परदेशको दशैं

दशैं आयो रे भन्छन्
फेसबुकाँ मात्रै हो कि
घरघरै आयो ?
कोरोनाको कहरले जहर खन्यायो
न त आफन्त भेट्न जानू
न त मस्त एक्ला एक्लै खानु
नसोचिएको महामारि कस्ले ल्यायो
यसपालीको दशैं खै कस्तो आयो आयो ?!

शुभकामना भन्न नि सबैले भ्याए
स्टाटस लाइक कमेन्टको बर्षातै गराए
ट्विटर गुगल इन्स्टाग्राम सप्पै चले
तेतीले नपुगेर यु ट्युबमै पनि छाए
टिकटकेले त नाचिनाचि दशैं गाए
आँफै मनाए घरघरै रमाए
राम्रै बाटो समाए ।

न पिङ मच्चाउन पाईयो
न भेटघाटमा जम्न पाईयो
लंगुर बुर्जा त हरायो हरायो
न कौडा दाउमा च्याखे थाप्न पाइयो
जुटपती फलास किट्टि र फ्याउरा
कल ब्रेक म्यारिज सारा बिर्सने भैयो
बिर्सेर नसकिने दसैं मनाइयो
न आफ्नाहरूसँग जमाउन पाइयो
न एक्लै रमाउन पाइयो ?

हुनत,
भुटन पनि बन्यो
कचिला छोयला
कबाफ सेकुवा सबै बन्यो
सितन पानी परिपरिका पेग पेग खनियो
ठाउँ अन्सारको
तिनपाने ,तरुवा तोङ्ग्वा सारा तान्नु तानियो
भनौं या भन्दै नभनुँ
एकल काँटे दशैं मान्न चैं मानियो।

ढाँट्नु हुँदैन
चण्डी पाठ
दुर्गा चालिसा वा गणेश थापना
सारा जानेको गरियो
विधि पुर्याएरै जमरा पनि उमारियो
मन्त्र भट्याएरै साइतकै टीका लाईयो
लगाई दिइयो निधारैभरी
आशिक सोचेभन्दा राम्रो
भर्चुअल मै भएपनि लिनदिन पाइयो
तर लाग्छ
यस्पाली नसोचेकै कुरा गुमाइयो
खै के दशैं खै के दशैं
कस्तो मनाईयो कस्तो मनाइयो ?!
यसपालीको दशैं
परदेशको दशैं
यसपालीको दशैं
महामारीको दशैं
खै कस्तो आयो
खै कस्तो गयो ?!

Add a Comment

Your email address will not be published. Required fields are marked *