नियती
|
कुखुरी…काँ गर्दै
ऊ सुनौलो बिहान निम्त्याउँछ
पारीलो घाममा चरिरहेको पोथीलाई
एउटा पखेटा भुईंतिर फट्फटाउँदै
भाले क्वाक… क्वाक… गर्दै कोरली फकाउँछ
बुढी आमै मनमोहक दृष्य हेरिरहन्छे
कलेटी परेर लुकेको अधरबाट
फिस्स मलीन हाँसो फुत्कन्छ
सायद आफ्नै अतित सम्झेर त होला !
चाउरिएका अनुहार खुम्चाउँदै
मौनतामा परिणत हुन्छ
बुढ्यौलीसङ्ग सक्कि-नसकी लड्दैछे
मक्किसकेको छ उस्को मन
दु:खको दिन घिसारीरहेछ
बुढेसकालमा आनन्दले बस्ने तातो खाने बेलामा
अब त उस्को पेट पनि अनुहारजस्तै
चाउरिएर खुम्चिसकेकोछ
मन चाउरिएर कुर्कुच्चा झैं सुकेर
पटपट्टि फुटिसकेको छ ।
छोराको सम्झना साँझमा फर्कन्छ भनेर
बिस्कुन फिंजाएजस्तै आगनदेखि नै
बाटोभरी आँखा बिछ्याउँथी
हरेक बिहान सूर्य यसरी नै उदाउँथ्यो
हरेक साँझमा त्यसरी नै अस्ताएर जान्थ्यो।
बाटो हेर्दा हेर्दा आँखा पनि धमिलो भैसक्यो
बेवारिसे लाश आर्यघाटमा कत्ति जले
गाउउँ बेख़बर छ
अबत बुढीलाई आमैलाई ,
एक छाक पकाएर खान पनि हम्मेहम्मे छ
कुप्रिएको ढाड निहुराउँदै सक्किनसकी
माटोको घैंटो भित्रको पिठो निकाल्छे
फुटेको कराईमा राख्दै
खोले बनाउन बिस्तारै अघिसर्छे ।
अगेनाको छेवैमा राखेको टुटा ठूटी दाउराहरु
थरथर कामेको हातले तान्छे
भुम्रो भित्रको आगो कोट्याउँदै
दाँत थुत्किएको फुस्फुसे सासले
ढुङ्ग्रो बिस्तारै फू… फू.…गर्दै आगो बाल्छे
बल्ल तल्ल खोले पाकाउँछे
अगेनाको रापसङ्ग रापिंदै
बुढेसकालको पेटको राप सान्त पार्न
सुप्रुक्क सुप्रुक्क तान्दै खोले खानथाल्छे
उमेरसँगै आँखाबाट बगेको
आँसु पुछ्दै खोले घुट्काउँछे
उस्को इच्छा आकांक्षा तुहिसकेकोछ ।
संघारबाट हुर्रिएर
भाले कुखुरा भित्र पस्छ
हे..हे.. गर्दै टेक्ने लठ्ठिले भाले धपाउँदा धपाउँदै
उफ्रिएको भालेको पखेटाले
काम्दै समातेको सिलेबरको कचौरा उच्छिटिन्छ
बाँकी खोले अगेनामाथि पोखीन्छ
आगो झ्याप्प निभ्छ
खरानी फुस्स उड्छ
बुढी आमैको जीउ ढाक्छ
छानाको च्यापबाट परेवा
भुर्र उडेर बाहिरीन्छ !