सह-अस्तित्वमा टुसाएको प्रेम

मैले तिम्रो अस्तित्वको कोसेलीलाई स्वीकार गरे
यो मेरो स्वीकारमा
पुरुषवादको सैनिकले परेड खेल्ने छैन ।

तिम्रो आदरपूर्ण प्रेमलाई
म यसरी स्वीकार गर्न मन छ
त्यो स्वीकारमा मेरो आमाको खुसी लतपतियोस् ।

म तिमीलाई
पानीमा चिनी घुलाएझैं घुलाउन मन छैन
त्यो चिनी घुलिएको पानी जमाए आइस बन्छ
पगाले फेरि पानी
त्यसैले म तिमीलाई
बोडीको दानाहरुमा
मस्यामका दानाहरू मिसाएझैं मिसाउन मन छ।

मलाई कसैले नारी सम्बन्धित प्रश्न गर्छ भने
मल्टीपल च्वाइसको प्रश्न नगरोस्
किनभने
मैले दिने उत्तरमा
कि मेरी आमालाई छान्नुपर्ने हुन्छ
कि तिमीलाई
त्यसैले
एउटै उत्तरमा धेरै कुरा भन्न सकिने प्रश्न गरोस
किनभने
म मेरी आमा र तिमीलाई एकै ठाउँमा मिसाएर उत्तर दिन मन छ।

तिमीलाई धेरै चाहाना गरेको
यो मेरो शरीरले हो की ?
यो मेरो मनले ?
यो चाहाना
मायाँको असली धरातलमा रहेछ भने
मैले तिमीलाई दिने मायाँ पनि न्यायिकपूर्ण हुनेछ ।

सम्बन्ध अरुको जस्तो नभएर आफ्नो जस्तो हुनेछ
यो सम्बन्धमा रहेर तिमी
अरुको लागि हिडिरहेजस्तो
बाचिरहेजस्तो
बोली दिएजस्तो
र आफ्नो पहिचान मेटेर
अरुको पहिचानको रेखाङ्कन गरेजस्तो आभाष हुनदिने छैन ।

मैले तिम्रो अस्तित्वको विशाल भूभागमा
अतिक्रमण गर्ने रणनीति बनाउने छैन
यो सम्बन्ध दुई विशाल अस्तित्वको एकीकरण जस्तो हुनेछ।

हामीबीचको सीमारेखा भत्काउनेछौं
तर
पछि सीमा बार लगाउन मिल्ने गरी भत्काउनेछौं
त्यसैले यो सम्बन्ध
तिम्रो अस्तित्व मैले स्वीकार गर्ने
मेरो अस्तित्व तिमीले स्वीकार गर्ने सम्बन्ध हो
सह -अस्तित्वको सम्बन्ध हो।

Add a Comment

Your email address will not be published. Required fields are marked *