मोना दिदी
|ब्रेडाको एभान्स विश्वविद्यालयमा क्लास सकिने साथै एम्स्टर्डममा दुई महिना इन्टर्नशिप दियो । ब्रेडामा बसेको कोठा निकै ठुलो, राम्रो थियो । ब्रेडाबाट रेलमा एक घण्टामा एम्स्टर्डम पुग्न सकिन्छ । तर रेलको भाडा चर्को, २४ यूरो ।
आउने जाने गर्दा ४८ यूरो, दिउँसोको खानाका लागि ४ यूरो जोड्दा ५२ यूरो । हाम्रो भारतीय रुपियाँमा दिनको चार हजार लाग्दो रहेछ । त्यसैले ब्रेडाको घर छोडेर एम्स्टर्डममा किरायाको कोठा खोज्न थाल्यौं । हामी दुईजना थियौं, कपिल र म । लेनिनको इन्टर्नशिप ब्रेडामै हुनाले उसले घर छोड्नु परेन । नेटमा सर्च गर्दा महिनामा प्रति कोठाको चार सय यूरो पर्ने दुईटा कोठा फेला परे । हामी एउटै कोठामा बस्दा हुने तर त्यसरी एकजनाको कोठामा दुईजना बस्न नपाइँदो रहेछ । त्यो घर हामीले इन्टर्नशिप गर्ने प्रतिष्ठानबाट सात किमि टाडा थियो । हामीसँग साइकल छँदै थिए, आरामसँग जाँदा पनि बीस मिनटमा पुगिने । घरको मालिकका कुराकानी राम्रा लागे । पाकिस्तान मूलको डच नागरिक रहेछ । हामीलाई चिया र बर्गर पनि खुवायो । कोठा देखायो, सबै सुविधा भएका फर्निस्ड कोठा, साना भए पनि चिटिक्क परेका राम्रा थिए । जुन २ तारिकका दिन हामी डेरा सर्यौं । भोलिपल्ट मालिक किराया लिन टुप्लुक्क हाजिर भयो अनि भन्यो, भाडा नगदमा मात्र दिनुपर्छ । क्रेडिट कार्डको केस विथ्ड्रयल लिमिट हुन्छ, मेरो केस विथ्ड्रयल लिमिट कटिसकेको रहेछ, मलाई थाहै भएन किनभने क्रेडिट कार्ड बाबाको नाममा हुनाले एसएमएस बाबाको मोबाइलमा जान्थ्यो । क्रेडिट कार्डबाट उसको एकाउण्टमा पैसा हालिदिन्छु भन्दा ऊ कसै गरी मान्दैन, बरू दुई-चार दिनपछि दिए हुन्छ भन्छ । ब्रेडामा पाँच महिना बस्दा कोठाको भाडा तिर्न कुनै समस्या भएको थिएन, कार्यालयमा गएर कार्डले भुक्तान गर्नुपर्थ्यो ।
मेरो हातमा मात्र बीस यूरो थियो । क्रेडिट कार्ड एटीएम मसीनमा घुसाएँ, पैसा निस्केन——डिक्लाइन सूचना आयो । अर्का दिन पनि कोसिस गरें——–पहिले चार सय गरें, आएन, दुई सय गरें आएन, एक सय गरिहेरें, यस पटक आयो । त्यही सय यूरो लिएर रूममा पुगेको के थिएँ, घर मालिक टुप्लुक्क आइपुग्यो । मैले एक सय यूरो मात्र निस्क्यो भनें । त्यसो भए अहिले त्यति नै देऊ न त, अरू भोलि पर्सि दिनु भन्यो । मलाई खटपटी हुनथाल्यो । बाबालाई फोन गरेर समस्या सुनाएँ । बाबाले बैंकमा गएर शिकायत गर्नु भएछ । नगदी युरो नहुँदा घर भाडा तिर्न मलाई निकै मुस्किल परेको थियो ।
मलाई चिन्ता भयो फेरि पनि किराया माग्दै त्यो पाकिस्तानी मालिक आउँछ, त्यतिखेर के भनेर टार्ने ! राति बाबाले फोनमा भन्नु भयो- एसबीआई कस्टमार सेवाबाट आएको इमेलमा पाँच दिन भित्रमा समस्या समाधान गरिदिने कुरा लेखेको छ । बाबाले काठमाडौंका भिनाजु मनोज जंग थापासँग समस्याको कुरा गर्नुभएछ । भिनाज्यूले अम्स्टर्डमको नेपाली दूतावासमा काम गर्ने उहाँका पूर्व परिचित साथीहरूसँग कुरा गरेर चाहिएको युरो मेरा हातमा दिने चाँजो मिलाउँनु भएछ । भिनाजु मनोज जंग थापाले चेन्नइबाट बी टेक गर्नुभयो तर उहाँ नोकरीतिर नलागेर राजनीतिमा लाग्नुभयो । उहाँ नेपाल सरकारको विदेश विभागसँग सम्बन्धित हुनाले विदेशका नेपाल एम्बेसीहरूमा उहाँको परिचय रहेछ ।
यो कुरा सुनेर मेरा मनमा निकै साहस पलायो । विदेशमा पनि अभर परेका बेला सहायता गर्ने मान्छे आउँछन् भन्ने कुरा जान्न पाउँदा बोल्न पनि आँट आउँदो रहेछ । भोलिपल्ट घर मालिकलाई भेटेर भनें, ‘हेर्नोस् महाशय, म तपाईंलाई घरको भाडा नगदमा दिन सक्तिनँ, किनभने मेरो क्रेडिट कार्डबाट त्यति धेरै केस निस्कँदैन । तपाईंको एकाउण्टमा ट्रेन्सफर गराउन भने कुनै समस्या छैन, अहिल्यै तपाईंको एकाउण्टमा पैसा हालिदिन सक्छु । त्यसमा तपाईं मान्नुहुन्न भने म भारतीय दूतावासमा गएर सहायताका लागि आवेदन गर्नु सिवाय अर्को उपाय छैन ।‘
भिनाज्यूले दिएको यो बुद्धिले असर गरेछ । ‘भारतीय दूतावास’ शब्द सुन्नेसाथ घर मालिक झस्कियो । उसले भन्यो, ‘पैसा एकै खेपमा नदिएर तिम्रो सुविधा अनुसार किस्तामा दिए पनि हुन्छ, दूतावासमा जाने प्रयोजन छैन ।‘ उसले कुरा खुलासा गरेर भन्यो, अमस्टर्डममा आफू बस्ने घरका कोठा भाडामा दिन पाइँदैन । छिमेकी भारतीय दाजु-भाइ भनेर मात्र उसले कोठा दिएको रहेछ । उसका कुराबाट बुझेँ, कतिपयले यसरी सुटुक्क कोठा भाडामा दिएर पैसा कमाउँदा रहेछन् । पैसा नगदमा मागेको कारण पनि त्यही रहेछ । एकाउण्टमा ट्रेन्सफर गर्दा कुन सोर्सबाट आयो । त्यसको सरकारले खोजी गर्दो रहेछ । सरकारलाई छल्ने काम यहाँ पनि हुँदो रहेछ । जे होस्, यसरी घर भाडाको समस्या केही पर त सर्यो तर पूरै रकम बुझाउन नसकेको हुनाले ढुक्क हुन सकेको थिइनँ ।
जुन ६ तारिकका दिन बिहानै अमेरिकामा बस्ने मोनादीले फोन गर्नुभयो र सोध्नुभयो, ‘भाइ, तिमीलाई कति पैसा चाहिएको छ ?’ मेरी ठुलेमाकी छोरी मोनालिसा थपलिया अमेरिकाकी नागरिक, नर्थ केरोलिनाको केरी भन्ने ठाउँमा बस्नुहुन्छ । ‘मोनादी’ हामीले बोलाउने उनको छोटो नाम हो । मोनादी हप्तैपिच्छे फोन गरेर मेरो खबर, पढाइ, स्वास्थ्य आदि बारे सोध्नुहुन्छ । पैसा चाहिएको छ कि, सामान चाहिएको छ कि सोध्नु हुन्छ । यतिञ्जेलसम्म मलाई खाँचो परेको थिएन, अनि ‘चाहिएको छैन’ भन्थें । आज मलाई पैसाको खाँचो परेको कुरा दिदीलाई कसरी थाहा भयो ?
दिदीले हाम्रो घरमा फोन गर्दा आमाले सबै कुरा सुनाउनु भएछ ।
‘कोठाको भाडा तिर्न तीन सय यूरो चाहिएको छ’ भनेर दिदीलाई भनें । ‘म पठाउँदै छु’ भनेर दिदीले फोन राख्नुभयो । त्यसका दुई घण्टा जति पछि फेरि दिदीको फोन आयो, त्यतिखेर म क्लासमा हुनाले ‘इन क्लास, कल यु सुन’ भन्ने मेसेज पठाएँ । लगत्तै दिदीको मेसेज आयो । क्लास सकिने साथै मेसेज हेरें । ‘कलेक्ट योर मनी फ्रम एनी वेस्टर्न युनियन मनी ट्रेन्स्फर अफिस सोयिङ दिस स्लिप एलोङ विथ योर आइडेन्टिटी’ लेखिएको थियो, साथमा थियो एउटा रसीदको फोटो ।
पाँच बजे क्लासहरू सकिएपछि साइकल टिपेर बीस मिनटमा कोठामा पुगें । त्यहाँबाट पासपोर्ट लिएर गुगलमा हेर्दै वेस्टर्न युनियन अफिस पुगें । मूल सडकका छेवैमा सानो अफिस रहेछ । मोबाइलको स्लिप देखाएँ, पासपोर्टको फोटोकपी राख्यो अनि चार सय यूरो गनेर दियो । ‘धन्यवाद’ भनेर म फर्किएँ ।
‘तीन सय यूरो’ भनेको थिएँ, दिदीले चार सय पठाउनु भएछ । कोठामा पुगेर दिदीलाई पैसा पाएको सूचना दिएर ‘थेंक्यु मोनादी’ के भनेको थिएँ, ‘दिदीलाई पनि थेंक्यु भन्नुपर्छ ?’ दिदीले उताबाट आधिकारिक स्वरमा हकार्नु भयो ।
दिदीको हकाराइमा हार्दिकता र अपार स्नेह थियो । ‘राम्रो पढ्नु, रुपियाँ पैसाको खाँचो भयो भने दिदीलाई भन्न नहिचकिचाउनु’- यो अॢर्ती दिदीले दिएको सय पटक भयो होला। ‘हुन्छ मोनादी’ मेले भनें । विदेशमा दिदीको न्यानो मायाले पग्लेर होला मेरा आखाँबाट दुई थोपा आनन्दाश्रु खसेका थिए ।
त्यसै दिन घर मालिकलाई तीन सय यूरो दिएँ । ‘एकैचोटि पूरै पैसा! कसरी जुटायौ ?’ छक्क पर्दै मालिकले भन्यो । मलाई कुनै बन्धनबाट मुक्त भए जस्तो लागेको थियो । त्यसैले होला उसलाई तर्साउने विचारले भनें, ‘दूतावास गएको थिएँ ।‘
पाकिस्तानी घर मालिक केही बोलेन ।