यमराजका नाममा !
|दुधे वालकले एक जोड एक जानि सक्यो
दुई एकान घोकि सक्यो
उस्तै परे ऊ आमाको दूध नचुसेर
व्यापार-धन्दा गर्न आफूलाई सक्षम ठानिसक्यो
ऊ पैसा बेचेर रुपैयाँ
र
रुपैयाँ बेचेर डलर कमाउने धुनमा छ।
तिमी भने सदियौं देखिन्
हिसाब गरिगरि मान्छेको आयु जोख्ने गर्थ्यौ
तर , तिमिले भुलेजस्तो छ
जीवन के हो ?
उमेर के हो ?
को वालक ?
को जवान अनि को बृद्ध ?
कस्ले अझै बाँच्नु पर्छ
कस्को जाने बेला भयो ?
खै
अझै तिमिले बुझ्न किन सकेनौ ?
हैन तिमीले
सृष्टि कर्तासँग परामर्शै भुल्यौ कि के हो ?
जन्मनेहरु किन जन्मिन्छन्
थाहै नपाए झैं
हिसाब किताब नगरि किन तिमी अन्धो भयौ ?
यती क्रुर बन्न तिमीजस्तालाई सुहाउँदै सुहाउँदैन
कि त तिमी भुलक्ड भयौ
कि त तिमीले पाठशाला टेकेकै छैनौ हँ ?
लानु पर्नेलाई तिमिले लानै छोड्यौ
जो लानै नपर्ने उसैलाई टिप्दैछौ
त्यसैले यमराज
एक र दुई जोड्न पनि
त्यो
दुधे बालकसँग तिमिले सिक्नैपर्ने भएको छ
यमराज
गणित पढ ! गणित !!
यो एक्काइसौं शताब्दी हो , हेक्का राख
विचारै गरेर मात्रै अगाडि बड ।
हेक्का राखेस् हेक्का
सडक नतातिएको धेरै भो
आन्दोलन फेरि चर्किन सक्छ
तिम्रै आयु पनि अब सक्किन सक्छ।