महाकवि देवकोटाको स्मृतिमा
|जीवन चार पर्खाल भित्र
अटस मटस निसास्सिरहँदा
शरिरभरि
गोब्रे किरो सल्बलाउँदै हिंडेझै
कताकता हृदयमा गाँठो परेझैं
जीवन जिउँदो भएर पनि
मरे मरे को भान भएझैं
किन यस्तो उराठ
किन यस्तो सास्ती
बगरमा छट्पटीएको एउटा माछो ।
गर्न कत्ति बाँकी छन्
थाति राखेका सपनाहरु
आकाश जत्रा परिकल्पनाहरु
के
यहीं अब स्तब्ध हुने भए त ?
के पानीको वह रोकिने भयो त नदिमा ?
मैले रोक्न नभ्याएर तपकिएका
यी आँशुले
केवल यै सिरानी मात्रै भिजाएर सक्किने भए !
मेरा पैतालाहरुले
के गन्तव्य नटेकी घाटामा पुग्ने भए त ?
निसास्सिएर अमिल्चो यो शरीर
अब के डोजरले पुर्ने त हैन ?
हाम्रा मान्यताहरु
हाम्रा पुर्ख्यौली सम्पत्ति
के त्यै खाल्टोमा सँगै पुरिने भए ?
उफ ! के समय हो यो
आफ्नो मलामी आँफैमात्रै हुनपर्ने
हँ !
गलिसकेछन हातहरु
ढलिसकेका छन आँतहरु
आँखाहरु टिल्पिलाई सकेछन्
नर्सले घोचेको सुइरोले थोरै चिमोट्दा
स्यानो होस आएजस्तो हुँदा
पानीको इसारा गरें
उन्को हात्ले पानी दिंदा
आफ्नी स्यानी छोरीले पिलाएको याद आयो ।
धन्य हौ छोरी तीमी
आफ्नो ज्यान जोखिममा पारेर
म जस्ता हजारौको सेवामा छौ
म उठ्न त सक्दिन
तिमिलाई मेरो नमन् छ
नेपाल आमाको सलाम छ।
कत्ति पो छ र
तिमिले मलाई इन्जेक्सन लगाउने
अनि
यसरी पानी पिलाउने
सलाइन चड्न छोड्यो डा साप
उनी चिच्याइन्
डाक्टरले बोतलको स्क्रु मिलाए
पानी तप तप झरिरह्यो
बगिरह्यो मोरो गैरिखेतको पैनीमा
सन्नाटा पछि
मैले जोतेको ब्याड देखें
लह लह धानकै बीउ देखें
आहा !
हैन ! हैन ! हैन !
यो हुनै सक्दैन
मैले महासगर पौडनै छ नि
पारि को त्यो सुन्दर बिहानी हेर्नै छ
खोरियामा मैले अझै घैया रोप्नै छ
मालतीको खमारमा
माले र झुलेलाई दाईमा नार्नै छ
एउटै भएपनि
लिपुलेकमा गएर माटोको गित गाउनै छ
चन्द्र सूर्य झण्डा फहराउनै छ
हैट ! म आँफैले
यो बन्द कोठाको गजबार अब खोल्नै पर्छ
यो जंजिर आफ्नै हातले तोड्नै पर्छ ।
हो,
मैले त सिङ्गो सूर्यलाई निल्नुछ
म ब्युँतिएको छु यो बन्द कोठाभित्रैबाट
म उठेको छु मृ्त्यु शैयाबाट
ती तिम्रा दुई लहर सम्झिएर-
के हो ठुलो जगतमा ?’ ‘पसिना विवेक’
‘उद्देश्य के लिनु ?’ ‘उडि छुनु चन्द्र एक।’