दशैंमा जमरा: पृष्टभूमि र परम्परा

दशैं विश्व भरका हिन्दू धर्म मान्ने मानिसहरूको मुख्य चाड हो ।

हिन्दू धर्म वा सनातन धेरै लामो समयदेखि चलिआएको धर्म वा विश्वकै पहिलो धर्म पनि मानिन्छ । यसको उत्पति पुरातन वैदिक संस्कृतिबाट, इशापूर्व २००० भन्दा पहिले भएको मानिन्छ । सङ्ख्याको हिसाबले यो विश्वको तेस्रो ठूलो धर्म हो जसका अनुयायीहरूको सङ्ख्या करिब १.०५ अर्ब छ । जसमध्ये ९६ प्रतिशत दक्षिण एशियामा छन् ।

हिन्दू धर्म, दशैं र जमरा परपरम्पराका सम्बन्धमा हामी नेपाली भाषी पाठकहरू धेर थोर राम्रो जानकारी राख्छौं । तर यस सम्बन्धमाअहिलेको विश्व्यापी विधुतिय सामाजिक संजाल/संचारमाध्य वा सूचना अभिलेखहरुमा के कस्ता कुराहरु,के कस्ता तथ्य विवरणहरू छन् त ? नेपाली पोष्टले wikipedia(wikipedia.org) मा प्राप्त नेपाली भष्म लेखिएको विवरणलाई केही सामान्य सम्पादन मात्र गरेर यहाँ प्रस्तुत गरेको छ ।

दशैं के हो ? किन हो ? कहिले देखी हो र कसरी यी आदि प्रश्नका अनेक पृष्टभूमि, परम्परा, मान्यता, मिथक वा इतिहासहरू लेख्य, श्रुती वा परम्परागत मान्यताका आधारमा रहेका छन् । यद्यपी यो पर्व विश्वका एक तिहाई जनसंख्या रहेको हिन्दुहरुको जीवन पध्दति बनेको छ । सामान्यतया यसलाई असत्यका बिरुद्द सत्य अर्थात दानव शक्तिका बिरुद्द मानव/दैवी शक्तिको विजयको खुशीयालीका पक्षमा मनाइने खुशी/महोत्सवका रुपमा बुझिन्छ ।

ज्योतिष शास्त्रका अनुसार गणनाहुने आश्विन महिनाको शुक्ल पक्षको प्रतिपदा देखि पुर्णीमासम्म मनाइने यस पर्वका पहिलो दश दिन मूख्य मानिन्छ । आश्विन महिना नै भने पनि  यद्यपि तिथि गणनाको पध्दती अनुसार यो केही अघी वा पछि पनि हुनसक्छ । यस पर्वका नौ दिनमा हुन्दू ध्रामको शक्तिकी देवी दुर्गाको पूजा हुन्छ । जसअनुसार प्रतिप्दादेखि नवमीसम्म प्रत्येक दिन देवीका क्रमशः नौ स्वरुपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदाको पूजा हुन्छ । यसरी नौ दिनसम्म नौ देवीको पूजा पछि दशमीका दिन टिका जमरा लगाएर विजया दशमी मनाइन्छ । विजया दशमीका आफूभन्दा ठूला बडाबाट टीका लगाएर आशिर्वाद लिने गरिन्छ । विजया दशमीका दिन आफूभन्दा ठुला बडाबाट टीका लगाउन नपाउनेहरूले पूर्णिमासम्म पनि टिका लगाउने  पनि गरिन्छ । तर पनि हिन्दू धर्मका विभिन्न समुदायहरू वा भूगोलको भिन्नताअनुसार कतिपय कुराहरुमा केही भिन्नता छन् । कतै एकदिन मात्र लगाउने, कतै पाँच दिन लगाउने, कतै पशु बलि  दिने वा कतै रातो टीका लगाउने वा रातो टिका नलगाउने, कतै जमरा लगाउने वा नलगाउने यस्ता केही भिन्नताहरू पनि छन् । तर पनि समग्रमा शक्तिकी देवी नव दुर्गाको आराधना, सत्यको विजय र आफूभन्दा ठूला वा मान्यजनहरूबाट टिका जमरा आदि लगाउने विशेषताहरू भने मिल्दाजुल्दा नै छन् ।

जमरा किन र कसरी ?

दशैं मान्यजनबाट टीका ग्रहण गर्दा टीकासँगै कानमा लगाइने धान,गहूँ,मकै र जौका लामा टुसा/मुना वा नव आँकुरालाई नै जमरा भनिन्छ । विजयादशमी र जमरा नेपाली संस्कृति एवं परम्पराका परिपूरक शब्द हुन् । घटस्थापनाको दिन जौ र मकै  छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र हो । भारतीय एवं अन्य राष्ट्रका हिन्दूहरूमा यो परम्परा पाइँदैन । वर्षदिनसम्म घरबाट टाढा भएका व्यक्तिहरू पनि मान्यजनको हातबाट आर्शीवादसहित टीका जमरा थाप्न घर पुग्ने गर्दछन् । पुरुषहरूले ढाकाटोपीमा सिउरेको र महिलाले चुल्ठोमा सिउरेको जमराले नेपालीको धार्मिक आस्था एवं सांस्कृतिक एकतालाई प्रतिबिम्वित गराउँछ । यसरी धार्मिक, सामाजिक, सांस्कृतिक एवं स्वास्थ्यको दृष्टिले पनि जमराको ठूलो महिमा छ ।

शरद् ऋतुको आश्विन महिनाको शुक्लपक्षमा पर्ने विजयादशमीको नवरात्र (बडादशैं) को पहिलो दिन दशैं घरमा घटस्थापना गरी त्यस घटमा गोवरले रेखा बनाई जौ रोपण गरिन्छ । यसैगरी नदीबाट ल्याइएको बालुवाको वेदी बनाई त्यसमा पनि जौ/मकै छरिन्छ । विभिन्न जातजातिमा धान, गहुँ मकैजस्ता अन्न पनि जौमा मिसाएर छर्ने चलन छ । जौ रोपिएको घडामा विभिन्न देवीदेवताको आहृवान गरी घडामाथि थालीमा भगवती दुर्गाको प्रतिमा राखिन्छ ।

नव दुर्गाहरू

नवरात्रभरि भगवती दुर्गाका नौ स्वरूपको पूजा यस घडामा अवस्थित थालीमा गरिन्छ । दुर्गाका नौ स्वरूपको उल्लेख  बराहपुराणमा गरिएको छ । नवदुर्गा भन्नाले शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिरात्रीलाई बुझिन्छ । यसको साथै ती मातृशक्तिहरूमा ब्राहृमी, माहेश्वरी, कौमारी, इन्द्रायणी, चामुण्डा, वैष्णवी, नारसिंही, ईश्वरी, लक्ष्मी रहेका छन् । नवरात्रका विशेष दिन महासप्तमी, महाष्टमी र महानवमीका दिन क्रमशः महासरस्वती, महाकाली र महालक्ष्मीको विशेष आराधना गरिन्छ ।

यसरी मातृशक्तिको आराधना गर्दै घडा र वेदीमा उम्रेको जमरा विजयादशमीको दिन आफ्ना कुलदेवताहरूलाई अर्पण गरी प्रसादस्वरूप लगाउने गरिन्छ । अब प्रश्न उठ्छ कि दशैंमा किन प्रसाद स्वरूप मकै वा जौको अङ्कुर जमरा लगाइन्छ त ? के महत्त्व छ त जमराको ?

जमराको इतिहास
नेपालमा अहिले चलनचल्तीमा रहेका धेरै सांस्कृतिक र धार्मिक प्रथाहरूको जरा खोज्दै जाने हो भने इरान र इराक वा आसपास पुग्ने गरेकाले जमराको चलन पनि उतैबाट आएको हुन सक्छ। युनिभर्सटी अफ अक्सफोर्डमा पूर्वीय धर्म र नीति अध्यापन गराउने प्राध्यापकका अनुसार दक्षिण एसियामा पश्चिमबाट पूर्वतर्फ सभ्यता सरेकाले जमरा पनि इरानबाट नेपाल आएको हुन सक्छ ।

जमराको महत्त्व
जौलाई संस्कृतमा यव भनिन्छ । खाद्य पदार्थको दृष्टिले पौष्टिक पदार्थ हो भने जौलाई स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ । वैदिक ग्रन्थमा जौलाई रोग दूर गर्ने, यज्ञयज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रूपमा लिइएको छ । यसैकारण होला यज्ञयज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा गरिएको पाइन्छ । पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिएको छ । पुराणमा भगवान् श्रीकृष्णले पनि औषधिहरूमा म जौ हुँ भनेर भन्नुभएको हुनाले पनि यसको धार्मिक महत्त्व कत्तिको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।

वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्त्व कम्ती रहेको छैन । आयुर्वेदिक ग्रन्थमा जौ र जौको अङ्कुरबाट गर्न सकिने उपचारको उल्लेख भएको पाइन्छ । आधुनिक चिकित्साअनुसार विविध रोगका लागि जौ उपयुक्त रहेको आजका वैज्ञानिकहरूले पत्ता लगाएका छन् । चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगहरूलाई ज्यादै फाइदा पुर्‍याउँछ । यसको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउने भनाइ उनीहरूको छ ।

यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरूलाई पनि जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले चाँडै शरीरमा तागत आउने कुरा विभिन्न खोजबाट पत्ता लागिसकेको छ । अमेरिकाका भूविज्ञ डा. आर्क टकसले गरेको अनुसन्धानबाट के पत्ता लागेको छ भने जौको अङ्कुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो । अन्य हरिया सागपातमा पाइने पौष्टिक तत्वभन्दा जौ वा यसको अङ्कुरमा पाइने तत्व तुलनात्मक रूपमा धेरै नै बढी छ । अमेरिकाका अन्य विशेषज्ञले पनि जमरालाई प्रयोगको रूपमा सफलता पाइरहेका छन् । भारतमा चिकित्सकहरूले गरेको जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरूलाई समेत फाइदा पुर्‍याएको बताएका थिए । नेपालमा पनि जमराको प्रयोगबाट लाभ लिनेहरू नभएका होइनन् । जौमा यस प्रकारका प्रशस्त गुण रहने हुनाले पनि यसको अङ्कुरलाई विजयादशमीको प्रसादको रूपमा प्रयोगमा ल्याइएको हुनसक्छ ।

जमरा तयार गर्ने विधि
शुद्ध बिजको प्रयोग गर्ने ।
शुद्ध तथा अध्याँरो ठाउँ चयन गर्ने ।
जौ (यद्यपी मकै, गहुँ, धान, मकै) को बिजलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्ने ।
कुनै टपरीर गमलामा थोरै बालुवा वा माटो राख्ने ।
बिजलाई बालुवा र माटोमा बराबर मात्रामा राख्ने ।
हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन ।
उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो ।

यस पर्वका अवसरमा विश्वका सम्पूर्ण मानव जातिको सुख सम्वृद्धी र शान्तिको कामना गर्दछौं ।
                                              -नेपाली पोष्ट परिवार

नोट: wikipedia ले सार्वजानिक चासोका सबै जात समुदायका हरेक विषयको जानकारी दिने र स्वतन्त्र सम्पादन र सुझाव आह्वान गर्ने गर्दछ । प्रस्तुत विवरण पनि त्यसैको एउटा अंश हो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *