नियात्रा: न्युजिल्याण्डको सातौं भाग

पङ्खे डाँडो, पङ्खे चरो, पामिस्टन, मनावती इत्यादि

24 दिसम्बर। बिहान म ओछ्यानबाट उठ्दा देवान र मुनु अफिस गइसकेका रहेछन, नातिनी महिमा कम्पुटरमा के गेम खेल्दै थिइन। प्रातकर्म, नुहाइ धुवाइ सकेर म किचनमा पसें। म किचनमा पसेको चाल पाएर महिमा पनि आइन। मसँगै ब्रेकफास्ट गर्न पर्खिरहेकी रहिछन। सात-आठ वर्षकी सानी फुच्ची—- उनले ब्रेडलाई ओभनमा तताएर मक्खन लगाइन्, मैले अण्डा छोडाउन सघाएँ। त्यस पछि एक कप कफी पनि बनाइन, आफ्नो लागि एक पेला दुध लिइन्। प्लेट मेरा अघि सारेर निहुरेर दुइहात जोरेर भनिन, ‘बाजे लिनुस।‘ देखेर म चकित अभिभूत भएँ, यति सानी केटी, कसरी किचनमा आफै काम गरेकी, पाहुनालाई पनि सत्कार गर्न जानेकी ! यस्तो संस्कार घरैमा आमा-बाबुबाट सन्तानमा जान्छ।

न्युजिल्यान्डमा घरको सरसफाइदेखि किचनको सबै काम आफैं नगरी धर छैन। युरोप, अमेरिकाका विकसित देशहरुमा घरको काम गर्ने नोकर राख्ने परम्परा नै छैन। त्यसैले हुनेखाने र धनी वर्ग भनेर छुट्याउनै सकिँदैऩ। उसरी नै सरकारी कार्यालयमा पनि कुन तल्लो वर्ग कुन उपल्लो वर्ग भनेर कर्मचारीलाई छुट्याउन सकिँदैन किनभने ड्राइभर, पिउन अथवा स्वीपरले पनि कार्यालयको प्रमुख अधिकारीलाई सर नभनेर नाम काढेरै हैल्लो पिटर वा हैल्लो जोन भनेर सम्बोधन गर्दछन। यहाँ कोही ठूलो हुँदैन, कोही सानो हुँदैन—— सबै समान। सबैले सबैलाई सम्मान गर्छन। ——गोपालले यी कुरा सुनाउँदा मेरो मन टाइम मसीनमा चडेर आफ्नै देशका अतीत स्मृति खोतल्न पुगेको थियो। सेभेनमा होकि एटमा ‘डिगनिटी अफ लेबर’ भन्ने अंग्रेजी एसे कण्ठस्थ गरेको थिएँ। श्रमिकहरुको देशमा श्रमिकको छोरा श्रमिकले श्रमको मर्यादा के बुझ्नु। घोकन्ते विद्या भन्थे गुरुहरु—- घोक्न मात्र लाउँथे। त्यो उमेरमा घैँटामा घाम लाग्ने गरी कुनै कुरा पनि बुझ्न, सिक्न पाइएन।

आफ्ना देशका कामचोर, घुशखोर अफिसरहरुको रवाफ र धाक सम्झें। देशमा दुइचार जना सत् र नीतिनिष्ठ कारिन्दा नभएका होइनन तर तिनलाई व्यतिक्रम मान्दा हुन्छ। आफुले नजीकैबाट देखेका, चिनेका कतिपय अनुहार मेरा मानसपटमा देखिए। कतिपय ठूला अफिसर सेवानिवृत्ति पछि रातारात हिरोबाट जिरो हुनपुगे। नोकरीमा छउञ्जेल रजगज गरेका रिटायर भएको भोलिपट्टै कसैले नपुछ्ने साधारण वर्गमा अवनमित भए। अरु त के आफ्नै घरमा समेत कुनै इज्जत नभएको देखेर बौलाउने अवस्थामा पुगे। कसैले साहित्यकार बन्ने सलाह दिएछ। घुस खाएर कमाएको पैसाबाट अलिकति खर्च गर्दा सभा-समितिहरुमा पनि मानमनितो हुने अनि मरे पछि पनि सुनाम रहने। मान प्रतिष्ठा किन-बेच हुने मुलुकमा सबै सम्भव हुन्छ। मि एम हिजोआज ठूलो लेखक बनेको छ। आफ्नो अभिनन्दनपत्र आफै लेखेको छ, टोपी-खदा किनेर ‘मलाई लगाइ देउ’ भनेको छ, सस्ता लेखकलाई पैसा दिएर, कतिपयलाई ढाँटेर आफ्नो अभिनन्दन ग्रन्थ पनि निकालेको छ।

