फूलै-फूलको शहर

छ महिनाको एउटा सेमिस्टर अध्ययनका लागि हामी नेदरल्याण्ड आएका, अध्ययन हाम्रो मुख्य कुरा हो ।  हाम्रो तेजपुर विश्वविद्यालयमा शिक्षकहरूले क्लासमा पढाउँथे, हामी निकै घोटिनु पर्थ्यो । यहाँ क्लासमा पनि कोही खाजा खाइरहेका हुन्थे । पढाइ खुकुलो देखिने तर जाँच भने कठिन हुँदो रहेछ । तसर्थ यहाँ त झन धेर घोटिनु पर्ने भएकोले फुर्सतको समय नै नपाइने । भ्रमण पनि अध्ययनको अङ्ग हो । नयाँ ठाउँमा नयाँ कुरा हेर्ने,  देख्ने अनि नयाँ कुरा सिक्ने चाहना सबैमा हुन्छ ।

नेदरल्याण्ड्समा फूलै फूलको शहर छ भन्ने कुरा सुनेको थिएँ । हामी बसेको राजधानी शहर अम्स्टर्डमबाट ४० किलोमिटर दूरीको  लिस्से क्योकेनहफमा अवस्थित रहेछ । जान-आउनका लागि रेल नै सुगम रहेछ ।

एकदिन आइतबार बन्दको छेक पारेर म र साथी कपिल रेलमा चढेर हार्लेम स्टेशनसम्म पुग्यौं । त्यहाँ रेलबाट धेरै यात्रु उत्रिए । मलाई लाग्यो, उनीहरू पनि हामी जस्तै फूलै फूलको शहर क्योकेनहफ हेर्न आएका हुन् । मोबाइल फोनमा जीपीएसले देखाएको बाटो हेर्दै अनि अरू पर्यटकहरूलाई पछ्याउँदै केही मिनेटमा हामी लिस्से भन्ने ठाउँमा पुग्यौं । त्यहाँ पुगेपछि भने हामी एकपल्ट त आत्तियौं । फूलै फूलको विशाल क्षेत्र रहेछ त्यो, आँखाले भ्याउँञ्जेल फूल, केवल फूल, हेर्दा रिँगटा लाग्ने । एकै दिनमा हेर्न नभ्याइने रहेछ । बीचै बीचमा चौडा पक्की बाटा, अनेकौं ठाउँमा बेग्लाबेग्लै फूलका बगैंचा । स-साना इलेक्ट्रिक कारमा एउटा बगैंचाबाट अर्कोमा जानु पर्ने भाडा तिरेर । हामीले एकजनाको बीस यूरो गरी चालीस यूरो तिरेर टिकट लिएका थियौं । यसमा बगैंचा दर्शनको शुल्क पनि सामेल थियो । पूरै बगैंचा चहारेर हेर्न खेपैपिच्छे कारको भाडा तिरेर जानु पर्ने अनि समय पनि हप्तादिन भन्दा बढी लाग्ने रहेछ । हाम्रो हातमा एकै दिन मात्र समय थियो । अर्को कुरा हामी धेरै पैसाको जोहो गरेर घुम्न जाने पर्यटक नभएर अध्ययनका लागि यूरोप पुगेका भारतीय छात्र थियौं । तसर्थ एकैदिन भए पनि समयको सदुपयोग गरेर जति भ्याइन्छ त्यति नै हेरेर चित्त बुझाउनु सिवाय अर्को उपाय थिएन । हामीले सबैभन्दा नजीकमा पर्ने ठाउँहरू हेर्ने निश्चय गऱ्यौं । सामुन्नेमा ट्युलिपको प्रकाण्ड फाँट, त्यहाँ रातो रङका ट्युलिप फुलेका-आँखा नै तिरमिराउने । अघि बढ्दै जाँदा बगैंचाका बीच-बीचमा बाटा रहेछन्। त्यहाँ सैलानीहरू ओहोर दोहोर गरिरहेका थिए । सेतो युनिफर्म लगाएका नारी-पुरुष बगैंचा भित्र पनि थिए । ती बगैंचाको हेरचाह गर्न खटिएका कर्मचारी होलान् भन्ने अनुमान गरें ।

नेदरल्याण्ड्समा जताततै पवन चक्की देख्न पाइन्छ । यो त डच संस्कृतिको अभिन्न अङ्ग नै रहेछ । डच परम्परा अनुसार क्युकेनहाफमा पनि काठको बृहत पवन चक्की निर्माण गरिएको रहेछ ।

पहेंलो रङको ट्युलिप गार्डेनमा रङ-बिरङका हाँस, बकुल्ला र अन्य चराहरू यताउति घुमिरहेका देखियो । रङ-विरङ्गी हाँस पहिले कतै देखेको थिएन । निहालेर हेर्दा देखें ती साँच्चैका हाँस र बकुल्ला होइन रहेछन् । पर्यटकहरुको मनोरञ्जनका लागि फूलले डिजाइन बनाएर हिँडाएका कृत्रिम चरा पो रहेछन् । सैलानीहरूलाई आकर्षण गर्ने उदेकको तरिका रहेछ त्यो ।

दुनियाका विभिन्न ठाउँमा फुल्ने ट्युलिप फूल कुन प्रकारको हो त्यसको पहिचान क्योकेनहोफमा गरिन्छ भन्ने कुरा थाहा भयो । डुल्दै जाँदा एउटा ससानो पहाडको थुम्को भेटियो । यहाँ छतका मुनि फूलहरू सोकेसमा सजाएर राखिएको रहेछ । अर्कातिर चारवटा सुन्दर हरिया टापुहरू जोडेर ‘हरियो शहर’ निर्माण गरिएको रहेछ । क्रमश: अग्लो हुँदै गएको (ग्रीन सिटी) ‘ठूलो पहाड’ (बिग स्पटरहिल) छेवैमा देखियो । यो पहाडले मिश्र देशको पिरामिडको झझल्को दिलायो ।

बीच बीचमा निर्मित नहरहरूमा स्वच्छ पानी बगेको अनि ठाउँ-ठाउँमा रङ-विरङ्गी पानीका फवाराहरूले गार्डेनको सुन्दरतालाई दुगुना पारेका छन् । नहरको पानी फूलका हरेक बिरुवाका जरासम्म पुर्याउने उदेकको तकनिकी व्यवस्था  रहेछ । एक छेउमा एउटा विशाल झरना देखियो । त्यसका चारैतिर एकनासको हरियो घाँस, हरियो मखमल बिछाए जस्तै लाग्ने। त्यो झरना यूरोपको सबैभन्दा ठूलो झरना भन्ने सुनियो, होला पनि । साथी कपिलले भने, यस ठाउँमा हाम्रा बलिउडका कतिपय फिल्म पनि शुटिङ भएका छन् ।
हेर्दाहेर्दै कति छिटो समय पार भएछ । हाम्रो वापसी रेलको समय अब आधा घण्टा मात्र रहेछ । न भोक न तिर्खा, छ घण्टा समय मन्त्रमुग्ध भएर क्योकेनहोफको सौन्दर्य उपभोग गरियो । पूरै गार्डेन घुम्न नसके पनि यो यस्तो रहेछ भन्ने अनुभव भने भएकै हो ।

अहिले रेलको प्लेटफर्ममा कुर्सीमा बसेपछि थाहा भयो, पेटमा मुसा बेस्सरी कुदिरहेका छन् । फूलै फूलले सजिएको क्युकेनहफ शहर ट्युलिप गार्डेनका नामले विश्वमा प्रसिद्ध भएको छ। यसको लिस्से नामको स्थानमा विश्वका विभिन्न ठाउँहरूमा उब्जिने विभिन्न प्रजातिका फूलहरू एकै ठाउँमा हेर्न पाइन्छ । यहाँ अस्सी एकड भूमिमा फूलै मात्र देख्न पाइन्छ, हेर्दा आँखा तिर्मिराउँछन् । ब्रोसिउरमा उल्लेख गरे अनुसार यहाँ सत्तर लाख प्रकारका फूलहरू छन् । शहरभरि जताततै ट्युलिप, लिलि, डेफोडिल, डेजी, डालिया थरिथरिका फूल हेरेर आँखा नअघाउने । हाम्रो देशतिर फुल्ने गुलाफ, सयपत्री, बाबरी आदि पनि कति हुन् कति । कालो रङको गुलाफ कहिल्यै देखेको थिएन । यहाँ त काला रङका गुलाफ पनि एउटा सिङ्गो खेल मैदान जस्तो लाग्ने भूखण्डमा कालै भएर फैलिएका। चाँप, गुराँस कुन खण्डमा थिए कुन्नि हेर्न भ्याइएन। बेग्लाबेग्लै भूखण्डमा, बेग्लाबेग्लै वातावरणमा फूल्ने सबै किसिमका फूल यहाँ कसरी फुलेका होलान् ?

वर्षको सबै समयमा यहाँ फूलहरूको अवलोकन गर्न नपाइँदो रहेछ। मिड मार्चदेखि मई महिनाका प्रथम दुई हप्तासम्म मात्र यो पर्यटकहरूका लागि खुल्ला हुँदो रहेछ । यही समयमा यहाँ दिनैपिच्छे पुष्प प्रदर्शनी भन्ने मेला नै लाग्दो रहेछ । त्यस समयमा विश्वभरिका धेरै सैलानीहरू पुष्प प्रदर्शनी हेर्नकै लागि यहाँ आउँछन् भन्ने जानकारी पायौं ।
डच् भाषामा क्युकेनहफको अर्थ ‘किचन गार्डेन’, नेपालीमा भन्नु पर्दा ‘भान्सा घरको बगैंचा’। पृथिवीकै सबैभन्दा ठूलो फूलको बगैंचालाई किन ‘किचन गार्डेन’  भनियो, त्यो भने पटक्कै चित्तबुझ्दो लागेन। तर ‘किचेन गार्डन’ नामको पनि ऐतिहासिक कारण रहेछ ।

जान्न पाइयो, यहाँ वर्षेनि अप्रैल महिनाको दोस्रो हप्तामा फूलको परेड आयोजन गरिन्छ। नर्विकदेखि हार्लेमसम्म निकालिने यस पुष्प परेडमा फूलहरूका विभिन्न प्रकारका झाँकी प्रस्तुत गरिन्छ । त्यो मनमोहक दृश्यको अवलोकन गर्न सारा विश्वबाट लाखौं पर्यटक यहाँ आउँछन भन्ने जान्न पायौं।। अप्रैल महिनामा हामी ब्रेडामै थियौं, आउन सक्ने थियौं आइतबारको मौका छोपेर। थक्क थक्क लाग्यो। यति मात्र कहाँ हो र प्रत्येक दश वर्षको अन्तरालमा यहाँ पुष्प महोत्सव पालन गर्ने परम्परा रहेछ। धुमधामसँग पालन गरिने आडम्बरपूर्ण त्यस पुष्प महोत्सवलाई फ्लोरियड भनिँदो रहेछ।

हाम्रो देशको कश्मीरमा श्रीनगरदेखि ९ कि मि दुरीमा डाल लेकको छेउमा इन्दिरा गान्धी ट्युलिप गार्डेन छ। यो गार्डेन एशिया भित्रमा ठूलो, विश्वमा नेदरल्यान्ड्स पछिको सबैभन्दा ठूलो पुष्पोद्यान हो। सन् २००७ मा खोलिएको यो गार्डेनले ३० हेक्टारको विशाल भूमिखण्डलाई ओगटेको छ। हाइस्कूलको अन्तिम जाँच दिएदेखि नै कश्मीर घुम्न जाने अनि त्यहाँका अरू रमणीय ठाउँहरूका साथै ट्युलिप गार्डेन पनि हेर्ने योजना बनाएको चारपटक भइसक्यो तर कुनै न कुनै झेउलो आइपरेर पछि सार्नु परेको थियो। यसैका बीचमा बाबा-आमा वैष्णोदेवीको दर्शन गरेर आउनुभयो २०१८ को मई महिनामा। त्यस समयमा कश्मीरमा अशान्ति फैलिएको खबर टीभीमा सुनेर त्यता जाने आँट गर्नु भएनछ। त्यसैले बाबा-आमाको पनि डाल लेक र ट्युलिप गार्डेन हेर्ने मौका परेनछ। भारतमा स्थित ट्युलिप गार्डेन हेर्ने साइत नजुरे पनि हठात् विश्वकै सबैभन्दा ठूलो ट्युलिप गार्डेन हेर्ने सुअवसर प्राप्त भयो। कतिपय चिताएका कुरा नपुग्दा रहेछन् अनि नचिताएको कुरा पनि हुँदो रहेछ। आज क्योकेनहफको गार्डेन हेरेर मलाई त्यस्तै लागेको छ ।

दिनभरिमा घुमिघुमि हेर्यौ, तर हामीले एउटा कुनो मात्र हेर्न भ्याएछौं। पाँच बजेको रेलमा फर्किने टिकट गरेको छ। धित मरुञ्जेल हेर्न नै नपाई ४.४० मा त्यहाँबाट निस्कियौं किनभने रेल स्टेशन पुग्न कम्ती पनि दश मिनट लाग्छ। साथी कपिललाई भनें, ‘यहाँ यस्तै भयो, अब आफ्नै देशको ट्युलिप गार्डेन हेरेर चित्त बुझाउनु पर्छ। उसले अर्कै कुरा भन्यो। ‘हेराइ सधैं यस्तै हुनुपर्छ। सम्पूर्ण होइन, एकछेउ मात्र। अरू जान्न पाए हुन्थ्योमै कुनै कुरा पनि टुङ्गिएको राम्रो।‘ उसले निकै गहिरो कुरा भन्यो। खान नपाए पनि मैले पनि थपें, ‘अङ्गुर तीता रहेछन्। अर्को पनि तर्क राखें-एउटा फूल हेर्नु र पाँचवटा हेर्नुमा के अन्तर छ? एक बिघा माटामा भएको फुलबारी र सय बिघाको फूलबारी हेर्नुमा के फरक ?’

यस्तै भयो हाम्रो हेराई ।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *