एकै परिवारका पाँच सन्तान सुस्त:मनस्थिति


कोही रुदै त कोही कराउँदै थिए । घर वरिपरी फलामे घेराबारा थियो । कोही नाङ्दै कुदिरहेका थिए त कोही एकोहोरो पिङ खेल्दै । यो दृष्य हो, मोरङको रतुवामाई नगरपालिका वडा नं. ८ को ।

पूर्वी मोरङको रतुवामाई नगरपालिका–८ सिक्किमे टोलमा एकै परिवारका पाँच सन्तान सुस्तमनस्थितिका छन् । तीन छोरी, दुई छोरा सुस्तमनस्थितिका छन् । ४३ वर्षकी निर्मला, ४१ को निर्मल, ३० को उमेश, २९ की पार्वता र २७ की गोमा सुस्त:मनस्थितिका छन् । तुलसीरामका दुई श्रीमतीबाट ८ सन्तान छन् । जेठीको देहान्तपछि साली सृजनानालाई भित्र्याएका तुलसीरामका सबल तीन सन्तानले आफ्नो घरजम गरिसकेका छन् । गत जेठ महिनामा ती सन्तानका संरक्षक बुवा तुलसीराम ढुंगानाको निधन भएपनि अहिले उनकी श्रीमति सृजना एक्लैले हेरचार गर्दै आएकी छिन् ।

‘भोक लाग्यो, दिसापिसाब लाग्यो भन्न जान्दैनन्,’ सृजनाले भनिन्, ‘आफ्नै घाउ कोट्याएर खान्छन् । पाँचै सन्तानलाई हेर्न, उनीहरूको माग र आवश्यकता बुझेर सन्तुष्ट पारिदिन  हम्मे परेको छ ।’ हातखुट्टा राम्रोसँग चलाउन नसक्ने, बोल्न र सोच्न नसक्ने सन्तान भएपछि सृजनालाई भविष्यको सुख हैन्, दैनिक हातमुख जोहो गर्न समेत समस्या छ । ५ सन्तानको हेरचाहमा सृजनाको दिन वित्ने गरेको छ ।  ढुङ्गाना परिवारको आम्दानीको स्रोत एक बिघा जमिन मात्र हो । छोराछोरी अपाङ्ग भएपछि सघाउने नहुँदा उनले भएको खेत अधियाँ लगाएका छन् । अधियाँबाट आएको धानले वर्षभरि परिवारलाई खान पुग्दैन, किनेर खानुपर्ने अवस्था छ । आम्दानीको स्रोत अरू छैन ।

खुवाउनेदेखि दिसापिसाब समेत अरूको सहाराले गराउनुपर्ने हुन्छ । उनीहरूले आफैं निश्चित ठाउँमा केही गर्दैनन् । दिनभरि उनीहरूको गोठालो लाग्नुपर्ने अवस्थाको कारण आफू पनि अन्य काम गर्न जान नसक्ने अवस्थामा रहेकी सृजना बताउँछिन् । छोराछोरीले जे भेट्यो त्यही खाने, मानिसले खाने र जनवारले खाने बस्तु नचिन्ने, घरका सामान तोड्फोड् गरिदिने र जहाँ पायो त्यही बस्ने, दिसापिसाब गरेको पनि थाहा नपाउने आमा सृजनाको भनाई छ ।  आवाज निकाले पनि बोलेको प्रष्ट बुझिन्न ।
पाँच सन्तानले सरकारद्वारा सामाजिक सुरक्षाअन्तर्गत प्रदत्त मासिक अपांग भत्ता पाउँछन् । कहिलेकाहीँ भेट्न आउनेले खानेकुरा ल्याइदिने गरेपछि पाँचैजनाको आसे बानी लागेको छ । केही पाइएन भने झगडा गर्छन् ।

सरकारले कुनै राहत दिए दैनिकी चलाउन सजिलो हुने आशामा सृजनाको रहेको छ ।  उनीहरुलाई दैनिक बिस्कुट, भुजिया र चाउचाउ दिनु पर्नु पर्छ । ‘एकछिन मुख खाली राख्नु हुँदैन’ सृजनाले भनिन्–‘हेरचार र खानपान पु¥याउन हम्मे हम्मे पर्छ ।’

गुरागाईंले बनाइदिए घर, घेराबारा नगरपालिकाले

रतुवामाई नगरपालिका–८ का गुरागाईं परिवारले पाँच जना सुस्त:मनस्थितिका छोराछोरी भएका ढुङ्गाना परिवारलाई पक्की घर बनाइदिएका छन् ।  कमलादेवी गुरागाईं र डिल्ली गुरागाईंले घर बनाइदिएका हुन् । बरन्डासहित तीनकोठे जस्ताको छाना लगाएर पक्की घर बनाइदिएका छन् । काठको घरमा जोखिमपूर्ण तरिकाले बसेको देखेपछि गुरागाईं परिवारले केही बर्षअघि घर बनाइदिएको हो । त्यस्तै, घर वरीपरी फलामको बेरा रतुवामाई नगरपालिकाले बनाइदिएको छ भने त्यसबाट बाहिर निस्किन सक्ने भएकाले यसैमा तातोतातो खबरका सञ्चालक भाग्य न्यौपानेले दाताको सहयोगमा थप फलामको घेराबेरा थपेका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *