‘उहिलेको नेपालः भोगेको देखेको सुनेको’माथिको एक फन्को
|नेपाली पत्रकारिताको इतिहासका एक सशक्त हस्ताक्षर हुन् भैरव रिसाल । नेपाली पत्रकारहरूका माझमा सतीसालझैँ उभिएका रिसाल कैयौँ ऐतिहासिक घटनाका साक्षी तथा पर्यवेक्षक पनि हुन् । आफैँ आफ्नो पहिचान कायम राख्न समर्थ उनी नेपालका जेठा पत्रकार हुन् । उनी नेपालका विविध घटनाक्रमका प्रत्यक्षदर्शीले मात्र थिएनन्, एक गतिशील कलाकार पनि हुन् । उनका पुस्तकाकार कृति, लेख-रचना तथा सामयिक टिप्पणीको लेखाजोखा गरी साध्य छैन । यस आलेखमा उनैको पछिल्लो कृति ‘उहिलेको नेपालः भोगेको देखेको सुनेको’ नामक पुस्तकको सङ्क्षिप्त परिचर्चा गर्न खोजिएको छ ।
बुकहिल पब्लिकेसनबाट २०७६ सालमा प्रकाशित प्रस्तुत पुस्तकमा बिभिन्न शीर्षकसँग आबद्ध ५५ वटा टुक्रे लेखहरू सङ्गृहीत छन् । यस पुस्तकमा भएका केही (१२ देखि १५ सम्म) लेखहरू सुनेको आधारमा टिपोट गरिएका हुन् भने अधिकांश भोगेका र देखेका घटनासँग सम्बन्धित छन् । यी लेखहरूबाट तत्कालीन राजनीति तथा सामाजिक एवम् आर्थिक परिवेश बुझ्न र जान्न सकिन्छ । यस अर्थमा भन्ने हो भने सबै लेखहरू इतिहासका अनुसन्धाताका लागि असल खुराक अर्थात् स्रोत पनि हुन् ।
नेपालको इतिहासमा सर्वाधिक चर्चित पात्रको नाम हो, जंगबहादुर । आजसम्म नेपालको इतिहासमा धेरै पुस्तकहरू उनकै विषयमा लेखिएका छन् । तीमध्ये अधिकांशमा उनलाई षड्यन्त्रकारी, विषयलम्पट, जहानिया शासनका सूत्राधार जस्ता नकारात्मक टिप्पणी गरिएको पाइन्छ । तर, लेखकले आफूले सुनेका र पढेका आधारमा जंगबहादुरका राम्रा कार्यहरूको उल्लेख गरेका छन् । कौशी तोषाखानाको स्थापना, मुलुकी ऐनको तर्जुमा, अङ्ग्रेज आवासीय दूतसँग सुमधुर सम्बन्ध आदि राम्रा कामको समीक्षा यस पुस्तकमा गरिएको छ । यसैगरी चन्द्रशमशेरका पालामा स्थापना भएको चारखाल अड्डा, डिल्लीबजारको नामकरण र कुमारीचोक अड्डाको कार्यसम्बन्धी विशेष वर्णन पुस्तकमा पाइन्छ । कुमारीचोक अड्डाको प्रभावकारिताका कारण राष्ट्रिय आय-व्ययमा कर्मचारीहरूको सतर्कता, हिसाब नबुझाउँदा हुने दण्डको विवेचना पुस्तकमा सविस्तार आएका छन् । हालको बेरुजुको भयावह स्थिति हेर्दा राणाकाललाई सबै कुरामा सत्तोसराप गर्न मिल्छ कि मिल्दैन, सोच्नुपर्ने भएको छ । तत्कालीन अवस्थामा कुमारीचोक अड्डाकै कारणबाट भ्रष्टाचारमा कमी आएको थियो । राणाकालमा श्री ५ तथा श्री ३ हरूले राष्ट्रको ढुकुटीबाट पारदर्शी रूपमा नै चाहे जति रकम झिक्थे, लिन्थे । तर, लुकाएर होइन । यी दृष्टान्तबाट वर्तमानमा भन्दा विगतमा नै पारदर्शी हिसाब-किताबको व्यवस्था थियो भन्ने कुरा ज्ञात हुन्छ । अहिलेको जस्तो भ्रष्टाचारको होहल्ला त्यतिबेला थिएन । अब त आजका भन्दा हिजोका दिन राम्रा थिए भन्ने टिप्पणीसमेत सुन्न थालिएकै छ ।
