नगेन्द्रका यात्रा निबन्ध संगालो ‘उत्तर दख्खिन पूर्व पश्छिम’ बारे
|
- आमुख-
नेपाली साहित्यमा नियात्रा साहित्य निकै विकसित बनेको छ। आजभन्दा लगभग ५०० वर्ष अघिको ‘राजा गगनीराजको यात्रा’ देखि आजसम्ममा नेपाली .यात्रासाहित्यले धेरै घुम्ती, मोड- उपमोड पार गर्दै विकसित हुँदैआएको देखिन्छ। यदि हामीमाझबाट घु्म्न जानेमध्ये दश प्रतिशत व्यक्तिहरूले आफुले गरेको यात्रा वर्णन लिखित रूपमा प्रकाशित गरे भने पनि नेपाली नियात्रा अझ निकै विकसित हुने थियो। यद्यपि नेपाली नियात्रा साहित्य त्यति अविकसित र कमजोर भने अवश्य छैन, विकसित र सम्पन्न छ। सं १९१०मा प्रकाशित जङ्गबहादुरको बेलायत यात्रा नेपाली यात्रासाहित्यको कोसे-ढुङ्गो सावित भएको छ भने शेरसिँह राना, लैनसिंह बाङ्देल, तारानाथ शर्मा, केदारमणि आदी, प्रकाश ए. राज, घनश्याम राजकर्णिकार, सलोन कार्थक, जय छाङ्छा आदि नेपाली नियात्रा साहित्यका विशिष्ट साधक हुन्।
- लेखक नगेन्द्र शर्मा–
नेपाली साहित्यमा एकजना विद्वान लेखकका रूपमा नगेन्द्र शर्माको नाम पनि देख्न पाइन्छ। उनी एक गहन अध्येता हुन्। उनको जन्म डाउहिल, खरसाङमा २३ मई, १९३१ मा भएको थियो। उनीटि बी एम भन्ने विशेष शिक्षा पनि लिएका थिए। उनले कोलकाताको पश्चिम बंगाल पत्रिकाको सम्पादकको काम पनि गरेकेका थिए। पछि उनी काठमाडौ गए। यहाँ उहाँले आफ्नो योग्यता अनुसारको विभिन्न पेशा अपनाउनु भएको थियो। सरकारी नेपाली विषयमा स्नातकोत्तर र कानुनमा स्नातक हुन्। उनी लन्डन गएर आइउनका पिताको नाम नन्दप्रसाद शर्मा ढुङ्गाना र माता हरिप्रिया थिइन्। उनको अध्ययनको फाँट साहित्य, राजनितीशास्त्र, समाजशास्त्र, धर्मशास्त्र, दर्शनशास्त्र सबै देखिन्छ। यसकारण उनका निबन्ध ज्ञानवर्धक, तार्किक, विश्लेषणात्मक किसिमका हुन्छन्। उनका निबन्धमा विचारको पौल पाइन्छ, तर्कयुक्त बौद्धिकताले ओतप्रोत हुन्छन्। आफ्नो गहन अध्ययनलाई पाठकसामु पस्किदिएका हुन्छन्। आफुलाई लागेका कुरा तर्कसम्मत प्रस्तुत गर्दै पुष्टि गर्दैलगेर पाठकलाई चिन्तन मनन गर्न बाध्य बनाइएको हुन्छ। विचार प्रस्तुतिकरणमा निर्भीकता, तटस्थता र विश्लेषण पाइऩ्छ। नगेन्द्रका निबन्ध, नेपाली जनजीवन, ईसाइ पुराण, अण्डादेखि भ्यागुतासम्म, बनारसमा बेचिएकी बहिनी, तर्क वितर्क, सम्झाउनी -बिर्साउनी, छासमिस मासमिस, दोभानको मान्छे, मैझारो, आदि उनका प्रकाशित निबन्ध सङ्ग्रह हुन्। उनका अँग्रेजीमा प्रकाशित पुसतकहरूमा This IS Nepal, ii. Nepal A to Z, iii. NepaliLiterature in a Nutshell, iv. Nepal at a Glance, V. Folk