पूर्णकुमार शर्माको ‘अमर शहीद’ पढेपछि

 

विषय प्रवेश :

नाटकजस्तै एकाङ्की पनि साहित्यको दृश्यात्मक वर्गमा पर्ने विधा हो । नाटकबाटै एकाङ्की विधा विकसित भएकाले यो नाटकसित निकटधर्मी छ । त्यसैले प्रयोगात्मक तौरमा नाटक भन्नाले त्यसभित्र एकाङ्की पनि सामेल भएको बुझिन्छ  अर्थात् एकाङ्कीलाई प्रयोगात्मक तौरमा नाटक नै भन्ने पनि गरिन्छ । तर जसरी कथा र उपन्यास एउटै होइन त्यसरी नै नाटक र एकाङ्कीमा पनि केही सैद्धान्तिक भिन्नता छ । नाटकबाट एकाङ्कीको विकास भएपछि अङ्क सङ्ख्याको आधारमा दुई वर्गको वर्गीकरण भयो । एउटा मात्र अङ्क हुँदा एकाङ्की अनि एकभन्दा अधिक अङ्क हुँदा बहुअङ्की अथवा पूर्णाङ्की नाटक । यस विधामा कथानक, पात्र, संवाद, भाषाकाल-परिस्थिति, वातावरण, उद्देश्य, अभिनयजस्ता तत्वहरू आवश्यक पर्दछन् ।  लोक चेतनासित नाटकको अपेक्षाकृत धेरै नै घनिष्ठरूपले सम्बन्ध रहेको हुन्छ ।

नाट्यकार पूर्णकुमार शर्माको परिचय :

वरिष्ठ समालोचक  ज्ञानबहादुर छेत्रीको ‘ भारतीय आधुनिक नाट्य विधाका बहुमुखी प्रतिभा नाट्यभूषण पूर्णकुमार शर्मा’ शीर्षक शुभेच्छामूलक लेखको अध्ययनबाट पूर्णकुमार शर्माको साहित्यिक यात्रा सत्तरीको दशकदेखि थालनी भएको देखिन्छ । नाट्यक्षेत्रमा उनी १९९४ सनमा ‘उदयन कला परिषद्’ को संस्थापक मूल सचिव रहेदेखि जिल्ला र राज्य स्तर तथा पछि राष्ट्रिय स्तरमा प्रतिष्ठित हुन पुगे । असम शोणितपुरको ऐतिहासिक गमिरीघाट अञ्चलका बलमगुडी गाउँमा अङ्ग्रेजी सन् १९६९ को २५ अगष्टमा स्व. जगनिधि दाहाल र स्व. युद्धमाया देवीका द्वितीय सन्तानका रूपमा जन्मिएका पूर्णकुमार शर्मा हाल असमको विश्वनाथ जिल्ला अन्तर्गत समारदलनी गाउँमा बसोवास गर्दछन् । कविता विधाबाट साहित्य यात्रा थालेका शर्माका बालि दिउँला दियो हृदयमा तिम्रो (एकाङ्की सङ्ग्रह, २००१), परिक्रमा (एकाङ्की सङ्ग्रह, २००८), अमर शहीद (एकाङ्की सङ्ग्रह, २०१२), प्रभात यामिनी ( असमीया एकाङ्की सङ्ग्रह, २०१४),  पाटे बाघ ( पूर्णाङ्ग नाटक, २०१६), प्रतिश्रुति ( उपन्यास, नेपालीबाट असमीयामा अनूदित, २०१६) र शान्तनुकुलन्दन ( उपन्यास, असमीयाबाट नेपालीमा अनूदित, २०१९) गरी तीनवटा नेपाली एकाङ्की, एउटा असमीया एकाङ्की, एउटा पूर्णाङ्ग नाटक र दुइटा अनूदित पुस्तक लगाएर जम्मा सातवटा पुस्तक प्रकाशित छन् । ज्ञानबहादुर छेत्रीले पूर्णकुमार शर्माको साहित्यिक यात्राको बारेमा यसरी लेख्छन् ‘ प्राथमिक विद्यालयको छात्र यानी वाल्य उमेरमै मञ्च अभिनयमा उत्रेका शर्मा आजसम्म जडित भएर सयभन्दा बढी चरित्र अभिनय विभिन्न सम्मान पुरस्कार थापिसकेका छन् । उनले असमीया भाषा, साहित्य, संस्कृतिको पनि सङ्गत पाएकाले दुवै पक्षमा लेखन अभिनयादि गरेको पाइन्छ । असमीया र नेपाली भाषामा कथा, कविता आदि लेखन प्रकाशन तथा आकाशवाणी गुवाहाटी उत्तराञ्चल नेपाली सेवाबाट कथा, कविता, साक्षात्कार सम्प्रसारण छन् भने धेरै रेडिओ नाटक प्रसारित भएका छन् ।’ (पृ.७) यसै समीक्षात्मक लेखबाट जानकारी पाइन्छ कि पूर्णकुमार शर्मा एकजना कवि, कथाकार, व्यङ्ग्य लेखक, रेडिओ कलाकार, कथानक चित्र अभिनेता, सम्पादक, भ्राम्यमान मञ्चका नाट्यकार, कुशल अनुवादक, नाट्य सङ्गठक, वक्ता र नाट्य समीक्षक हुन् र उनको लेखन विभिन्न स्थानबाट प्रकाशित हुने पत्रपत्रिकामा प्रकाशन हुँदै आएका छन् । स्व-जातित्वको भावना र स्व- अस्तित्वको स्वाभिमानमा उभिएको यस कृतिले दिन चाहेको सन्देशतिर लाग्नु नै उचित ठान्दछु ।

कृतिको संरचना :

युद्धमाया स्मृति प्रकाशन, समारदलनीबाट प्रकाशित यो कृतिमा चारवटा एकाङ्कीहरू समावेश गरिएका छन् । यो कृति ९२ पृष्ठको छ ।  मूल्य १५०/- रुपियाँ राखिएको छ । प्रथम प्रकाशन अङ्ग्रेजी सन् २०१२ को अगष्ट महिना रहेको छ । लक्ष्मण श्रीमलको ‘एकाङ्की नाटक यात्रामा श्रीपूर्णकुमार शर्मा’ शीर्षकमा विवरणात्मक भूमिकाले पूर्णकुमार शर्माको लेखन प्रतिभा लगायत कृतिले लिएको बाटो र दिएको सन्देशलाई तुलनात्मक रूपमा प्रष्ट्याउने कार्य गरेको छ । अब म यस कृतिभित्र रहेका एकाङ्कीहरूमा प्रवेश गर्न चाहन्छु।

शिक्षित को हो :

एकाङ्कीकारको यो पहिलो एकाङ्की हो । साधारण अर्थमा शिक्षित भनेको कुनै शैक्षणिक संस्थाबाट प्रमाण पत्र अथवा डिग्री अर्जन गर्नु होइन । जसमा समाजलाई साथमा लिएर अघिबढ्ने गुण हुन्छ ; जीवन पथबाट विचलित भएकालाई  सही मार्गमा हिँड्न प्रेरित गर्ने गुणसम्पन्न व्यक्ति नै वास्तवमा शिक्षित हो । एकाङ्कीकारले शिक्षित को हो भन्ने प्रश्न तेर्साउँदै एकाङ्कीभित्र एकजना महाविद्यालयका प्राध्यापक पदुमबहादुर चोहान र उनका घरका सदस्यहरू डिग्रीधारी शिक्षित भए तापनि वास्तवमा शिक्षित नभएको र शिक्षितको परिभाषालाई लत्याउँदै कृत्रिम र आडम्बरपूर्ण व्यक्ति विशेष र परिवारको प्रतिनिधित्व गरेका छन् । शिक्षितको भ्रममा अल्झिएका व्यक्तिहरूले आफ्नो इज्जत र अभिमान छर्लङ्ग देख्छन् तर ज्ञानेन्द्रिय फितलो भएको पत्तो पाउँदैनन् ।  शिक्षित हुनको निम्ति सदाचार, आचरण, अनुभूति र ज्ञान पनि चाहिन्छ भन्न खोजेका छन् एकाङ्कीकारले । ‘शिक्षित को हो’ एकाङ्कीले वर्तमानको शिक्षित भनाउँदो अभिमानी समाजलाई जोडदार व्यङ्ग्य गरेको छ ।

