उपन्यास जन्मभूमि मेरो स्वदेश उपन्यासमा प्रतिविम्बित ऐतिहासिक पक्ष
|- आमुख
नेपाली र असमीय साहित्य क्षेत्रमा गीता उपाध्ययको नाम अति आदर र उल्लेखका साथ लिइन्छ। उनी विशिष्ट लेखक हुन्। उनले आफ्नो जीवन नै भाषा साहित्यमा समर्पित गरेकी छन्। उनको जन्म १४ फरवरी, १९३९ मा असमको शोणितपुर जिल्लाको बिहाली गाङमौथानमा भएको हो। उनले राजनितीशास्त्रमा स्नातकोत्तर अध्ययन समाप्त गरेपछि शिवसागर कलेजमा यसै विषयमा प्राध्यापन गरी सन् १९९९ मा सेवानिवृत्ति भएकी हुन्। आफ्नो सेवा कार्यबाट निवृत्त भएपछि उनी साहित्य लेखनतिर अझ सक्रिय रूपमा ओर्लिएकी छन्। हालसम्म उनका नेपाली भाषामा जम्मा दशवटा र असमीय भाषामा बाह्रवटा पुस्तक प्रकाशित गरेकी छन्।
उनका प्रकाशित पुस्तकहरूको सूची नियाल्दा उनलाई एक सफल उपन्यासकार (जन्मभूमि मेरो स्वदेश,२०१३), कथाकार (नेपाली कथासंग्रह कथाञ्जली, असमीय कथासंग्रहहरू ‘सुवासित बताह’, २००५, ‘एकाजली गल्प संभार’, २००८), शिशु साहित्यकार (‘आमा फर्स्ट भएँ’, १९९८, “एन फ्रेन्कंको बाल्यकाल’, २००८), अनुवादक (नेपालीबाट असमीयमा, असमीयबाट नेपालीमा, अन्यबाट नेपालीमा र अन्यबाट असमीयमा), जीवनी लेखन (‘महापुरूष शंकरदेव-जीवन र कर्म’, २००३), सम्पादक (‘असमीया नारी कविका निर्वाचित कविता’, २००२)। यसमध्ये उनको ‘भानुभक्तको रामायणको असमीय अनुवाद’ अत्यन्त महत्त्वपूर्ण रहेको छ। पुरस्कारका हकमा हालसम्म उनले मुख्य गरी साहित्य अकादमीको अनुवाद पुरस्कार, सहित्य अकादमी पुरस्कार (२०१६) हासिल गरेकी छन्।
- उपन्यासमा इतिहास लेखन र भारतमा नेपाली उपन्यासमा इतिहास-
साहित्यको उपन्यास विधामा इतिहासको प्रवेश गराउन सबैभन्दा सबल माध्यम हुनसक्छ। इतिहास बिगतको साङ्गोपाङ्गो वर्णन मात्र होइन,भविष्यको दिग्दर्शन पनि हो। इतिहासका गर्भमा विभिन्न घटना घटेका हुन्छन्, सभ्यता, संस्कृति, राजा, राज्य, शासन सत्ता रहेका हुन्छन्।
- जन्मभूमि मेरो स्वदेश उपन्यासमा पाइने इतिहास चेतना
नेपाली साहित्यमा कुनै ब्यक्तिविशेषको जीवनीमा आधार गरेर तयार पारिएका केही उपन्यास छन्। त्यसमाथि कुनै उपन्यास आफ्नै जीवनलाई केन्द्रविन्दु बनाएर, कुनैमा कुनै महापुरूषको जीवनीलाई आधार बनाएर लेखेका छन्। उदाहरणका रूपमा ध्रुवचन्द्र गौतमको ‘बाढी’ उपन्यासमा आफ्नै जीवनलाई आधार बनाएका छन् भने लीलबहादुर छेत्रीको ‘प्रतिध्वनि विस्मृतिका’ उपन्यासमा आफ्ना बाबुको संघर्षमय जीवनलाई आधार बनाएर लेखेका छन्। यसमा बाबुले सुनाएको आफ्नो जीवनको वास्तविक कथालाई वस्तुगत सामल बनाएर उपन्यास बुनिएको छ। लैनसिंह बाङदेलले