बाचा
|केही सम्झेजस्तो गरी
उसले आकाशतिर हेर्यो –
कुनै दिन
जून टपक्क टिपेर
तिम्रा सुन्दर
कोमल अञ्जुलीमा राखिदिनेछु
त्यो दिन आउन त देऊ ।
सोध्यो –
सम्झेऊ ?
टाउको छड्के पारेर
आँखै खाने जूनको चमक छेक्न
ऊ त्यो पारी डाँडामा
निधारमाथि हत्केलाको छाता बनाएर
गरेको त्यो रोमाञ्चक बाचा !
तिम्रो मनजस्तै
आकाश खुल्दा
बाचा
पूरा होलाजस्तो छ
लौ
सिङ्गो जून समाऊ
रूखका हाँगाबाट
झर्दै गरेको
र, पहिराइदेऊ दियोको माला
तिम्रा अञ्जुलीमा चौतर्फी
मुटुकै आकारमा ।
निधारमा अनिश्चयका धर्सा कोरेर
पुर्पुरोमा हात राख्दै
मलिन अनुहारमा कैयौं पटक सोध्थ्यौ –
दिन आउला ?
बाचा पूरा होला ?!
सन्ध्यामा जूनको आकाश उज्यालो होला ?
बाचा पूरा हुन
पूर्णिमाको जून बनेर
दिन
आउनुपर्ने रहेछ
आकाशको जून बस्न
धर्तीको मन सफा हुनुपर्ने रहेछ ।
हेलिप्याड होइन जूनका लागि
अञ्जुलीभरी धपक्क बल्ने
मुटुको साथ चाहिने रहेछ ।
तिम्रोजस्तै ।