नीर अधीर :

एकाङ्कीकारको यो दोस्रो एकाङ्की हो । पर्यावरण केन्द्रित यो एकाङ्कीमा पहाडी क्षेत्रमा रहेका मानिसहरूको अमानवीय कार्य प्रस्तुत गरिएको छ । मानिसहरूको स्वार्थी स्वभावको परिणाममा जङ्गल मास्सिएको, पहाडबाट हरियाली खोसिएको   र पानीका मुहानहरू सुक्तै गएकाले पानीको अभाव बढ्दै गएको अनि सहर क्षेत्रमा दुधको भन्दा पानीको मूल्य बढी हुँदै गएको कथावस्तुलाई उपस्थापन गर्ने प्रयत्न छ । वैज्ञानिक तकनिकी आविष्कार, मानिसको द्रुत विकास, आत्मरक्षा एवम् सुस्वास्थ्य तथा प्रगतिको निम्ति गरिन्छ । तर मानिस भन्ने एकांश स्वार्थी र दुराचारीहरूले  यस वैज्ञानिक शक्ति र आविष्कारको दुरुपयोग गरी धर्तीमा अशान्तिमय वातावरण सिर्जिएका छन् । समय गतिशील छ । आजका मानिसलाई पनि समयले सङ्केत दिँदैछ । वृक्षरोपण गरी पर्यावरण बचाउने अनि पानी नै प्राणीको प्राण हो भन्ने सन्देश दिन खोजेको छन् एकाङ्कीकारले ‘नीर अधीर’ एकाङ्कीमार्फत् ।

प्रभात यामिनी :

एकाङ्कीकारको यो तेस्रो एकाङ्की हो । यो एकाङ्कीमा सामन्ती परिवेशलाई अँगालेर अघिबढ्न खोज्ने समाजको चित्रण गरिएको छ । आजको अव्यवस्थित परिवेशमा मानवता हराउँदै गएको परिस्थितिसित एकाङ्कीकार पनि समाज जीवनमा भित्रिएका अडचन, राजनैतिक जालझेल, विच्छिन्नतावाद आदिलाई जरोसमेत उखेल्न सामाजिक जागरूकता अनि जागरूकताद्वारा नै समाज परिवर्तन सम्भव हुने आशा र विश्वास राखेको देखिन्छ ।  यस एकाङ्कीमा प्रेम, प्रणय, घृणा, मतभेद, बिन्ती, निन्दा, अत्यास, अहङ्कार आदि सबैथोकको मिलावटमा एउटा प्रतीकात्मक एकाङ्की सिर्जिएको छ भन्दा अतिशयोक्ति नहोला।

अमर शहीद :

एकाङ्कीकारको यो चौथो एवम् अन्तिम र पुस्तककै नाम बोकेको सशक्त एकाङ्की ‘अमर शहीद’  हो । गोर्खा गौरव सहिद दुर्गा मल्ललाई लिएर लेखिएको एकाङ्की हो ‘अमर शहीद’। सहिद भनेको देश र लोकको हितका लागि आफ्नो प्राण आहुति दिने मानिस हो । सहिद सामान्य मानिसको धरातलबाट उठेर भिन्न ढङ्गको उचाइमा कायम भएको हुन्छ ।   देशरक्षाका निम्ति गोर्खाहरूको त्याग र बलिदानको गाथा ‘अमर शहीद’ ले बोकेको छ । बृट्रिसको चक्रव्यूहमा फसिसकेर फाँसीको सजाय भोग्नेअघि दुर्गा मल्ल र परिवारबिचको वार्तालाप र परिवारको बचाउने प्रयासमा तगारो भई उभिएका बृट्रिस अधिकारीहरूको छल, तानासाहीलाई चित्रण गर्ने प्रयत्न एकाङ्कीकारको रहेको छ । स्वाधीनता सङ्ग्राम भारतेली गोर्खाहरूले दिएको योगदान अनि भारतवर्षमा गोर्खाहरूको अस्तित्व, अस्मिता र चिन्हारीको प्रश्नमा सहिद दुर्गा मल्ल, सहिद दलबहादुर थापा आदिका पृष्ठाधार उल्लेखनीय रहेको हुँदा एकाङ्कीकारले ‘अमर शहीद’ शीर्षकमा दुर्गा मल्ललाई प्राधान्य दिनु उचित ठहरिन्छ । छविलाल उपाध्याय, प्रसाद सिं सुब्बा, दलबीर सिं लोहार, दिलकुमारी, पुष्पधर आदिले दुर्गा मल्लको त्याग र वलिदानको भावनालाई ऊर्जा र प्रेरणाको स्रोत बनाउँदै भारतवर्षको स्वाधीनता सङ्ग्राममा लागिपरेको तथ्य पनि एकाङ्कीकारले प्रस्तुत गरेका छन् । एकाङ्कीकारले ‘अमर शहीद’ एकाङ्कीमा सहिदको शानलाई सर्वोपरि उच्च, सदैव मार्गदर्शक र स्मृतिपूर्ण बनाएका छन् ।

शर्माका नाटकीय प्रवृत्तिहरू :

विभिन्न विषयलाई एकाङ्कीको कथावस्तु बनाउने शर्मा बहुल विषयकेन्द्री नाटककार हुन् । शर्माका धेरजस्तो नाटकका कथावस्तु सामाजिक रहे पनि उनले पौराणिक घटना, इतिहासका घटना वा तथ्यसँग सरोकार नाटक पनि लेखेका छन् । भाषिक मजबुतीमा उनी सबल देखा पर्छन् । एकाङ्की भाषिक दृष्टिकोणले शर्माका नाटक विषयगत आयाम र संरचनागत आयामका आधारमा उत्तिकै बहुआयामिक देखिएका छन् । प्रेम, समर्पण, त्याग, बलिदान, शिष्टाचार, चरित्र, अनुभव, अहङ्कार, हिंसा, आतङ्क,शान्ति, घृणा, अभिमान, बलात्कार आदि सामाजिक विषयवस्तुको नाटक सिर्जिएकाले शर्मा बहुआयामिक भित्र पनि सामाजिकतालाई केन्द्रमा राख्नसक्ने नाट्यकार भएकाले उनको आयाम निकै फैलिएको छ ।

शर्माले आफ्ना एकाङ्कीहरूमा विभिन्न समस्यामा ग्रसित मानवजीवन र त्यसका असरबाट सिर्जित घात-प्रतिघात, द्वन्द्व-अन्तर्द्वन्द्व प्रस्तुत गर्दै सामाजिक र मानसिक यथार्थलाई पेस गरेका छन् । यिनका कतिपय एकाङ्कीहरूमा परम्परित मूल्य मान्यताहरूप्रति विद्रोह तथा नौलो सामाजिक मूल्यसिद्धान्त संयोजनमा जोड दिएका छन् ।
राजनैतिक , सामाजिक, नैतिक, मानसिक, सांस्कृतिक र साहित्यिक क्षेत्रमा देखिएका विकारहरूको तथ्यपूर्ण अनुसन्धान, विस्तृतीकरण र छानबिन गरिएका शर्माका एकाङ्कीहरूमा शङ्का-उपशङ्का, सामाजिक विडम्बना आदिबाट त्रस्त बौद्धिक जमात र युवावर्गको चित्रण पाइन्छ । नारीहरूको दु:ख-पीडा, विवशता-बाध्यताहरूलाई पनि शर्माले मिहिन र मार्मिक तरिकाले प्रस्तुत गरेका छन् ।


