जिजीविषा
|मन भित्रको बेदनाबाट
खुसी खोज्दै
बिरक्तीको पर्खाल पार गर्न
उनिसँग प्रेम गरें
प्रेम नै अन्धो भएर
विश्वास गरें
उनको चाहना बुझ्दै
जीवन चलाउँदै गएँ ।
उनलाई कहिल्यै भनिन
पहाडको चुचुरासम्म
प्रेमको निशान राख भनेर
न भन्न सकें सागरको गहिराईसम्म
प्रेममा डुब भनेर ।
मेरो मनले स्विकारेको
उनी मात्रै भएकोले
भित्री मनबाट प्रेमको कसीले मलाई
बॉंधि राख भन्थे ।
उनको मनमा
प्रेमको नाउँमा स्वार्थ लुकेपछि
मन सापट मागिन
तयार भएर दिएँ
मुटु र मस्तिष्क मागिन
उनको खुसीको लागि
म राजी भएँ
म चाहन्थें
मेरो प्रेमको पोखरीमा
उनी रातदिन पौडीरहन सकुन् ।
उनी माग्दै गईन्
म दिंदै गए
मानौं कुनै जुवाघरमा
कौडा लिएर बसेको जुवाडे झैं
मेरो प्रत्येक अङ्ग
उनको खातामा उधारो चढाउँदै गएँ ।
जीवन असहज हुँदाहुँदै
उनको प्रेमले चुपचाप भएँ
उनकै रूप हेर्न
पैंचो दिएको ऑंखा
फिर्ता लिने अठोट गरें
निशर्त मागें पनि ।
फिर्ता दिने शर्त राख्दै
एकान्तमा
ठुलो छॉंगाबाट थकेल्न पुगिन्
ठूलै पहराको लहरामा अल्झिएर
घायल जीवन बॉंचिरहेछ
त्यही पहराको निर्मल जल
पिईरहेछु
तिनै लहराले
पुनर्जीवनका लागि
आफ्नै कन्दमुल खुवाईरहेछन्
ऑंखा बिस्तारै खुल्दै गए
यही पहरा र लहरालाई
मिठो प्रेम गरेर
जीवन बिताई रहेछु
यसैमा शान्ति र आनन्दको
जीवन पाईरहेछु ।
लाग्छ म प्रेममा होइन
कुनै बाजको छायाँमा परेको रहेछु
प्रेम त पवित्र हुँदोरहेछ
जसरी निशर्त
धानी रहेको छ प्राण
यि निर्जिवहरूसँग
प्रेममा अपनत्त्व हुँदोरहेछ
अब म के दिउँ
यि लहरा र पहराहरुलाई
जस्ले मलाई यो
जीवन दिरहेका छन् !