बेसुरे धुन
|मैले बजाउन खोजेको
सुमधुर संगीतको धुन
मेरो हार्मोनियमबाट
बज्न लागेको गीत
जत्ति पटक बजाए पनि
जत्ति पटक गाए पनि
न मिल्छ राग
न मिल्छ ताल
संधै बेसुरे धुन किन बज्छ ?
मादलमा उप्केको खरीको आवाज झैं
सारंगी रेटिरहँदा चुडिरहन्छ तार
गुन्जिंदै गुन्जिएन
संगीतको धुन ,
सुरीलो सपनाको गीत
हृदयको धड्कन, धड्किरहँदा
मान्छेले मान्छे आँफैलाई नबुझेपछि
आँफैले आँफैलाई नचिनेपछि
हृदयले देश नदेखेपछि
अक्षरले देश नलेखेपछि
क्यानभासको चित्र
रंगले ईन्द्रेणी नपोतिएपछि
अब पोत्नुछ हृदयमा रंगीन चेतनाको रंग
आकाश भरि बादलसँगै रक्ताम्य भयको बेला
बतासको बेगसँगै
खहरे उर्लिएर सुख्खा गडतिर बनेकोछ ।
हार्मोनियमको पंखाको प्वालबाट
सल्बलाउँदैछ वायुपंखी घोड़ा उड्नै सकेन
हातको औंला नचाइरहेको बेला
देखिन्छ चारैतीर भावावेशको भारी
थिचिएका भरियाहरुको पीडा
छिंडीमा प्रसव पीडाको चित्कार
न त्याँहा संगीत सुनिन्छ
न याँहा गीत गुन्जिन्छ
हृदयविदारक ,बुढा बुढीले खोकेको स्वर
खोला पारी उभिरहेकोछ
वारिपारि कोदोबारी
वरिपरि बुख्याँचाहरु ठिंग उभिएका छन्
मेरो सपनाको देशमा
चारैतिर बेसुरे
सारंगी धुन बजिरहेछ !