आधुनिक नाट्यसंरचनाको आवश्यक तत्व मानिने द्वन्द्वको मिलान र विकासमा निकै सचेत देखिने शर्माका एकाङ्कीमा भित्री र बाहिरी द्वन्द्वको समायोजन गरिएको पाइन्छ । शर्माका एकाङ्कीमा अक्सर पुरानो र नौलो मूल्यमान्यता र दृष्टिकोणका बिचमा बाहिरी द्वन्द्व पाइन्छ भने मानिसको अन्तर्मनमा सिर्जिने मानसिक शङ्का- उपशङ्का, घात-प्रतिघात आदिका माध्यमबाट भित्री द्वन्द्वको सिर्जना गरिएको छ । शर्माका एकाङ्कीमा उत्सुकताको उपयुक्त पूर्तिका साथ द्वन्द्वको निपुण संयोजन पाइन्छ।
सहज र सरल भाषाको प्रयोग शर्माका एकाङ्कीमा पाइने भाषाशैलीगत विशेषता हो । पात्रपात्राहरूका स्तरअनुरूप संवादयोजना स्वाभाविक नै रहेको देखिन्छ। विशेषगरी मञ्चायनका दृष्टिले लेखिएका एकाङ्कीहरू सरल, सहज, साधारण र प्रभावकारी पाइन्छ।

दु:खान्तता :

सुखान्त नाटकका साथै दु:खान्त नाटकको लेखनमा पनि शर्मा निकै सशक्त देखिएका छन् । उनको एकाङ्की सङ्ग्रहकै शीर्षकमा रहेको ‘अमर शहीद’ एकाङ्की दुखान्तको अन्यतम उदाहरण बनेको छ ।

मौलिकता :

शर्माका एकाङ्कीहरूमा नेपाली भाषा-साहित्य-संस्कृति र आफ्नै परिवेश, वातावरणको सुवास पाइन्छ । एकाङ्कीहरूमा मौलिकताको गहिरो छाप परेको छ । मौलिकताले गर्दा एकाङ्कीहरू मौलिक बन्न सफल भएका छन् । एकाङ्कीकारको निजी अनुभवले गर्दा विभिन्न एकाङ्कीहरूमा सामान्यतया छुट्टाछुट्टै स्वाद निस्किएको छ ।   प्रसिद्ध नाट्यकार लक्ष्मण श्रीमलले ‘अमर शहीद’ एकाङ्की सङ्ग्रहको भूमिकामा-‘ आफ्नो गोर्खा जातिको सपूतहरूलाई लिएर नाट्य रचनामा समेट्ने प्रयास पनि स्व-जातित्व भावना स्व-अस्तित्वको स्वाभिमानलाई एकाङ्कीकारको अन्तरतहमा बाँचिरहेको अभिव्यक्तिको जड हो’ (पृ.१५)  भनी खुलेरै प्रशंसा गरेका छन् ।

सजग रङ्गकर्मी :

शर्माका नाटकहरू रङ्गमञ्चमा प्रदर्शनका लागि उपयुक्त छन् । शर्माका नाटक पठनीय सहितै मञ्चनलाई ध्यान पनि दिएको कुरा उनका नाटकहरू अध्ययन गर्दा थाहा लाग्छ । दर्शकलाई पनि उत्तिकै ध्यानमा राखेको देखिन्छ । शर्मा नाट्यकारसहितै आफैँ एकजना रङ्गकर्मी भएकाले मञ्चनले गुरुत्व पाएजस्तो लाग्छ । एकाङ्की सङ्ग्रह ‘अमर शहीद’ को भूमिका लेखनमा लक्ष्मण श्रीमलको भनाइ प्रासङ्गिक लाग्छ- ‘नाटक विधाजस्तो नेपालीको क्षेत्रमा अवहेलित विधालाई अँगालेर साहित्य पक्ष र कलापक्ष दुवैमा अनवरत रूपमा सन् १९८२ देखि योगदान पुर्याउँदै आउनु हुने श्रीपूर्णकुमार शर्माले भारतीय नेपालीभाषी गोर्खा समाजको निम्ति पुर्याउँदै आएका यस्ता ठोस गतिविधिका निम्ति प्रशंसा नगरी हुन्न  र भन्नुपर्छ, यहाँ नाट्य विधाका एक अभिज्ञ शिल्पकार । ‘ ( पृ.११) रङ्गमञ्च सजग नाट्यकारका रूपमा शर्माको उपस्थिति अब्बल रहेको बारे वरिष्ठ साहित्यकार कमल दीक्षितको अभिव्यक्ति यस्तो छ ‘ नाटकलाई मञ्चन गर्ने कलामा तपाईं पोख्त हुनुहुँदो रहेछ भन्ने कुरा ‘ अमर शहीद’ पढ्दा स्पष्ट भयो मलाई। लाइट (प्रकाश) को व्यवस्था कसरी गर्ने भन्ने पनि ज्ञान राख्नु हुँदोरहेछ तपाईं। ‘ (पृ. ६)

भाषिक मधुरता :

नाट्य क्षेत्रमा भाषा भन्नाले चरित्रले प्रयोग गर्ने संवादको भाषा बुझिन्छ । सही समय र स्थानमा चरित्रहरूबाट उखान र तुक्काको प्रयोग गरिएको पाइन्छ। शर्माका छोटा, लामा, सामान्य, काव्यत्मक , गद्यात्मक संवाद सुन्दर, रोचक, आकर्षक र प्रभावकारी छन् ।

जातीय चिन्तन :

शर्माको साहित्यको सबल पक्ष भनेको जातिप्रति आस्था, विश्वास र सम्मान हो । उनले गोर्खा सन्तान भई जन्मिएकामा गौरववोध अनुभव गर्दै नाटकमा पनि जातीय स्वाभिमानलाई प्रशस्त प्रकाश पारेका छन् । शर्माका प्राय:जसो नाटकमा नै जातीयता, राष्ट्रियता, राष्ट्रिय एकता र राष्ट्रवादको सुवास पाइन्छ । उनका नाटकहरूमा वीर गोर्खाहरूको गाथा गुञ्जिएको पाइन्छ ।

चरित्रको उचित प्रयोग :

नाटकको कथावस्तु अनुरूप चरित्रको छनौट हुँदा मात्रै नाटक सफल बन्छ । शर्माका नाटकमा भएका चरित्रहरू कथावस्तुको मागअनुसार भित्र्याइएको पाइन्छ । कुनै पनि चरित्र जबर्जस्ती भित्र्याएको पाइँदैन ।

निर्देशन पक्ष :

एकाङ्कीहरूमा स्थानगत अवस्था, पात्रगत स्थिति र चरित्रगत मनस्थितिको रङ्गमञ्चीय र अभिनय निर्देश समेत गरिएको छ । यिनीहरूमा पात्रको प्रवेश, पात्रको हाउभाउ, गीत, नृत्य, सङ्गीत बर्हिगमन, प्रकाशको व्यवहार आदि समेतको बारेमा वास्तविक र स्वाभाविक चित्रण र यथास्थान निर्देशन पनि गरिएको छ ।

मूल्याङ्कन र उपसंहार :

असम क्षेत्रबाट भारतीय नेपाली नाटक विधालाई प्रतिनिधित्व गर्ने क्षमता भएका पूर्णकुमार शर्माका एकाङ्कीहरू गुणात्मक दृष्टिले स्तरीय छन् । यिनका प्रायः जसो एकाङ्कीमा हास्य र व्यङ्ग्यको प्रयोग देखिन्छ भने  चेतना अभिवृद्धि र सुधारका अपेक्षाहरू पनि भेटिन्छ । शर्माका एकाङ्कीहरूमा अन्तर्निहित कथानक, चरित्र, संवाद, भाषाशैली, देशकाल-परिस्थिति, वातावरण, उद्देश्यजस्ता नाटकीय तत्वहरूका आधारमा भन्नुपर्दा सिर्जित पात्रहरूले आफ्नो अस्मिता, पहिचान, हक र अधिकार खोज्न सफल भएका छन् । नाटक लेखन र मञ्चनमा उनको असाध्य रूचि भएको कुरा उनका नाटकले राज्यिक, राष्ट्रिय एवम् अन्तरराष्ट्रिय रङ्गमञ्चमा प्राप्त गरेका सफलताले प्रष्ट हुन्छ । उनी मौलिकताको पक्षधर नाट्यकार हुन् । उनका सामाजिक नाटकहरूले घरायसी जीवन र सामाजिक जीवनमा आइलाग्ने समस्या प्रस्तुत गरी तिनका समाधानार्थ केही सुधारवादी र कतै क्रान्तिकारी मार्ग देखाएका छन् । शर्माका नाटक अर्थपूर्ण र बौद्धिक छन् । अध्ययन र अनुभवको विस्तार देखिन्छ।

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *