खाली कागज

मेरो खाली कागज
मेरो मस्तिष्क
मेरो हृदय मन बचन कर्मको
खुल्ला खाली कागज तिमी
म जे लेख्न सक्छु लेखिदिन्छु
जे पोत्न सक्छु पोतिदिन्छु ।

मेरो खाली कागज
तिमीमाथि मेरो चाहना
शिरदेखी पाउसम्म कोरिदिन्छु अक्षरहरु
राखिदिन्छु गीतका मायालु धुनहरु
कहिले पोत्छु छचल्किने रङ्गहरू
खुलिदिन्छ तिम्रो मुस्कान
कत्ति पोख्नु मेरो माया
कत्ति घोप्टाउनु द:खको कालो मसी
तिम्रो निर्मल सेतो पन्नामा
धेरै कोरें तिम्रो छातीमा
जती रगडे पनि  मेरो कलम
तर कहिल्यै गुनासाहरु पोखेनौ तिमीले ।

मेरो खाली कागज
चिसो चुलोको रित्तो भाँडाकुटी ठोक्किंदा
तिमीमाथि पानी पोखीन्छ
पानीले ढाडींदै फुलेको अक्षरहरु
तिमी चुपचाप हेरिरहन्छौ
आबेगमा म
तिम्रो हत्या गर्न तम्सन्छु
उचाल्छु पछार्छु कहिले मुसार्छु
रीसले पोको पारेर फोहरमा फ्याँक्छु ।

मेरो खाली कागज
जे गरे’नी तिमी चुपचाप सहिरहन्छौ
माया गर्दै मुसार्दै तिमीमाथि
प्रियसीको मायालु कविता कोर्छु सुनाउँछु
पट्याउँछु बिटमार्छु खोल्छु राख्छु
मेरी मायालु  मुटु राखी चिठ्ठि पठाउँछु
तिमी सुटुक्क मेरो मायालुसम्म
ढुक्-ढुक् धड्किने मेरो मुटु पुर्याइदिन्छौ  ।

मेरो खाली कागज
साँच्चै म बनेर ऊसम्म पुगेर
उनको रातो ओठको चुम्बन फूल लियर
मसम्म फर्कि आईपुग्छौ
मेरो इतिहास बोकेर
जलतरंङ्ग बनेर छचल्किंदै
मेरो हृदय भरी
युगौं युग मिठो धुन घन्किरहन्छौ
मेरो खाली कागज !

Add a Comment

Your email address will not be published. Required fields are marked *