नियात्रा: न्युजिल्याण्डको भाग पाँच

मेरो मातृभाषा नेपाली सगरमाथा जस्तै ऊँचा छ

विक्रमले दिउँसै मेरा लगेज कसैका घरमा थन्क्याएर आएका रहेछन। राति सँगै बास बस्ने कुरा पनि मिलाएर आएछन। त्यसमा मैले बोल्नुपर्ने केही थिएन। म विक्रमको कारमा बसें। विक्रमको रातो जापानी टोयोटा वाहन आफ्नै जस्तो लाग्न थालेको छ। पाँच-छह मिनट पछि 31ए बोर्ड भएको घर अघिल्तिर गाडी रोकियो। 31ए घरको नम्बर रहेछ, देवान तामाङ र मुनु कार्कीको घर। दम्पति दिनभरि सभामा थिएछ तर व्यस्तताले परिचय हुने वा कुराकानी गर्न नमिलेको बताए। देवान र मुनु दुबैले भर्खरै नर्सिङमा स्नातकको डिग्री लिन सफल भएका रहेछन।

यसरी नयाँ ठाउँमा नयाँ मित्र बनाउँन साह्रै राम्रो लाग्छ। प्रत्येक व्यक्तिमा कुनै न कुनै विषयको कलात्मक प्रतिभा छुपेको हुन्छ। त्यसलाई खोजेर निकाल्नुमा बेग्लै मजा आउँछ। पहिलो परिचयमा नाम-धाम-पेशा जानिन्छ, विस्तारै अरु ढोकाहरु खुल्दै जान्छन अनि पुरै खुले पछि कुनामा लुकेको प्रतिभा स्वतः बाहिर निस्कन्छ।

मुनु र देवानको घरमा छिनभरमै खानाको सूचना आयो। खाएर घन्टाभर गफ गरियो। विज्ञानका स्नातक देवान नेपालको शरणार्थी शिविरमा छँदा गणितका शिक्षक रहेछन। मुनु बिउटिसियन, बिगबाजारमा उऩको पार्लार छ, घरमा पनि। परिवारमा एउटी सात-आठ वर्षकी प्यारी प्यारी, गुडिया जस्ती राम्री छोरी महिमाले उनीहरुको सानो सन्सारलाई महिमामण्डित पारेकी रहिछन।

दस बजे साँझमा खाना खाएर अरु एक घन्टा जति गफ चले । मुनु पनि अञ्जु जस्तै हँसिली, फुर्तिली र अतिथिपरायण रहिछन। मुनुले पनि मलाई सहज रुपमा बुवा साइनोले बोलाउन थालिन।

यो साइनो पनि अचम्मको कुरा रहेछ। यसले जादूको जस्तो तत्कालै असर गर्दछ, टाडाको नचिनेको मान्छेलाई पनि क्षणभरमा आफ्नो बनाइदिन्छ। नेपाली साइनो सूचक शब्दहरुमा ऐश्वरिक शक्ति भए जस्तो लाग्छ। मलाई अंग्रेजीमा खुबै चलेको शब्द अङ्कल भनेको भए पनि हुने, तर त्यो शब्दले सायद त्यति गहिरो अनुभूति सृष्टि गरेर आफन्त भाव जगाउऩ सक्ने थिएन।

डबल बेड भएको एउटा कोठा मेरा लागि रहेछ। यतिखेर न्युजिल्यान्डमा सामर सिजन अरे, तर निकै जाडो थियो। मनमा अटेसमटेस भएर खाँदिएका दिनभरिका कुरा डायरीमा खन्याउन निकैबेर लाग्यो। त्यसपछि ओछ्यानमा लमतन्न भएर सिरकमा गुटमुटिएँ। ब्युँझेर उठदा बिहानको पाँच बजेछ। झ्यालका पर्दा सारें, घाम एक जुवा माथि आइसकेछन। रातको अँध्यारोलाई त बिजुली बत्तीले चुनौती दिनु स्वाभावित हो। बेलुकाको सूर्यास्तदेखि बिहान सूर्योदयसम्मको समयावधि केवल पाँच घन्टा रहेछ। प्रातकर्म सकेर गोपाल पौडेलका कथा भित्रका कथा सुन्दै थिएँ, विक्रमले नास्ता तयार भएको सूचना दिए। उनी नुहाइधुवाइ सकेर नयाँ ड्रेसमा फिटफाट थिए।

अञ्जु र मुनुको विशेष ब्रेकफास्टले डम्म अघाएर बाहिरको दृश्यावली अवलोकन गरियो। सानो चिटिक्क परेको एकतले सेतो घर। घरका अघिल्तिर आठ दसवटा कार पार्क गर्न सकिने खुला हरियो चौरी, पछिल्तिर पनि त्यति नै खुल्ला ठाउँ। घरका करेसो र छेउछाउमा ढकमक्क फूल फुलेका। एउटा कुनामा साग र कोपी लगाएका, अर्कातिर लटरम्म फलेका, झुत्तै झुत्ता नुहेका। यति व्यस्त दिनचर्या कसरी भ्याउँछन होला बगैंचाको हेरचाह गर्न । घरेलु नोकर भन्ने पदावली नै त्यहाँ अप्रासङ्गिक रहेछ।

तुलफूलको बगैंचाले घरको शोभा बढाउँछ। यसको नैसर्गिक सौन्दर्यले एकातिर ह्दय मन शान्त पार्छ भने अर्कातिर यसले घरेलु अर्थनीतिमा पनि सघाउ पुर्याउँछ। घर चलाउनु पनि जिउँनु जस्तै एउटा कला हो, सिप चाहिन्छ। सिपालु छन मुनु र देवान, आफ्नो भाग्य आफैं लेख्ने, भविष्य आफै निर्माण गर्न चाहन्छन उनीहरु।

हामी बगैंचाको नैसर्गिक रुपछटा देखेर मक्ख परेर रमाउँदै मोबाइलमा फोटो खिच्दै गरेको बेला दुइटा गाडी घऱ अघिल्तिर घ्याच्च रोकिए। पहिलोमा गोपाल, प्रकाश र छत्र थिए भने दोस्रोबाट बालकृष्ण घिमिरे र भीम गुरुङ उत्रिए। जीबीएलओ न्युजिल्यान्डका महासचिव गोपालले उहाँको निवासमा मेरो बस्ने परिबन्द मिलाइएको छ, आजको मिटिङ सकेर उतै लिएर जाने सूचना दिनु भयो। मैले भनें, म जीबीएलओको निम्तोमा आएको, महासचिवले जसो भन्नुहुन्छ त्यसै गर्नुपर्छ। त्यतिखेर देवान र मुनु केही नबोलेको देखेर आज बसाइ सर्नु पर्ने रहेछ भन्ने बुझें। सभागारमा जाने समयमा गाडीमा चड्न लाग्दा देवान भाइले ‘सरमाई एक छिन पछि मेरो गाडीमा लिएर आउँछु’ भने तर उनले विक्रमको गाडीमा चढने सङ्केत गरे। हामी पाँच जना (अञ्जु, मुनु, देवान र म) चढ्यौँ, विक्रमले गाडी हाँके। उनीहरुले गाडीमै सलाह गरे। भने,—- ‘महासचिवका घरमा पाहुना धेरै छन, त्यसैले बुवा यहीं बसेको राम्रो। धेरै मान्छेका हल्लाखल्लामा भन्दा यहीँ आरामसँग लेख्न पढ्न पनि सक्नुहुन्छ।‘ मुनुले उत्साहका साथ भनिन, ‘बुवा, तपाई जति दिन बसे पनि दिनभरि विभिन्न ठाउँमा डुलेर राति सुत्ने बेलामा यहीँ आइपुग्नु नि।‘

यति आन्तरिकताका साथ छोरीले भनिसके पछि मेरो मन भरिएर आयो। ‘तर मैले गोपालजीलाई ‘हुन्छ’ भनिसकें त !‘ ‘त्यही सुनेर त हामीले तपाईलाई एकछिन पछि हाम्रो गाडीमा लान्छौं भनेका। गोपालजीसँग हामी कुरा मिलाउँनेछौँ।‘

मेरो थर्पु देवान-मुनुका घरमै हुने भयो।

यति टाडाको देश न्युजिल्यान्ड एक्लै आउनुपरेकोले म भयभीत पनि भएको थिएँ। जीबीएलओको अधिवेशन सकिए पछि पनि अरु हप्तादिन बिताउनु पर्ने थियो। त्यो हप्ता दिन कहाँ बस्ने, कहाँ जाने केही योजना बनिएको थिएन। पमिस्टनमा यत्रो नेपाली समाज छ भन्ने पनि मलाई थाहा थिएन। उहाँहरुको हार्दिकतापूर्ण कुरा सुनेक ढुक्क लाग्यो। गाडी, भवन, सडक साफ सुग्घर परिवेश देख्ता विदेशमा भएको अनुभव हुन्थ्यो तर साथ साथै नेपालीहरुको समूहमा बसेर नेपाली भाषामै गफ्फिन पाउँदा भने मलाई नेपाल अथवा भारतको कुनै नेपाली अध्युषित गाउँमा छु जस्तो लागेको थियो।

न्युजिल्यान्डमा बसेर नेपालीमा कुरा गर्न पाउँदा मलाई गौरव अनुभव भइरहेको थियो। त्यतिखेर कुनै पहाडको शिखर अथवा कुनै अग्लो टावरमा चढेर नेपाली भाषामा सारा विश्वले सुन्ने गरी चिच्याउन मन लागेको थियो, ‘यी हेर, सुन, — मेरो भाषा सगरमाथा जस्तै ऊँचा छ।‘

दोस्रो दिनको सभा दस बजी आरम्भ भयो, सभापति बालकृष्ण घिमिरे। पहिलो, दोस्रो र तेस्रो सेसनको सफल समापन पछि यो चौथो सेसन थियो। उपसभापति विदुर पौडेलले स्वागत वक्तव्य राखेपछि लेखन कला (आर्ट अफ राइटिङ्) विषयमा संगोष्ठी थियो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले लेखन कला निषयमा सारगर्भित भाषण राख्नु भयो। कला चेतनाले मात्र मान्छेलाई सुन्दर बनाउन सक्छ अनि यो चेतनाको विकासका लागि व्यक्तिमा सूक्ष्म अन्तर्दृष्टि हुनु आवश्यक छ। त्यस पछिका वक्ता हुनुहुन्थ्यो शङ्कर प्रसाद भारती। नेपाल उपन्यास समाजका सभापति भारतीले आफ्नो भाषणमा उपन्यासका प्रकार, प्रवृत्ति र सार्थक उपन्यास कसरी लेख्न सकिन्छ त्यसबारे जानकारी दिनुभयो। भारतीको विषय विशेष गरी साहित्यका छात्रछात्राहरुका लागि उपयोगी थियो।

त्यस पछिको कार्यक्रम थियो पेनल डिस्कासन। उपकुलति गङ्गाप्रसाद उप्रेतीले सञ्चालन गरेको अन्तर्क्रियामा पेनलिस्टहरु हुनुहुन्थ्यो ज्ञानबहादुर छेत्री (भारत), अञ्जन मुना (न्युजिल्यान्ड), प्रभात दीक्षित (अमेरिका) र प्रकाश धमाला (अस्ट्रेलिया)। भाषा जातीय परिचयको मुख्य कडी हो —- अन्तर्क्रियाको विषय थियो। चौधजनाले प्रश्न उत्थापन गरेका थिए भने निर्धारित दस दस मिनटमा पेनलिस्टहरुले स्पष्टिकरण उत्तर दिन भ्याएका थिए।

दिउँसोको आहार पछि अतिथिहरुलाई फेलिसिटेसन र प्रमाण पत्र वितरण गरियो। प्रमाण पत्रका साथमा अतिथिहरुलाई शीशाले निर्मित शङ्खाकृतिको न्युजिल्यान्डको संस्कृति बहन गर्ने सुन्दर प्रतीक चिह्न अर्पण गरिएको थियो।

आमन्त्रित अतिथिमध्ये नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र भारतका अतिथि ज्ञानबहादुर छेत्रीको अन्तर्वार्ता पनि सभाको कार्यक्रमको अन्तर्गत रहेछ। न्युजिल्यान्डको ओटागो एक्सेस रेडिओका तर्फबाट सञ्चालक गोविन्द रेग्मीले पचास पचास मिनट अन्तर्वार्ता लिनुभएको थियो। सभागारमा धेरै श्रोता दर्शकका सामुन्ने लिइएको अन्तर्वार्ता मेरो पहिलो थियो। सोधिएका दशवटा प्रश्नमा तीन केटेगरीका प्रश्न थिए —— (क) वैयक्तिक, शैक्षिक र साहित्यक (ख) समसामयिक भारतीय नेपाली साहित्यको स्थिति र (ग) भुटानको विशेष रेफरेन्समा नेपाली डायास्पोरा साहित्य। (अन्तर्वार्ताको पूर्ण पाठ स्थानान्तरमा)।

श्रोता दर्शकहरुले पनि प्रश्न राख्ने हुनाले यो कार्यक्रम निकै रोचक भयो। ‘भारतको असम राज्यमा नेपालीभाषी हामीले मातृभाषामा पठनपाठनको सुविधा पाएका छैनौं, आफ्नै प्रयासले साहित्यको विकास गराएका छौ’, कुरा प्रसङ्गमा मैले यी कुरा भन्दा न्युजिल्यान्डका भुटानी नेपाली मित्रहरु चकित भएका थिए। जातिप्रेम र भाषाप्रेम प्रबल छ भने पठनपाठनको सरकारी सुव्यव्स्था नभए पनि आफ्नो भाषासाहित्यलाई सुरक्षित राख्न र विकास गराउन सकिंदो रहेछ भन्ने विश्वास उनीहरुमा जन्मियो। उनीहरु निकै उत्साहित भएका देखिए।

त्यस पछि भीम गुरुङको भीडिओ अवलोकन गरियो। भिडिओमा भुटानको निरङ्कुश शासन व्यवस्थाको विरोध गर्दा भुटान सरकारले अन्याय र अमानवीय तरिकाले देशबाट निष्काषन गरेको, नेपालमा शरणार्थीका रुपमा दुखकष्ट झेलेको अनि शेषमा तेस्रो मुलुकमा संस्थापित गरिएको संक्षिप्त इतिहास प्रस्तुत गरिएको थियो भने जीबीएलओका लक्ष्य र उद्देश्य पनि खुलासा गरिएको थियो। सन 2009 मा स्थापना भएदेखि तीनवटा अधिवेशन सुसम्पन्न भइसकेर अहिले न्युजिल्याऩ्डमा चौथो अधिवेशन चलिरहेको छ। यस कार्यकालका अध्यक्ष डेनजोम साम्पाङ हुन भने कर्ण गुरुङ महासचिव चुनिएका छन। भीम गुरुङलाई विदेश विभाग दिइएको छ। यसबाट जीबीएलओले अहिलेसम्म गरेका कार्यावली बारेमा पनि हामीलाई धेरै कुराको जानकारी प्राप्त भयो।

अञ्जन मुनाको सञ्चालनमा काव्य संगोष्ठी कार्यक्रमको पुछारमा राखिएको थियो। अञ्जन मुना न्युजिल्याऩ्डकी स्थापित कवि र गजलकार हुन। सर्वप्रथम कवि बिदुर पौडेलले रुबाइयात सुनाएर माहौल कवितामय पारिदिए। त्यस पछि विक्रम पाण्डेले गहिरा प्रेमका गजल र कविता सुनाए। ‘तपाई त छुपा रुस्तम, रात भरि बस्ता एउटा कविता सुऩाउनु भएन,‘—मैले भनें। मुस्क्क हास्तै उऩले भने, ‘तपाई धेरै थाक्नु भएको थियो, त्यहीं माथि कविता सुनाएर तपाईको दिमाग खल्बल्य़ाउन मन मानेन।‘ स्थानीय साहित्यकार गोपल पौडेल, इन्दिरा नेपाल, टीका कौशिक, सरिना मानन्धर पिया, रघुनाथ नेपालले स्वरचित कविता पाठ गरेका थिए भने भीम गुरुङले गजल सुनाएका थिए। यी बाहेक अरु चारजना छात्राले नेपाली र अंग्रेजीमा कविता वाचन गरेका थिए तर उनीहरुको नाम नोट भएनछ। बडो आनन्दका साथ चाख मानेर म कविता सुनिरहेको थिएँ, अचानक सञ्चालक अञ्जन मुनाले ‘अब छेत्री सरका कविता सुन्ने हो’ भनिन। परेन अब फसाद। यस्तोमा पहिले पनि परेको छु म। धेरै पटक आफुलाई कण्ठ भएका कविता ( नेपाली, अंग्रेजी, हिन्दी) कुनै पुरा त कुनै टुक्रा सुनाएर खाँचो टारेको छु। यस्तो हुन सक्छ भन्ने अनुमान गरेरै मैले दार्जीलिङे कवि कमल रेग्मीका आठवटा गजल र पुरण गिरीका चारवटा कविता मोबाइलमा सेभ गरेको थिएँ। तिनै गजलका हरफहरु दोहोर्याउँदै गाएँ, कमालै गरे कमलका गजलले। मनमनै सोचें, युवा गजलकार कमलले आफैं गाएका भए सायद सभागार नै उचालिने थियो होला। अन्तमा अन्जन मुनाले आफ्ना कविता सुनाएर काव्यगोष्ठी समापन भएको घोषणा गरिन।

यहाँ केवल दुइटा कविता साझा गर्न चाहें—–

(1)

यो शिर हो वीरको झुक्तैन कहिल्यै

भुस्य़ाहा कुकुर झै भुक्तैन कहिल्यै

कि मर्छ कि मार्छ दुइमा एक गर्छ

मैदान छोडी झाडीमा लुक्तैन कहिल्यै।

 

यो शरीरको छाला काडे पनि

यो कोखमा भाला गाडे पनि

लक्ष्यमा पुगी छाड्नु छ मैले

यो शरीरको मासु नै बाँढे पनि।

( कवि विदुर पौडेलको रुबाइयात)

(2)

 

उसले निवेदन पठाएछ

‘मन’ चोरेको बहाना बनाएर

म मौन थिएँ

चोरिएको मन भित्र

उसले मलाई कैदी बनाएको थियो

निरुत्तर थिएँ म।

निकालिदिउँ त उसलाई ‘मन’बाट

न उसको नै मन थियो मलाई निकाल्न

न मलाई निक्लिन

फेरि किन निवेदन ?

म यो निवेदन रद्द गर्दिन्छु ।

( अञ्जन मुनाको कविता ‘माया’ )

बेलुकाको खानाका लागि महासचिव गोपाल पौडेलले निम्तो गरेका थिए। त्यहाँ पनि काव्यगोष्ठी चल्यो, खुबै रमाइलो भयो। गोपालकी पत्नी गौरी र आमा दिर्घमाया गीत र भजन गाउनमा पारङ्गत रहेछन। सुमधुर गीतको तालमा गोपालले हार्मोनियम, भीम गुरुङले तबला र बिदुरले मादलको सङ्गीतले मुखरित भयो । बुहारी गौरी र सासू दिर्घमायाले पहिले नै खाना तयार पारेर बसेका रहेछन। दिर्घमाया, गौरी र अञ्जन मुनाले संगिनी पनि परिवेशन गरेका थिए।

सानोतिनो सभानै गर्न सकिने फराकिलो गोपालको बैठक कोठा नेपाली गीतको स्वरतालमा र हाँसोमा गुञ्जायमान भएको थियो। छिमेकका घरहरु निकै दुरीमा र बाटामा पनि मान्छेहरु हिँडडुल गरेका देखिएनन । नत्रभने केको हल्लाखल्ला भनेर हेर्न आउने थिए होला। आएनन कोही।

आएका भए रमिता हेर्न पाउने थिए।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *