दाँतको डाक्टर


खपिनसक्नु दाँत दु:ख्दा
झल झल आँखा अगाडि आउँछन्
दाँतको डाक्टर

जानै पर्ने हुन्छ
एक खेप गएपछि
फेरि फेरि गइराख्ने होइन्छ

कुनै न कुनै दिन
जो पनि हुनसक्छ
दाँतको बिरामी

दाँतको डाक्टर र
दाँतको रोगी बिच
बलियो गरि उभिएको हुन्छ
इन्सूरेन्स कम्पनी
फेरि
चारैतिर झुम्मिन्छन्
औषधी बेच्ने पसलहरु
औषधी बनाउने कम्पनीहरु
बँगारा झिक्ने डाक्टरहरू

सजिलो छैन
एकचोटि गएपछि
दाँत सफा गर्न बोलाइ राखिन्छ
दाँत दाँत बीचका प्वाल नापिन्छ
चिउँडो घुमाइ घुमाइ एक्सरे गरिन्छ
सुई लगाइ गिजा लट्ठ्याएर
चोइटिएका दाँत टालिन्छ
कसैलाई त इम्प्लांट गरि
नक्कली दाँत घुसाइन्छ

सद्दे मिलेका दाँत
औषधी गर्न परेपछि
यति धेरै उपचारले
कति साह्रो दु:खाइ

प्रत्येक पल्ट
दाँतको क्लिनिक जाँदा
निकै मँहगो बिल आउँछ
अन्त्यमा त आखिर
खर्चकै कुरा त हो

उपचार खर्च छउन्जेल
बिरामी नै भए पनि
सबैबाट सेवा र माया
पटक पटक पाइरहिन्छ

खर्च सकिएपछि
उपचारबाट टाढा होइन्छ
आफ्नो चिउँडो हातले थिचेर
ऐया ऐया सहदै
दु:खाइ कम गर्ने चेष्टा गरिन्छ
त्यसबखत पनि
झल झल आँखा अगाडि आउँछन्
दाँतको डाक्टर

Add a Comment

Your email address will not be published. Required fields are marked *