देवशमशेरले गोरखापत्रको प्रकाशन गरेपछि हाम्रा तारिफका कुरा नछाप्नु भन्ने आदेश दिएका थिए भन्ने कुरा उल्लेख गरेर लेखकले हालका शासकहरूमा तारिफ सुन्ने मोहमा भएको वृद्धिप्रति तीव्र व्यङ्ग्य गरेका छन् । गोरखापत्र नै कालन्तरमा समकालीन शासकहरूको प्रशंसापत्र हुनपुगेको थियो । देवशमशेर पछिका एकाध शासकलाई छोडेर हालसम्म पनि आफ्नो तारिफ गर्ने वा स्तुति गर्नेलाई नै प्रिय ठान्ने परम्परा रहेको छ । इतिहासबाट पाठ लिने चाहना कसैमा पनि देखिएन ।
हाम्रा पुर्खाहरू हामीभन्दा विलक्षण प्रतिभाशाली भएका धेरै दृष्टान्त पाइन्छन् । विमानु पण्डित, गेहेन्द्रशमशेर जस्ता वैज्ञानिक नेपालमा जन्मिएका थिए । तर, त्यस्ता प्रतिभाको कदर नहुँदा अन्यले समेत प्रोत्साहन पाउन सकेनन् । एवम् तरह हेटौँडा समीपको चुरियामा सुरुङ खन्ने र चन्द्र नहरको निर्माण गर्ने जस्ता प्रशंसनीय कार्य राणाकालमै भएका थिए । राणाकालमा केही भएको थिएन भनी आलोचना गरेर नथाक्नेहरूलाई यस पुस्तकले गज्जबको दनक दिएको छ ।
नेपालमा शिक्षा प्राप्तिका लागि माधवप्रसाद घिमिरेले गरेको सङ्घर्षबाट तत्कालीन समयमा शिक्षाको स्थितिबोध हुन्छ । घुमघामको चाँजो हिजो र आज शीर्षकको लेखबाट पर्यटन क्षेत्रमा आएका परिवर्तन अध्ययन गर्न सहज बनेको छ ।
चिठीमा आधा नोट शीर्षक लेखले त त्यस जमानामा पैसा पठाउने चलनको सम्झना गराउँछ। देवशमशेरले मसुरीबाट चन्द्रशमशेरलाई एक हजारको आधा नोट तिहारमा जुवामा च्याँखे थाप्न पठाएको पत्र पढ्दा यस लेखकलाई सारै अचम्म लागेको थियो । सो कुराको रहस्य आज आएर रिसालजीले छर्लङ्ग बनाइदिए । जसबाट तत् विषयको मेरो कौतुहलतासमेत समाप्त भयो ।
राजा महेन्द्र र बिपीको सम्बन्धको चर्चा भएका, देखेका र सुनेका घटनाहरूको वर्णन बडा रोचक छन् । वास्तवमा यी दुवै महत्वकांक्षी भएकै कारण व्यक्तित्वमा टकराव आएको हो । बिपी र वीरेन्द्र, महेन्द्र र गिरिजाप्रसादको रसायन खुब मिल्ने चर्चा पनि यदाकदा हुने गर्दछ । महेन्द्रलाई जति दूरद्रष्टा भनेपनि २०१५ सालको निर्वाचनमा कांग्रेसले त्यति स्थान ल्याउने कुरामा उनलाई विश्वास थिएन । लेखकको यो भनाइ सत्य देखिन्छ ।
भैरव रिसालले यस पुस्तकमा पत्रकारका पीडा, मर्म, चुनौती एवम् पत्रकारप्रति सरकार र जनमानसको दृष्टिकोणको यथार्थ चित्रण गरेका छन् । आफ्नो प्रचारप्रसार र प्रशंसा गराउने तत्कालीन राजनीतिज्ञहरूको चाहना ३ सय अक्षरको पत्रकारिता, जस्तो छ त्यस्तै दिनु, बिपीको समाचार बनाउँदा, तपाईँलाई राजा कस्तो लाग्छ जस्ता लेखबाट प्रस्ट हुन्छ । दरबारको आडमा कसैले पनि फुर्ती लगाउन नहुने तर्क बुझ्नै नसकिने दरबारको चिठी र केशरबहादुरको करामत जस्ता लेखबाट प्रस्ट भएको छ । लोकदर्शन महेन्द्रका प्रिय पात्र थिए । यति हुँदा-हुँदै पनि दरबार प्रवेशमा रोक लगाइएको, केशरबहादुरले दिँदै नदिएको राजीनामा स्वीकृत भएकोलगायतका घटनाबाट तत्कालीन दरबारिया राजनीतिको बोध हुन्छ । पञ्चायतकालमा देखापरेको दातृ रस र अग्नि रसको राजनीति, सूर्यबहादुर थापाले पञ्चायतलाई जिताउन गरेको कदमबाट आफ्नो स्वार्थका लागि कसरी राष्ट्रघात हुन पुगेको थियो भन्ने देखिन्छ । हुन त नेपालको इतिहासमा आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि राष्ट्रिय स्वार्थलाईआहुति दिएका धेरै घटना छन् । र, आज पनि यस प्रवृत्तिबाट मुलुक अछुतो छैन ।
जेल बसाइको १० महिना शीर्षकको लेखमा त्यसबेलाको जेल व्यवस्थापन, जेल प्रशासन, कैदीप्रतिको व्यवहार, जेलभित्रको संसारको सुन्दर वर्णन गरिएको छ । रिसालजीले जेल जानुपरेको कारणलाई हेर्दा अहिले अरू क्षेत्रमा जे जस्तो भए तापनि आज पत्रकारिताले पाएको स्वतन्त्रतालाई उल्लेख्य मान्नै पर्छ ।
लिपुलेक नेपालकै भएको प्रमाण नै रिसालजी स्वयम् हुन् । यो तथ्य लिपुलेख हाम्रै हो भन्ने लेखबाट प्रमाणित हुन्छ । यसरी साक्षात् प्रमाण हुँदाहुँदै पनि नेपालकै भूमिलाई भारतले दाबा गर्दा नेपालीहरूको मन रुन्छ ।
हुम्लाको उज्यालो अभियान शीर्षक लेखले नेपालीहरूले नै धेरै विकासका योजनाहरू सफल बनाउँछन् भन्ने दृष्टान्त देखाएको छ । संक्षेपमा भन्ने हो भने सबै टुक्रे लेखहरूले पाठकको मन छोपेका छन् । यी लेखपठनीय छन् । पुस्तकले धेरै अमूल्य सूचना भावी पुस्ताका लागि प्रवाह गरेको छ । यस पुस्तकमा समाविष्ट लेखकबाट हिजोका दिनहरूको वस्तुनिष्ठ मूल्याङ्कन,पत्रकारहरूको सकस, दरबारी राजनीति, जंगबहादुरकालदेखि हालसम्मको राजनीति, हराउँदै गएका चालचलन आदि विषयमा धेरै कुरा ज्ञात गर्न सकिन्छ । अधिकांश लेखहरू सूत्रात्मक स्वरूपमा लेखिँदा कतैकतै विषयवस्तु बुझ्न कठिन पनि परेको प्रतीत हुन्छ । ज्ञान, दर्शन, चेतना, स्वाभिमानले उच्च राजनीतिक द्रष्टा रिसालजी मानवताका हिमायती भएको तथ्य उनका लेखहरूले स्थापित गरेका छन् । नेपालका जिउँदा इतिहास भैरव रिसालप्रति नतमस्तक हुँदै यस्तो अमूल्य कृति प्रकाशन गरेकामा उनी धन्यवादका पात्र बनेका छन् । यस उत्तम कार्यका लागि हार्दिक बधाई। उनी जस्ता तपस्वी साधकबाट अरू पनि यस्तै बहुमूल्य कृति नेपाली पाठकले अपेक्षा गरेका छन् ।
हाम्रो मुलुक नेपालको सम्बन्धमा राणाकाल देखी बितेका घटना आदि समेटिएको जानकारी मुलक आलेख !
राम्रो ।