पत्नी महिमा
|पत्नी पुज्दै श्रीप्रतिष्ठा कमाऔं
पत्नीजीमा शुद्ध निष्ठा चढाऔं ।
पत्नीलाई मिष्ट खाना खुवाऔं
पत्नी मानी जिन्दगानी जगाऔं ।।१
पत्नीश्रीको प्रेम पाई पलाऔं
पत्नीलाई भावनामा मिलाऔं ।
पत्नीलाई मान्यतामा मिसाऔं
पत्नी जप्तै शान्तिसन्तोष पाऔं ।।२
पत्नीसाथै तीर्थमा घुम्न जाऔं
पत्नीजीका गीत लेखेर गाऔं ।
पत्नीलाई वेद गीता पढाऔं
पत्नीजीका काव्य उम्दा बनाऔं ।।३
पत्नी प्रेमी बन्न जानी रमाऔं
पत्नीलाई स्नेह गर्दै सघाऔं ।
पत्नीजीमा ध्यान औ धर्म लाऔं
पत्नीलाई सिर्जनामा सजाऔं ।।४
पत्नीजीका सिद्धिशोभा बढाऔं
पत्नीलाई मान गर्दै मनाऔं ।
पत्नीजीका दुक्ख सारा भगाऔं
पत्नीलाई सीप राम्रा सिकाऔं ।।५
पत्नीश्रीका स्वप्न साकार पारौं
पत्नीलाई प्रेम गर्दै पुकारौं ।
पत्नीजीका दिव्य बानी सकारौं
पत्नी भज्दै भाव भित्री सुधारौं ।।६
पत्नीश्रीका कान्त लेखौं कहानी
पत्नी मानून् शम्भुभोलाशिवानी ।
पत्नीश्री हुन् देवतातुल्य दानी
पत्नी चिन्ने बन्दछन् भाग्यमानी ।।७
– शालिनी छन्द