नियात्रा: न्युजिल्याण्डको: अन्तिम भाग (१२)
|न्युजिल्यान्डको नेपाली जनजीवन र साहित्य
प्रशान्त महासागरको दक्षिणपश्चिम ओसेनिया महादेशमा एन्टार्कटिकाको छेउमा अवस्थित न्युजिलेण्ड चारैदिशा पानीले घेरेको सीमा सुरक्षित देश हो। साना ठूला 600 द्वीपहरुको यो देशको क्षेत्रफल 268 हजार वर्ग किमि छ भने जनसंख्य़ा लगभग पचास लाखको छ। यहाँको माउरी जनगोष्ठीलाई देशको आदिवासी मानिन्छ। न्युजिल्यान्डमा एउटै 120 सदस्यीय सदन (House of Representatives) छ। बेतायतको ढाँचामा सरकार रानीका नाममा परिचालित हुन्छ, प्रधान मन्त्री सरकारका प्रमुख हुन।
न्युजिलेन्डमा नेपालीभाषी जनसमूदायको पनि बसोबास छ। यहाँ मूलत दुइ प्रकारका नेपालीहरु छन। पहिलो त नेपालबाट नोकरी अथवा व्यापारको सिलसिलामा गएर उतै बसेका नेपाली अनि दोस्रोमा भुटानबाट बिस्थापित भएर धेरैवर्ष नेपालका शरणार्थी शिविरमा बसेपछि तेस्रो देशमा संस्थापित हुने क्रममा न्युजिलेण्डमा संस्थापित नेपालीहरु। नेपालबाट आउनेहरुको संख्या थोरै एक हजार जति पुग्छ भने भुटानी शरणार्थीहरुको संख्या तीन हजारको छेउछाउ छ। पुनर्वास गरिएका भुटानीहरु पामिस्टन, हेमिल्टन, नेलसन, क्राइश्चार्च, अकल्यान्ड र थोरै संख्यामा डुनेडिनमा पनि छन। राष्ट्रियताको कुरामा बिस्थापित नेपालीहरु आफुलाई नेपाली नभनेर भुटानी भन्दछन अनि भुटानको निरङ्कुश राजतंत्रलाई हटाएर लोकप्रिय प्रजातन्त्र स्थापित गराएर मातृभूमि प्रत्यावर्तन गर्ने लक्ष्य र उद्देश्यले सांगठनिक रुपमा एकत्रित हुँदै छऩ।
नेपालबाट आएका हुन अथवा भुटानबाट, एउटै मातृभाषा बोल्ने हुनाले उनीहरुमा राम्रो सद्भावना र सम्प्रीति देखिन्छ। धेरै टाडाको विकसित मुलुकमा अल्पसंख्यक भएर बस्नु पर्दा भावनात्मक एकता आवश्यक हुन्छ नै।
संस्था संगठन र साहित्य संस्कृति
अनेकतामा एकताको एउटा सुन्दर आदर्श न्युजिलेण्डका नेपाली समाजमा देख्न पाइयो। धार्मिक रुपमा त्यहाँका नेपालीहरु हिन्दुधर्मी, बौद्धमार्गी र इसाइ रहेछन तर आपसमा उनीहरुको मेलमिलाप देखेर म साह्रै प्रभावित भएँ। चाडबाडमा सबैको सहभागिता हुँदो रहेछ। पच्चीस दिसम्बर क्रिस्मसका दिन बिदुर पौडेलले एउटा चर्चमा आमन्त्रण गरेका थिए। त्यहाँ एकजना पास्टरले हिब्रुभाषामा आफ्नो वक्तव्य राखेका थिए भने त्यसको साथसाथै नेपाली भाषामा अनुवाद र्ने काम बिदुरले गरेका थिए। उनी हिब्रु भाषाबाट अंग्रेजीमा अनुवाद गर्ने काममा आमन्त्रित हुँदा रहेछन भन्ने सुनेर म हर्षले उचालिएँ। महिला गर्भवती हुँदा आयोजन गरिने बौद्धहरुको एउटा धार्मिक भोजमेलमा पनि पुग्ने मौका जुरेको थियो। उसै गरी कतिपय घरमा आयोजित भजन, कीर्तन, सत्संगमा थोरै समय भए पनि बस्न भ्याइयो ।
भुटानबाट लखेटिएका हुन अथवा नेपालबाट आएका, आद्यभूमिबाट अर्कै महादेशमा बसोबास भएपछि जातीय परिचयको कुरालाई लिएर सङ्कट उत्पन्न हुन्छ। बोल चाल अर्कै भाषा, छोरा-छोरीको शिक्षादीक्षा साथीभाई अर्कै भाषाका— यस्तोमा आफ्नो भाषा आफुले बोल्न नपाउनु, छोराछोरीले बोल्न नजान्नु जस्ता कुराले अब जातीय परिचय नै हराउने भयो भन्ने डर हुन्छ। भाषा र संस्कृति जबसम्म आफुसँग रहन्छ तबसम्म जातीय परिचय पनि सुरक्षित रहन्छ। त्यसैले न्युजिलेण्डमा बसेका नेपालीहरु भाषा साहित्यको विकासका लागि हुरुक्क भएर लागिपरेका छन। जातीय संस्था खोलेका छन, नानीहरुलाई मातृभाषा सिकाउने स्कुल खोलेका छन अनि चाडपर्वहरुमा जातीय खानपान र सांस्कृतिक कार्यक्रम रौसिएर मनाएका छन। विशेष गरी धार्मिक अनुष्ठान, पूजाआजा आदि हप्तै पिच्छे घर घरमा आयोजना गरिंदो रहेछ।
न्युजिलेण्डको भुटानी सोसाइटी सन 2008 को 9 जुलाईका दिन स्थापित सबै भन्दा पुरानो संस्था हो। न्युजिलेण्डमा बसोबास गर्ने नेपालीहरुका स-साना समस्याको समाधान गर्नुदेखि लिएर जातीय उद्देश्यमा सभा समितिहरुको आयोजन गर्नु, स्य़ानीय सरकार र संस्थाहरुसंग योगसूत्र स्थापन गर्नु जस्ता काम यो संस्थाले गर्दो रहेछ। अहिलेको कार्यकालमा बालकृष्ण घिमिरे अध्यक्ष र गोपाल पौडेल महासचिव खुबै सक्रिय रहेका छन। उनीहरुको नेतृत्वमा 21 र 22 डिसेम्बरका (2019) दिन विश्व भुटानी साहित्यिक संस्था (GBLO)को चौथो वार्षिक सभा सुसम्पन्न भएको थियो। (यस संस्थाको गठन, लक्ष्य र उद्देश्य अनि यतिञ्जेलसम्मको गतिविधिको विवरण पुस्तकमा राखिने)।
पत्र-पत्रिका, पुस्तक आदि
हाम्रो पहिचान
न्युजिलेण्डको भुटानी सोसाइटीको मुखपत्र हो हाम्रो पहिचान । यसको पहिलो अङ्क 2073 (वि.स.)मा प्रकाशित भएको थियो। प्रवेशाङ्कमा संस्थाका सांगठनिक गतिविधिहरुको विवरणका साथै कविता, निबन्ध, कथा आदि सिर्जना पनि समावेशित छन। जीबीएलओ-को परिचय, भुटानी समाज नेलसन, न्युजिलेण्डमा सर्वप्रथम भुटानी मुलुकका नेपाली, भुटानी आवाज रेडिओ कार्यक्रम, फुटबल टीम लोछम्पा आदि जस्ता ऐतिहासिक महत्वका विषयहरु पनि यस अङ्कमा समावेश गरिएका छन। सुदर्शन अधिकारी, डा. गोविन्दराज भट्टराई र प्रकाश आङदेम्बे जस्ता वरिष्ठ साहित्यकारहरुको शुभकामना सन्देशले पनि यस पत्रिकाको गरिमा बढाएको छ। पहिचानका सम्पादक हुन गोपाल पौडेल। यसमा कतिपय महत्वपूर्ण ऐतिहासिक कुराहरु हुनाले यो अङ्क पठनीय मात्रै नभएर संग्रहनीय सन्दर्भस्रोत बनेको छ।
विदुर पौडेल
प्रयास (कविता संग्रह) न्युजिलेण्डका कवि विदुर पौडेलको पहिलो नेपाली कविता पुस्तक वि. स 2067 मा प्रकाशित भयो। यसरी विदुरले न्युजिलेण्डको पहिलो नेपाली पुस्तकको लेखकका रुपमा ऐतिहासिक काम गरेर कीर्तिमान खडा गरे। विदुरको प्रयासमा नेपाली र अंग्रेजी भाषामा लेखिएका रुबाइहरु समावेश गरिएका छन। बसाइँ सरेको देश उनको दोस्रो कविता हो। वि.स. 2069 सनमा प्रकाशित यस कविता संग्रहमा विदुरका अट्ठाइसवटा कविता परेका छन। पहिलो कविता संग्रह नेपालबाट प्रकाशित भएको थियो भने दोस्रो कृति न्युजिलेण्डबाटै प्रकाशित भएको छ। यसका प्रकाशनमा संलग्न रहेका दुइटा संस्था छन- जीबीएलओ र भूटानी समाज न्युजिलेन्ड। यसरी न्युजिलेन्डका पहिलो नेपाली साहित्यकार कहलाउने श्रेय कवि विदुरलाई छ।
गोविन्द रेग्मी
गोविन्द रेग्मी उर्फ टीका कौशिक रेडिओ न्युजिलेण्डको ओटागो एसेस रेडिओ (OAR) डुनेडिन केन्द्रमा कार्यरत छन। उक्त केन्द्रबाट प्रसारित हुने हाम्रो आवाज नेपाली कार्यक्रम उनी सञ्चालन गर्दछन। न्युजिलेन्ड समय अनुसार प्रत्येक मङ्गलबार बेलुकी छ बजे नेपाली गीत, कविता, भजन कीर्तन आदि सांस्कृतिक कार्यक्रमका साथै न्युजिलेण्ड भ्रमण गर्ने विशिष्ट व्यक्तिहरुको अन्तर्वार्ता र भाषण आदिको प्रसारण गराउँछन। उल्लेखनीय के छ भने जीबीएलओ चौथो अधिवेशन उपलक्ष्यमा न्युजिलेण्ड पुग्ने नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र भारतका साहित्यकार ज्ञानबहादुर छेत्रीको अन्तर्वार्ता उनकै तत्परतामा डुनेडिन केन्द्रबाट प्रसारित भएको थियो। रेग्मी कवि र निबन्धकारका रुपमा परिचित प्रतिभा हुन।
विक्रम पाण्डे
नेपालको नुवाकोटमा जन्मेका विक्रम पाण्डेले भारतको जयपुरबाट मेकानिकेल इन्जीनियरिङ, थाइल्यान्डबाट एमबीए अनि डेनमार्कबाट एम एस्सी को डिग्री लिएका छन। उनी 2008को 8 जनवरीका दिन नोकरीको सिलसिलामा न्युजिलेन्ड आइपुगेका हुन। न्युजिलेन्डमा पुनर्वास हुने भुटानका नेपालीहरुलाई विक्रम पाण्डेले संयोजकका रुपमा रहेर धेरै मददत गरेका हुन। उनी न्युजिलेण्ड रेडक्रसको अधीनमा कार्यरत अधिकारी हुन। विक्रम पाण्डे कविका रुपमा पनि सुपरिचित छन भन्ने कुरा हाम्रो पहिचान पत्रिकामा उल्लेख गरिएको छ। जिन्दगीको सार्थकता, बाह्रखरी, मेरो देश, म मान्छे र अरु निकै कविता प्रकाशित भएका छन भने सबै कविताहरुलाई पुस्तकाकारमा समेट्ने तरखर गर्दै छन।
बालकृष्ण घिमिरे
भुटानीहरुको संस्थापनको क्रममा पहिलो ट्रिपमा न्युजिलेण्ड आएका बालकृष्ण घिमिरे ड्राइभिङ शिक्षण गर्नुका साथै आफ्नो ट्याक्सी चलाउने काम पनि गर्दछन। पछि न्युजिलेण्ड आउने भुटानीहरुलाई उऩले दिशा निर्देशन गरेका हुन। हाल उऩले जीबीएलओ न्युजिलेण्डको गरिमामय सभाध्यक्षको पद सम्हालेका छन। उनी मिलनसार र सामाजिक काममा अघि सरेर आउने जनप्रिय समाज सेवक हुन। उनकी धर्मपत्नी ओमा लुइँटेल घिमिरे पनि सामाजिक काममा सक्रिय छन। न्युजिल्यान्डमा नेपाली जनजीवन विषयमा उल्लेखित तथ्यहरुको स्रोतव्यक्ति उनै हुन।
सरिना मानन्धर पिया
रामपुर क्याम्पस,चितवन (नेपाल) बाट कृषि विषयमा एम एस्सी गरेकी सरिनाले केही वर्ष काठमाडौको भक्तपुर कृषि क्याम्पस (HICAST)मा शिक्षादान गरिन। त्यस पछि उनका पति श्रीमान विषाद पिया सन 2009 मा मेसी विश्वविद्यालयमा हर्टिकल्चर विषयमा विद्यावारिधि गर्ने उद्देश्यले न्युजिले आउँदा सरिना पनि साथमा आएकी हुन। पतिको कर्मक्षेत्र न्युजिलेण्डमा हुनाले उनी पनि यतै आएर काम गर्न थालिन। यहींबाट उनले पीएचडीको डिग्री पनि हासिल गरिन। हाल उनी न्युजिलेको क्राउन रिसर्च इन्स्टिच्युट (CRI) अन्तर्गत द न्युजिलेन्ड इन्स्टिच्युट फर प्लान्ट एन्ड फुड रिसर्च लिमिटेडमा कर्मरत छन।
नेपाली साहित्य संस्कृति भन्दा मरिमेटने सरिना पामिस्टनमा नेपालीभाषी भुटानी समाजले सञ्चालन गरेको स्कुलमा विना पारिश्रमिक नेपाली पढाउने गर्छिन। विदेशमा आफ्नो भाषा, साहित्य र संस्कृतिलाई विकास गराउन मरिमेटने सरिना पामिस्टनका नेपालीभाषी जनसमाजमा खुबै जनप्रिय र सम्मानित विदुषी हुन। विदेशी भूमिमा जतिसुकै सुख सुविधा पाए पनि आफ्नो देशको माया झन गाढा हुँदो रहेछ—- सरिनाले उनको एउटा इमेलमा यो कुरा उल्लेख गरेकी छन। उनका नेपाली भाषामा लेखिएका निबन्धहरु प्रकाशनलाई पर्खिरहेका छन।
अञ्जन मुना
पामिस्टनकी जनप्रिय समाजकर्मीका रुपमा सुपरिचित अञ्जन मुना प्रतिभाशाली सर्जक र सुवक्ता हुन। उऩले नेपाली भाषामा निकै कविता लेखेर सामाजिक सञ्जाल फेसबुकमा सजाएकी छन। कवि गोष्ठीहरुमा स्वरचित कविता र गजल सुनाएर श्रोता-दर्शकबाट उऩी प्रशंसित भएकी हुन। नर्सिङ्मा स्नातकको डिग्री लिएकी अञ्जन मुना स्थानीय स्वास्थ्य सेवामा कार्यरत छन।
रघुनाथ नेपाल
नेपालको संस्कृत विश्वविद्यालयबाट डक्टरेट गरेका रघुनाथ नेपाल पामिस्टनमा जनप्रिय माननीय पण्डित हुन। उऩी पूजा-आजा, कीर्तन पुराण आदिमा धार्मिक प्रवचन दिनुमा समर्पित देखिन्छन। सनातन धर्मको प्रचार, प्रसार र संरक्षणमा नेपालले महत्वपूर्ण योगदान दिएका छन।
गणेश राई
नेपालको पुलचोक इञ्जीनियरिङ इन्स्टिच्युटबाट डिप्लोमा लिएका गणेश राईले सर्वप्रथम धनकुटामा स्वास्थ्य सेवा विभागमा केही काल काम गरे। त्यस पछि उऩले हङकङमा एउटा ट्रेन्सपोर्ट कम्पनीमा दस वर्ष काम गरे। त्यो कम्पनीमा सरुवा भएऱ सन 2002 देखि अकल्याण्डमा बसोबास गर्न थाले। अहिले उनी अकल्याण्डको 10 ल्याब्रुक एवेन्युमा आफ्नो घर बनाएर स्थाइ रुपमा बसोबास गर्दछन। उनकी पत्नी मीना राई पनि एउटै अफिसमा कार्यरत रहिछन। अकल्याण्डको नेपाली समाजमा जनप्रिय र नेतृस्थानीय व्यक्तिको रुपमा सुपरिचित गणेश राई र उनकी पत्नी धार्मिक र अतिथिपरायण छन। एक रात राईदम्पतिका निवासमा अतिथि बनेको थिएँ। फोटो हेरेर अकलेण्ड एयरपोर्टबाट उनले आफ्नो घरमा लिएर गएका थिए। त्यो थियो गत वर्ष 2019 को 29 दिसम्बरको दिन। साँझको समयमा अकलेण्डमा बसोबास गर्ने नेपालीहरु उनको घरमा भेला भए, सभाको बस्यो, परिचय साटियो, वक्तव्य राखियो। आफ्नो भाषा साहित्य र संस्कृति भन्दा हुरुक्क हुने नेपाली समाज रहेछ अकलेण्डमा।
यी बाहेक पनि देवान तामाङ, मोहन राउत, गौरी खँडका, मुनु कार्की, दुर्गामाया, इन्दिरा नेपाल, केबी राई, रोहन फुँयाल, बुद्धिराज सुब्बा, कृष्ण राई, दिपङ्रकर राई, विष्णु अधिकरी, धन प्रधान, पहलमान कालीकोटे, आशिष राई, अनन्त यात्री, गोविन्द मिश्र, रोङन फुयाल, लालमान राई आदि साहित्य, समाज सेवा, खेलकूद, सांस्कृतिक आदि विभिन्न क्षेत्रहरुमा सक्रिय व्यक्तित्व हुन।
कथा भित्रको कथा
साहित्यकार गोपाल पौडेलको पहिलो कथा संग्रह कथा भित्रको कथा 21 दिसम्बर 2019 का दिन न्युजिलेण्डमा आयोजित आन्तराष्ट्रिय सिर्जनात्मक महासम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीका बाहुलीबाट लोकार्पित भएको थियो । त्यस ऐतिहासिक सभामा यी पंक्तिहरुको लेखक पनि सरिक भएको अनि त्यसै दिन लेखक गोपाल पौडेलबाट सो ग्रन्थ उपहारमा पाएको थियो।
संस्मरणात्मक शैलीमा लेखिएको यस पुस्तकमा जम्मा बीसवटा निबन्ध समेटिएका छन। सबै निबन्ध छुट्टा छुट्टै भए पनि तिनलाई एउटै लुङमा उनेर समग्रमा सिङ्गो ऐतिहासिक कथारुप बनेको छ। यो मूलत य़ात्रा संस्मरण हो तर पढदा फिक्सन अथवा कुनै रहस्य उपन्यास पढे जस्तै लाग्छ। यसमा समेटिएका निबन्धहरु हुन—
कथा भित्रको कथा
पहिलो दिन निउजिलेन्ड नियाल्दा
म्याङ्ग्री क्याम्पको बसाइ
पहिलो पटक अकल्यान्ड बजार
विभिन्न देशका शरणार्थीसँग भेट्दा
बर्माका शरणार्थी
सिरियन शरणार्थी
म्याङ्ग्री क्याम्पका केही रमाइला क्षणहरु
म्याङ्ग्री क्याम्पदेखि पामिस्टन नर्थसम्म
हाउगुजी
न्युजिलेण्ड रेडक्रसको योगदान
नयाँ विद्यालय र विद्यार्थी जीवन
काम र आय
परिवारसँग छुट्नुको पीडा
न्युजिलेण्डमा पारिवारिक अवस्था
सपनाप्रति छोटो सम्झना
चाड पर्व र स्वतन्त्रता
न्युजिलेण्डको सुन्दरताले खिंचेको मन
न्युजिलेण्ड प्रति सधैं ऋणी रहिरहनेछौं
नेपाल र नेपालीप्रति नमन
पहिलो निबन्धमा न्युजिलेण्ड ल्याइँदाको पहिलो पटक हवाइ जहाजमा भ्रमण गरेको अनुभव वर्णन गरिएको छ। क्वालालम्पुरबाट उडेको जहाज न्युजिलेण्डको अकल्याण्ड भन्ने ठाउँमा उत्रियो। त्यहाँबाट उनीहरुलाई म्याङ्ग्री क्याम्पमा लगियो। दोस्रो र तेस्रो निबन्धमा म्याङ्ग्री क्याम्पको बसाई, शैक्षिक तथा निउजिलेन्डमा नागरिक जीवन बिताउनु पर्दा प्रयोजनीय कुराहरुको तालिम दिइयो। चौथो लेखमा पहिलो पटक क्याम्पबाट बाहिर अकल्याण्ड बजार घुम्न निस्केको कुरा छ। बालकृष्ण घिमिरे नाम गरेका दुइ वर्ष पहिले न्युजिलेण्डआएका थिए। उनैले बजार घुमाइदिएको वर्णन यस निबन्धमा पाइन्छ। चार-पाच लेनयुक्त बाटोमा एकोहोरो गाडी गुडेको देख्ता रिङटा लाग्छ, यति धेरै गाडी तर कतै हर्न बजेको सुनिएन।
यस पछिका तीनवटा लेखहरुको शीर्षक विभिन्न देशका शरणार्थीसँग भेट्दा , बर्माका शरणार्थी र सिरियन शरणार्थी रहेको छ। म्याङ्ग्री क्याम्पमा भुटानका नेपालीभाषी शरणार्थीका साथ आफगानिस्तानी, बर्मेली रोहिङ्ग्या र सिरियाइपरु पनि एउटै क्याम्पमा थियो। सुत्ने बस्ने कोठा बेग्लै भए पनि लुगा धुने मसीन र मनोरञ्जनका लागि टीभी एउटै थियो। भाषा नबुझ्दा प्राय अप्ठ्यारो परेको अनि किउमा उभिएर खाना थापेको कुराको सरस वर्णन भएका यी निबन्ध सुपाठ्य छन।
म्याङ्ग्री क्याम्पका केही रमाइला क्षणहरु – यस निबन्धमा म्याङ्ग्री क्याम्पमा विभिन्न देशका शरणार्थीहरुसँग मिलेर बसेको अनुभव बताएका छन। बेग्लाबेग्लै देशका नागरिक भए पनि उनीहरुको समस्या एउटै थियो । जन्मभुमिले लखेटेका राष्ट्रहीन नागरिकहरु आपसमा स्वदेशी ठान्दथे र आत्मीय जस्तै भएका थिए। म्याङ्ग्री क्याम्पका केही रमाइला क्षणमा गोपालले यसरी लेखेका छन— म्याङ्ग्री क्याम्प छोडनु भन्दा अघिल्लो दिन आ-आफ्नो भाषामा गीत गाउनुपर्ने थियो। हामीले चलेछ बतास सुस्तरी, मनै सरर भन्ने शम्भु राईको पुरानो गीत गाएका थियौँ। कोही नाचेका पनि थियौँ। हाम्रो भाषा उनीहरुले नबुझे पनि हाम्रो गीत मन परेर धेरैजना हामीसँगै नाचेका थिए। कति जना हाम्रो ढाका टोपी, दौरा सुरुवाल , गुन्यू चोली र साडी मन पर्यो भन्दै तँछाड मँछाड गर्दै हामीसँग फोटो खिच्न आएका थिए। हामी पनि उनीहरुको गीतमा रमाएका थियौं। उनीहरुको पहिरन पनि हाम्रो लागि नौलो थियो। त्यही भएर हामीले पनि उनीहरुसँग फोटो खिँचेका थियौं।
म्याङ्ग्री क्याम्पदेखि पामिस्टन नर्थसम्म शीर्षकमा लेखकले अकल्यान्डको क्याम्पदेखि पामिस्टनसम्मको बस यात्राको वर्णन गरेका छन। यो लेख तुलनामूलक रुपमा केही लामो छ, रोचक शैलीमा चित्ताकर्षक छ। हेमिल्टनमा झर्ने शरणार्थीहरुका लागि तयार गरिएको खाना खाइदिनाले गल्ती गर्ने कर्मचारीलाई उसका सहकर्मीले झपारेको कुरालाई लेखकले रोचक हँस्यौलीका रुपमा पेश गरेका छन। दुखका माझमा पनि हाँस्न हँसाउन सक्ने गोपालले मान्छेको जीवन भोगाई र संग्रामलाई सकारात्मक रुपमा लिएका छन। हाउगुजी भन्ने निबन्धमा निउजिलेन्डका रैथाने कहलाएका माउरी जनगोष्ठीको बारेमा रहेको भ्रमलाई दूर गरेका छन। रैथाने माउरीहरु हिंस्रक हुन्छन, अर्कै देशबाट आउने, विशेष गरी शरणार्थीलाई हेप्छन, कुटपीट गर्छन भन्ने अफवाह फैलिएको हुनाले उनीहरु कतिदिनसम्म दैलो थुनेर घरभित्रै बसेछन। ठुलाहरु साना केटाकेटीहरुलाई तर्साउन हाउगुजी भन्ने काल्पनिक जीवको कुरा गर्दथे। पछि विस्तारै माउरीहरुसंग हिमचिम बढदै जाँदा यो अफवाह रहेछ भन्ने बुझे। उनीहरुका धेरै कुरा हामीसँग मिल्दा रहेछन। गोपालले लेखेका छन—— माउरी र हाम्रो धेरै कुरा मिल्दो रहेछ। ठूलालाई प्राथमिकता, मान्यता दिने। घरमा, मन्दिरमा जाँदा चप्पल-जुत्ता बाहिर राख्ने। सबै परिवार मिलेर भरसक एकैठाउँमा बस्ने। परेको बेला सबै भेला हुने। मरेपछि मृत शरीरलाई रीतिरिवाज सहित अन्त्येष्टि गर्ने। घाम, पानी, माटो, वायु. आकाश आदिमा विश्वास राख्ने। आफ्नो पुर्खाहरुको सम्झनामा भेला हुने, केही बनाउने आदि। कहीँकहीं त हाम्रो धामी-झाँक्रीहरुले जस्तो बिरामीको उपचार गर्ने चलन पनि रहेछ। (पृ. 49)
न्युजिलेण्ड रेडक्रसको योगदान, नयाँ विद्यालय र विद्यार्थी जीवन, काम र आय—यी तीनवटा लेख पनि महत्वपूर्ण छन। तिनमध्ये पहिलोमा शरणार्थीहरुलाई रेडक्रसका कर्मकर्ताहरुले साथमा रहेर सहायता गरेको कुरा छ। उसरी नै त्यस पछिका लेखमा इङ्लिश टीचिङ कलेज, इङलिश लर्निङ पार्टनरशिप जस्ता एनजीओले अंग्रेजी पठनपाठन गराएको अनि काम र आय बिभागले रोजिरोटीको परिबन्द गरिदिएको, काम नपाउञ्जेल भत्ता दिएको कुरा वर्णन गरिएको छ। परिवारसँग छुटनुको पीडा कस्तो हुन्छ भुक्तभोगीलाई मात्र थाहा हुन्छ। अचानाको पीर अरुलाई के थाह। भुटानमा वाङचुकको अत्याचारले उनीहरु भारत हुँदै नेपाल पसेका थिए। त्यस आपातकालीन स्थितिमा सम्पत्ति भन्दा पनि ज्यान जोगाउन मुस्कल परेको थियो। कोइ जेलमा, कोइ जंगलमा, कोइ कता। यसरी एउटै परिवारका सद्स्य फेरि भेट हुन्छ कि हुँदैन भनेर मनमनै रोइहरेका हुन्थे। तेस्रो मुलुक पुनर्वास हुँदा गोपालहरुको परिवार सुदूर दक्षिणमेरु छेउको न्युजिलेण्डमा परे भने कोइ आफन्त युरोप अमेरिकातिर छरिए। सबैभन्दा नजीक अस्ट्रेलिया छ, त्यहाँ पनि हवाइ जहाजमा मात्र जान सकिन्छ। अलिक सजिलै भेट हुने आशा भएको त्यही अस्ट्रेलिया हो। लेखक भुटानमा देउसी-भैली खेलेको कुरा सम्झेर कहिले भाँडाकुटी खेलेको सम्झेर नोस्टाल्जिक हुन्छन। एक पल्ट फेरि आफन्त, साथीभाई हरुसँग भेट हुने छैन, अब भर्चुअल भेटघाट मै सन्तुष्ट हुनु पर्छ।
जे भए पनि विज्ञान र प्रविधिको विकासलेगर्दा संसारभरि छरिएर बसेका साथीभाई, इष्टमित्रहरुसँग गफ गर्न पाइएको छ। भेट्न सकिएन भने पनि इन्टर्नेटमा आवाज र तस्वीर हेरेर भए पनि चित्त बुझाइएको छ। (पृ.66)
न्युजिलेण्डमा पारिवारिक अवस्था शीर्षकको लेखमा त्यस देशमा पुगेका सबैको आर्थिक अवस्था सुध्रिएको, जीवन स्तर धेरै माथि पुगेको कुरा वर्णन गरेका छन। पति-पत्नी दुबैले काम गर्ने अनि कामको राम्रो दाम पाउनाले धेरैले गाडी त के घर पनि किन्न सफल भएका छन। कतिपय चल्न नजान्ने फुर्मासेहरुले भने के के नै भेटियो भनेर धेर खर्च गर्ने हुँदा उनीहरु अझसम्म भाडाघर मै बस्नुपरेको छ।
सपनाप्रति छोटो सम्झना एउटा सपना नाम गरेकी अत्यन्त साहसी युवतीको कथा हो। ब्रेन ट्युमर जस्तो दुरारोग्य रोगले आक्रान्त भएर ह्वील चेयरमा हिँडनु परे पनि उनी हताश भएकी थिइनन। शेषसम्म बीमारसंग संग्राम गरेर जिउने अदम्य इच्छाशक्ति देखाइन। उऩलाई भेट्न आउने समेतलाई सकारात्मक सोचले सम्झाइन। छोटो उमेर बाँचे पनि उनले सफल जिन्दगी बाँचिन । सपनाको जीवन संग्रामले अरु धेरैलाई जिउने प्रेरणा र सकारात्मक सोच दिनेछ। यस लेखले लेखकको सकारात्मक दृष्टिकोणलाई खुलासा पारेको छ।
चाडपर्व र स्वतन्त्रताको बारेमा केही कटौती गर्नु परेको उल्लेख गरिएको छ। भुटान वा नेपालमा चाडपर्वमा छुट्टी पाइन्छ, साथी-भाई, इष्ट-मित्र सबै भेला भएर रौंसिएर उत्सव पालन गरिन्थ्यो। अहिले चाडबाडका बेला न त छुट्टी पाइन्छ न त आफन्तहरु एक ठाउमा भेला हुन नै मिल्छ। छुट्टी त बरु आफ्नो पाउने छुट्टीबाट कटाउँदा मिल्ला, बेग्ला बेग्लै देशमा भएका इष्टमित्रहरुसँग कसरी भेट हुने। तिहारको समयमा हाम्रो काग तिहार, कुकुर तिहार, हली तिहार गाई तिहार का दिन यसै मन मारेर बस्नु पर्छ। कहाँ पाउनु, काग, कुकुर, हलगोरु र गाई।
न्युजिलेण्डको सुन्दरताले खिँचेको मन र न्युजिलेण्डप्रति सधैँ ऋणी रहिरहनेछौं यी दुइ निबन्ध न्युजिलेण्डको देशसँग सम्बन्धित छन। पहिलोमा धक्षिण मेरुको छेउमा प्रशान्त महासागरको बीचमा रहेका टापुहरुको समूह निउजिलेन्ड नामको सुन्दर देश छ। छेउमा भनेको अस्ट्रेलिया छ दुइहजार माइल टाडा उत्तर दिशामा। स-साना पहाडका थुम्काहरु, सफा र चौडा बाटा, तारले घेरेका चौरीहरुमा निहुरेर चरिरहेका भेडा—- अति नै रमणीय देश छ न्युजिलेण्ड । सुन्दर, शान्त, विशाल – देवकोटाले नेपाललाई भनेका थिए। त्यस्तै सुन्दर रहेछ उनीहरु पुनर्वासित हुनपुगेको देश न्युजिलेण्ड । जन्मभूमि भुटानबाट लखेटिनु पर्यो, पुर्खाको देश नेपालले शरणार्थी भनेर दया गर्यो तर कुनै धार्मिक, सांस्कृतिक सम्बन्ध नभएको हजारौ माइल टाडाको देश निउजिलेन्डले मानवताको खातिरमा केवल खाने बस्ने परिबन्द मात्र गरिदिएन, त्यसका साथै नागरिकता पनि दिएर मान्छेको सम्मानको जिन्दगी दिएको छ। त्यसैले लेखकलाई लागेको छ मानवता नै सबैभन्दा ठूलो कुरा रहेछ। न्युजिलेण्डप्रति सधैँ ऋणी रहिरहनेछौं भनेर लेखकले सच्चा हृदयले कृतज्ञता व्यक्त गरेका छन।
नेपाल र नेपालीप्रति नमन यस संकलनको सबै भन्दा लामो निबन्ध हो । नेपालमा शरणार्थीको जीवन नरक तुल्य भएको थियो। नेपाल पुर्खाको थलो थियो तर नेपालले टेक्ने ठाउँ र अलिकति खाद्यान्न दिएर शास अल्झाएर राखिदियो। यो गुणको लागि लेखकले कृतज्ञता प्रकट गर्दै नेपाल र नेपालीप्रति नमन गरेका छन। लेखमा नेपालमा छँदा भोग्नुपरेको नरक यन्त्रणा पढदा लेखकको नेपाल र नेपालीप्रति नमन व्यंग को मुर्छा पार्ने झापड त होइन भन्ने शङ्का हुन्छ।
अकृतज्ञ छैनन लेखक गोपाल। दुख पाए पनि जुन देशले शरण दियो त्यो देश र त्यस देशका नागरिकलाई श्रद्धाले स्मरण गरेका छन। टेक्ने ठाउँ नै नदिएको भए के हालत हुने थियो त्यो सोचेर उनी विनम्रतापूर्वक नेपाल र नेपालीप्रति नमन गर्दछन।
हाम्रै पुर्खा, हाम्रै बाबु-बराजूले खुन पसिनाले निर्माण गरेको देश भुटान। हाम्रा कति पुर्खा हिंस्रक जन्तुका शिकार भए, कति किचिए,कति थिचिए अनि कति हिउँमा पुरिएर मरे त्यसको लेखाजोखा छैन।
वान नेशन वान पिपुल भन्ने विश्वमा कहीं नचलेको नयाँ नीति भुटान सरकारले पुरै अलोकतान्त्रिक तरिकाले निकाल्यो। नेपाली भाषालाई स्कुलबाट हटाइयो। यतिमात्र होइन भुटानी ड्रेस लगाउन बाध्य पार्यो। नेपालीको दौरा सुरुवाल खोलेर एकातिर नाङ्गोझार पार्यो भने मुखको बोली पनि खोसिदियो। यो भन्दा ठूलो अपमान के हुन सक्छ। नेपालीले यसको दुर्घोर विरोघ गर्नु स्वाभाविक थियो। स्वेच्छाचारी सरकारले दमनमूलक नीतिले अति घृणनीय तरिकाले देशबाटै लखेट्ने उद्देश्यले देशद्रोहको आरोप लगायो। 1985 को नागरिकता ऐनमा संशोधन गरेर 1958 को आधारमा मात्रै भुटानको नागरिक हुन सक्ने र 1958 वा त्यस अघिको कागजात देखाउन नसक्नेलाई देश छोडने नोटिस दिइयो। 1958 को प्रमाण नेपालीले मात्र देखाउनु पर्ने अरु यसै रैथाने। यस प्रकारका कालो कानून थोपरेर नेपालीभाषी भुटानीलाई जन्मभूमिबाट बिस्थापित गरियो। विडम्बनाको कुरा, जुन देशको ठानेर विताडन गरियो त्यो देश नेपालले टेक्ने ठाउँ र शास अल्झाएर राख्ने काम गरेर दायित्व सक्यो।
यतिखेर धेरै शरणार्थीले अमेरिका, इंगलैन्ड, नेदरल्यान्ड, अस्ट्रेलिया, न्युजिलेण्डआदि आठ विकसित मुलुकहरुमा पूनर्वासका साथै नागरिकको हक समेत पाएका छन। शानको जिन्दगी जिए पनि उनीहरुले आफ्नो मातृभूमि भुटानलाई बिर्सेका छैनन। जीबीएलओ गठनको मुख्य उद्देश्य जुन देशको नागरिक भएर बसे पनि भुटानी एकतालाई कायम राख्तै आफ्नो भाषा, साहित्य र संस्कृतिको संरक्षण र विकास गर्नु। यही एकताको बलले स्वैरतन्त्री भुटानमा लोकतन्त्र स्थापन गरी आफ्नो हृत गौरव फर्काएर ल्याउने सोचलाई पनि उनीहरुले मलजल गरेर राखेका छन।
भुटानबाट लखेटिएर नेपालका शरणार्थी शिविरमा भोकै नाङ्गै बर्षौ बिताउने लाखौ भुटानीहरुका आफ्ना आफ्ना कथा छन। सबैको कथा भन्नु हो भने एउटा जीवनकालमा लेखेर सकिँदैन, लेखियो भने पनि पढेर सकिँदैन। तसर्थ एउटाको कथा बाटै सबै कुरा खुल्दछ। भात पाक्यो कि पाकेन एउटा सितोलाई थिचिहेर्दा थाह हुन्छ। गोपाल पौडेलको कथा भित्रका कथाहरुमा भुटान, नेपाल र न्युजिलेण्ड—यी तीनै ठाउँमा बसोबासका सुखदुखका, संघर्षका, खटपटीका, अस्तित्वर परिचय संकटका अनेकौ कथा छन।
कथा भित्रको कथा (संस्मरणात्मक निबन्ध संग्रह) उनको पहिलो कृति हो। नेपाली डायास्पोरा साहित्यको न्युजिलेण्ड च्याप्टरलाई प्रतिनित्व गर्ने यो महत्वपूर्ण ऐतिहासिक दस्तावेज बन्ने छ, त्यसमा कुनै शङ्का छैन।
Interesting .badhai cha