फुलबुट्टे सारी गीत- लोकप्रियताको शिखरमा
|
कुन गीत लोकप्रिय हुन्छ, कुन गीत हुँदैन भन्ने कुरा कोहीबेला कुनै संयोगले पनि काम गर्ने गर्छ । यस्तै एउटा गीत अहिले लोकप्रियताको शिखरमा छ । यस गीत विश्वस्तरमा फैलिएको छ । गीतमा गायन, संयोजन, अभिनय, निर्देशन सबै पक्षको सफलतापूर्वक व्यवस्थापन गरिएको छ ।
आजभन्दा ११ वर्षअघि २०६६ मा एउटा अलबम निकाल्दा मार्मिक लामाले गाएको गीत हो । यसका गीतकार र संगीतकार राजनराज शिवाकोटी हुन । त्यो समयमा यो गीत खासै चलेन । अहिले एघार वर्षपछि आएर गत वर्ष वि सं २०७७ को लक्ष्मीपूजाको दिन फेरि रेकर्डिङ गरेपछि यो गीत एकाएक लोकप्रिय भयो । यसको नारी कण्ठ भने मिलन नेवार (अमात्य) ले गाएकी हुन् । यस गीतलाई विभिन्न version मा गाइएको छ । यति सम्म कि यसको अँग्रेजी र संस्कृत version छ । पन्जाबी गायक, युगान्डाकी गायिका आदिले पनि गाएका छन् । अझै वरिष्ठ अभिनेता र गायक मदनकृष्ण श्रेष्ठले गाएको र उनको र मिथिला शर्माको अभिनय नैसर्गिक बनेको छ । यसलाई तीन वर्षअघि सबभन्दा पहिले टिकटकमा हालेर अलिकति लोकप्रिय हुन थाल्यो । अहिले यो गीत युट्युबमा करोडको संख्यामा दर्शक- श्रोताले हेरेका रहेछन् । गीतमा शब्द शब्दमा आकर्षण छ । पल शाह र मलिकाले भिडियो अभिनय गरेका छन् । भिडियोको निर्देशन राजेश पुमा राईले अत्यन्त कुशल र सिर्जनात्मक गरेका छन् ।
मूल गीत यस्तो छ-
फुलबुट्टे सारी सपक्क पारी पछ्यौरी मलमलको
कौशीमा बसी तिमीले हेर्दा मन मेरो हलचल भो
कान्छीको केश फिँजारिएछ मै कोरीबाटी गरिदिउँ कि
रेशमी चुल्ठो ओडाइ घुम्टो मायाको रङ् भरिदिउँ कि
कान्छीके केश फिँजारिएछ, मै कोरीबाटी गरिदिउँकि
रेशमी चुल्ठो ओडाइ घुम्टो मायाको रङ्ग भरिदिउँ कि
जाइ फुली सक्यो जुही फुलिसक्यो चमेली फुल्दैछ
किन होला कुन्नी यो मेरो मन तिमीतिरै भुल्दै छ ।
कान्छीको केश फिँजारिएछ मै कोरीबाटी गरिदिउँ कि
रेशमी चुल्ठो ओडाइ घुन्टो मायाको रङ्ग भरिदिउँ कि
यस गीतमा शब्द, सांगीतिक र गायन तीनै पक्ष उत्कृष्ठ छ । गीतमा सुन्दै जाँदा यो मूल रूपमा रोमान्टिक भावधाराको छ । यसमा एउटा प्रेमीले आफ्नै प्रेयसीको बारेमा मिठा कल्पना गरेको छ । यस गीतमा भएका केही शब्द र शब्दावलीले यसको अर्थगौरवले भरिदिएको छ । फुलबुट्टे सारी, सपक्क पारी, पछ्यौरी, मलमल, कौशी, कान्छीको केश, फिँजारिएछ, कोरीबाटी, रेशमी चुल्ठो, ओडाइ घुम्टो, मायाको रङ्ग, भरिदिउँ, जाई, जुही, चमेली, किन होला कुन्नी आदि जस्ता शब्द र शब्दावली गीतलाई अत्यन्तै अर्थगौरवका साथै श्रुतिमधुर बनेको छ । नारीको सौन्दर्यलाई प्रकृतिका विभिन्न विम्ब र प्रतीकमा सजाइएको छ । नारीको केशलाई रेशमी चुल्ठोसित तुलना गरिएको छ । गीतमा नारीको सौन्दर्यलाई विभिन्न कोण-प्रतिकोणबाट हेरिएको छ । यसमा कोमल वर्णको प्रयोग, शब्दगत सुष्ठुता, आह्लादकारी अभिव्यक्ति जस्ता गुण पाइन्छ ।
यसमा अनुप्रास, दृष्टान्त, उपमा, उपमेयोपमा, रूपक, प्रतीयोवस्तुमा, काव्यलिङ्ग आदि जस्ता अलङ्कार रहेका छन् । यसमा तुलना, अलङ्कार, आन्तरिक लय, बिम्ब सबै कुराको कुशल संयोजन गरिएको छ । कान्छीको केश फिँजारिएछ मै कोरीबाटी गरिदिउँ कि भन्ने पंक्तिको घरिघरि आवृत्ति गरिएको छ । यही पंक्ति नै गीतको मूल प्राण हो । यस गीतका गायक रक र पप गीत गाउने खालका हुन् यद्यपि यसमा यति सुमधुर भएको छ कि सुनिरहुँ जस्तो लाग्छ । यसमा वाद्यवादनको प्रयोगबाट पनि गीतलाई कर्णमधुरताको उच्चस्थानमा पुर्याइएको छ । यसको नारी कण्ठको रूपमा मिलन नेवारको अति मिठास र मधुरताले गर्दा गीत अझ लोकप्रिय बन्न सकेको हो ।

कति राम्रो वर्णन, फेरि एक पटक यो गीत सुन्नु पर्यो
Thank you for making this resourceful article public !
Thank you for the resourceful article !
मनछुने गीत।
अझ मीठो समीक्षा।