डाक्टर कमलका मनका कुरा

मनका कुरा डा. कमल छेत्रीको पहिलो कविता संग्रह हो। उनी सिलचर मेडिकेल कलेजबाट एमबीबीएस र एमडी अनि लखनउको सञ्जय गान्धी मेडिकेल इन्टिच्युटबाट डीएम गरिसकेर स्वास्थ्यसेवामा समर्पित चिकित्सक हुन् । मेडिकेल साइन्सको उच्चतम डिग्रीधारी, गुवाहाटी महानगरीका अत्यन्त व्यस्त रहने डाक्टरहरुमा कमल पनि एक हुन् । यस्तै व्यस्तताका बीचमा पनि समय निकालेर उनी कविता लेख्छन् । कविता प्रति उनको कति प्रगाढ प्रेम छ त्यो यसैबाट अनुमान गर्न सकिन्छ । सुसंस्कृत साहित्यिक परिवारमा जन्मेका, अहिले पनि साहित्यकै  परिवेशमा उनको निवास र नाता छ ।  सिर्जनाको प्यास डा. कमलले उनका बाबुबाट बिरासतमा पाएका हुन् । उनका बाबु कर्णबहादुर छेत्री एकजना सफल कवि थिए । उनका मुठीदान र प्रतिदान शीर्षकका दुइ काव्यकृति (अरु पनि कृति )प्रकाशित भइसकेका छन् । उनका ससुरा पद्मश्री लीलबहादुर क्षत्रीको परिचय दिने प्रयोजन छैन।

यसका साथै बाबुका सान्निध्यमा आएका असमका प्राय सबैजसो लेखकहरुसँग कमलले सुसम्पर्क राखेकै छन् । भन्छन, डाक्टरहरु मरीजसँग खेलवाड गर्दा गर्दा सम्बेदनाहीन, कठोर ह्रदयका हुन्छन् । पुलिसका क्षेत्रमा पनि यस्तै कुरा सुनिन्छ।  यसरी साधारणीकरण गरेका विचार मान्न सकिँदैन । डा. खिलानाथ शर्माको माइक्रोस्कोप कविता संग्रह पढ्दा थाह हुन्छ । डा. ध्रुवज्योति बरा, पुलिस विभागमा कुलधर शैकिया, हरेकृष्ण डेका, हाम्रै जनार्दन उपाध्यायले स्तरीय साहित्य सिर्जना गरेका छन् ।  उदाहरण अरु धेरै दिन सकिन्छ ।  डा. कमलमा कमलो कवि मन छ । त्यसैले उनी सम्वेदनाका कविता लेख्न सक्छन । बलीले निर्वलीलाई हेपेर अत्याचार गरेको देख्दा त्यसैले उनका शब्दहरु शक्तिकेन्द्रलाई ललकार्न पुग्छन । मरेकाहरुको ढुकढुकी चलाउने कविता लेख्ने उनको चाहना छ । ज्वालामुखी हुँ म शीर्षकको कवितामा कविले उनको क्रान्तिकारी विचार र दृढसङकल्प व्यक्त गरेका छन —-

हिजोको विश्वासको महासागर हुँ म
आजको साहसको हिमाल हुँ म
भोलीको प्रगतिको ज्वालामुखी हुँ म।
सुनौं त एकछिन कमलका मनका कुरा—–
यस संग्रहको पहिलो कविता छ कोरोना ज्ञाऩ । यतिखेर कोभिड-19 को चपेटमा सारा विश्व त्रस्त विध्वस्त भएको छ। कोरोनाले धनी-गरीप, सत्ताधारी-सत्ताहीन, नारी-पुरुष, जाति-धर्म केही हेरेन, ज्ञानी-विज्ञानी, लेखक-पत्रकार,  डाक्टर-इञ्जीनियर-गवेषक कसैलाई टेरेन, सबैलाई एकाकार पारेर गाँज्यो। श्रेष्ठताको होडबाजीमा सधैं लडिरहने मान्छेलाई कोरोनाले उसको औकात देखाइदिएको छ। अविवेकी मान्छेलाई उसको कर्तव्य   सम्झाइदिएको लागि कविले कोरोनालाई धन्यवाद दिएका छन। रगत त आखिर रगत नै हो  कवितामा पनि कविको मानवतावादी दृष्टिभङ्गी सुस्पष्ट भएको छ। जाति-धर्म-भाषा आदि अनेक कुरामा मान्छे हिंस्र बन्दछ, उत्तेजनामा उसको खुन उम्लिन थाल्दछ। यस प्रकारका विभाजनकामी विचार जन्माउने मस्तिष्कमा कवि बम् पडकाउन चाहन्छन। कवि भन्छन आखिर रगत त रगत नै हो किन यत्रो भेदाभेद गर्नु। कान्छाको पीडा रुपकात्मक छ। कविले यहाँ कान्छाको पीडा भनेर आफ्नै जातीय संकटलाई सङ्केत गरेका छन। देश सेवाको प्रतिदानमा  विदेशीको लाञ्छना खपेका स्वजातीको मर्म उनले बुझेका छन। जातीय आक्रोशलाई सहज रुपमा उनले यसरी काव्यिक अभिव्यक्ति दिएका छऩ—–
तर, यहाँ एक हुण्डरी आएछ
दाज्यूहरुका मनमा पाप पलाएछ
उनीहरुको मन साँघुरिएछ
कान्छो अब उनीहरुका लागि पराई बनेछ। ( कान्छाको पीडा )
प्रवासी चरी प्रतीकात्मक कविता हो । हजारौं माइल दूरी अतिक्रम गरी, अनेकौं देश, सागर महासागर पार गरी परिभ्रमी पक्षीकुल वर्षेनी यहाँ आउँछन। प्रकृतिको साम्राज्यमा कुनै रोकटोक छैऩ। तर तथाकथित जीवश्रेष्ठ मान्छे पल्लो घरको छिमेकीलाई पनि सहँदैन। जाति, भाषा, राष्ट्र, धर्म—– कति हुन कति पर्खालहरु। त्यसैले कवि प्रवासी चरालाई सादर स्वागतम भन्छन—-
हे प्रवासी चरी
स्वागत छ यहाँ
तिमीले यहाँ सहनशीलता सिकाऊ
सबैलाई मिलेर बाँच्न सिकाऊ
वसुधैव कुटुम्बकमको भावना सिकाऊ।
सबै कविता सहज सरल छन। धेरै प्रतीक र बिम्बले सिँगारेर कवितालाई जटिल पारेका छैनन। जुनसुकै तहको पाठकले पनि उऩका कवितामा रहेको विचार, प्रतीक र व्यङ्गको लक्ष्यार्थ सजिलै अनुधावन गर्न सक्छ। कतिपय उत्तरआधुनिक शैलीका कवितामा भने कविले कतिपय विज्ञानका कुरा प्रस्तुत गर्दा विज्ञानका पदावली प्रयोग गरेका छन। जेनेटिक इन्जीनियरिङ त्यस्तै जटिल जस्तो देखिने सहज कविता हो। आफ्नो प्रजातिमा दुख पर्दा दुखी हुनु  मान्छेको जैविक प्रवृत्ति हो। तर हिजोआज होमोसेपिएन्य प्रजातिमा संवेदना लुप्त भएको कविले अनुभव गरेका छन् । मेडिकेल साइन्स अनुसार यसको सम्भाव्य कारण पता लगाउदै कवि भन्छन यो जेनेटिक इन्जीनियरिङ गर्न सक्ने मान्छेले नै गराएको हो। सुखदुख अनुभन गर्ने कारक तत्व हो मान्छेको कोषस्थित डीएनए । यही डीएनएको जिनमा हुने तेइसजोडी क्रोमोजोम्समा म्युटेसन गराएर मान्छेको जैविक प्रवृतिमा परिवर्तन गराएको हो । यस कविताले मेरी श्येलीको फ्रेङ्केस्टेइनमा अद्भूत जीव सृष्टि गरेको कल्पकहानीको सम्झना गराउँछ । जीव विज्ञानका शब्दप्रयोगले केही कठिन जस्तो लाग्ने यो कवितामा विज्ञानलाई मानव कल्यणको काममा लगाउनु पर्छ, नभए मान्छे आफैले बनाएको मसीनको पुर्जा बन्नेछ भन्ने महत्वपूर्ण कुरालाई सङ्केत गरिएको छ । जिउँदो मूर्तिमा कविले मान्छेमा सम्बेदना हराउँदै गएको कुरालाई दर्शाएका छन् । चौरस्तामा ठडिएको कुनै महापुरुषको मूर्तिले देख्तैन, सुन्दैन, बोल्दैन । जिउँदो भएर के भो, आजको मान्छे पनि ढुङ्गाको मूर्ति जस्तै भएको कविले मनको औडाहा पोखेका छन् ।

गैंडा शीर्षकको कविता हास्यव्यङ्गात्मक शैलीमा लेखिए पनि यसले इकोलोजीको थीमलाई पक्डेको हुनाले यो कविताको छुट्टै महत्व छ । गैंडाको खागमा चमत्कारी गुण छ भन्ने विश्वासमा गैंडाको हत्या गरी खागलाई लाखौंको मूल्यमा किनबेच गर्ने बजार छ । यसरी हत्या गरिनाले गैंडाको संख्या द्रुतगतिमा घटेको छ अनि यो प्रजाति नै विलुप्त हुने डर छ । त्यसैले कवि गैंडाकी छोरीको पीडा पोख्छन यसरी –
प्रियङ्का दिदीलाई म भन्छु
विश्ववासीलाई भनिदेऊ
हाम्रो खागमा कुनै चमत्कार छैन
यसमा कुनै औषधी छैन
यो त प्रकृतिले आत्मरक्षाका लागि
हामीलाई दिएको एक हतियार हो ।

कविका हास्यव्यङ्गात्मक शैलीका कविता निकै रोचक छन्। हारजीत त्यस्तै हास्यव्यङ्गात्मक कविता कविता हो। कोरोनाको प्रकोप बढ्दै गएको एक समयमा सरकार प्रमुख प्रधानमऩ्त्रीले साँझको समयमा दियो बालेर घण्टी बजाउने आह्वान गरे। कोरोनाको रोकथाममा सरकारले यस प्रकारको पहल विज्ञान मानसिकता भएका जो कोइलाई नै हास्यास्पद लाग्यो । हाम्रा कवि कमल जो पेशाले  डाक्टर हुन, कोरोनाको भाइरसलाई धपाउने तरिका सुनेर आश्चर्यचकित भएनन किनभने यस प्रकारका अन्धविश्वासका जरा उखेल्नु ठूलो कुरा हो ।

यस युद्धमा कसैले जितेको छ भने
केवल कोरोना फेसनले जितेको छ
डायरिया, टीबी, क्यान्सर, मुटुरोग
अनि शिशुहरुको प्राण लिने कुपोषण
यी यमराजका पारम्परिक हतियारहरु
आज भुत्ते भइसकेका छन
आज यी रोगले ज्यान गुमाउनेहरुको चर्चा हुँदैन
तर एकजना कोरोना भेटिएको समाचार हुन्छ
टेलिभिसनमा हेडलाइन हुन्छ, ब्रेकिङ न्युज हुन्छ
यी सबै कुरालाई अनुधावन गरेर मरीजको केस हिस्ट्रीको आधारमा
डाक्टर कवि उनको प्याडमा व्यङ्गको कढा प्रेस्क्रिप्सन  ठोक्छन———
हतार नगर, धैर्य राख, घरै बस
थाल बजाउ, ताली बजाउ अनि दियो बाल
हामीले कोरोनालाई तर्साएर भगाउनु छ ।

एउटा फोटो खिचाउँनु छ – यो कविता हास्यात्मक नै छ तर यसमा झस्काउने गहिरो सत्य सुकेको छ । कवि एउटा फोटो खिचाउन चाहन्छन —–
चिटिक्क परेको एउटा फोटो खिचाउनु छ
ह्वाट्सएप र फेसबुकमा सेयर गर्नु छ
धेरै लाइक बटुलेर छिटै भाइरल पनि हुनु छ
समयको साथ साथ म पनि चल्नु छ ।
यतिसम्म त हँसिला रमाइला लाग्छन तर जब भित्तामा झुन्डिन पनि फोटो चाहिँदो रहेछ भन्छन त्यतिखेर पाठकको मन झसङ्ग हुन ।
मरेपछि पनि संसारले हेर्न फोटो चाहिँदो रहेछ
माला लगाई धूप सुँघ्दै भित्तामा झुण्डिन पनि फोटो चाहिँदो रहेछ ।
भोलीको रोबोट कविता कविले मुक्ति उपाध्यायको उपन्यास पढेपछि लेखेका हुन । समयले हामीलाई जटिल भविष्यतिर धकेल्दै छ, त्यसैले तिमी हिजोका कुरा गरेर नअल्मलिनु, आजको चहलपहलमा नहराउनु, भोलीको प्रोग्राममा चल्ने गरी तिमी रोबोट बन भनेर यहाँ पनि कविले वक्रोक्ति गरेका छन।
तिमी आऊ कविताले कविको विनोदी हास्यरसिक स्वभावलाई उजागर पारेको छ । कन्स्टिपेसनले  पीडित व्यक्तिले भोगेको समस्यालाई कविले यसरी प्रस्तुत गरेका छन्—
आफ्नो कामले थिचेको बेला
सही छाउँ नभेटेको बेला
तिमीलाई ढोकामा पर्खाएर राखें
त्यसैले तिमी रिसायौ होला र
मिसकल मात्रै दियौ।
तिमी आएनौ भने मनमा अशान्ति हुन्छ
न भोक लाग्छ न निद्रा
त्यसैले तिमी आऊ
मिसकल मात्र नदेऊ ।

(ज्ञानबहादुर छेत्री)

हेल्पर कवितालाई कविले आफ्नै छन्दले सिँगारेर प्रस्तुत गरेका छन। हास्यात्मक शैलीको यस कवितामा कवि घरको काम गर्ने नोकरका लागि इन्टरनेटमा सर्च गर्छन। सस्तोमा उनले एउटा प्याकेज फेला पार्छन जसमा काम गर्ने नोकरका साथ पत्नीको अभाव पनि पुरा हुने रहेछ। घर पुछ्ने भाँडा माझ्ने जस्ता काम नोकरले गर्नु पर्छ भन्ने कतिपयको अवधारणामाथि कौशलका साथ शालीन व्यङ्ग प्रहार गरेका छन। काम सानो-ठूलो हुँदैन, सबै कामको मर्यादा (डिगनिटि अफ लेबर) हुन्छ भन्ने कुरा कविताका माध्यममा व्यक्त गरिएको छ। अन्तिम पङ्क्ति प्रस्तुत छ —
सुनेर यति कुरा              ढुक्क भएँ म
जीवनमा शान्ति छायो
सुख-दुख बरु    भाँडा मै माझ्छु
कामले मर्यादा पायो ।

कूचो यस संग्रहको एउटा उत्कृष्ट कविता हो । यस अघिको हेल्पर कवितासँग कूचो कविताको विचारात्मक तादात्म्य छ। साफ सफाइको काममा प्रयोग गरिने कूचोले हृत मर्यादा पाएको कुरालाई शफाइ अभियान मिडिया कभरेज मृदु हास्यात्मक शैलीमा उपस्थापन गर्दै शेषमा समाजमा पन्पिरहेको अशिक्षा, अन्धविश्वास, सङ्कीर्णता जस्ता फोहर कसले कुन कूचाले बढार्ने  भन्ने महत्वपूर्ण प्रश्न  खडा गरेका छन। उनी लेख्छन —-
मान्छे मान्छेका मनभित्र गाडिएका फोहर बढार्न
को अघि सर्ने ? कसले उचाल्ने कूचो ?
कसले बढार्ने स्वच्छताको अभियान चलाउँदै हिँडनेको फोहर ?
मानिसका नशा ऩशामा व्याप्त फोहर कुन कूचोले बढार्ने ?
कविले धेरै वेथिति, विसङ्गति देखे। जस्तो देखे, त्यस्तै लेखे। कतै सोझै झटारो हाने, कतै पछिल्तिरबाट व्यङ्गको प्रहारले चित पारे। उनी परिवर्तन चाहन्छन । उनको परिवर्तन मोदीको नारा जस्तो होइन। उनले चाहेको परिवर्तन हो सोचको परिवर्तन, विचारमा परिवर्तन। कोरोनाले यसको शिक्षा दिएकै छ। होमोसेपिएन्समा सोही विचार पाइन्छ। कवि परिवर्तन ल्याउने कुरामा विश्वस्त छन, उनले हरेश खाएका छैनन। अंगरेज कवि श्येलीले भने शिशिर आयो भने बुझ्नु वसन्त टाडा छैन (If winter comes, can spring be far behind ?) वसन्तको आशामा कवि कमल पनि पर्खिबसेका छन—
यहाँ हुण्डरी र भुमरी धेरै आए
झरी बादल पनि धेरै नै आए
तर फेरि यहाँ वसन्त आउँनेछ। (पृ. 69)

अहिले सर्वत्र भय, त्रास, निराशा र विसङ्गति फैलिएको छ, अन्धविश्वास य़तावत छ। त्यसैले आजका धेरै कविताले तिनै कुरालाई अभिव्यक्त गरेका छन। आजका पुस्ताका नवीन कविहरुमा एकातिर सांस्कृतिक र जातीय चेतनालाई जागृत गराएर जातीय अस्मिताका कविता लेख्ने छन भने अर्कातिर कवितालाई प्रयोगको भूमिमा परीक्षण गर्ने गराउने कवि पनि देखा परेका छन। यतिखेर मुक्तक र गजल व्यापक हुँदैछ। यसले कवितामा आउन सक्ने सिर्जनात्मक विविधतालाई ओझेल नपारोस, बगिरहोस कविताको धारा दशै दिशा विना रोक टोक ।

समग्रमा, समकालीन नेपाली कवितामा यथास्थिति र परिवर्तन बीचको खिँचातानी, तनाव, क्रान्ति चेतना, लैङ्गिक तथा एथ्निक चेतना र निराशा जस्ता प्रवृति  मुख्य रुपमा देखा पर्छन। पुरानो प्रतिको मोहभङ्ग, नयाँप्रतिको आकर्षणको स्वर टडकारो सुनिन्छ। उसै गरी सिर्जनाको आन्तराष्टिय मूल धारोलाई पक्रेर काव्य सिर्जना गर्ने कवि असममा पनि देखिनु शुभलक्षण हो ।

बिम्ब र प्रतीक धैरै छैनन् । जे जति छन सहज सजिलै बुझिने खालका छन् । प्रवृत्तिगत रुपमा कवि कमल छेत्रीका कविताले कुनै निर्दिष्ट मतादर्शलाई प्रतिनिधित्व गरेका छन भन्नु मिल्दैन । यस संग्रहका कवितालाई समग्रमा हेर्दा कवि उदारवादी बहुलवादी उत्तरआधुनिक अवधारणाका पक्षधर देखिन्छन् ।

कमलको अभिव्यक्ति निजी शैली छ, बोल्दा होस लेख्दा, त्यो परिस्फुट हुन्छ। कुनै पनि कुरा उनी मृदु हास्यात्मक शैलीमा भन्छन। उनमा उच्चशिक्षा अथवा पेशागत घमण्डको नाम निशान पाइँदैन। उनका व्यङ्ग कुनै व्यक्ति विशेषलाई नभएर सामाजिक विसङ्गति र शक्तिकेन्द्र प्रति लक्षित हुन्छन अनि ती पनि अति शालीन तरिकाले प्रस्तुत गरिएका हुन्छन। यही रोचक शैलीका कारण पाठकहरु  उनका कविता मन पराउँछन्, उनीसँग सम्बाद गरेर रमाउँछन् ।

आवरणपृष्ठलाई कलाकार सञ्जीव बराले सजाएका छन। चित्रमा आकाशमा उड्दै गरेका चरा, ज्वालामुखी, गैँडा र बच्चो गैंडा, खसी, हातमा कूचो बोकेकी आधुनिका, कोरोना भाइरसको चित्र अर्थपूर्ण छन्। कविता पढ्दै जाँदा बिम्ब र प्रतीकहरुको अर्थ खुल्दै जान्छ ।

यस संग्रहका बारेमा उनले यसरी लेखेका छन्——-
यसमा कविता कम र भन्नु पर्ने कुरा धेर छऩ। त्यसैले नाम पनि मनका कुरा राखेको। मनका कुरा पढ्दा  आनन्द कम र मस्तिष्कमा असर धेर पर्यो भने म क्षमाप्रार्थी छु। यो मेरो दबाइको नाम मात्र जान्ने कलमले लेखेको प्रथम प्रयास हो र भुल हुनु स्वाभाविक छ। ………… मेरा डाक्टरी अक्षरहरुबाट नेपाली शब्दहरु पढेर टाइप गरिदिने श्रीमान ढाकाराम काफ्लेज्युलाई धन्यवाद दिन्छु।

डाक्टरी अक्षरसँग हामी सबै परिचित नै छौँ । डाक्टरी अक्षर डाक्टर कविको यो पदावलीको प्रयोग कति रोचक बनेको छ।

प्रकाशक केके प्रोडक्सन, गुवाहाटी (2021), पूर्वायणको छपाइ राम्रो छ, मोल रु 75 उचित छ । ढाकाराम काफ्लेले  टाइप गरिदिएको भन्ने उल्लेख छ, यति धेरै हिज्जेका भुल नहुनु पर्ने, शीर्षकको शब्दमै विभक्ति छुट्टाइएको छ । जेहोस, मान्छे मात्रको भुल हुन्छ, अर्को संस्करणमा निश्चय पनि सुधार हुनेछ ।

कविलाई हार्दिक शुभकामना छ। हामी पाठक कविका घतलाग्दा कुरा सुन्न पर्खिबसेका छौं। आशा गर्दछौं अर्को नयाँ कृति लिएर उनी छिटै देखा पर्नेछन्।

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *