका रहेछन।
विक्रमले गाडी हांके। परिचयको सिलसिलामा भने, उनले भारतको जयपुरबाट मेकानिकेल इञ्जीनियरङ, बेङ्ककबाट मेनेजमेन्ट अनि डेनमार्कबाट भौतिक शास्त्रमा एम. एस्सीको डिग्री लिएका रहेछन। विश्व रेडक्रस संस्थामा अधिकारीको रुपमा उनी कार्यरत रहेछन। उनको पैतृक थलो पश्चिम नेपालको नुवाकोट हो भने।
सिमसिमे पानी परिरहेको र चिसो सिरटोले गर्दा निकै जाडो थियो। एक पेला चियाको तलतल लागेको थियो। मैले विक्रमलाई भनें छेउछाउमा कतै होटलमा पसेर चिया नास्ता खाएर जाऊँ। यहाँ पार्किङ खोज्नमा र होटलमा अर्डर दिएर पर्खँदा एक घन्टा त लागिहाल्छ, घरै पुगेर खानु पर्छ सर, मिसिक्क हाँस्तै विक्रमले भने। मैले ढिपी गरिऩ। बीचमा उनले बाटाको एक छेउमा गाडी रोकेर कसैसँग फोनमा कुरा गरे। मिनटभरमा त्यहाँ दुबै हातमा ब्याग भोकेकी एउटी सुन्दरी युवती आइन। अघिल्तिरको सीटमा म थिएँ, विक्रमले पछिल्तिरको ढोला खोलिदिए। युवतीले ब्याग गाडीको सीटमा राखेर नमस्कार गरिन। उनी अञ्जु रहिछन, विक्रमकी धर्मपत्नी। न्युजिल्यान्डको पोस्टल विभागमा उऩको जागीर रहेछ। गाडीमा आउँदै गर्दा विक्रमले यी कुरा भनेका थिए। ‘बुवा, चिया नास्ता घरैमा खाने है’, अञ्जुले ‘बुवा’ साइनो लाएको मलाई साह्रै राम्रो लाग्यो। विदेशबाट पाहुना आउँदै छन भन्ने सूचना उऩलाई पहिल्यै दिइएको रहेछ। शहरकै उपकण्ठको एउटा चौडा बाटाको कुइनेटोको देब्रेतिर लगभग सय मिटर जति गएर एउटा दुइतले भवनका अघिल्तिर गाडी रोकियो। ‘आइपुगियो, यही हो हाम्रो घर’, पछिल्तिरबाट अञ्जुले भनिन। मेरा अनुहारमा प्रश्नसूचक चिह्न पढेर होला विक्रमले मुसुक्क हाँस्तै भने, ‘आज हाम्रोमै बस्ने, भोली बिहान चिया खाजा खाएर हामी सबै पामिस्टन जाने । सरलाई आज मेरो घरमै राख्छु भनेर आयोजकलाई सूचना दिसकेको छु।‘ ‘हामी सबै’ भन्दा विक्रम र अञ्जु पनि जाने रहेछन भन्ने बुझें। मलाई राम्रो लाग्यो।
मेरा ब्याग लिएर विक्रम अघि लागे। चार महिना भयो बुवा, हामीले यो घर किनेको— अञ्जुले निकै उत्फुल्लित भएर भनिन। अलिक उचा ठाउँमा निकै फराकिलो र सुन्दर रहेछ विक्रम-अञ्जुको यो दुइतले भवन। फराकिलो बैठक कोठा, दुइतिर पुरै सिसाको वाल, पर्दा उघारेर हेरें, पुरै वेलिङटन शहर देखिँदो रहेछ। अग्ला होचा भवनहरु, बिजुली बत्तीको प्रकाशमा सुन्दर देखिन्थे। म मक्ख परेर त्यो अनुपम दृश्य अवलोकन गर्दै थिएँ। यतिञ्जेलमा विक्रमले चिया नास्ता तयार पारेर ल्याए, अञ्जु नुहाइधुवाइ सकेर तौलियाले केश पुछ्तै आइन्। चिया नास्ता खाँदै विक्रमले धेरै कुरा सुनाए।
‘बुवा, तपाइको रुम ठिक पारिदिएकी छु। तातो पानीले नुहाएर तपाईँ फ्रेस हुनुहोस। त्यतिञ्जेलमा हामी छिटछिटो डिनर तयार पार्नेछौं। धेरै थाक्नु भाछ, खाना खाएर विश्राम गर्नुहोस।‘
म दुइरातको निद्राले पुरै गलेको, थाकेर हत्तुहैरान भएको थिएँ। नुहाउन पाए हुन्थ्यो, कसरी भनौं भनेर सोचिरहेको थिएँ। विदेशको नौलो शहरमा अञ्जुले यति मिठो वचनले ‘बुवा’ साइनोले तातो पानीले नुहाउने कुरा गर्दा अभिभूत द्रविभूत भएँ म। मैले पनि उनलाई ‘छोरी’ भनेरै सम्बोधन गरेको छु। लगभग उनकै उमेरकी मेरी छोरी पुनमलाई सम्झें मैले। अठार दिसम्बर बिहानै नुहाएर हिँडेको, आज तेस्रो दिन नुहाउने मौका पर्यो। बहुतै आरामका साथ नुहाएर निस्कें। त्यतिञ्जेलमा मेरो आधा थकान मेटिएको थियो। पलेटी कसेर सोफामा बसेको देखेर विक्रम र अञ्जु आएर मेरा दुइतिर बसे। ‘बुवा, भात खाने कि रोटी, अरु सबै आइटम बनिसकेको छ—‘ छोरीले सोधिन। ‘भात’— मैले भने, ‘एक छिन ढिलै भए पनि हुन्छ, मेरो थकान हटिसकेको छ।‘
घन्टाभर कुरा गरेपछि खाना खाइयो। कुखुराको मासु, मासको दाल, मिक्सड भेज… स्वादिष्ट खाना खाए पछि फेरि कुरा गर्न बसियो तर मेरा आखाँ झपझप गर्न थाले।
विश्राम कोठामा गएर सिरकमा गुटुमुटु भएँ। निस्लोट भएर सुतिएछ। ब्युँझदा बिहानको छ बजेको रहेछ।
ठ्याक्क आठ बजे हामी घरबाट निस्क्यौं। एकै छिनमा तीन लहर गाडी कुध्ने चिल्लो बाटोमा हाम्रो गाडी कुध्न थाल्यो। वेलिङटनदेखि पामिस्टनको दूरी दुइ सय किमि, दुइ घन्टामा पुगिन्छ भने विक्रमले। मलाई भने दश बजेको मिटिङ समयमा पुगिँदैन होला भनेर खटपटी हुँदै थियो किनभने मेरो शहर तेजपुरदेखि लगभग त्यतिनै दुरीको गुवाहाटी पुग्न हामीलाई कम्तीमा पनि चार घण्टा समय लाग्छ। चौडा मसृण बाटामा जब गाडी 120 को रफ्तारमा कुदन थाल्यो, समयमै पुगिने रहेछ भन्ने विश्वास भयो। हाइवेमा कम्ती स्पीडमा गाडी हाँक्न नपाइँदो रहेछ यहाँ। एक ठाउँमा बाटाको छेउमा अस्सी संख्या मात्र लेखेको बोर्ड देखियो। त्यहाँ बाटो सामान्य़ घुमाउरो रहेछ। ऩ भीड, न कुनै ट्रफिक जाम। चिल्लो बाटोमा पानीमा बगे झै डाडी गुडेको छ सलललल…। बाटाका छेउछाउमा एउटा मान्छे देखिएन। असम बन्धको सम्झना भयो। गाइ-बाख्रा, गधा घोडा, कुकुर बिरालो केही छैन। हाम्रो तिर बिरालोले बाटो काट्दा ड्राइबरले गाडी घ्याच्च रोक्छ अलिकति पछि सार्छ अनि मात्र कुधाउँछ। त्यसो गर्दा कति ठाउँमा दुर्घटना पनि भएका छऩ। बीचमा पर्ने ओटाकी भन्ने ठाउँमा एकछिन गाडी रोकियो, त्यहाँ पब्लिक टोयलेट रहेछ। फेरि गाडीले रफ्तार लियो। यस्तो बाटामा गाडी कुधाउन पाए पो। मेले जताततै खाल्डा खुल्डी भएका बाटा सम्झें। पानी परेका बेला बेला खाल्डा पुरिएर नदेखिने हुन्छन, के हुन सक्छ अनुमान गर्न सकिन्छ। मैले गाडी कुधाउन छोडेको दुइ वर्ष भयो। मेरो कम्मर दुख्ने पुरानो बिमार खाल्डे बाटामा मोटर साइकिल कुधाएरै भएको हो।
एउटा मोडमा हाइवेबाट देब्रेतिर गाडी घुमाएर धीमा गतिमा सय मिटर जति लगेर एउटा ठूलो भवन अघिल्तिरको चौरीमा हामीलाई झारेर विक्रमले गाडी छेवैको पार्किङमा राख्न लगे। आँगनमा र चौरीमा निकैजना नेपाली टोपी लगाएका पुरुषहरु देखिए। सभास्थल यहीँ कहीं होला भन्ने बुझेँ। मोबाइलमा समय हेरें, दस बज्न अझ सात मिनट रहेछ। विक्रमले भारतबाट आउने अतिथिलाई लिएर आउँदै हुनुहुन्छ भन्ने सूचना आयोजकहरुले छिनछिनमा लिँदै गरेका रहेछन। म गाडीबाट उत्रने साथ सबैले स्वागत गरे। जीबीएलओका उपसभापति छत्र दङ्गाल, महासचिव भीम गुरुङ, न्युजिल्यान्ड सभापति बालकृष्ण घिमिरे र महासचिव गोपाल पौडेल र अरुहरुले न्यानो स्वागत गरे। जीबीएलओ चीफ डेनजोम सामपाङ भिसाको गडबडीले गर्दा अमेरिकाबाट आउन सक्नुभएनछ। त्यसैले उपसभापति छत्र दङ्गाल (अस्ट्रेलिया) लाई अध्यक्षको दायित्वभार अर्पण गरिएको जानकारी गराइयो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेत हिजै आइपुग्नुभएछ। सभारम्भ हुनु भन्दा पहिले चिया नास्ता गरियो। त्यहीं उपकुलपति गङ्गाप्रसाद उप्रेतीजीसँग भेट भयो। म कसरी आइपुगें, भारतबाट अरु कोइ छन कि भनेर सोध्नु भयो। उहाँ एक रात अकल्यान्डमा विश्राम गर्न भ्याउनु भएछ। अमेरिकाबाट आउने प्रताप सुब्बा र दीक्षितसँग पनि परिचय साटियो।
एउटा फराकिलो आँगन कटेर सभागारमा प्रवेश गर्नुपर्ने रहेछ। त्यो आँगनमा आठदश वर्षका गुडिया जस्तै सुन्दर केटाकेटीहरु खेल्दै थिए, कतिपय टेबलमा खाँदै पनि थिए। एउटा विशाल पाँचतले भवनका पछिल्तिर थियो आँगन, त्यसका पछिल्तिर सभागार। त्यही आँगनको एकछेउबाट जानुपर्ने सभागारमा। त्यो ठाउँ केटाकेटी र बूठाबूढीहरुको मनोरञ्जन गर्ने विश्रामगृह रहेछ। त्यहाँ सबै गोरा मात्र देखिए। सबै आफ्ना धुनमा मस्त थिए। पल्लो कुनामा दुइटी वृद्धा चर्खा घुमाएर धागो निकाल्दै थिए, म त्यातिर गएँ। यसरी चर्खामा धागो कातेर लुगा बुन्ने चलन भारतमा विलुप्त भइसक्यो, कता कति गान्धी आश्रमहरुमा मात्र प्रदर्शनका लागि राखिएको होला। मैले उनीहरुको छेउमा गएर परिचय सोधें। छैवैको पाम्स ह्याभेन भन्ने वृद्धाश्रमका निवासी रहेछन। यो काम किन गरेको भन्ने मेरो प्रश्नको चित्तबुझ्दो उत्तर दिएनन। हामीलाई यो (चर्खा) घुमाउन र धागो निकाल्न राम्रो लाग्छ—- यतिमात्र भने। मैले इण्डियाबाट आएको भन्दा इण्डिया भन्दै चकित भए। इण्डिया भन्ने कुनै परीहरुको सुन्दर देश भनेर सुनेको बताए। अस्सी कटिसकेका ती वृद्धाहरुको स्मृतिलोप हुँदैगरेको बुझें। आफ्ना छोरा-छोरीले हेरचाह गर्न नभ्याए वा नचाहे पनि न्युजिल्याण्डको सरकारले धेरै माया गर्दो रहेछ। ढोका खुल्यो, अतिथिहरु सभागारमा पस्न थाले, म पनि विस्तारै छिरेँ।
कार्यक्रमको शुभारम्भ
अतिथिहरुलाई आसन ग्रहण गराइसकेर खदा र फूलमालाले स्वागत गर्दै पहिलो दिनको कार्यक्रमको शुभारम्भ मोमबत्ती बालेर गरियो। जे होस, पण्डित डा. रघुनाथ नेपालले दीपज्योति नमस्तुते मन्त्रोच्चारणको गुञ्जनले वातावरणलाई नै पवित्र पारेको थियो। जीबीएलओ न्युजिलेण्ड च्याप्टरका सभापति बालकृष्ण घिमिरेले पौरोहित्य गरेको सभामा चित्राखर सापकोटाले स्वागत भाषण राख्नु भयो। त्यस पछि न्युजिल्याण्ड र भुटानको राष्ट्रिय सङ्गीत परिवेशन गरियो। यो मलाई अतिनै तात्पर्यपूर्ण लाग्यो किनभने त्यहाँ संस्थापित भुटानी नेपालीहरुले भुटान र न्युजिल्याण्ड दुबै देशलाई बहुतै आदर र सम्मानका दृष्टिले हेर्छन भन्ने सङ्केत स्पष्ट बुझिन्थ्यो।
यसै हेर्दा त्यहाँका भुटानीहरु आफ्नो जन्मभूमि देश भुटानले नागरिकका जम्मै अघिकार खोसेर विताडन गरिएका हुन भने अहिलेको कर्मभूमि, विकसित मुलुक न्युजिल्याण्डले नागरिकका जम्मै अधिकारका साथ सम्मानको जिन्दगी दिएको छ। कर्मले पुरै विपरीत अवस्थानमा रहेका दुबै देशलाई सम्मानको नजरले हेर्न सक्नु ठूलो हृदयको परिचायक हो। मलाई समको मुकुन्द इन्दिरा नाटकका दुइ हरफ याद आयो—-
देशभक्ति त मर्दैन चुत्थै देश भए पनि
पतिभक्ति त मर्दैन पापी पति भए पनि ।
हो, देशभक्ति मर्दैन। न्युजिल्याण्डका भुटानीहरुले त्यही प्रतिपन्न गरे। न्युजिल्याण्डमा संस्थापित भुटानीहरु भुटानका सच्चा सपुत हुन। उनीहरुको देशप्रेम अमर रहने छ। विकसित मुलुक न्युजिल्याण्डमा बसोबास गरेपनि उनीहरु आफ्नो भुटानी परिचय गुमाउन चाहँदैनन। त्यसै विश्वका विभिन्न विकसित मुलुकहरु बेलायत, डेनमार्क, हल्याण्ड, अमेरिका, अस्ट्रेलिया, न्युजिल्याण्ड आदिमा संस्थापित भुटानीहरु एकत्रित हुने उद्देश्यले 2009 मा जीबीएलओ नामको संस्था स्थापना गरेका हुन। संस्थाको नाममा भुटानी शब्द राखिएकोले के बुझिन्छ भने विश्वको जुनसुकै देशमा बसे पनि उनीहरु भुटानी हुन। देश भनेको आमा हो। जसरी कुनै पनि आमाले आफ्ना सबै सन्तानलाई माया गर्छिन उसरी नै देशले पनि आफना सपुत नागरिकहरु माथि भेदभाव राख्दैन। कसैलाई काखा कसैलाई पाखा लगाउऩे त सरकार हो अनि एउटा सरकार सधैँ रहँदैन। भुटानको निरङ्कुश शासकको पनि छिटै अन्त्य भएर त्यहाँ जनप्रिय लोकतन्त्र आउँनेछ भन्ने कुरामा सबैको दृढविश्वास छ।
मेरा मनमा अरु धेरै कुरा एकैचोटि गुजुल्टिन थाले। मनमनै सोचें——–
यो उनीहरुको आवेग हो, डायास्पोराको एउटा विशेषता। वास्तविकता भने अर्कै छ, वर्तमानमा बसोबास गरेको कर्मभूमि। केवल आवेगका भरमा लामो समयसम्म टिक्न, दिगो हुन सकिँदैन। भुटानको जीवन र विकसित देशको जीवन तुलनीय छैन। भुटानमा सत्ता पल्टिएर होस अथवा अन्य कुनै कारणले — तिमीहरु स्वदेश भुटान फर्क भन्ने आह्वान त्यहाँको सरकारले गर्यो भने कतिजना फर्कन खोज्लान ? मानौं, आफु बसेको ठाउँको झल्झली याद आउनेहरु, गाइवस्तु, खेति, वनपाखाहरुसँग खेलेका पहिलो जेनेरेसनका भलै फर्कन चाहलान तर उतै जन्मेर हुर्केबढेका सन्तानहरु ! छोरा-छोरी र भौतिक सुखसुविधाहरुलाई त्याग गरेर भुटान फर्कनु सम्भव भए पनि सजिलो छैन। भुटान अतीत भयो, वर्तमान हो अहिले बसोबास गरेको देश। मान्छे वर्तमानमा बाँच्छ, उसको गति प्रगति सधैँ भविष्यतिर हुन्छ। एउटा जेनेरेसन पछिनै उनीहरुको भुटानसँगको धरापमा रहेको सम्पर्क पुरै ध्वस्त हुनेछ। भुटानबाट लखेटिएर विकसित मुलुकहरुमा संस्थापित हुनेहरुको पुर्ख्यौली थलो नेपाल हो, तिनीहरु नेपालीभाषी भुटानी हुन। विश्वको जुनसुकै देशमा बसोबास गरे पनि जातीय परिचय अक्षुण्ण राख्ने मूल तत्व भाषा नै हो । न्युजिल्याण्डका नेपालीभाषी भुटानीहरु, त्यसै कारणले आफ्नो भाषा–संस्कृतिलाई जोगाएर राख्न चाहन्छन। जीबीएलओ स्थापना गर्नुका धेरै उद्देश्यहरुमा यो पनि एउटा उद्देश्य हो।
फिजीका नेपालीहरुले आफ्नो मातृभाषा बिर्सिसके। भविष्यमा न्युजिल्यान्ड, युरोप, अमेरिका आदि मुलुकमा संस्थापित भुटानी नेपालीहरुका प्रजन्मले विकसित मुलुकहरुमा आफ्नो मातृभाषालाई जोगाएर सुरक्षित राख्न सक्ला ?
क्रमश:…
वर्णनात्मक सहजता र सुवोध भाषिक कलाले यो यात्रा विवरण झलक्क झल्किएको अनि आफै त्यसमा समाहित भएर हिडेको अनुभव भएकोछ।
ज्ञानबहादुर सरको ज्ञानको बहादुरी मान्नु पर्छ।
हार्दिक आभार, रसिलो लेख निम्ति। नमस्कार