अन्तरङ्ग
|अन्तर मन किन सम्झदैन
पूर्वजको अन्तिम दिन
किन याद हुँदैन
आफ्नै अन्तिम पाईला
चिताबाट उडेको धुवाँको गन्ध
अन्तस्करण भित्र सुँघ्न सकेन वासना
सायद धेरै कालको तरेलीमा
पत्रपत्र सुवास छोप्पियर होला
जीवनभरि नारियर जोतेको समय
उकाली ओरालीमा मटेङ्ग्रा बटुलेको
राम्रो नराम्रो जीवनको क्षणहरु
कहिलै पुगेन वैभवमा पौडिएर ।
आनन्द र खुसीका लहरहरु
सुक्खा अन्नका चोटहरु
कहिले लकप्पकै छोपिददन्छ
भन्ज्याङ्गको त्यो ठूलो ढुंगामा बसेर
आकाश पारीको शितल जुन हेरेको
आऊँ अङ्कमाल गरौं मनसँगै
आँफै भित्र अन्तरकृया नादको संगीत सुनौं
अनि हाँसौं घुमौं अन्तर मन भित्र भित्रै
बिहान शीतसँग हाँस्ने रङ्गिन फूल हेरौं
लालुपाते मुसुक्क मुस्कुराको हेरौं
सक्दैनौं भने टिप आफ्नै
आँखाको दुई थोपा मोती।
शुन्य मनको आकाश भित्र राखेर
अनुभव गरौं दिव्य प्रकाश आफ्नै अन्त:स्करणमा
नसा नसामा संचालित रक्त संचार
शिर देखि पाउसम्म
स्पर्श गरौं अन्तर मनका शिराहरु ।
पल पल साथ अपनत्वको
खुसीको अन्तरङ्गको
हेल्लियर बगौं
न्यानो अफ्नै अङ्गालोको साथ
बाँच्नु त छँदैछ अनन्तकालसम्म
अन्तरआत्मा भित्रै बतास सुसाएर
बाँड्दैछ मन भित्रको बाटो बनेर
मनन गरौं पारीलो उर्जाको राप
ब्रह्माण्डबाट ईश्वर र सुर्यले पठाएको आशीष
बटुलौं सबै आशीषका तरङ्गहरू
सुनौं दूर आवाज… हरपल
आफ्नै स्वासप्रस्वास सुमसुम्याइ
अनुभव गरौं ध्वनिको तरङ्ग
वर्तमान जगाएर अन्तरङ्ग
बाडौं सबैमा,
आनन्द र खुसीका लहरहरु
फूलले रङ्गिन सुबास बाँडेजस्तै
जूनले शितल लहर छरेजस्तै
बुद्धको प्रज्वलीत ज्ञानजस्तै
छरौं चारैतिर असिम शान्तिका तरङ्गहरू ।