‘गीत सरगम’ का गीतहरू गुनगुनाउँदा……
|आइतबारको दिन । कोरोनाकालीन समय । दराजभित्रका पुस्तकहरूलाई निरीक्षण गर्दै यथास्थितिको अवलोकन गर्ने प्रयासमा एउटा पुस्तकमा गएर दृष्टि अडियो । गीतकार कृष्ण क्षत्रीको ‘गीत सरगम’ । दराजबाट पुस्तक निकालेर ओछ्यानमा बसें पुस्तक पढ्न । पढ्दै गएँ, गीतमा रमाउँदै गएँ ……बिस्तारै मुटुको भित्री तहसम्म गतिलो असर पार्नथाल्यो । ध्यानमग्न भएर पढ्न थालेँ।
‘मेरो आँगन कुल्चेर तिमी हिँडिदियौ
मेरो बहार लुटेर तिमी तर्किदियौ
पैतालाका डोबहरू मेरो मुटुभरिलाई
पतझडको सन्नाटा मेरो छातीभरिलाई।’
मानव मनका सुप्त भावनाहरू निस्किन्छन् गीतकारका आफ्नै शैलीमा, आफ्नै सीपमा । नयाँ पिँढीले नयाँपनको स्वाद भेट्ने छ प्रेमिल गीतहरूमा ।
‘फूल रङ्गी-चङ्गी फुल्नेछन् यहाँ
भाइ-भाइमा मिलाप छ,
सागर-सङ्गम मिलेछ यहाँ
यो देश महान छ । ‘
उनका गीतमा राष्ट्रियताको भाव छ । भाइचारा र प्रकृतिको गुणगान छ । जन्मभूमिको बखान छ । सङ्लनभित्र सबै खालका गीत छन् । मनछुने गीतहरूले पुस्तक पढ्ने चासो अवश्य बढाउँछ ।
‘सधैँझैँ प्यारो बिहु आइरछ दैलामा
ननाची कसरी बसुँ
क्याहो कसो हो आघौँ साल के हुन्छ
आऊ सबै मिलेर नाचौँ ।
नाची-नाची गैरी खेतमा मायालु,
बिहु नाच्न लौ जाऊँ है मायालु- ल । ‘
असमको जातीय उत्सव हो बिहु । असलमा यो पारम्परिक नववर्ष हो । यसमा बिहु नृत्य भनेर एउटा लोकनृत्य छ जो यसै उत्सवसित सम्पर्कित छ । यो खुसीको नृत्य पुरुष र महिला दुवैबाट गरिन्छ । बिहुलाई गीतमा ल्याएर समन्वयको डोरी मजबुत पार्नमा पनि गीतकार क्षत्री पछि हटेका छैनन् । यी गीतहरू केवल पुस्तकमा होइन क्यासेटमा पनि बज्नु पर्दछ, केवल पढेर मात्रै होइन यी कोमल -मिठा हृदयस्पर्शी शब्दहरू मानिसले स्वर, लय, तालमा पनि सुन्न पाउनुपर्छ ।
‘केटा : तेजपुरे कान्छी,
यो कलिमा के दिन आए,
आँखा तर्ने छोडिदेऊ है बानी । लहै लहै लहै
केटी : पानपुरे कान्छा
हाम्रो घरमा लौ किन आयौ,
तिम्रो निम्ति पाक्दैन है भान्सा । लहै लहै लहै ‘
दोहोरी गीतमा असमको सांस्कृतिक नगरी भनी परिचित तेजपुरको प्रसङ्ग आएको छ भने तेजपुरकै समीपवर्ती गाउँ पानपुरलाई पनि गीतले छोएको छ । आफ्नै ठाउँको आफ्नै माटाको गन्ध छ गीतहरूमा। आफूले भोगेका, देखेका कुराहरूले गीत बनिएका छन् । तर, कृष्ण क्षत्रीको ‘गीत सरगम’ पाठकहरूसमक्ष पुगेकै छैन । पाठकहरूले पढेकै छैनन् । पाठकहरूले गीत गुनगुनाएकै छैनन्। गीतहरूको उचित मूल्याङ्कन भएकै छैन ।
‘रोएर आँखा जिउनु हैन जीवन
पिएर आँसु जिउनु हैन जीवन। ‘
जीवन भनेकै सङ्ग्राम हो । जीवन भनेकै संसारलाई सुन्दर तरिकाले हेर्ने उपाय हो । आँखाभरि आँसु पारेर जिउनु भनेको जीवन पटक्कै होइन। जीवनलाई सुन्दर तरिकाले जिउनुपर्छ भन्ने आह्वान गरिएको यस गीतमा गीतकारको भोगाइ र अनुभव छ ।
कुल १६० गीतहरू सङ्कलित ‘गीत सरगम’ मा आधुनिक र युगल गीतहरू सन्निविष्ट छन् । विशेषगरी लोकलयका गीतहरू राम्रा छन् । उनका गीतहरूमा विस्थापित जीवनका छिर्का पाइन्छन् भने यौवन र आनन्दका सुस्केराहरूको धुन पाइन्छ । कुनैमा हर्ष – विषाद, हाँसो-रोदन, हार-जीत कतै कतै प्रेमिकाको व्याकुलता छ, प्रेम- प्रीति, राग-विराग-अनुराग, बालापन-बैँस-बूढ्यौलीपन, प्राप्ति-अप्राप्ति, घात-प्रतिघात-संघात छ भने कतै सान्त्वनाका स्वरहरू पनि पाइन्छ ।
प्रचारको हावाले छुन नसकेको अनि आफू पनि प्रचारदेखि निकै टाढा बस्न मन पराउने कृष्ण क्षेत्रीको घर असम राज्यको शोणितपुर जिल्ला अन्तर्गत रङाचकुवा हो । यस कृति अगावै उनले अङ्ग्रेजीको कविता पुस्तक ‘Some Un-Poems : From an Un-Poet ‘ (Short English Poems) निकाली सकेका छन् । सम्पादन क्षेत्रमा पनि धेरै काम गरेको थाहा लाग्छ । शोणितपुर (तेजपुरबाट प्रकाशित, सन् १९८२), सभा पत्रिका (असम नेपाली साहित्य सभा, २०१२) आदिमा सम्पादनको छाप छोड्न सक्षम भएको थाहा लाग्छ । तर उनलाई सम्पादक, कवि भन्दा पनि ‘गीत सरगम’ ले एकजना सफल गीतकारका रूपमा स्थापित गरिसकेको अनुमान लगाउन सकिन्छ । त्यसैले होला असमका वरिष्ठ साहित्यकार दुर्गाप्रसाद घिमिरे मन्तव्यमा यसरी लेखेका छन् -‘गीतकारका सृष्टिशील भावनामा तरङ्गित गीतहरू खास गरी लोकलयका गीतहरू राम्रा छन् । ‘ त्यसरी नै असम नेपाली साहित्य सभाका भूतपूर्व सभापति डम्बर दाहालले पनि गीतहरू धेरै राम्रा छन् भनी शुभकामनारूपी सन्देशमा भनेका छन् । साँच्चै नै गीत सरगम’ का गीतहरू गुनगुनाउँदै खोजी होस् न यस्ता गीतकार र गीतहरूको…… ।
कृष्णनीलजी!
“गीत सरगम” आफ्नो प्रेरणादायी र गहन मन्तव्य पेख्नुभएकोमा आभारी छु धेरै-धेरै।
अब उसो,अझ धेरै हामी माझ सहृदयताको साइनो अझ कसिलो हुनेछ,मेरो मनभरिको मनोकामना ।
आगतका सम्प्रसारित संयोगहरूमा सहर्ष मनोनिवेश गर्नेछु।
सुस्वास्थ्यको कामनासहित।
कृष्ण क्षत्री,
चारपोखरी,रांगासुक।
शोणितपुर,असम।