को हौ तिमी ?

बादलभित्र लुकेर बसेको चन्द्रमा झैं
कतै लुकेर बसेकी तिमी
मेरो मन आकाशमा
झुल्कियौ कसरी ?

कुन दिशाबाट अचानक खस्यौ
फुत्त तारा खसेझैं मेरो पोल्टोमा
र बस्यौ जरो गाढेर
मनको मझेरीमा ?

हर कोहीको दु:खमा
‘म छु नि’ भन्ने
बोलीले नै सबको मन मुटु हर्ने
र यसरी संसार डुलेर पनि
सुटुक्क मेरो मनभित्र बस्ने
को हौ तिमी?

सन्तानले दिएको दु:ख
दबाउँदा दबाउँदै
आमा बाको मुटुमा परेको गाँठो
मायाले सुम्सुम्याउने र हाँसेर खोलिदिने
को हौ तिमी ?

कसरी यति सजिलै
थपक्क बस्यौ मेरो काखमा
चोर्यौ मलाई मैबाट
र, पस्यौ मेरो मुटु भित्र
बस्यौ मेरो आँखामा
भक्कानिएर म रुँदा
खस्यौ मेरो आँसुसँगै
भन त प्रिय,
को हौ तिमी ?
के हो तिम्रो परिचय ?
थिचिएर यस्तै प्रश्नहरुले
सोचमग्न भएको छु म यतिखेर !

Add a Comment

Your email address will not be published. Required fields are marked *