Tales of Nepal, Vi, Nepal : Some Tales , Some Truths, vii. Secrets of Sangri-La, viii. Sheet of Snow, iX. Nepal’s relation with Sikkim and Bhutan. उनका अंग्रेजीमा अनूदित पुस्तकहरूमा i. A Flower Amidst Thron (मूल झमक घिमिरेको जीवन काँडा कि फूल), ii. Hitler and Jews (मूल विश्वेश्वरप्रसाद कोइरालाको उपान्यास हिटलर र यहुदी), iii. Malati Robot. (मूल मुक्तिप्रसाद उपाध्यायको मालती उपन्यास) उनको Folk Tales of Nepal को जापानी अनुवाद पनि भएको छ।
उनले निबन्धमा आफ्नो गहन अध्ययन, प्रतिभा, ज्ञान र अनुभवको धारले तर्क र विश्लेषणले पाठकको वौद्धिक खुराक लाभ हुँदछ। उनी आफ्नो अध्ययनको सारवस्तु र ज्ञानलाई आफ्ना पाठकहरूलाई निबन्धका माध्यमबाट बाँड्ने काम गर्छन्। उनको लेखकीय मूल्याङ्कनस्वरूप विभिन्न लेखकहरूका संस्मरण र समीक्षणहरूको संग्रहीत भएर सिलगडीबाट मुक्ति प्रसाद उपाध्यायको सम्पादनमा चौरासीको नगेन्द्र प्रकाशित भइसकेको छ। यद्यपि प्रस्तुत भूमिकामा उनको नियात्रागत प्रवृत्ति र रूपरेखाको मात्र चर्चा गरिन्छ।
ग) नगेन्द्रको उत्तर दख्खिन पूर्व पश्छिम किताब प्रकाशित हुनुको पूर्वकथा–
एकपल्ट २०१५ मा उहाँ कालिपोङ उहाँको काइला भाइको घर आएका बेला उहाँसित मेरो भेट भयो। मेरो दाजुको घर र उहाँको भाइको घर जोरिएको छ। म उहाँको सान्निध्यको ज्ञानराशीबाट लाभान्वित हुन चाहन्थेँ। उहाँसित लामा गफ भए। उहाँलाई मैले मेरो किताब साहित्य अनुशीलन दिएँ। त्यो दिएको दुई दिनमा उहाँले मलाई बोलाउनु भयो। बोलाएर आधा घण्टा जति किताबमा भएको विषय, कुनै शाब्दिक पारिभाषिक शब्द आदिमा सोधेर केरकार गर्नुभयो। बाबु, यस्तो लेख्नुभएको छ… फलानो भनेको के हो? आदि भन्दै मैले लेखेको विषयमा सोध्नु भयो। मैले फटाफटी उत्तर दिएँ। उहाँले पढ्दा पेन्सिल लिएर पढ्नु हुँदो रहेछ रे नबुझेका , नमिला, कुनै विशेष लागेका शब्द वाक्य वा पाराग्राफमा पेन्सिलले दाग र प्रश्न चिन्ह लाउनुहँदो रहेछ। दुईदिनमा त उहाँले मेरो किताब ‘साहित्य अनुशीलन’ छिचोलेर त्यसको शल्यक्रिया गर्नुभएको रहेछ। कता कता वाक्य नमिले वा प्रुफ गल्ती भएको देखाउऩु भयो। त्यसपछि मेरो किताबको एकदमै मिठा शब्दमा प्रशंसा गर्नु भयो। उहाँले यति स्तरीय समालोचनाका किताब काठमाडौंतिर किन नपठाएको, त्यहाँ पनि बिक्री हुन्छन्, पठाउनु पर्छ, यहाँ मात्रै सिमीत हुनुहुँदैन, य किताब त नेपाली साहित्यमा लागेका सबैलाई काम लाछ भनेर जनाउनु भयो। उहाँको मुखबाट यति सुन्दा म खुशीले गदगद भएँ। त्यसै सिलसिलामा उहाँले मेरो उक्त किताबमा नियात्राकार सलोन कार्थक र एम बी प्रधानको नियात्रा पुस्तकको समालोचना पनि उहाँले स्वादले पढ्नुभएको कुरा गर्नुभय़ो। अनि मेरा पनियात्रा गर्दाका अनुभव गर्दा लेखिएका टिपिएका धेरै लेख छन् भनी जनाऩुभयो। मैले भने ‘उसो भए लु मलाई पठाइदिनु होस, म हेर्छु। भएछ भने तपाईँको नियात्रा लेखलाई नगेन्द्रका नियात्रा भन्ने किताब निकालुँ’ भनेँ। उहाँले इच्छा व्यक्त गर्नुभयो। उहाँ केही दिनपछि काठमाडौं फिर्नुभयो। काठमाडौं पुगेर आफ्नो यात्रा डायरी र पत्रिकातिर छापिएका आफ्ना लेखहरू बटुल्नु भएछ। मलाई फोन गरेर लु बाबु, म मेलमा पठाउनेछु, बाबुले राम्ररी सम्पादन गरिदिनुहोला, छपाउने व्यवस्था म मुक्ति भाइलाई भन्छु भन्नुभयो। म त खुशी भएँ, यति ठुला लेखक र विद्वानको किताबको सम्पादन गर्ने अवसर पाउँदा म खुशी भएँ।
घ नगेन्द्रको उत्तर दख्खिन पूर्व पश्छिम पुस्तकबारे टिप्पणी –
यसरी उब्जेको नगेन्द्र शर्माको यो किताब ‘उत्तर-दख्खिन पूर्व-पश्छिम’ नामले सम्पादन र नन्दप्रसाद-हरिमाया स्मृतिको कोशको पक्षमा मुक्तिप्रसाद उपाध्यायको प्रकाशकत्वमा २०१६ मा प्रकाशित भयो। यसमा रहेको भाषा लेखककै जस्ताको तस्तै राखिएको छ। यसमा जम्मा उनन्तीसवटा नियात्रापरक लेख समावेश रहेका छन्। विशेष गरी लेख आफु शाही नेपाल वायु सेवा निगम, गोरखापत्र संस्थान, आदिजस्ता सरकारी निकायका अध्यक्ष बनेका बेला आफुले घुम्ने अवसरलाई लिखित रूपमा उतारेका छन्। उनमा साहित्यिक स्वभाव र प्रवृत्ति भएकाले आफ्नो भ्रमणपरक लेखमा साहित्यिक रसको चासनीमा डुबाएका छन्। यी प्रत्येकमा लेखकीय इमानदारिता, सत्यता, सूचनात्मकता, ज्ञानवर्धकता, सरलता जस्ता गुण पाइन्छ। अझ विशेष गरी उनले प्राय लेखमा संसारका विभिन्न ठाउँमा गोर्खालीहरूको बसोबासो, उनीहरूको रहनसहस, सामाजिक, राजनैतिक स्थिति आदिको जतिसक्दो लेखाजोखा गरेका छन्। ती गोर्खालीहरू त्यस ठाउँ वा शहरमा कसरी आए के कस्तो स्थितिमा बसेका छन् राम्ररी केलाएका छन्। थाइल्याण्डमा संस्कृत र पाली भाषाको प्रभाव, त्यहाँका कतिपय ठाउँ र शहरको नामकरणमा संस्कृतको प्रभाव, त्यहाँ गोर्खाली मानिसको स्थिति आदि बारेमा प्रकाश पारिएको छ। त्यसैगरी सिङ्गापुरको भौगोलिक, राजनैतिक, सामाजिक, आर्थिक स्थितिबारे टिपोट गर्दै त्यहाँ पनि गोर्खाली मानिसहरूसँग भेट गरी उनीहरूको स्थिति बुझेको देखिन्छ। यस पुस्तकमा थाइल्याण्ड, मलेसिया, सिङ्गापुर, फिलिपिन्स, हङ्कङ, पेरिस, लण्डन, तेहरान, बेलग्रेड, बोस्टन, सिओल, टोक्यो, बेइजीङ, नानजिन, ग्यान्दोङ, दिल्ली, मैसूर, गोवा, मुम्बई, टोरोन्टो, न्यु योर्क आदि शहर भ्रमण गरेको वृतान्त पाइन्छ।
लेखकले आफुले घुमेका शहरतिर केही न केही तीता मिठा अनुभव हासिल गरेका छन्। कतै आफु हराएर परिवारमा सुर्ता परेको अवस्था, कतै ती ती ठाउँका विशिष्ट कवि लेखकबारे जानकारी हासिल गर्नु, कतै आफुलाई मन परेको चिज किन्नु खोज्दा त्यसको मूल्य आफ्नोमा भएको भन्दा बढी हुनु, युगोस्लोभाकियाका राष्ट्रपति र उनकी श्रीमतीले दिएको कोसेली चिन्ह, त्यो कोसेलीमा आफुले दिउँसो किन्न नसकेको छालाको ब्याग नै पाउँदाको हर्षको अनुभव, दक्षिण कोरियाले द्रुत गतिमा विकास गरेको तथ्य, सामाजिक सांस्कृतिक तहमा जापानी र कोरियाली मानिसहरूको तुलना, चीनको आर्थिक उन्नतिको कारण केलाउने प्रयासको अध्ययन गरिएको छ। शर्माले आफ्नो प्राय लेखमा नै आफुले गरेको विदेश यात्राको उपयोगिता गरी पाठकलाई लाभान्वित तुल्याएका छन्।
शर्माका लेखमा साहित्यिक रसको चास्नीमा डुबाइएको पाइन्छ। स्थानको सूक्ष्म निरीक्षण गरी आफ्नो मनोभावसमेतको अभिव्यञ्जना गरिएको पाइन्छ। उनले पाठकलाई पनि आफुसँगसँगै लगेर गएझैं रागात्मक, आत्मीयता, पाठकसित एकालापीय ढाँचामा प्रस्तुत गरेका छन्। यात्राका अनुभतिको प्रस्तुतिकरण, जानकारी र संस्मरणको सम्मिश्रण, सूक्ष्म निरीक्षणबाट पाएको ज्ञानको अभिव्यक्ति आदि जस्ता कुरा नै उनको नियात्रा लेखनगत उपलब्धी हो। यसमा बढी फूल बुट्टा भरिरहनु पर्दैन। किताबभित्रका लेखहरूले नै भन्ने कुरा भनेको छ।
ङ. उपसंहार- नेपाली साहित्यका प्रसिद्ध निबन्धकार र विद्वान लेखक नगेन्द्र शर्माको यात्राबाट बटुलिएका अनुभवलाई उत्तर दख्खिन पूर्व पश्छिम भन्ने यात्रा साहित्य प्रकाशित भएको छ। नेपालका विभिन्न पत्र-पत्रिकामा लेखका रूपमा छरिएका लेखहरूलाई सङ्कलन गरी जम्मा उनन्तीसवटा यात्रा संस्मरात्मक निबन्धहरूलाई यसमा पुस्ताकार रूपमा प्रकाशित गरिएको छ। यसमा स्वदेश यात्राबाहेक युरोप, दक्षिण पूर्व एसिया र पश्चिम एशिया र अमेरिकी देशहरूको भ्रमणका केही रोचक संस्मरणात्मक लेखहरू समावेश गरिएको छ। यसका धेरै लेखहरूमा मानव संवेदना, स्थलगत चिन्तन, जातीय चिन्तन, राष्ट्रिय चिन्तन आदिलाई घोलेर साहित्यिक रस दिने काम भएको छ। यसमा लेखकको कथ्य बोलीलाई नै आधार लिइएको छ। नेपाल भारतको कुटनैतिक सम्बन्धको पनि चर्चा छ, नेपालको स्वर मुखरित गरी राष्ट्रियतालाई भावनागत अक्षुण्ण राख्ने काम गरेका गरेका छन्। विदेशमा गोर्खाली जीवन अवलोकन गर्न खोजेका छन्। उनले यात्राका क्रममा जातीय विभेदलाई जरैबाट उखेल्न खोजेका छन्, आफ्नो अध्ययन र ज्ञान अनुभवलाई पाठकसमक्ष पस्केका छन्।