जातीय विभूति सि के श्रेष्ठ

(सि के श्रेष्ठ)

समाजमा कोही प्रतिभाशाली व्यक्ति रहेका हुन्छन् जसले आफ्नो प्रतिभालाई समजोपयोगी बनाएका  हुन्छन् । कालिम्पोङका सि के श्रेष्ठ यस्ता हुन् जसले आफ्नो प्रतिभाले समाजलाई अहोरात्र केही नयाँ नयाँ विचार प्रदान गरिरहेका छन् । उनी एकजना सर्जक हुन, अभिनेता, नेता हुन् र हुन् जातीय चिन्तक । उनका हरेक गतिविधिमा कलात्मकता रोचकता, नयाँपन, रसिकता, ज्ञानवर्द्धता जस्ता कुरा पाइन्छन् । उनी आफ्नो वरिपरिको परिवेशलाई उज्यालो पार्दछन् । सेतो र लामै केश र दारी पालेका, रातो लवेदा लगाएका, हेर्दै कलाकार लाग्ने, उज्याला, हँसिला, रसिला व्यक्तिव हुन् सि के श्रेष्ठ । अनुभव, ज्ञान, कलाका भण्डार, जातीय मुक्तिका उत्प्रेरक,  विचारक तार्किक व्यक्तित्व हाम्रो समाजका धरोहर हुन् । पूरा नाम चन्द्र किशोर श्रेष्ठ भए पनि पनि नेपाली समाजमा सि. के. श्रेष्ठका रूपमा प्रख्यात छन् । उनी एक नाट्य कलाकार, नाटककार, कवि, गीतकार राजनेता, राजनैतिक चिन्तक र कुशल सङ्गठक हुन् । उनका व्यक्तित्वका अनेक पाटा छन् । मुख्य गरी नाट्यकारिता, राजनीति, पत्रकारिता र लेखकीय आदि उनको प्रतिभाका क्षेत्र हुन् । उनको जन्म २२ मई, १९४७ मा कालिम्पोङमा भएको हो। उनका बाबुआमाको नाम स्व. एस एन श्रेष्ठ र स्व. जयवन्ती रूथ प्रधान हो । यिनको कालिम्पोङको गुरूङ परिवार सित कौटुबम्बिक सम्बन्ध रहिआएको छ । उनको विवाह हिरण गुरूङ श्रेष्ठसित भएको हो जो केही वर्षअघि बितिसकेकी छन् । एक छोरा र छोरीको बाबुको रूपमा श्रेष्ठ अहिले पनि कला, गीत साहित्य राजनैतिक चिन्तन आदिमा उत्तिकै सक्रिय छन् ।

१. नाट्य कलाकारका रूपमा– सि के श्रेष्ठ एक कुशल चलचित्र अभिनेता, नाट्यलेखक, नाट्यकलाकार चलचित्र संवाद लेखक हुन् । नाट्य क्षेत्रमा उनको विशिष्ट योगदान रहेको छ । यिनले समाज परिवर्तनका लागि नाटकको अवधारणालाई अघि बढाउने क्रममा नाटकका विभिन्न रूप दिए, प्रयोग गरे । समयको परिवेश, रूचि, आवश्यकता अनुसरार नाटक लेख्छन्, मञ्चऩ गर्छन् । उनले बनारसका नाट्यश्री मोतीलाल गुप्तले विकसित गरेको चौथो थिएटर लाई खुल्ला मञ्चका रूपमा प्रयोग गरेका हुन् । उनी भद्रेको टोली नाट्यसमूहका अगुवा हुन् । यस टोलीले अनि भालेमुङ्गो रून्छ (१९७७), मुगल साम्राज्यमा एकदिन (१९७८), हाम्रो लभ-स्टोरी (१९८४), मलाई सब थाहा छ (१९८८), गुरू मङ्गल गाथा (१९९६), ऐनामा हेर्दा रामसाइँली (२००२), स्याल पस्ला है शहरमा (२००२), गुड फ्राइडेको एक बिहान, (२००३), पृवीदेखि परमधामसम्म (२००३), अन्धाहरूको रामकहानी (२००४), सलाम रेलीमाई (२००४), फेरि नानेटकै कथा (२००५), फक्रि नपाएका फूलहरू (२००५), तेस्रो इडियट (२००६), दैलो (२०११), पिताम्बर प्रभु (२०१८) आदिजस्ता लोकप्रिय र चर्चित नाटक मञ्चन गरेका थिए । अनि भालेमुङ्ग्रो रून्छ, नाटकले एघार वर्ष वर्षसम्म विभिन्न स्थानमा मञ्चन गरेको थियो । यसैगरी ऐनामा हेर्दा राम साँइली नाटक पनि अत्यन्त भव्यताका साथ मञ्चन भएका थिए । यो नाटकको प्रदर्शन भारतमा विभिन्न स्थानमा लगभग पाँचसय पटक मञ्चन भएको थियो । उनका अन्य मञ्चित नाटकहरूमा हाम्रो लभ स्टोरी, मुगल साम्राज्यको एक दिन, दिउँसै स्याल कराउला हे शहरमा आदि पनि हुन् । उनका नाटक समाजका सामाजिक र राजनैतिक विकृतिलाई लिएर सिर्जना गरेका हुन्छन् ।  उनले नाकलाई जातीय अस्तित्व, जातीय कमजोरीको सुधार, राष्ट्रिय सवालका कुरा, सामाजिक विकृतिमाथि ठुङ हानेर तिनको सुधार गर्नु, विद्रोह चेतना आदि जस्ता कुरा पाइन्छन् ।

(नवीन पौड्याल)

२. नेताका रूपमा– सि के श्रेष्ठ एक चर्चित राजनीतिकर्मी र नेता हुन्। यिनी राजनीतिका साथै जातीय साङ्गठिक क्षेत्रमा नेतृत्वपंक्तिमा रहेका हुन् । उनको जातीय उत्थान, हित र समुन्नतिका निम्ति उनको आफ्नो विचारधारा, अवधारणा र अडान रहेको छ । उनी एक प्रखर वक्ता हुन् । उनको भाषणमा वाग्वैदग्ध, हास्य, व्यङ्ग्य, विचारको गहिराई, रोचकता, जोस आदि कुरा पाइनाले दर्शक श्रोतालाई मन्त्रमुग्ध पारेर राख्ने क्षमता पाइन्छ ।  उनको राजनैतिक जीवनका अनेक पाटा छन् । उनी गोर्खा भारती विचार मञ्चका संस्थापक,, राष्ट्रिय जागरण समाजको निर्देशक हुन् भने उनको राजनैतिक दलसित परोक्ष र प्रत्यक्ष गतिविधि रहेको पाइन्छ । अखिल भारतीय नेपाली भाषा समितिका केन्द्रीय समितिका सदस्य (१९७३-१९८१), प्रान्त परिषद्का केन्द्रीय समितिका सदस्य (१९८०-१९८७, यसको प्रकाशन विभागको अभिभारासहित) भारतीय नेपाली राष्ट्रिय परिषद्का राष्ट्रिय महासचिव (१९९०-९२) र भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय कार्यकारी अध्यक्ष (२००६-२००९)। उनको राजनितीको अडानको केन्द्र जातीय उत्थान, रतमा गोर्खाहरूको परिचय सङ्कटकको निवारणका निम्ति सङ्घर्ष, चिन्तन आदि रहेका छन् ।

ग़. पत्रकारका रूपमा – सि के श्रेष्ठ एक कुशल पत्रकार हुन् । उनले सनचरी समाचार दैनिकका संस्थापक प्रकाशक, अब संवाद पत्रका प्रकाशक-सम्पादक, आधार भानेरापको मुखपत्रको सम्पादक, हिमाली बेलाका सम्पादक, पूर्वाञ्चल भारती (पाक्षिक पत्रिका, गौहाटी) का सम्पादक, माइलखुट्टी (गौहाटीबाट निस्कने मासिक पत्रिका) का सम्पादक रही काम गरेका हुन् । उनको पत्रकारिता धेरै मात्रामा चिन्तन प्रधान, रोचक प्रस्तुति, समसामयिक विषयमा विवेचना र विश्लेषण आदि गुण पाइन्छन् । उनको सम्पादकीय लेखनमा नै पाठकका निम्ति बौद्धिक खुराक, ज्ञान र चेतनाको रस तप्किएको पाइन्छ । समाचारको शीर्षक रखाइमा नै व्यङ्ग्य विनोद पाइन्थ्यो । उनले सम्पादन गरेका पत्रिकाका विभिन्न स्तम्भमा नै जातीय उन्मुक्ति चेतना र जागरणको आह्वान र विचारोत्तेजना पाइन्छ ।

घ. लेखकका रूपमा– सि के श्रेष्ठ एक  कुशल लेखक हुन् । साहित्यिक क्षेत्रमा उनको विशिष्ट स्थान सुरक्षित छ । उनी एक राम्रा निबन्धकार, नाटककार, कवि र गीतकार र स्तम्भ लेखक हुन् । उनका प्रकाशित पुस्तकहरूमा दार्जिलिङे भानुजयन्तीको नाकनिक, नारद उवाच (व्यङग्य लेखसङ्ग्रह), हाम्रो लभ स्टोरी (नाटक), दैलो (साहित्य कादमीबाट प्रकाशित नाटक सङ्कलन), मुझे रङ्ग दे तिरङ्गा चोला माई (हिन्दी भाषामा, व्यङ्ग्य र विचारोत्तेक लेख सङ्ग्रह), भारतमा गोर्खाको राष्ट्रिय चिन्हारी सङ्कट, Gorkha  Quest for Indian Identity ( अँग्रेजीमा) बनमारा (कवितार र गीतसङ्ग्रह) उनी एक कुशल र प्रख्यात गीतकार पनि हुन् ।

ङ. गीतकारका रूपमा – सि के श्रेष्ठ एक कुशल गीतकार हुन् । दुई चार नेपाली चलचित्र र उनका नाटकहरूमा उनले रचेका मिठा मिठा गीतहरू सुन्न पाइन्छ । यिनका गीतमा पनि जातीय चेतनाको प्रखरता पाइन्छ । यिनका गीतमा प्रेमका विभिन्न भाव, व्यङ्ग्य चेतना, जनचेतना, जातिप्रेम, राष्ट्रप्रेम आदि भाव पाइन्छन् । मलाई पनि चाहिन्छ चारकुने आँगन, ‘पहराजस्ता बाजे-बराजु सहारा खोज्ने हामी- इतिहासमा ठाँउ खोज्दाखोज्दै बित्यासमा पर्ने हामी’, ‘चरी बोल्यो रेलीमाई चरी बोल्यो मैना गोर्खालीलाई रेलीमाइ सन्चो कहीँ छैन’, ‘जनम गोर्खाल्याण्ड हाम्रो करम गोर्खाल्याण्ड’, ‘भन्नलाई त गोर्खाको देशभरि सुवास छ तर आ-आफ्नो नाममा न वास छ न गाँस छ’ आदि जस्ता गीतहरूमा जातीय प्रेम र चेतना छ, जागरण र सचेतनको आह्वान छ । चलचित्र तृष्णाका जम्मै गीतहरू उनले लेखेका हुन् । जस्तै ‘यसपालिको बसन्तमा एउटा फूल फूलेछ’, ‘ए चरी चाँचरी’, ‘छल्किरहेछ छलछल’ लगायत धेरै गीतहरू लोकप्रिय भएका हन् । यसैगरी रिङ्केबङको राँगोलाई चुङ्केबुङको चुँलेसीले पनि निकै लोकप्रिय भएको पाइन्छ ।  स्थानीय गायकहरूले गाएका छन् । विभिन्न क्षेत्रमा सेवा पुर्‌याएवापत् श्रेष्ठ विभिन्न स्थानबाट सम्मानित र पुरस्कृत पनि भएका छन् । उनले शिखर पुरस्कार (नेपाली फिल्म लेखेवापत्), राष्ट्रिय पुरस्कार (फिल्मको कथा लेखका निम्ति काठमाडौबाट प्राप्त), नाट्यभूषण सम्मान (नेपाली थिएटरमार्फत भारतीय थिएटर विकासको विकासमा विशिष्ट योगदान पुर्‌यावापत उडिसाबाट प्रदान गरिएको) नेपाली भाषा सङ्ग्रामी सम्मान (सिक्किम सरकारबाट प्राप्त) आदि हुन् ।

सि के श्रेष्ठ आफुभित्रको कला र प्रतिभाको बलमा हाम्रो समाजलाई अहोरात्र योगदान दिइरहेका छन् । उनका हरेक गतिविधि, विचार, वक्तव्य, मन्तव्य, वार्ता-अन्तर्वार्तामा जातीय प्रेम झल्किन्छ । उनी हाम्रो समाजका निम्ति सल्लाहकार, दिशानिर्देशक, पथप्रदर्शक, अभिभावक, इतिहासवेत्ता हुन् । उनी व्यक्ति सत्तालाई भन्दा सामूहिक सत्ता, चेतना र परम्पराको निरन्तरता प्राथमिकता दिन्छन् । चेतनाको सत्तालाई अघि लाए मात्र  हाम्रो जातीय मुक्तिको सङ्घर्ष सफलता हासिल गर्न सकिन्छ । हाम्रो इतिहास पनि हामी आफैंले खोज्नु पर्छ, निर्माण गर्नुपर्छ, एकताको मन्त्र, निराश नभई सामूहिक रूपमा सचेत भएर सङ्घर्ष अघि बढे भन्ने धारणा राख्दछन् । उनका विचारधारा, विनोदी वचनभित्र गहनता, कलाकारिताभित्र जातीयता, नाटकभित्र सन्देश, मनोरञ्जनभित्र ज्ञान, गीतमा जाग्रृति, बोलीमा रस आदिले युक्त श्रेष्ठ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *