एउटा प्रस्ताव
|प्रेम भनेको कसैको भावनामाथि खेल्नु रहेछ
त्यसैले प्रेम क्रुरता नै क्रुरताले भरिएको
कानुनी प्रमाण जुटाउन नसक्ने अपराध रहेछ ।
तिमी पीडित
म पीडक
तिम्रोसामु एउटा प्रस्ताव राखुँ ?
तिमी पनि मेरो भावनामाथि खेल्न आऊ
जैलेसम्म
मेरो आँखाले आकासको सीमाना भेट्दैन ।
मैले सबै नारीलाई बुझ्नु पर्थ्यो
नारीभित्रको तिमीलाई चाहिं प्रेम गर्नु पर्थ्यो
जसरी
औंसीको रातलाई धर्तीले चकमन्नपूर्ण प्रेम गर्छ ।
जब तिमीले पुरुषवादको फलामे सिक्रीबाट निस्कन खोज्यौ
तिम्रो बदला त मैले अर्की नारीसँग पो लिन खोजें
हो ती नारी अहिलेको मेरी श्रीमती हो।
तिमी एउटा पुरुषको बदला अर्को पुरुषसङ्ग नलेऊ
तिमीसामु एउटा प्रस्ताव राखुँ
मैले तिमीलाई प्रेमको नाममा दिएको
चित्कारपूर्ण विवाह सम्बन्धको बदला लिन आऊ
कानुनको धारा उपधाराहरुले तिमीलाई पर्खेर बसेको छ।
तिमीलाई लगाम लगाउने कानुन बनाउने पनि मै
कानुनको तगारो असंगतिपूर्ण तरिकाले नाग्ने पनि मै
मेरो अपराध संस्कृति हुनसक्छ
तिमीले देखाउने प्रेम विकृति हुनसक्छ ।
हेर त
हाम्रो सम्बधलाई लिएर
तिमीलाई र मलाई चिन्ने यो समाजले
मलाईभन्दा तिमीलाई धेरै प्रश्न गरेको
तिम्रोसामु एउटा प्रस्ताव राखुँ ?
यति मन्द मन्द चल्ने हावाले त
आकासको पूरै वादललाई हराई दिन्छ भने
तिमीलाई प्रश्न गर्ने समाजलाई पनि उत्तर दिएर जरुर हराई देऊ है।
सायद !!!
म आजभोलि यस्तो विश्लेषण गर्छु
तिमी मबाट धेरै टाढा थियौ
तिमीलाई मैले सक्रिय प्रतीक्षा गर्नुपर्थ्यो
समयले मलाई पक्कै चोखो प्रेम तिमीसँगै दिन्थ्यो ।
तिम्रोसामु एउटा प्रस्ताव राखुँ
तिमीले पनि एउटा प्रेमको सक्रिय प्रतीक्षा गर्नुपर्छ
किनकि
तिमीलाई पाउन राम्रो पुरुषले
आँखालाई सपना देख्न उकासिरहेको हुनुपर्छ।