अञ्जन बासकोटाको दृष्टिमा दृष्टि मिलाउँदा
|भारतीय नेपाली निबन्ध साहित्यको विकासमा पत्र-पत्रिकाहरुको महत्वपूर्ण भूमिका रहेको छ । सन 1901 मा पाद्री गङ्गाप्रसाद प्रधानको सम्पादकत्वमा गोर्खे खबर कागत र 1917 मा खर्साङबाट गोर्खा जन पुस्तकालयको मुखपत्र चन्दिका प्रकाशित भएको थियो भने पूर्वोत्तर भारतको शिलाङबाट मणिसिंह गुरुङको सम्पादनामा 1936 मा गोर्खा सेवक प्रकाशित भयो । यसका अघि बनारसबाट र पछि देरादुनबाट निस्किएका पत्रिकाहरुले पनि नेपाली निबन्ध साहित्यलाई टेवा पुर्याएका हुन । गोर्खासेवक, हिमाद्री, प्रभात, ब्रह्मपुत्र आदि पत्रिकाले पूर्वोत्तर भारतमा नेपाली निबन्धको जग बसाउऩे काम गरेका हुन भने निबन्ध लेखनको परम्परा पछिका लेखकले पुस्तक प्रकाशनबाट शुरु गरे बिन्दु, हाम्रोध्वनि, देशवार्ता, सपरिवार, हाम्रो प्रजाशक्ति आदि पत्रपत्र-पत्रिकाले नवीन लेखक सृष्टि गर्नुका साथै समग्रमा समसामयिक असमेली नेपाली साहित्यको गतिलाई त्वरान्वित पारेको छ। यसरी पत्रिकाहरुमा लेख प्रकाशित गराएर सुपरिचित भएका सर्जकहरुमा नागशङ्करका अञ्जन बासकोटा एक हुन । सन 2016 मा प्रकाशित उनको दृष्टि (निबन्ध संग्रह) महत्वपूर्ण कृति निकै चर्चामा आएको छ ।
यस लेखमा लेखक अञ्जन बासकोटा र विशेष रुपमा उनको निबन्ध कृतिलाई परिचय गराउने प्रयास गरिएको छ।
सन 1985 को 1 मार्चका दिन असमको विश्वनाथ जिल्ला अन्तर्गत समारदलनी गाउँमा जन्मेका अञ्जन बाँस्कोटाले अंग्रेजी र नेपाली साहित्यमा एम ए. को डिग्री लिएका हुन अनि यतिखेर उनी हाइस्कुलमा शिक्षकताको जागीरमा सेवारत छन । मातृभाषा नेपाली सहित असमिया र अंग्रेजी भाषामा पनि उनले उत्तिकै कलम चलाएका छन । यसरी तीनोटा भाषामा निरन्तर कलम चलाउनु उनको विशेष प्रतिभा हो । असमिया भाषामा उनका निबन्धहरु नतुन दैनिक, आजि, दैनिक जनमभूमि, नियमिया वार्ता, जनसाधारण, सुवर्ण असम आदि पत्रिकामा छापिएका छन भने निवारित मानवता आरु निबन्ध विचित्रा शीर्षकको निबन्ध संग्रह पनि प्रकाशित भएको छ । उनका अंग्रेजी भाषामा रचित निबन्ध द आसाम ट्रिब्युन, द सेन्टिनेल, द सिक्किम एक्सप्रेस र विभिन्न इ-पत्रिकाहरुमा प्रकाशित हुने गर्छन । नेपाली भाषामा धेरैवटा पत्रपत्रिका, जर्नेल र स्मृतिग्रन्थमा (सूची लामो हुनाले नाम उल्लेख गरिएन) प्रकाशित भएका पाइन्छन ।
नेपाली भाषामा पुस्तकाकारमा अञ्जन बासकोटाका कृतिहरु हुन——-
- दृष्टि (निबन्ध संग्रह) 2016, प्रकाशक भारतीय साहित्य प्रकाशन, तेजपुर ।
- आत्मानुसन्धान (कविता संग्रह) 2020, पूर्वायन प्रकाशन, गुवाहाटी ।
- पतिङ्गरको इतिहास ( अनुवाद कविता, मूल असमिया बिनीता सुत कटकी)
विधागत रुपमा उऩको सिर्जनाले निबन्ध, कविता, अनुवाद र समालोचनालाई समेटेको देखिन्छ । अखबारका प्रयोजनमा उनले लेखेका समालोचना भन्न सुहाउने कृतिका समीक्षात्मक परिचय तीनवटा भाषामा प्रकाशित हुनु पनि महत्वपूर्ण मान्नु पर्छ ।
दृष्टि (निबन्ध संग्रह) मा उनले विभिन्न समयमा लेखेका अनि पत्रपत्रिकाहरुमा प्रकाशित सत्रवटा निबन्धहरु समेटिएका छन । यहाँ चर्चा गरिएका विविध विषयहरुलाई संस्कृति, साहित्य, नारी र पर्यावरण विषयक भनेर चारवटा मुख्य भागमा राख्न सकिन्छ । कुनै निबन्धले एकाधिक विषयलाई समेटेका छन । विश्वायन र बदलिँदो दुनियाँको मझेरीमा हाम्रो संस्कृति शीर्षकको पहिलो निबन्धमा लेखकले संस्कृतिको परिभाषा दिंदै गोर्खाली संस्कृतिका नृत्य-गीत, संस्कार कार्य, शुभकार्य, हाते सीप, वाद्य-यन्त्र गाइने आदि, धामी-झाँक्री, चाड-पर्व, भेष-भुषा र अलङ्कार, नाटक र चित्राभिनय उपशीर्षकमा चर्चा गरेका छन । धेरै जाति जनजाति मिलेर गोर्खा महाजाति बनेको हो । ती सबैको बहुरङ्गी सांस्कृति— नृत्य-गीत, खान-पान आदि विविधता चर्चामा आउन सकेको भए राम्रो हुने थियो । असमको सन्दर्भमा लेखकले एउटा महत्वपूर्ण विशेषतालाई उल्लेख गरेका छन । असममा बसोबास गरेका रैथाने गोर्खाहरुले यहाँका असमिया जनगोष्ठीको संस्कृतिलाई अपनाएका छन भने असमिया जनगोष्ठीले पनि गोर्खाको संस्कृतिलाई ग्रहण गरेका छन । यसरी साहित्य-संस्कृतिको माध्यममा समन्वयको भावनालाई मजबुत पार्नुलाई सराहनीय आदर्श मान्नु पर्छ ।
भारतवर्ष जस्तो बहुभाषी, बहुसांस्कृतिक सेक्युलर राष्ट्रको निर्माणमा यस प्रकारको समन्वयको धेरै महत्व हुन्छ अनि निबन्धकारले त्यही सन्देश दिएका छन । विस्मृतिको गर्भमा नेपाली जनगोष्ठीय संस्कृतिको अभिन्न अङ्ग दाइँ गीत –— यस निबन्धमा आधुनिक यान्त्रिक सभ्यताको कारणले कृषिजीवी ग्रामीण जनजीवनमा प्रचलित जनप्रिय दाइँगीत हराउन लागेको कुरा उल्लेख गरेका छन । संस्कृतिप्रेमी लेखकले चन्द्रकान्त शर्मा नाम गरेका एकजना शिक्षकबाट सुनेको दाइँगीत संरक्षित होस् भन्ने उद्देश्यले यहाँ प्रस्तुत गरेका छन । नेपाली जनजीवन र दुना-टपरा एक झलक —- यो पनि संस्कृतिसूचक निबन्ध हो । बिहे-बटुल, जन्म, मृत्यु, श्राद्ध आदि कर्ममा दुना, टपरा, बोहोता, वरणीको ठहर आदिको आवश्यक हुन्छ । हाम्रा नारीहरुले यी उपकरणहरु बनाउँथे, आफ्नो सिपले तिनलाई सुन्दर कलात्मक पार्थे । यतिखेर विभिन्न कारणले सबै प्रकारका हस्तकला टिक्न नसक्ने भए, मासिँदै गए । नयाँ प्रजन्मका लागि ती प्रहेलिका जस्ता भए । जातीय परिचयसँग जोडिएका सांस्कृतिक उपकरणहरुको संसक्षण र समय समयमा तिनको प्रदर्शनी हुनुपर्छ भन्ने लेखकको विचार यसै कारणले महत्वपूर्ण र समयोपयोगी छ । सरकार र जातीय संस्थाहरुले यस विषयमा ध्यान दिनु आवश्यक छ । असारे गीत खेत रोप्ने समयमा नारीहरे गाउने गीत हुन । माईती घरको याद, सासूको उत्पीडन र दुख-कष्ट खेतमा साथीसङ्गीहरुका सामुन्ने गीतका रुपमा नारीहरुले प्रस्तुत गर्दछन । त्यसैले तिनमा नारी जातिको मनस्तत्व अभिव्य़क्त भएको पाइन्छ । असारे गीत र नारीको मर्म वेदना एक अवलोकन निबन्धमा यिनै कुरा पाइन्छन । जनै एक प्रसङ्ग र साम्प्रतिक समयमा धर्मको प्रासङ्गिकता —- यी दुइ निबन्धलाई पनि सांस्कृतिक निबन्धका फाँटमा राख्न सकिन्छ ।
नारीजीवनलाई लिएर लेखिएका, नारी जीवनका सुखदुखका र अन्तर्मनका कुरालाई चर्चाको विषय बनाएर लेखक अञ्जनले निकैवटा निबन्ध लेखेका छन। वधूशिक्षा र आधुनिक नारी समाज एक चर्चा, आन्तराष्टिय नारी दिवस र नेपाली नारी, आधुनिकता र नेपाली नारी, विधवा विवाह र केही समसामयिक सोचहरु यस प्रकारका लेख हुन ।
नारीवाद विषयमा निबन्धकारको नारीवादी अवधारणा केही घुर्मैलो, र विचार पनि बाझेको अनुभव हुन्छ । वधूशिक्षा र आधुनिक नारी समाज एक चर्चामा निबन्धकारले कवि भानुभक्तलाई नारीवादी आख्या दिएका छन । भानुभक्तले जुन समयमा अनि जुन परिवेशका नारीहरुका लागि वधूशिक्षा लेखे त्यस परिप्रेक्षको स्थान-काल-पात्रको विवेचना गर्दा भानुभक्तलाई दोषमुक्त गरे पनि नारीवादी आख्या दिनु चाहिँ नमिल्ने कुरा हो । पछि, आफ्नो कथनलाई लेखकले सुधारेका छन — रुढीवादी संरक्षणशील समाजको सृष्टि वधूशिक्षालाई आधुनिक प्रगतिवादी नारीहरुको अग्रगतिको यात्रामा एउटा अडचन भन्न सकिन्छ । यसद्वारा आधुनिक नारी समाजको प्रगति होइन, अपितु क्षति गर्नेछ। (पृ 21). आन्तराष्टिय नारी दिवस र नेपाली नारी —- यस निबन्धमा विश्वका नारीहरुलाई कुनै भेदभाव नराखी पुरुषको बराबर हक दिने उद्देश्यले 1975 वर्षलाई आन्तराष्ट्रिय नारी वर्ष घोषणा गरेको अनि 8 मार्चका दिन नारी दिवसका रुपमा मनाउने कैरनका साथ नेपाली नारीहरु पनि लाभान्वत भएको उल्लेख गरेका छन । सुबिधाहरु उपलब्ध गराउन सके नेपाली नारीहरुले सबै क्षेत्रहरुमा पारदर्शिता देखाउन सक्ने छन भन्ने लेखकको प्रेरक मन्तव्य सराहनीय छ ।
आधुनिकता र नेपाली नारी लेखमा नेपाली नारीहरु अरु भारतीय नारीहरु भन्दा केही पछाडिएका पाउँछन । नारी पछाडिनु भनेको एउटा परिवार पछाडिनु हो अनि एउटा परिवार पछाडिनु भनेको एउटा समाज र जाति पछाडिनु हो—- यसरी लेखकले सही तर्क राख्तै भनेका छन हामी जातिको उन्नति चाहन्छौ भने नारीलाई शिक्षित र सक्षम पार्नु पर्छ। विधवा विवाह र केही समसामयिक सोचहरु शीर्षकको यो लेख समीक्षात्मक छ । आध्यात्मिक दर्शनमा भारत धेरै अघि रहे पनि देशमा बाल विवाह, बहुविवाह, सतीदाह, अस्पृश्यता बोक्सी डाइनी जस्ता कुप्रथा र अन्धविश्वासले देशलाई पछिल्तिर धकेलेको कुरा लेखकले उल्लेख गरेका छन । बृटिसको शासनकालमा सतीदाह जस्ता कुप्रथा कानून बनाएर हटाएको कुरा सत्य हो तर सबै कुप्रथा बृटिसले नै हटाएका हुन भन्ने कुरा सही होइन । ब्राह्म समाज, प्रार्थना समाज, आर्य समाज, रामकृष्ण मिसन जस्ता संस्थाहरुले प्रगतिशील भारतको निर्माणमा महत्वपूर्ण भूमिका खेलेका हुन। राजा राममोहन राय, ईश्वरचन्द्र विद्यासागर आदि मनीषिहरुले देशबाट अशिक्षा, अन्धविश्वास र सामाजिक कुप्रथा हटाउनमा उठाएका साहसी कदम इतिहासमा लिपिबद्ध छ ।
यतिखेर विश्वसाहित्यमा परिवृत्तीय लेखन अत्यन्त प्रबल हुँदै आएको छ । हाम्रा लेखकहरुको साहित्यले पर्यावरणको चेतना बोकेको छ कि छैन ? उनीहरुले प्रकृतिलाई कुन रुपमा प्रस्तुत गरेका छन ती कुरालाई नहेरी हुँदैन । योग्यभोग्या वसुन्धरा भनेका छन कि वसुन्धरालाई जोगाउने पर्यावरण संरक्षणका कुरा लेखेका छन ? कृतिमा प्रकृतिलाई कुन दृष्टिले हेरिएको छ ? प्रकृतिको स्वरुप, यसको परिवर्तन, अनेक तत्वहरुको क्षय, लोप र विनाशप्रतिको सर्जकको अवधारणा कस्तो छ ? ओजन लेयर, ग्लोबल वार्मिङ, वनस्पति र जीवकुलको विलुप्ति जस्ता तत्वहरु प्रति लेखकमा कत्तिको सचेतता छ, उसको लेखनले कत्तिको जिम्मेदारी वहन गरेको छ जस्ता कुरा समालोचकले खुट्याउनु पर्ने हुन्छ ।
पर्यावरणलाई बुझ्नु भनेको प्रकृतिको समग्रतालाई बुझ्नु हो, यसको विज्ञानलाई बुझ्नु हो। यति मात्र होइन, विज्ञान र प्रविधिले पर्यावरणमा के कस्तो प्रभाव पारेको छ, के कस्ता परिवर्तन देखिएको छ, इकोलजीको सन्तुलनका लागि प्यारीस सम्झौतामा के कस्ता कुरा राखिएको छ इत्यादि कुराको पनि जानकारी हुनु आवश्यक छ । जीवश्रेष्ठ मान्छेले आफ्नो सुख सुविधाका लागि अपनाएको प्रविधिले कतै अरु तत्वहरुलाई असर त गरेको छैन ? यो पृथ्वी नामको ग्रहमा, यसको प्रकृतिमा नबोल्नेहरुको (पशुपक्षी, वनस्पति, माटो-पानी-हावा) पनि उत्तिकै हक छ।
जीवश्रेष्ठ मान्छेमा पनि लेखक-साहित्यकारहरु दिग्दर्शक बुद्धिजीवी कहलाउँछन । तसर्थ पर्यावरण प्रति साहित्यकारको ठूलो जिम्मेवारी हुन्छ । साहित्य लेखन जिम्मेदारीपूर्ण कर्म हो । आफ्नो कर्तव्यदेखि भाग्ने गैर जिम्मेदार लेखकको कुनै काम छैन ।
निबन्धकार अञ्जन बासकोटा पर्यावरण सचेत लेखक हुन । विश्व परिवेश दिवस सामाजिक वृक्षरोपण र हामी, वर पिपलको बिहे र हामी, विस्तीर्ण मानव समाज र विपन्न भँगेराहरु— यी निबन्धहरुले लेखकको पर्यावरण सचेततालाई दर्शाएका छन। विश्व परिवेश दिवस सामाजिक वृक्षरोपण र हामी निबन्धमा लेखक बाँसकोटाले प्रकृति माथि मानिसले गरेको अत्याचारको फलस्वरुप तापमानमा वृद्धि हुनु, ओजन स्तरमा छेद पर्नु, बादल विस्फोटन, भूकटाउ, खडेरी, वायु-माटो-पानी-शब्द प्रदूषणको चर्चा गर्दै तिनको रोकथामका लागि सबै सचेत हुनुपर्ने बताएका छन । प्रत्येक वर्ष 5 जुनका दिन पर्यावरण दिवस मनाउने, बृक्षरोपन जस्ता कार्यक्रम गरिनु पर्ने कुरा उनले निबन्धमा उल्लेख गरेका छन । यसै सन्दर्भमा सनातन हिन्दु धर्मावलम्बीहरुमा प्रचलित वर र पिपलको बिहे गरिदिने परम्परालाई लेखकले पर्यावरणको दृष्टिले सराहना गरेका छन । विस्तीर्ण मानव समाज र विपन्न भँगेराहरु लेख पनि पर्यावरण विषयमा आधारित छ । प्रकृतिमा आएको द्रुत परिवर्तनले गर्दा कति जीवकुल विलुप्त भइसकेका छन भने कति प्रजातिको दुमो जोगाएर राखिएको छ । लेखक बाँस्कोटाले उनको लेखमा गाउँगरमा सधैं देखिने भँगेराहरुको संख्या द्रुतगतिमा कमेको देखेर यो प्रजाति विलुप्त हुने हो कि भन्ने चिन्ता जताएका छन। भँगेराको प्रजातिलाई विलुप्त हुनबाट जोगाउनु पर्छ भन्ने चेतनाले यो निबन्ध रचिएको बुझिन्छ । लेखक अञ्जन पर्यावरण प्रति सचेत, जिम्मेदारीका साथ कलम चलाउने लेखक हुन भन्ने कुरा उपर्यूक्त तीनोटा निबन्धले स्पष्ट पारेका छन ।
गणेश शर्मा विज्ञान जनप्रियकरण कर्ता लेखमा विज्ञानलाई जनप्रिय पार्ने र विशेष गरी युवा वर्गमा विज्ञान मानसिकता जगाउने अभियानमा ब्रती भएका युवा विज्ञानी गणेश शर्माको परिचय र कृतित्वको चर्चा गरेका छन। उल्लेखनीय के छ भने अरु भाषामा विज्ञान साहित्य विधागत रुपमा विकसित भइसकेको छ भने असममा डा. जमदग्नि उपाध्याय डा. चिन्तामणि शर्मा, डा. उमा शर्मा आदि थोरै लेखक विज्ञानलाई सजिलो पारेर जनमानसमा पुर्याउने काममा जुटेका देखिन्छन। यसै वर्ष दुइजना चिकित्सक डा. कमल छेत्री ( मनका कुरा) र डा. खिलानाथ शर्माका (मेरो कम्प्युटर) विज्ञान आधारित कविता संग्रह प्रकाशित हुनुलाई महत्वपूर्ण उपलब्धि मान्नु पर्दछ ।
कवि हरिभक्त कटुवाल प्रति सम्झना, पत्रकारिता र ग्राम्य पत्रकारहरु, साहित्य चर्चामा सोठिया र यहाँका साहित्यिकहरु साहित्य र साहित्यकार विषयक लेख हुन। कवि हरिभक्त कटुवाल नेपाली साहित्य जगतमा छुट्टै आसन जमाउऩ सफल भएका कवि र गीतकार हुन । निबन्धकारले यस लेखमा कवि कटुवालको परिचय र कृतिहरुको पनि छोटकरीमा चर्चा गरेका छन। असमिया, नेपाली, हिन्दी र बाङ्ला भाषामा कलम चलाउने कवि कटुवालका अप्रकाशित रचनाहरु खोजेर प्रकाशनको गराउनु उऩलाई सम्मान गर्नु हो। 2015, 2 जुलाईका दिन प्रिय कविको जन्मदिनको छेक पारेर यो निबन्ध प्रकाशित गराएर अग्रज कविलाई हार्दिक सम्मान व्यक्त गरेका छन। अञ्जन अग्रज सर्जकलाई सम्मान गर्न जान्ने संस्कारी सर्जक हुन ।
समग्रमा भन्नु पर्दा अञ्जन बासकोटाका धेरजसो निबन्धले यान्त्रिक सभ्यताको चेपाइमा संस्कृतिको मरणासन्न अवस्थालाई देखाएका छन। संस्कृतिको धुकधुकी मात्र कहिलेसम्म रहला भनेर उनी चिन्तित छन। कृतिमा प्रयुक्त भाषा सहज, सरल र बोधगम्य छ। उखान तुक्काहरुको प्रयोग कमै पाइन्छ। विषयमा र उपस्थापनमा स्थानीयताको मगमग सुगन्ध आउँछ। साहित्यमा निबन्ध नै त्यो विधा हो जसमा एउटा भाषाको चमत्कार र सम्पूर्ण शक्तिको विकास सम्भव हुन्छ। अञ्जन जस्ता उच्चशिक्षित र अध्ययनशील युवा सर्जकले निरन्तर साधना गरे भने भारतीय नेपाली निबन्ध साहित्यलाई नयाँ दिगन्त र उचाइमा पुर्याउनेछन ।
दृष्टि (निबन्ध संग्रह) का लागि लेखक अंजन बांसकोटा भारत सरकारको सर्वोच्च साहित्य संस्था साहित्य अकादमीको युवा पुरस्कारले सम्मानित हुने भएका छन। आजै साहित्य अकादमी पुरस्कारको घोषणा भएको हो। लेखक अंजन बांसकोटालाई हार्दिक बधाई छ।
धन्यवाद ज्ञानबहादुर छेत्री सर…….
‘दृष्टि’ माथि यति सुन्दर समीक्षा पाठकसामु पस्कि दिनुभएकोमा……
अन्जन भाइ अब अन्जान लेखक रहेनन्। उनी नेपाली, असमीय र अँग्रेजी भाषामा लेख्छन्। श्री ज्ञानबहादुर छेत्रीज्यूले अन्जन बास्कोटाको सही मूल्याङ्कन गर्नुभएको छ।
अन्जन भाइ अब अन्जान लेखक होइनन्। उनी नेपाली, असमीय र अँग्रेजी भाषामा लेख्छन्। श्री ज्ञानबहादुर छेत्रीज्यूले अन्जन बास्कोटाको सही मूल्याङ्कन गर्नुभएको छ।