हलेण्डका विश्वविख्यात चित्रकार रेम्ब्रान्टको जीवनीलाई लिएर ‘रेम्ब्रान्ट’ उपन्यास लेखेका छन्। यसै सिलसिलामा गीता उपाध्यायको ‘जन्मभूमि मेरो स्वदेश’ उपन्यासमा पनि असमका प्रख्यात स्तञ्त्रता सेनानी छविलाल उपाध्यायको जीवनीलाई आधार बनाएर आख्यानीकरण गरिएको छ। यसमा उनको बाल्यकाल, सामाजिक, राजनैतिक क्रियाकलापलाई मूलाधार बनाएर एउटा सिङ्गो औपन्यासिक कृति रचना भएको छ। यसबाट पाठकलाई दोहोरो लाभ भएको छ – इतिहासको ज्ञान र औपन्यासिक आख्यानपरक पठनको आनन्द।
यसमा इतिहास र आख्यान तत्व सन्तुलित र समानुपातिक रूपमा सँगसँगै हिँडेका छन्। मुख्य पात्र छविलालको पात्रीकरण गरिए तापनि यसका छविलाल हुबहु होइनन्। उनको कल्पना, बोलीबचन प्रायः जम्मै काल्पनिक हुन्। कुनै व्यक्तिविशेषको हरेक गतिविधि र कल्पनासमेतलाई त्यति नजिकबाट कसैले रेकर्ड राख्न सक्दैन। इतिहास मात्र बन्यो भने कुनै कृति सफल बन्दैन। साहित्य अध्ययन गर्नेहरू इतिहासमा रमाउन सक्दैनन्। कुशल लेखकले यी दुवैलाई मिसाएर एउटा सुन्दर र कला-कृति निर्माण गर्न सक्छ। यस उपन्यासमा पनि कल्पनाको प्रयोग गरेर आख्यानीकरण गरिएको छ। कथावस्तु र इतिहासलाई यसरी तालिकाबद्ध गर्न सकिन्छ।
‘जन्मभूमि मेरो स्वदेश’ इतिहास मात्र बन्नदेखि छुट्टिएर एउटा विशिष्ट रूपमा औपन्यासिक कृति बनेको छ। उपन्यासको शुरूवात् विशेषगरी सन् १९२१ मा जोरहाटमा सम्पन्न असम सम्मेलनलाई कसरी गान्धीको स्वाधीनता संग्रामको आह्वानको प्रभावस्वरूप असम प्रदेश काँग्रेस दलमा रूपान्तरित भयो, त्यसको पृष्ठभूमिदेखि लिएर काजीरङ्गाको जंगललाई रिजार्व फरेस्ट घोषित गरेर गौचरण र वनवस्तीलाई हटाउने अँग्रेज सरकारको गतिविधि आदिलाई आधार बनाएको छ। काँग्रेस दल असममा फस्टाउनका मूल कारण काजीरङ्गाको ग्राम उच्छेद काण्ड र गोर्खाली जनजीवनको ठुलो समर्पण थियो। त्यहाँ वर्षौंदेखि गौपालन गर्दैआएका गोर्खाली जनजीवनमाथि तत्कालीन अँग्रेज सरकारले चौबीस घण्टाभित्र घर र ठाउँ छोड्नु भनी कठोर सरकारी आदेश र त्यसको फलस्वरूप उत्तेजना सृष्टि भएको स्थिति देखाइएको छ। ती ठाउँमा गोर्खालीलगायत केही आदिवासी जनजाति पनि परेका थिए। ती उच्छेद भएका मानिसहरूमा अँग्रेज शासनप्रति एक प्रकारको क्षोभ र घृणा उत्पन्न पैदा भएको स्थितिमा असममा पनि काँग्रेस दलको बिजारोपन हुन्छ र असम प्रदेश काँग्रेसको उदय हुन्छ। महात्मा गान्धीको दक्षिण अफ्रिकाबाट भारत फिर्ता र उनको स्वाधीनता संग्रामको शंखघोषको प्रभाव मूल रैथाने भारतीयहरूमा पर्नु स्वाभाविक थियो।
उपन्यासमा सोझै इतिहासको बखान छैन। व्यक्तिको कङ्कालजस्तो मात्र यसमा इतिहासको आधार लिएको छ। मूल रूपमा कङ्काललाई शिल्प-संरचनागत रगत-मासु र प्राण भरेर एउटा सुन्दर औपन्यासिक कृति तुल्याइएको छ। संवाद योजना, कल्पना, परिवेश, नयाँ नयाँ घटना-प्रसङ्ग र त्यसको घटनावली निर्माण, पात्रीकरण र पात्रगत उदात्तता प्रदान, दृष्टिविन्दु सापेक्षता आदिले यो एउटा उपन्यास बनेको छ।
- उपन्यासको संरचना
जम्मा २१० पृष्ठहरू रहेको यस उपन्यासमा अध्याय विभाजन नगरिएता पनि यसमा बीच बीचमा रहेका खाली ठाउँलाई अर्को नयाँ परिच्छेदका रूपमा मान्न सकिन्छ। कुनै घटना र प्रसङ्ग समाप्तिपछि एउटा खाली ठाउँ (स्पेस) दिएर अर्को घटना-प्रसङ्ग थालिएको पाइन्छ। उपन्यासको शुरूआत् काजीरङ्गामा गोठालाहरूको उच्छेददेखि लिएर कथावस्तु तीव्र गतिमा अघि बढेको छ। उपन्यासभित्र भेषभूषा, संस्कार, चिन्तन, खानपीन, मनका तर्कना, दैनन्दिनका घटना वर्णन, घरेलु व्यवाहिक पक्ष आदि सबैको उल्लेख पाइन्छ। कथा तत्व कहिले मन्द गतिमा र कहिले तीब्र गतिमा अघि बढेको पाइन्छ। यसमा लगभग चालिसदेखि पचास वर्षको कालावधि रहेको देखाइएको छ।
- उपन्यासको ऐतिहासिक कथावस्तु
उपन्यासको कथावस्तु असमको प्रसिद्ध स्वाधीनता सेनानी छविलाल उपाध्यायको जीवनलाई आधार बनाएर तयार पारिएको छ। यसमा उनको यौवनावस्थादेखि लिएर उनको मृत्युपर्यन्त कथावस्तु विस्तारित भएको छ। यसको कथावस्तुको मूल खम्बा मूल पात्र हो भने उनकै वरिपरि नै कथावस्तु बुनिएको छ। यसको कथावस्तुको तीन चरणलाई यसरी विभाजन गर्न सकिन्छ- काजीरङ्गामा गौपालन प्रतिवन्ध कानून लगाएर त्यसलाई आरक्षित जङ्गल तुल्याएर रातारात त्यहाँका मानिसहरूका गाईगोठ र घर उच्छेद गर्दा मानिसहरूमा परेको प्रभाव र यस कुरामा छविलाल उपाध्यायले चिन्तन, सरसल्लाह गर्नु यसको आदिभाग, काजीरङ्गाको प्रभावस्वरूप असम सम्मेलन असम प्रदेश काँग्रेस कमिटिको गठन, त्यसको नयाँ कमिटिको सभापतिका रूपमा छविलाल उपाध्यायको भूमिकादेखि लिएर भारतको स्वाधीनता सङ्ग्राममा उनीलगायत अन्य विभिन्न व्यक्तिहरूको योगदानको चर्चा, उनी दुईपल्ट जेल चलान गरिएको इत्यादि मध्यभाग र उनी जेलयातना भोगिसकेर भारतमा जल्दो-बल्दो रूपमा स्वतञ्त्रता सङ्ग्रामको चर्चा, अखिल भारतीय गोर्खा लीगको असम शाखा गठन, तेजपुरमा यसको महाधिवेशनको चर्चा, गोर्खालीगको सात सदस्यीय टोलीमा छविलाल आदिको काठमाडौं भ्रमण चर्चा, भारतले स्वतञ्त्रताको लक्ष्य हासिल गरेको, महात्मा गान्धीको हत्यादेखि लिएर उनको देहान्तसम्मको कथालाई अन्त्यभाग मान्न सकिन्छ।
प्रस्तुत उपन्यासमा दोस्रो, तेस्रो र चौथो दशकको असमको सामाजिक, राजनैतिक, शैक्षिक, भौगोलिक स्थितिको रूपरेखा कोरिएको छ। तत्कालीन असमको पातलो जन-घनत्व, विकास कार्यको न्यूनता, सवारी साधनको घोर अभाव, प्रशस्त अन्नपानीको पौल, गौपालन र त्यसबाट प्राप्त आम्दनीका साथै गौपालनसम्बन्धी बेला बेलामा उब्जिरहने समस्या, सरकारी नीतिको कठोरता, समाजमा जातीय सौहार्दता र सन्तुलन, मानिसहरूको दिनचर्या आदिबारे धेरथोर मात्रामा प्रकाश पारिएको छ। उस बेला सवारी साधनको रूपमा हात्ती, घोडा, गोरूगाडी र नदी पार गर्न नौका र जहाज मात्र थिए। रेल चाहिँ गौहाटीसम्म मात्र आइपुगेको थियो।
ऐतिहासिक सहभागी र सहभागिता
उपन्यासको पात्रत्वका रूपमा प्रदान गरिएको सहभागी चरित्रको चित्रणमा उपन्यासकारले निकै सचेतता देखाएकी छन्। यसमा स्वतञ्त्रता सेनानी छविलाल उपाध्यायमा केन्द्रित रहेकाले यसको पात्र-विधान व्यक्तिप्रधान किसिमको रहेको छ। आख्यान चिन्तक इ. एम. फोर्स्टरले वर्गीकरण गरेको गोलो र च्याप्टो पात्रका भेदमध्ये यस उपन्यासको पात्रविधानअनुसार यसका मुख्य पात्र छविलाल उपाध्यायको चरित्र परिस्थितिअनुसार परिवर्तन नभई सदा एकनासी हुनाले उनी च्याप्टो पात्र हुन्। पाठकमा सहानुभूति, विश्वास र आदर्श भाव जगाउन सक्षम रही उपन्यासको केन्द्रीय पात्र हुनाले उनी मुखपात्र बनेका छन्। यसमा उनकै चारित्रिक विशेषतालाई ध्रुवीकृत गरिएको छ। उनी आफ्नो मनको कुरा अरूलाई सहजै व्यक्त गर्ने, बाह्य र सामाजिक गतिविधितिर उन्मुख हुने तथा तुरून्त निर्णय लिन सक्ने र प्रफुल्ल मानसिकता भएका उनी बहिर्मुखी चरित्रका हुन्। यसमा पनि मनमा भावनाभन्दा विचारको प्रमुखता भएको हुनाले मनोवैज्ञानिक पात्र वर्गीकरणअनुसार उनको चरित्रलाई विचारप्रधान बहिर्मुखी पात्र मान्न सकिन्छ। यसै गरी मुख्य पात्र छविलालको चरित्रलाई फ्रायडेली वर्गीकरणअनुसार उनी विवेकी, आत्म संयमी, विचारशील, नैतिकवादी, निष्ठावान, अनुशासित र तर्कलाई प्रमुखता दिने सुपर-इगो चरित्रका हुन्।
नेपालको इलाम जिल्लाको एउटा गाउँ इरौंटारबाट श्रीकृष्ण घिमिरेका छोरा काशीनाथ घिमिरेले आफ्नो सम्पूर्ण जाय-जेथा लिएर आसाम पसेका थिए। त्यहीँ नै उनका छोराहरू भीमलाल, छविलाल, हरिप्रसाद, रामलाल, गोविन्द जस्ता योग्य छोराहरू आसामकै शोणितपुर जिल्लाको बिहालीमा जन्मेका थिए। उनीहरूको आफन्त, नाता-गोता र सन्तानले आसामका विभिन्न ठाउँमा रही योग्य ठाउँमा पुगेका छन्। छविलालका छोराहरू टङ्कनाथ, भवानीप्रसाद पनि सुयोग्य पुत्र बन्नसकेको तथ्य प्रस्तुत गरिएको छ। टङ्कनाथ आफ्नो ठुलो कारबार सम्हाल्न बर्मासम्म पुगेका छन्। उनी पढाइपट्टिभन्दा बढी नाटक गर्छन्, गीत लेख्छन्, साहित्यमा रूचि राख्छन्। यसबाट उनी आफ्ना शिक्षाप्रेमी बाबुसित डराएका छन्।
चरित्रको उदात्तीकरण
गीता उपाध्यायको प्रस्तुत उपन्यासमा मूल नायकलगायत प्रायः सबै पात्रहरूको उदात्तीकरण गरिएको छ। छविलाल उपाध्याय एक सच्चा समाजसेवक, निष्ठावान पति, कर्तव्यशील चरित्र, सपर्पित राजनेता, निष्कलङ्क र उदात्त चरित्र, आदर्श पुरूष, दानी, अतिथि सत्कार गर्ने, सबैको सधैंको सहयोगी, सहनशील व्यक्तित्व र सम्पन्न घर गृहस्थीका रूपमा उतारिएको छ। प्रशस्त खेती-पाती, गौपालन, घरमा एउटा हात्ती र दुईवटा घोडा पालेको, घरमा प्रायः पाहुना आइरहने र तिनको समुचित आदर-सत्कार गर्ने सम्पन्न व्यक्तिका रूपमा देखाइएको छ। उनकी श्रीमती धनमाया पनि कुशल गृहिणी, सुशीला, अतिथि सत्कारमा सदैव पछि नहट्ने, घरका सम्पूर्ण कुराको देखभाल गर्ने, घरमा आइपर्ने सबै कुराको अगाडि नै सोंच-विचार गर्ने, पारिवारिक शान्ति-श्रृङ्खला र मेलमिलाप कायम राख्ने एक आदर्श नारीको रूपमा उतारिएको छ। यसमा उपन्यासका मूलनायक छविलाल र उनकी श्रीमतीबाहेक उनका भाईहरू पनि उत्तिकै आदर्श पुरूषका रूपमा चरित्राङ्कन गरिएको छ। हरिप्रसाद पनि दाजु छविलालकै मातहतमा रही सहयोग गर्ने, स्वत्रञ्त्रताको आन्दोलनमा उत्तिकै सक्रिय योगदान दिने, प्रत्येक सभा र जुलुस आदिमा सहभागिता जनाउने, दाजुसँगै जेल जाने उत्तिकै आदर्श पुरूषका रूपमा देखाइएको छ। अर्का भाइ रामलाल पनि सधैं दैनिक समाचार पत्र-पत्रिका अध्ययन गर्ने, भारतको स्वाधीनता संग्रामको हरेक गतिविधि र गान्धीको कार्यकलाप र रणनितीबारे जानकारी हासिल गरेर गाउँ-घर र जनतामा स्वतञ्त्रताको भावना सञ्चार गरिदिने काम गरेका छन्। उनी पनि दाजु सँगसँगै जेल यात्रा पनि गरेका छन्।
उनी एक सामान्य राजनैतिक साँचा र निष्ठावान नेता मात्र नभई एक सचेत समाज सेवक, सुधारक, शिक्षाप्रेमी, जातिप्रेमी पनि थिए। समाजमा रहेको अन्यायको विरोधमा आवाज उठाउँथे, वकील पक्रेर कानुनी लडाईँ गर्थे, भाषणमा व्यक्त गर्थे। उनी एक सच्चा समाज सुधारक तिए। समाजमा विद्यमान कतिपय कुसंस्कार, रूढी र कुप्रथालाई हटाउन जीवनभर लागिपरे। पहिलो रजस्वलाभन्दा अघि नै कन्याको बिहा भइसक्नु पर्छ नत्र उक्त बालिकालाई कसैले बिहे गर्दैन भन्ने सामाजिक रूढीलाई उनले हटाए। आफ्नै छोरासित उसको बिहा गरिदिने व्यवहारिक रूपमा नै उनी आफैं उदाहरण बनेर त्यस्ता कतिपय कुप्रथा हटाएका थिए।
- परिवेश
प्रस्तुत उपन्यासको परिवेश विधान पनि ऐतिहासिक पृष्ठभूमिमा आधारित छ। यसको कालिक परिवेश बीसको दशकदेखि सत्तरीको दशकसम्मको घटनादिलाई लिइएको छ। ब्रह्मपुत्र नदीको किनारदेखि केही परको गाउँ माझगाउँ-बिहालीको ग्रामीण परिवेशमा यसको मुख्य भौगोलिक परिवेशको रूपमा रहेको छ। यसमा उपाध्यायको उमेर लगभग तीस वर्ष जतिको देखिन्छ भने उनी नब्बे वर्षभन्दा बढी उमेरसम्म बाँची सन् १९८० मा स्वर्गवास भएको उल्लेख पाइन्छ। राजनैतिक परिवेशका रूपमा भारतमा अँग्रेजहरूको शासन, नयाँ नयाँ कानुनबाट जनतामा परेको पेशागत समस्या र जनतामा त्यसप्रतिको रोष, भारतको स्वतञ्त्रता संग्राममा महात्मा गान्धीको पदार्पण र उनको नेतृत्वको देशमा परेको प्रभावबाट आन्दोलन चर्किएको प्रसङ्ग, असममा पनि विदेश सामान वहिष्कार, असहयोग आन्दोलन, असहयोग आन्दोलन, देशमा हिन्दू-मुस्लिम दङ्गा, महम्मद अली जिन्नाको भारत-पाकिस्तान विभाजनको प्रस्ताव आदिको प्रभावको चर्चा गरिएको छ।
सामाजिक परिवेशको पक्षमा पनि यसमा केही महत्त्वपूर्ण तथ्य छन्। समाजमा व्याप्त अन्धविश्वास, अशिक्षा, गरीबी आदिको उल्लेख पाइन्छ। छविलालले गाउँमा पाठशाला खोल्न जोड दिए, सामाजिक सुधारको निम्ति जोड दिए, गाउँलेको हक र हितका निम्ति लडिरहे। उनी समग्र असमीय समाजका सम्मानित व्यक्तित्व थिए भन्ने प्रमाण त उनी असममा काँग्रेस दलका प्रथम सभापति बनेबाट स्पष्ट हुन्छ।
उपसंहार
नेपाली साहित्यमा जीवनीपरक उपन्यासको परम्परामा गीता उपाध्यायको जन्मभूमि मेरो स्वदेश एउटा विशिष्ट उपन्यास हो। यसमा असमका प्रख्यात स्वतञ्त्रता सेनानी र गान्धीवादी नेता छविलाल उपाध्यायलाई मुख्य नायकत्व प्रदान गरी उनका विविध पक्षलाई नजिकैबाट हेरिएको छ। यसमा उनको चरित्रको उदात्तीकरण गरिएको छ भने कथावस्तुलाई जतिसक्दो इतिहाससित गाँस्दै कल्पना पनि जडान गरेर एउटा सुन्दर औपन्यासिक कृति तुल्याइएको छ। उनले समाजमा विद्यमान कतिपय कुप्रथाको उन्मूलन, जनतालाई मर्का पर्ने कानुनको विरोध, भारतको स्वतञ्त्रता आन्दोलनका केही झलक, भारतमा गोर्खालीहरूको सुरक्षा र हक हितका निम्ति एउटा राजनैतिक संगठनको आवश्यकता बोध गरी सर्वभारतीय स्तरमा गोर्खा लीगको स्थापना र त्यसको एउटा कार्यक्रमको रूपमा रहेको डम्बरसिंह गुरूङको नेतृत्वमा काठमाडौं जाने टोलीमा असमका प्रतिनिधिका रूपमा छविलाल उपाध्याय सामेल रहेका इत्यादि जस्ता केही तथ्य पनि उल्लेख पाइन्छन्। यस हिसाबले प्रस्तुत उपन्यासलाई एक अब्बल ऐतिहासिक उपन्यासका रूपमा मान्न सकिन्छ।
अति राम्रो र खोजपूर्ण भएको छ छ यो लेख।बधाई छ नवीन सरलाई।मैले पनि यश पुस्तकको असर परेर पुस्तक पाउनेसाथ पडेर आफ्नो विचार पोखेको थिएँ।पुस्तक अति नै राम्रो छ।यहाँ पौद्यालज्युको मीमांसात्मक लेख धेरै उत्तम लाग्यो।