आऊ एउटै सूर्यसँग उदाऔँ
|आऊ एउटै सूर्यसँग उदाऔँ
आऊ एउटै चन्द्रसँग निदाऔँ
पृथ्वीको ठडिएको एउटै हात हेरेर
गर्वले उठेको एउटै औँलो बुझेर
आऊ अब एउटै गन्तव्यमा हिडौँ
विभेदका कुरा छोडिदिऊँ अब
विभाजनका कुरा बिर्सिदिऊँ अब ।
माटोमा चोट लाग्दा मुटु दुख्छ भने
मुटुमा व्यथा बढ्दा माटो रुन्छ भने
मुटु र माटोसँगै गासिदिऊँ
आत्मा र शरीरसँगै जोडिदिऊँ
विभेदका कुरा छोडिदिऊँ अब
विभाजनका कुरा बिर्सिदिऊँ अब ।
तिमीले आँसु कोसीमा खसाल्यौ
मैले आँसु कर्णालीमा खसालेँ
चोट एउटै दुखेको हो भने
व्यथा एउटै बल्झेको हो भने
आऊ आँसु सँगै खसालौँ
आऊ मन सँगै पखालौँ
सूर्यको प्रकाशलाई जितौँ
हाम्रा आँसु वाष्पीकरण हुन नदिऔँ
नदी हैन सागर बनाऊँ
वेदनालाई ऊर्जा बनाऊँ
विभेदका कुरा छोडिदिऊँ अब
विभाजनका कुरा बिर्सिदिऊँ अब ।
स्वहितका लागि लड्नै पर्छ भने
आमाको लागि भिड्नै पर्छ भने
तिमी छाती चौडा पारी खुँडा उठाऊ
म शिर उचा राखी खुकुरी उठाउँछु
एउटै उद्धेश्य लिएर एउटै युद्ध लडौँ
आऊ मर्नु परे धर्म युद्धमै मरौँ
विभेदका कुरा छोडिदिऊँ अब
विभाजनका कुरा बिर्सिदिऊँ अब ।
तिमीले पसिना समुन्द्र वारि झार्यौ
मैले पसिना समुन्द्र पारि झारेँ
हाम्रा पसिनाले हाम्रै माटो भिज्नु पर्छ भने
हाम्रो माटोमा हाम्रै लालीगुराँस फुल्नु पर्छ भने
हाम्रो हिमालमा हाम्रै डाँफे नाँच्नु पर्छ भने
आउ पसिनासँगै झारौँ
आउ कर्मसँगै गरौँ
मेहनतले भाग्यसँगै कोरौँ
आशाले जीवनसँगै बेरौँ
विभेदका कुरा छोडिदिऊँ अब
विभाजनका कुरा बिर्सिदिऊँ अब ।
मैले हात मन्दिरमा जोडेँ
तिमीले शिर मस्जिदमा झुकायौ
अन्तर्मनको कामना एउटै छ भने
ईश्वरसँगको पुकार एउटै हो भने
जगतमा ईश्वर एउटै नै छ भने
आऊ प्रार्थनासँगै गरौँ
आऊ वन्दनासँगै गरौँ
विभेदका कुरा छोडिदिऊँ अब
विभाजनका कुरा बिर्सिदिऊँ अब
आऊ एउटै सूर्य सँग उदाऔँ
आऊ एउटै चन्द्रसँग निदाऔँ ।
(नोट: नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको २९९ औं जयन्तीका अबसरमा नेपाली सेनाद्वारा आयोजित कविता प्रतियोगितामा सहभागी करिव २०० कविताहरूमा ३० औं उत्कृष्टमध्ये एक ।)