परिक्षण नभएको एउटा प्रेम
|
तिमीलाई म अरुचि हुन थाल्यो भने
मैले तिमीलाई गरेको
प्रेमको दर घटाउँदै लैजानु पर्छ
किन भने परीक्षण भैसकेको
मायाको दाग लिएर बाँच्न मलाई नै पीडा हुन्छ।
मैले तिम्रो रुचिहरुको सूची बनाएँ
म आफूलाई सूचीको पहिलो नम्बरमा राखुँ की
पुछारको नम्बरमा राखुँ ?
सोच्दा सोच्दै पुरै रात आँखाले छिचोल्यो
तर मैले
मलाई तिम्रो रुचिहरुको सूचीको पुछारमा राखेको छ ।
यदि तिमी मसँग जोडियौं भने
सूचीको पहिलो नम्बरमा मैले के राखें होला ?
मैले आफुलाई पुछारमा किन राखें होला ?
तिमीले खोज्दै जानेछौ
मैले तिमीलाई दिने माया पुष्टि गर्ने सन्दर्भ समाग्री हुनेछ ।
केही सम्बधहरू यस्ता हुन्छन्
माया गर्ने मान्छे आफ्नो नै हुन्छन्
तर उसको समय आफ्नो जस्तो हुँदैन
त्यसैले तिमी मेरो नै हो
तर तिमीले गुजारी रहेको समय मेरो होइन ।
विषय यो छ कि-
आफन्तजस्तै लाग्ने मानिसहरु
आफ्नो कैले नहुँदो रहेछ
परायाजस्तै लाग्नेहरू झन् पराया नै हुने भए ।
तर
जीवनमा पराया मानिसहरुले
नजिकैबाट फन्को मारीरहे पनि
टाढाको आफन्तीहरूकै धेरै आशा लाग्दोरहेछ ।
जीवनमा विषय यो छैन-
जीवन जिएर पनि
कयौं जीवन जीउनेहरुलाई प्रेम गर्न सिकाउँछ
तर आफूले यस्तै प्रेम अरुलाई गर्दैन ।
बिषय यो पनि होइन-
गाँस्न खोजेको नाता नाताजस्तो हुँदैन
तर समयले भेटाई दिएका मान्छेहरु नातापर्ने जस्तै भैदिन्छ ।
त्यसैले भोलि कसलाई के साईनो पर्छु होला म आजै भन्न सक्दिन ।