समयको भाग्यरेखा : जोखाना कवि कृष्णनीलको
|उत्तर-पूर्वाञ्चल भारतको समकालीन नेपाली कविताको कुरा गर्दा स्थापित भइसकेका युवा कविहरुमा असमका कृष्णनील कार्की एकजना हुन। शुरुमा उनी नाटककारका रुपमा परिचित भएका थिए भने क्रमश उनको सर्जक प्रतिभा झाँगिदै गयो र यतिखेर उऩी कवि, निबन्धकार, समालोचक र कुशल सम्पादकका रुपमा पनि सुपरिचित भइसकेका छन। 31 जनवरी सन 1978 मा विश्वनाथ जिल्लाको कमलिया गाउँमा जन्मेका कृष्णनील एकबहादुर छेत्री र ईश्वरी देवीका सुपुत्र हुन। उनले नेपाली साहित्यमा एम. ए. को डिग्री हासिल गरे अनि यतिखेर उनी हाइस्कुलमा शिक्षण पेशामा संलग्न रहेका छन।
कृष्णनील कार्कीका मौलिक र सम्पादित कृति यस प्रकार छन—–
भाग्यवान (एकाङ्की संग्रह, 2013)
छहारीको आडमा मनोरम कविता (कविता संग्रह, 2014)
सत्यमेव जयते (एकाङ्की संग्रह, 2015)
समयको भाग्यरेखा (कविता संग्रह, 2014, दोस्रो संस्करण 2019)
समकालीन असमेली नेपाली कविता — सम्पादक 2020
असमेली नेपाली एकाङ्की सङ्कलन — सम्पादक 2021 (प्रेसमा)
असम नेपाली साहित्य सभाद्वारा प्रकाशित समकालीन असमेली नेपाली कविता र असम नेपाली नाट्य सम्मेलनद्वारा प्रकाशितव्य असमेली नेपाली एकाङ्की सङ्कलनका सम्पादक कृष्णनील कार्की नै हुन । कविताको सङ्कलनमा पुराना, नयाँ र भर्खरै आत्मप्रकाश गरेका तीन थरिका एक सय चौंतीसजना कविका कविता समावेश गरिएको अनि कविहरुको पनि परिचय दिइएको छ। यसमा कतिपय तथ्यगत अशुद्धिहरु नभएका होइनन तर समग्रमा यो अवश्य पठनीय, संग्रहनीय ग्रन्थ बनेको छ त्यसमा कुनै शङ्का छैन। यसमा रहेको विस्तृत सम्पादकीय प्रबन्ध महत्वपूर्ण दस्तावेज बन्नुका साथै यसले कवि कृष्णनीलको अध्ययन र कुशल सम्पादक व्यक्तित्वलाई उजागर पारेको छ। उसै गरी हराउन लागेका नाटकका पाण्डुलिपिहरुको खोज अनुसन्धान गरी एकाङ्कीहरुको सङ्ग्रह प्रकाशन गर्नु पनि ऐतिहासिक काम हुनेछ।
समयको भाग्यरेखा कृष्णनील कार्कीको निकै चर्चित काव्यकृति हो। यसको पहिलो प्रकाशन सन 2014 मा भएको थियो भने पाँच वर्ष पछि 2019 सनमा यसको दोस्रो संस्करण आउनुले उनका कविताले पाठकवर्गमा समादर पाएको बुझिन्छ। यस काव्यकृतिमा कविता खण्ड, गजल खण्ड र मुक्तक खण्ड गरी क्रमैले उनन्तीस, चौध र अट्ठाइस— सर्वमोठ 71 वटा कविता समावेश गरिएका छन।
समयको भाग्यरेखा — यो पदावली जटिल छ, यसको गाँठो फुकाल्न निकै कसरत गर्नु पर्छ। कविले भोको पेटमा भोक नै खाएर ओछ्यानबाट तारामण्डल नियाल्दै रातभरि अनिँदो बस्नेहरुलाई सोध भनेका छन। यसको तात्पर्य के छ भने जसले हण्डर खाएको छ उसैले चेतेको हुन्छ। शोषण भनेको के हो भोग्ने शोषितले भन्दा अरु कसले जान्दछ ? अचानाको पीर खुकुरीले जान्दैन भनेको प्रवाद वाक्यले सोही कुरालाई स्पष्ट पार्दछ। पङ्गु शिशु कविता मनमस्तिष्कलाई हल्लाउने सशक्त कविता हो। पर्यावरण एक्टिभिस्ट ग्रेटा थुनबर्गले हाम्रो भविष्यमाथि खेलवाड गर्न कसरी आँट गर्यौ भनेर विश्वका नेताहरुलाई ललकारिन। हुन त त्यो पर्यावरणको कुरा हो तर शिशुहरुसँग पनि जोडिएको विषय हो। हाम्रो देशमा बाल श्रम निषेधको कानून छ तर साना ठूला होटल र कारखानाहरुमा अनि धनी वर्गका घरमा पनि बाल श्रमिक देख्न पाइन्छ। हाम्रो देशको मानव संसाधनको प्रकृत स्वरुपलाई उदाङ्गो पारिदिएका छन कविले । उनी आमा-बाबुलाई आह्वान गर्दछन—–
नजन्माऊ व्यर्थमा सन्तान
जो केवल तिम्रो होइन
देशको पनि बोझ भएको छ
शैशवमै पङ्गु भएको छ। (पङ्गु शिशु)
लोकतन्त्रमा कुर्सीका लागि लुछालुछ, तानातान, हानाहान भएको कविले देखेका छन। घिउको स्वादमा पल्केकाहरु औंलो बाङ्गो पार्न सिपालु हुन्छन। त्यसैले रणभूमिमा अरु सबै सोत्तर हुन्छन अनि षडयन्त्रकारी विजयी हुन्छ। कविको यो व्यङ्ग प्रहार यसै त राष्टिय राजनैतिक सत्तालाई उद्देश्य गरेर गरिएको जस्तो देखिए पनि वास्तवमा यसले सामाजिक साहित्यिक संस्थाहरुको शक्तिकेन्द्र र नेताहरुको चालामाला देखेर व्यङ्ग ठोकेका हुन। उनी यसलाई खेला भन्छन ——
रणभूमिमा तन्त्र-मन्त्र-यन्त्र चल्दछ
विजयी उही हुन्छ जहाँ षडयन्त्र चल्दछ। (खेला हबे, फेसबुकबाट)
समाज सेवा सेवा रहेन, यो त सबै भन्दा ठूलो व्यापार बनेको छ हिजो आज। गरीपको रगत चुस्ने धूर्त लुटाहाहरुले आफ्नो छातीमा समाज सेवकको बेनर टाँसेर निमुखा सोझाहरुलाई छक्याएका छन। अरुका नजरमा नपरे पनि रवि नपुगेका ठाउँमा पुग्ने कविको तीक्ष्ण दृष्टिबाट बँच्न सक्तैन। —-
बाहिर बाहिर समाज सेवा छ
भित्र भित्र पाकेको मेवा छ
शकुनिको नक्कली भिर्दै
दिल्ली दिसपुर पेवा छ
दिल्ली-दिसपुर शक्तिकेन्द्र हुन। छल-बलले कुनै सुरत सत्ता हासिल गर्नु नै आजका नेताको एकमात्र लक्ष्य र उद्देश्य हुन्छ। कविको हाइ रिजोल्युसन क्यामेरामा षडयन्त्रकारीका कुकृत्यहरु कैद भएका छन।
कवि गोपी नारायण प्रधानले पनि लेखेका छन यसरी —
यस धरतीमा पापीलाई देवता मान्नेहरु छन
यहाँ चोरको मान हुन्छ, सज्जनको अपमान हुन्छ
हत्यारालाई माला पहिराइन्छ
नीचहरुको जयजयकार गरिन्छ।
परिवर्तन आएको छ तर खटिखाने निमुखाको हालत आज पनि उस्तै छ। भाँडो मात्र बदलियो, सिस्टम उही छ। बोल्नेको कनिका बिक्छ तर लठेउराका सग्ला अर्गेनिक चामल बिक्तैनन, उसका छेउमा ग्राहक आउँदैन।
लठेउरो बोलोस पो कसरी
बोले पनि बुझ्ने लठेउरो नै हुनुपर्यो
सालिकको छेउमा उभिएर एउटा सेल्फी खिच्छ
र प्रोफाइल चित्र बनाउँछ
तल लेख्छ
तस्वीर आफै बोल्छ (तस्वीर आफै बोल्छ, फेसबुकबाट)
बोल्नु-कराउनु-चिच्याउनु पर्छ, विज्ञापन गर्नु पर्छ कि त सत्तामा बस्नु पर्छ— लाइक र कमेन्टको धुइरो खनिन्छ । कविले भनेको लठेउरो स्पिभाकको सबाल्टर्न हो कि ?
कवि कृष्णनीलमा जातीय सचेतता प्रखर छ। सङ्कटमा अस्तित्व, म नमरी सहिद बनेको छु, हरिभक्त कटुवाल प्रति आदि कवितामा कविको जातीय अस्मिता बोलेको छ। उसरी नै अन्तरजगतमा रमाउनेहरु यस संग्रहको उत्कृष्ट कविता हो । यस कवितामा कविले अन्तरपाठीयता शेली प्रयोग गरी अग्रज कविका केही हरफहरु उनको कवितामा राखेका छऩ। ख्यातिप्राप्त कविको लोकप्रिय कविता हुनाले विज्ञ पाठकलाई थाहा भइहाल्छ भन्ने उद्देश्यले कविको नाम उल्लेख नगरेको होला। सत्कार्यमा कहिले काहिँ भन्नुमा भन्दा नभन्नुमा सौन्दर्य लुकेको हुन्छ। वेदान्तीहरुले संसारलाई दुखको सागर भने। य़ो वैचारिक विविधता हो। कुनै कवितामा कवि अर्ती उपदेश दिन पनि पुगेका छन (साथीलाई सम्झाउँदै)।
पर्यावरण विषयमा यस पंक्तिकारले आफ्नो पुस्तक उत्तरआधुनिक सिर्जना र समालोचनाका आधारहरु मा र यस अघिका अञ्जन बाँस्कोटा र अनुपमा कट्टेलका पुस्तकका चर्चा गर्दा उल्लेख गरेको छ। कवि कृष्णनील पनि पर्यावरण सचेत कवि हुन। पर्यावरणलाई राम्रोसँग बुझेर कवि एकात्म हुन सक्छ किनभने उसँग अत्यन्त संवेदनशील हृदय हुन्छ। मान्छेले रुखलाई बढ्नै दिएन, बोनसाई गरेर सानो टबमा थुन्यो। उता फेरि कुनै वनस्पतिलाई उसको स्वाभाविक प्रक्रियामा हस्तक्षेप गरेर रातारात फुल्ने-फल्ने पार्यो। यसलाई कविले बलात्कार भनेका छन।
हामीलाई पनि बाँच्न देऊ
मान्छेले मलाई उसको नाफामा घसेटेको छ
बलजफ्ती उमारेको छ
मलाई जवान बनाउने होडमा
मलाई दिनौँ बलात्कार गरेको छ ।
यसरी जीवजगतमा अत्याचार गर्ने, सन्त्रास फैलाउने मानवतारहित मान्छे आफ्नै कर्तुतले गर्दा खस्किएको छ, पतित भएको छ, कसरी भन्ने उसलाई जीवश्रेष्ठ। मान्छेलाई जीवश्रेष्ठ मान्न तयार छैनन कवि । मान्छे कवितामा उनी प्रश्न गर्छन कसले दियो मान्छेलाई जीवश्रेष्ठको प्रमाण पत्र। कवि झ्वाँक्किँदै भन्छन —–
जीवश्रेष्ठ जीवश्रेष्ठ !
कसले भन्यो जीवश्रेष्ठ ?
कसले दियो श्रेष्ठताको प्रमाण पत्र ?
यसरी के देखिन्छ भने कवि कृष्णनीलले आफुले जानेका बुझेका भोगेका कुराहरुलाई नै काव्यिक अभिव्यक्ति दिएका छऩ। उनका अभ्यन्तरमा कविको बास छ त्यसैले उनको दृष्टि तीक्ष्ण छ, संवेदनशील हृदय छ। प्रतीक र बिम्बको भारले कवितालाई जटिल पारेका छैनन उनले। उनका कविताहरुलाई सोझै उच्चकोटिका भन्न नमिल्ला हो तर सबै कविताहरु सहज, सरल र सम्प्रेष्य छन। आजको कविता छन्दको मियोका वरिपरि घुम्ने थोक भएर रहेन, कुनै परिभाषाभित्र पनि अटाउन सकेन। कविता ध्वनिको शिल्प हो। त्यो कला आयत्त गर्नका लागि निरन्तर अभ्यास चाहिन्छ। प्रतिभा अनुसार कसैले छिटै कसैले केही ढिलो भए पनि सफलता हात पार्न सक्छ। कवि कृष्णनील साहित्य साधनामा समर्पित प्रतिभा हुन।
निचोडमा भन्नु पर्दा पुग नपुग अढाइ सय वर्षको इतिहास बोकेको नेपाली कविताको परम्परामा उत्तर पूर्वाञ्चल भारत मिसिन पुगेको एकसय अट्ठाइस वर्ष पुरा भइसकेको छ। यो लामो ऐतिहासिक परिक्रमामा वीरधारा, भक्तिधारा, श्रृङ्गारिक धारा, शास्त्रीयतावादी धारा, स्वच्छन्दतावादी धारा, प्रयोगवादी धारा र यतिखेरको समसामयिक धाराले उत्तरआधुनिक विश्व चेतनालाई पक्रेको छ। भारत र नेपाल मात्रै नभएर म्यानमार भुटान हुँदै युरोप अमेरिकाबाट पनि डायस्पोरिक नेपाली साहित्यको विकास हुन थालेको छ। हाम्रो अध्ययन पूर्वाञ्चल भारतको असम राज्यमा केन्द्रित हुनाले अरु कुराको उल्लेख मात्र गरिएको हो।
समसामयिक भारतीय नेपाली कवितामा देशमा, समाजमा पन्पिरहेको अव्यवस्था र विसङ्गति, भ्रष्टाचार-शोषण-दमन-उत्पीडन र सामाजिक असमानताको विरोध, क्रान्तिकारी चेतना, जातीय उन्नयनको चाहना, नारीवादी र परिवृत्तीय सचेतता, विश्व शान्ति, मानवतावादी आदि विभिन्न प्रवृत्तिहरु देखा परेका छन। फेरि कतिपय नवीन कविले प्रयोगवादी प्रवृतिलाई अँगालेका छन भने असमका थौरै कविले शास्त्रीय छन्दोबद्ध परिपाटीलाई समातिराखेका छन। नवीन बिम्ब, प्रतीक र विश्व सन्दर्भका मिथकको प्रयोग पनि समकालीन कविताका परिचायक तत्व बनेका छन्। कवि कृष्णनील कार्कीका कवितामा यिनै समकालीन प्रवृत्तिहरु धेरथोर मात्रामा पाइन्छन । उनले निकैवटा कवितामा विसङ्गति, बेथिति लेखे पनि उनको दृष्टि पोजिटिव, जीवनवादी रहेको छ। जीवन एक दृष्टि कवितामा त्यसको सुस्पष्ट अभिव्यक्ति पाइन्छ।
जीवन अभिशाप होइऩ
जीवन वरदान हो ( जीवन एक दृष्टि)