रमिता हेर्नेहरुमा कसैले मुसु मुसु हाँस्तै प्याच्चै भन्यो, ‘वाह, तपाईँ त क्या भयङ्कर लेखक।‘ व्यङ्ग हो कि के उसको पुरिएको गिदीले ठम्याउन सकेन।

गोपालका कुरा मेरा मनको पर्दामा बारम्बार प्रतिध्वनित भइरहे—- ‘यहाँ सबै समान, कोही सानो हुँदैन, कोही ठूलो हुँदैन।‘

म कोठामा बसेर लेखिरहेको थिएँ, त्यस्तै एघार बजेको बजेको हुँदो हो, घरको कलिङ बेल बज्यो। घरपति भएर बसे पछि हेर्नै पर्यो। ढोकाको प्वालबाट हेरें, गोपाल रहेछन। मैले ढोका खोलिदिएँ, प्रकाश धमाला र छत्र दङ्गाल पनि देखिए। म घरमा एक्लै छु भन्ने बुझेर मलाई साथ दिन आएका रहेछन। मैले डायरी थन्क्याएँ।

‘आज पङ्खे डाँडा जाने प्रोग्राम बनाएका छौ’ — गोपालले भने।

‘पङ्खे डाँडा !’, यो त खाट्टी नेपाली नाम हो, म छक्क परेर गोपालका मुखतिर हेरिरहें। मुसु मुसु हाँस्तै उनले भने, ‘अहिले हामी जुन ठाउँमा जानेछौ त्यसको प्रकृत नाम उडभिले ब्रुकलिन हो। त्यहाँ निकैवटा होचा होचा थ्याप्चा पहाड छन । त्यहाँ निकै जोडतोडले निरन्तर हावा चलिरहन्छ। ती डाँडामा ठूला ठूला पङ्खा घुमिरहन्छन। साह्रै सुन्दर खुल्ला ठाउँ, पर्यटकहरु त्यहाँ जान मन पराउँछन। उडभिले ब्रुकलिन विन्ड टार्बाइन—– अब यति लामो नाम नेपाली जिब्रोले कसरी फडकारोस, बोधो मगजले नै पो कसरी याद राखोस। डाँडामा पङ्खा घुमेको देखेर कसैले ‘पङ्खे डाँडो’ भनिदियो—– अऱुले त्यही सजिलो नाम टिपे। पामिस्टनमा बसोबास गर्ने सबै नेपाली त्यस ठाउँलाई पङ्खे डाँडो नै भन्छन। अवश्य यो नेपाली नाम अरुले बुझ्दैनन।‘—— गोपालका कुरा सुनेर म निकै भावुक हुन पुगें।

भाषाको उच्चारण वैशिष्ट्य अनुसार स्थान नामवाचक संज्ञा शब्दहरुको भेद हुने गर्छ। त्यसै कारणले भारतका कलकत्तालाई कोलकाता, बम्बैलाई मुम्बइ, त्रिवान्द्रमलाई थिरुवनन्तपुरम पारिएको छ । नेपालीमा कतिपय शब्द सोक्रेटिज सुकरात, एरिस्टोटल अरस्तु, प्लेटो परस्तु, ट्रेजेडी त्रासदी, कमेडी कामदी लेखिएको देखिन्छ। रिक्रुटमेन्टबाट रिकुटे (लीलबहादुर क्षत्रीको बसाइँ उपन्यासमा), डिपोर्टेडबाट डिपाइटे (गोविन्दराज भट्टराईको मुगलान उपन्यासमा) आदि शब्दले नेपाली साहित्यमा आसन जमाइसकेका छन। उसै गरी असममा गिरमिटे शब्द प्रचलित छ। अंगरेजी एग्रिमेन्टबाट यो शब्द बनेको हो। पूर्वमा असममा तेल कम्पनीमा काम गर्नका लागि बाहिरबाट एग्रिमेन्ट गरेर श्रमिक ल्याइन्थो, ती श्रमिकलाई गिरमिटे भन्दथे।

यसरी हामीले कति अंग्रेजी शब्दलाई दौरा सुरुवाल टोपी लगाइदिएर भित्र्याएका छौ। कुनै पनि ठाउँमा अर्कै मुलुकबाट आएर बसोबास गरेको जनसमूदायले ऐतिहासिक सांस्कृतिक छाप छोडेको हुन्छ। भारतको गोवा, पण्डिचेरी आदि शहरमा पुर्तगाली शैलीको छाप आज पनि देख्न पाइन्छ। पाल्मारस्टन नर्थलाई पामिस्टन पारेको पहिले नै उल्लेख गरियो। मानावाटु भन्ने नदी पामिस्टनलाई फन्को मारेर तासमेन सागरमा मिसिएको छ। त्यो नदीलाई पनि नेपालीहरुले मनावती उच्चारण गरेको सुनें। मलाई म्यान्मारको इरावती नदीको सम्झना भयो।

पङ्खेडाँडो शब्दले पनि न्युजिल्यान्डमा धाक जमाउन सकोस। भुटानका नेपालीभाषीहरु संस्थापित भएका राष्ट्रहरुमा के त्यस प्रकारको सांस्कृतिक छाप रहन सक्ला। पङ्खे डाँडाले अलिकति आशा देखाएको छ।

धेरबेर टिक्न नसकिने रहेछ यी डाँडाहरुमा। जोडतोडले हावा चल्दो रहेछ। अकाशै छेड्लान जस्ता अग्ला अग्ला हेमानका गोला खम्बाहरुमा जडेका ठूला ठूला पङ्खाहरुलाई हावाले घुमाउँदो रहेछ। यसरी हावाको शक्तिबाट बिजुली उत्पादन गरेर सारा देशलाई पुगेर पनि बचत हुँदो रहेछ। ‘न्युजिल्यान्डमा बिजुली गएको सुनेकै छैन’—- यस पालि गौरीले रहस्य खोलिन। हावाबाट शक्ति उत्पादन गर्दा प्रदूषणको पनि कुनै खतरा नहुने। निकैवटा डाँडा ढाकेर अग्ला अग्ला लहरै हावामिल, तिनका सेता पखेटा टल्केका अकाश नै छुने गरी उचालिएका, घुमेका। आम्मामा !!

कति दूरदर्शी सरकार !

डाँडा माथिको हरियो चौरीमा कतै पनि गाइ-बाख्रा चरेको देखिएन। चारैतिर लहलह घाँसै घाँस। यस्तो घाँसे मैदान देखेर लोभ लाग्यो, मेरो धौलाको गाइगोठ यतै सारूँ कि जस्तो लाग्यो। डाले घाँस उस्तै, देखेर ‘एक भारी लैजाऊँ पो क्यार’ भनेको त गोपालका दुइ पुत्र प्रभास र प्रयास गलल्ल हाँसे। मैदानमा कुनै ठूलो रुख देखिएन, ससाना पोथ्रा-पोथ्री र बुट्यान मात्र।

‘यो देशमा जनावरलाई घरमा पाल्नु मिल्दैन, सरकारको अनुमति पाइँदैन। अनुमति कथंकाल पाइयो भने पनि एउटा गाइ अथवा बाख्रो पाल्नु यति खर्चिलो हुन्छ, त्यो खर्चले ठूलै काम गर्न सकिन्छ। भुटानमा जस्तो गाइबस्तु छाडा छोड्न पाइदैन। त्यसैले यस देशमा कसैका घरमा पनि हलगोरु, दुहुने गाइ, बाख्रापाठा, कुकुर, बिरालो पाल्नु मिल्दैन। यस देशले हाम्रो संस्कृति नै मास्ने भयो नि दाज्यू’— मोहनले भने। ‘हाम्रो तिहारमा हलि तिहार, गाइ तिहार, कुकुर तिहार काग तिहार कसरी मनाउनु ?’

यो गहिरो चिन्ताको विषय हो।

‘यहाँ झलक्क हेर्दा सबै सुसम्पन्न, धेरै थोक राम्रो देखिन्छ तर त्यो सम्पन्नता भित्र धेरै पीर लुकेको छ, आँसु पनि बग्न नपाएर आँखामै सुकेको छ। अरु त के यहाँ रुखले पनि आफुखुसी बढ्न र फैलिन पाउँदैन, जताततै उम्रिन पनि मनाही छ। जीवश्रेष्ठ प्राणी मान्छेले अरु जीवको स्वाधीनता हनन गरेको छ’ —–भनेर फिस्स हाँसे गोपाल। उऩको कृत्रिम हाँसोमा वेदनाको मात्रा बढी थियो।

गौरीले एउटा सानो पोथ्रातिर हेर्ने सङ्केत गरिन। त्यहाँ एउटा अति सुन्दर सानो चरो चिट्चिट् शब्द गरी बुरुक्क बुरुक्क उफ्रिँदै एउटा हाँगोबाट अर्को हागोमा जाँदै थियो। त्यसका पछिल्तिर मुजूरका जस्ता मास्तिर फर्केका प्वाँख थिए। ‘यो पङ्खे चरो हो’, गोपालले जिस्किँदै भने पनि यसो राम्रो नियालेर हेरेको त्यस चराको पुच्छर त सिलिङ फेनको पखेटा जस्तो देखेँ। साँच्चै यसको नाम ‘फेनटेइल’ रहेछ, माउरी भाषामा ‘पी वाकावाका’ भन्छन।

फर्किंदा बाटाका देब्रेतिरको विस्तृत फाँटमा घेराभित्र हजारौ टाटे-पांग्रे गाइ-गोरु, भेडा, हरिण आदि छिमल छिमल निहुरेर चरिरहेका थिए। त्यो अनुपम मनोमुग्धकर दृश्य हेरेर राम्रो लाग्यो। जे होस, टाडैबाट भए पनि गौमाताको दर्शन गर्न पाइयो। फर्किँदा एउटा ठूलो पसलमा पसियो। मलमा सामान किन्दै गरेको बेला एकजना गोरे भलादमीले गोपाललाई देखेऱ, ‘हैल्लो गोपाल’ भनेर हेनसेक गरे। म गोपालका पछि पछि थिएँ। गोपालले मलाई पनि चिऩाइदिए। उनी न्युजिल्यान्डका पुनर्वास विभागका केबिनेट मन्त्री रहेछन। उनी पनि ट्रली ठेल्दै सामान किन्दै थिए।

नेपाली क्रिसमस

आज 25 दिसम्बर, क्रिसमसको दिन। न्युजिल्यान्डमा धुमधामसँग क्रिसमस उत्सव पालन गरिन्छ। ख्रीष्ट धर्मावलम्बी नेपालीभाषीहरु पनि मनाउँछन यो चाड। कवि बिदुर पौडेलले आमन्त्रण गरेका छन, उनीहरुको स्थानीय चर्चमा। पामिस्टनका ख्रीष्टधर्मी नेपालीहरुले मनाएको यस उत्सवमा नेपाली संस्कृति झल्काउने नृत्य गीत अनि भाषण र व्याख्या-विश्लेषण अंग्रेजी भाषामा—– यो एउटा अनौठो किसिमको मिश्रित संस्कृति देख्न पाइयो। डायस्पोरिक जीवनको झलक हो यो।

न्युजिल्यान्डको नेपाली समाज सही अर्थमा सेक्युलर रहेछ। पामिस्टनमा बसोबास गर्ने नेपालीभाषी समाज धार्मिक रुपमा हिन्दु, इसाइ र बौद्धमार्गीमा मोटामोटी 2 : 1 :1 अनुपातमा विभाजित छ। तर उनीहरुको आपसी मेलमिलाप र आवतजावत देख्ता धार्मिक विभाजन सजिलै छुट्याउऩ सकिँदैन। हिन्दुहरुको पूजाआजा र भजन कीर्तनमा क्रिस्तान र बौद्धधर्मी पनि आमन्त्रित हुन्छन। उसै गरी बौध र क्रिस्तानहरुका उत्सवमा अन्य धर्मीले पनि भाग लिएको देखियो।

उनीहरुको सांस्कृतिक चेतनामा युगानुकुल उदारता देखेर साह्रै राम्रो लाग्यो। हाम्रो देश भारतवर्ष धर्मनिरपेक्ष देश हो। हाम्रो संविधानको प्रस्तावनामै सेक्युलर शब्द राखिएको छ । तैपनि देशमा धर्मीय असहिष्णुताका घटनाहरु प्राय घटित भइरहन्छन।

बालकृष्ण घिमिरेले उनको वाहनमा बिदुरको चर्चमा पुर्याए। गोपाल पौडेल, प्रकाश धमाला, छत्र दङ्गाल, बालकृष्ण घिमिरे र म गरी पाँच जना विशिष्ट अतिथिलाई परिचय गराउँदै खदाले स्वागत अभिनन्दन गरियो। सांस्कृतिक कार्यक्रममा नेपाली गीत र नृत्य पनि रहेछन। त्यस पछि एल्डर मदन राईले प्रभु यीशुको जीवन दर्शन र खृस्टधर्मका तात्विक कुरा गर्नु भयो। गहिरो अध्ययन भएका विद्वान व्यक्ति रहेछन राई। बिदुरले जानकारी दिए अनुसार उनी पहिले सनातन हिन्दु थिए। भुटानमा शिक्षकको जागीरमा थिए। भुटानबाट लखेटिए पछि उनी इसाइ भएर डुवर्सतिर ख्रीष्टधर्म प्रचारमा लागेका हुन। उनको भाषण अंग्रेजीमा थियो, हामीलाई बुझ्न गाह्रो परेन। त्यस पछि भने अर्का एकजना सुदर्शन पुरुषले पुस्तकबाट नबुझिने भाषामा पाठ गरे। तर लगत्तै बिदुरले त्यसको अनुवाद अंग्रेजीमा सुनाए। त्यो हिब्रु भाषाको बाइबेल अनि पाठ गर्ने व्यक्तिको नाम स्टिवार्ट वाफ रहेछ। हाम्रा बिदुर पौडेलले हिब्रु भाषा पनि जानेको देखेर अनि यति सुन्दर अंग्रेजीमा व्याख्या गरेको सुनेर खुसी लाग्यो।

सांस्कृतिक कार्यक्रममा लटरी खेल पनि थियो। हामीले ससाना कागजका टुक्रामा आफ्नो नाम लेखेर दियौ। ती टुक्रालाई फोल्ड गरेर एउटा घडाजस्तो पात्रमा हाले। पछि एउटी सानी केटीलाई ती टुक्रा झिक्न लगाइयो। मेरो नाममा र बालकृष्ण घिमिरेका नाममा लटरी परेछ। निकै ठूलो प्याकेट थियो। त्यो प्याकेट मैले गोपाललाई दिएँ किनभने ती सामान फ्लाइटमा लान नसकिने खालका थिए। अरु तीन चारवटा सांस्कृतिक कार्यक्रम हेरेर हामी विदा हुन लाग्दा बिदुरले खाना खाएर जानु पर्छ भनेर ढिपी गरे। खानाका धेरै परिकारहरुमा बीफ पनि थियो । अरुनै परिकार लिए तर पनि किनहो मुखमा हाल्न सकिनँ। अरु खाँदै थिए, म झोक्राएर बसिरहें। अन्य आइटम मिठाइ खानु भनेर भर्जिनाले निकै ढिपी गरिन तर पेट ठिक नभएको बहाना बनाएर टारें। बेलायतको होटलमा खान बस्ता साथीले गान्धीलाई ‘यु आर टू क्लाम्जी फर डिसेन्ट सोसाइटी भनेर झपारेको थियो। मलाई पनि सभ्य समाजमा मिल्न नसक्ने गवाँर भने होला, मनमनै। उनीहरुले नभने पनि मेरै एक मनले भनिहाल्यो।

बजार पुरै बन्द थियो आज। केही चिनो त लिएरै जानु भन्दै थिए साथीहरु। मलाई पनि केही चिनो साथीभाईहरुलाई उपहार लाने मन लाग्यो किनभने मैले दिल्लीमा साटेका पाँच सय डलर कतै खर्च गर्नु परेन, अबका तीन दिनमा पनि खर्च गर्नु पर्ने छैन। भोली मुनुले मलाई बजार डुलाउने प्रोग्राम बनाइन। आमालाई एक दुइवटा प्रसाधनका सामग्री उपहारमा पठाउने आग्रह गरिन। बजारमा डुलेर बहुमुल्य समय गुमाउनु उचित ठानिन र म बजारमा सामान च्वाइस गर्नै जान्दिन भनेर उनलाई एक्लै जानु भनें। गौरी साथमा जाने भइन, उनले पनि केही चिनो आमालाई पठाउने रे।

बेलुकीपख भजनकीर्तनमा जानुपर्ने भयो। घरपतिको ठूलो बैठककोठामा भक्तहरु मझेरीको कार्पेटमा आँटि नआँटि बसेका। अग्लो खाटमा सुसज्जित आसनमा बसेर पण्डितजी प्रवचन गरिरहेका। देवान र म पनि त्या मिसियौँ तर एक घन्टा पछि विदा माग्यौं। पण्डितले हरेराम हरे कृष्ण छापा चादर मलाई ओडाइदिए। घरपतिले एउटा बट्टामा सेलरोटी, स्याउ, सुन्तला, केराको प्रसाद हातमा दिए।

पण्डितजी डा रघुनाथ नेपाल थिए। उनको प्रवचन दिने शैली आकर्षक थियो। हार्मुनि तबला, झ्याम्टा बजाएर लय हालेको भजनमा संगीतले श्रुतिमधुर पारेको, राम्रो लाग्यो। देवानले बौद्धमार्गी भए पनि कति राम्रो सँग भजन गाएका। उनले भने, ‘यहाँ हप्तै पिच्छे घऱ घरमा पालो गरी भजन कीर्तन हुन्छ, तिनमा मलाई पनि निम्तो हुन्छ।‘

Add a Comment

Your email address will not be published. Required fields are marked *