दिपेन्द्र जहाँ फूल फुल्यो, त्यहीँ माहुरी घार बोकेर पुग्छन्

खेतबारीमा ढकमक्क फुलेको तोरीबारी । त्यसको नजिकै माहुरीघार । यो दृष्य हो, उर्लाबारी–४ को । यो समय मह उत्पादनको उचित समय मानिन्छ ।
तोरी फुलेको मौका छोपी मह काढ्ने शनिबार उर्लाबारी–४ का दिपेन्द्र थापालाई चटारो थियो । घाम लाग्नसाथ अहिले थापालाई मह काढ्न हत्तार हुन्छ । उनी सबैथोक छोडेर भएपनि मह काढ्न पुग्छन् । उनलाई मह काढ्न घर परिवारका सदस्य तथा छिमेकीहरुले पनि साथ दिन्छन् । थापासँग १ सय भन्दा बढी माहुरीका घार छन् । ती सबैमा माहुरीपालन गरेका छन् । तोरी फुलेको स्थानमा उनले ती माहुरीका घारहरु राखेका छन् ।

माहुरीपालक थापा जहाँ फूल फुल्यो, त्यहीँ माहुरी घार बोकेर हिँड्ने गर्छन् । उनले उर्लाबारी, पथरीशनिश्चरे, मिक्लाजुङलगायत क्षेत्रमा माहुरी घार बोकेर पुग्ने गरेका छन् । उर्लाबारीका अग्रणी माहुरीपालक कृषकका रुपमा गनिएका थापाको माहुरी मोह लोभलाग्दो छ । थापाले ८ वर्ष पहिलेदेखि मौरी पालन गर्दै आइरहेका छन् । प्रारम्भमा उनलाई मौरी पालनवाट आम्दानी गर्न सकिन्छ भन्ने खासै विश्वासै थिएन । मौरी पालन गरे घरमै मात्र प्रयोग हुन्छ भन्ने कुरामा विश्वास गर्ने दिपेन्द्रको आजभोली भने धेरै परिर्वतन आएको छ ।

माहुरी पालन सुरु गरेसँगै घरमा मह किन्न विस्तारै विस्तारै मानिसहरू आउन थालेपछि उनले अहिले व्यवसायिक रूपमै माहुरी पालन गरेर राम्रो आम्दानी गर्न थालेका छन् । अहिले उनले माहुरी पालनबाटै घर व्यवहार चलाउनुका साथै वार्षिक राम्रै गरी रकम बचत गर्ने समेत गरेका छन् । ‘मैले अहिले वार्षिक करिव ७ लाख माहुरी पालनबाटै कमाउँछु,’ थापाले भने ‘महको माग बढ्दै गएको हुनाले घारहरु पनि थप्दै गएको छु ।’ उनले फुर्सदको केही समय मात्र माहुरीलाई समय दिए पुग्ने बताए । ‘जहाँ फूल फुल्छ, त्यहीँ माहुरी घार बोकेर पुग्ने गरेका छौं’, थापाले भने, ‘कहिले तराई, कहिले पहाड त कहिले जंगलमा पनि माहुरी घार बोकेर पुग्नु पर्छ ।’ ‘माहुरीलाई फूल अनिवार्य चाहिन्छ । त्यही फूलको रसकै लागि हामीले घार बोकेर हिँड्ने गरेका हौं’, उनले भने, ‘महको उत्पादन राम्रो छ । बजारको कुनै समस्या छैन । अझै पनि हामीले मागको पूर्ति नै गर्न सकेका छैनौं ।’

उर्लाबारी बहुमुखी क्याम्पसमा स्नातकसम्म अध्ययन गरेका थापाले पालन गरेको व्यवसायिक माहुरी पालन देखरे उर्लाबारीमा माहुरी पालन गर्नेहरूको संख्या समेत बढिरहेको छ । उर्लाबारीमा दर्जन बढीले माहुरी पालन गर्दै आएका छन् । उर्लाबारीमा माहुरी पालन गर्ने किसानहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । ‘प्रकृतिमा खेर गइरहेको पुष्पको प्रयोगले माहुरी पालन गर्न सकिन्छ’, माहुरीपालक दिपेन्द्रले भने ‘राम्रो परागसेचन भयो भने बालीनाली पनि सप्रँदा रैछन् ।’ उनले आजभोलि गाउँ ठाउँमा डुल्दा घुम्दा सम्भावित ठाउँमा माहुरी पालनका लागि अनुरोध गर्ने गरेको समेत बताए । उनले माहुरीको गोलामा पस्ने मैन पुतली पसे नपसेको बारेमा हेक्का राख्यो भने माहुरीपालनमा अरू अप्ठ्यारो नहुने बताए । मैन पुतली माहुरीको घारमा पस्यो भने त्यसले माहुरी भाग्ने वातावरण बनाउँछ ।

तस्वीर/सरोज बस्नेत

Add a Comment

Your email address will not be published. Required fields are marked *