हेमचन्द्र पोखरेलको बारेमा पुस्तक प्रकाशित
|‘नेपाली साहित्याकाशमा हेमचन्द्र पोखरेल’कृतिको भर्चुअल माध्यममा अन्तक्र्रिया अप्रिल २२ मा सम्पन्न सम्पन्न भएको छ । साहित्यकार तथा साहित्यिक पत्रकार धीरकुमार श्रेष्ठद्वारा लिखित उक्त पुस्तक समकालीन साहित्य प्रतिष्ठान बेलायतले प्रकाशन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा. राजेन्द्र सुवेदीले उक्त कृति स्रष्टापरक समालोचना भएको बताउनु भयो । हेमचन्द्र पोखरेल अद्भुत प्रतिभाको धनी र कवितामै कुरा गर्न सक्ने उहाँको खुबी रहेको जानकारी दिनुभयो । प्राडा गोविन्दराज भट्टराईले उहाँ राष्ट्रको गौरव हुनुहुन्थ्यो भन्नु भयो । प्राडा माधवप्रसाद पोखरेलले हेमचन्द्रको अथाह प्रतिभाको जानकारी दिँदै धेरै भाषामा उहाँको पकड रहेको बताउनु भयो । प्राडा कुमारप्रसाद कोइरालाले हेमचन्द्र पोखरेल देवकोटालाई बुझ्ने औंलामा गन्न सकिने व्यक्तिमध्येको एक हुनुहुन्थ्यो भन्नु भयो ।
लेखक श्रेष्ठले पुस्तक मार्फत उहाँलाई न्याय गर्नु भएको बताउनुभयो । डा लेख निरौलाले महान् साहित्यिक प्रतिभा पोखरेलको विभिन्न कोणबाट पुस्तकमा विश्लेषण गरिएको बताउनुभयो । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले उहाँ जस्तो विद्वानलाई राष्ट्रले चिन्न नसकेकोमा दुःख व्यक्त गर्नु भयो ।
पुस्तकका लेखक धीरकुमार श्रेष्ठले हेमचन्द्र पोखरेल जस्तो विशिष्ट प्रतिभाका बारेमा एम.ए. नेपालीमा आफूले गरेको थेसिसलाई परिमार्जन गरेर पुस्तक प्रकाशन गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो । उक्त कार्यक्रममा प्राडा खेमनाथ दाहाल, डा. शिव गौतम, भारती गौतम, डा. विदुर चालिसे, डा. सावित्री श्रेष्ठ, रमेश खकुरेल, पशुपती पराजुली ‘सालघारी’, कोमल पोखरेल, दीपक पोखरेल आदिले आ-आफ्नो विचार राख्नुभएको थियो । पुस्तक अन्तक्र्रिया कार्यक्रम समकालीन साहित्य प्रतिष्ठान बेलायतका अध्यक्ष कृष्ण बजगाईंको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम नेत्र न्यौपानेले संचालन गर्नुभएको थियो।