उन्नत जातको कम्युनिष्ट

प्यारा कमरेड  !!
जनयुद्ध जितेर तिमी त खाडी मुलुक जोत्न पो गएछौ
लाल सलाम सहितको माफी छ
पूँजीबादको वीर्यबाट जन्मिएको
आइफोन टोएल प्रोम्यान्स मोबाइलको गुगलबाट
कार्ल मार्क्स जन्मेको सहर खोज्न सक्छु
तर राष्ट्रिय जनावरको छालाबाट
नारा बनाउने सार्की दाइको हात
जोतारो बुन्ने क्षेत्री दाइको हात
काँसझैं सेतै फुलेको बुढी आमाको कपालमा
कतिवटा काला कपालहरु फुल्न बाँकी छन् खोज्न सक्दिन
तर मैले मलाई कम्युनिष्ट हुँ भन्न छोडेको छैन कमरेड ।

खुला राजनीतिपछि मैले
राजनीति पेशाबाट बनाएको आलिशान महल
जुनै तलमा पनि पुग्न सकिने लिफ्ट
सुकुम्बासी झुपडीभन्दा ठुला ठुला झ्यालहरु
एउटा तलाको
एउटा झ्यालबाट त्यो बस्ती नियाल्छु
रैथानी अन्नको बीउ मासेर
उन्नत अन्नको बीउ लगाएझैं
यो सुकुम्बासी बस्ती हटाई व्यापारी महल बनाउन मन छ
तर मैले मलाई लेफ्ट/ बाम हुँ भन्न छोडेको छैन कमरेड ।

रोल्पाली दाइले आफ्नो सम्पत्ति
पाटीकरण गरेको पन्धौँ वर्षगाठमा
मैले मेरो परिवारको
सेयरको
प्रमाणपत्रको बिस्कुन सुकाएँ
एयरकण्डिसनको हावामा
बैङ्कको यति कित्ता सेयर श्रीमतीको नाममा
बीमा कम्पनीको उति कित्ता सेयर छोराछोरीको नाममा
मेडिकल कलेज र होटलको
सर्वाधिक  सेयर  सालीको नाममा
जलविद्युतको सेयर आमा बाबाको नाममा
मलाई पैला पैला
कित्ता र किस्ता शब्द उस्तै उस्तै लाग्थ्यो
होइन रैछ भन्ने त्यो बेला थाहा पाएँ
जतिबेला देशको यूवाहरु महान् भनिने जनयुद्धबाट
बचेको जवानी
बिदेशमा किस्ता किस्तामा बेचिरहेका थिए
तर मैले मलाई कम्युनिष्ट हुँ भन्न छोडेको छैन कमरेड ।

म पूर्वमन्त्री हुँ
पूर्व संसाद पनि हुँ
राज्यलाई सम्पत्ति विवरण बुझाउँदा
जन्मथलोमा बीस आना घडेरी
प्रदेशको राजधानी बन्न लागेको ठाँउमा
चौध रोपनी खेत
राजधानीमा दश रोपनीमा बनेको बंगला
ब्राण्डेड जिन्सी सामान
करोडौं बैङ्क ब्यालेन्स
कम्युनिष्टले नी दाइजो लिन्छ र भन्नु होला
तीस तोला सुन चाँदी ससुरालबाट
श्रीमतीले पाएको उपहार भनेर उल्लेख गरेको छु
तर मैले मलाई सर्वहाराको नेता हुँ भन्न छाडेको छैन कमरेड ।

2 Comments

Leave a Reply to Hom Bahadur Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *