अमेरिका नेपाल सहयोगी समाजमा नयाँ कार्य समिति
|
स्थानीय अमेरिकी नेपाली सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज ‘एएनएचएस’ को साधारण सभा अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा (पीएचडी)को प्रमुख आतिथ्यमा सम्पन्न भयो । यही अप्रिल २५ आइतवार अपरान्ह जुममार्फत आयोजित कार्यक्रमले कमल भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।
कोभिड–१९ द्वारा सिर्जित बाध्यात्मक अवस्थाले गर्दा ठूलो जन–उपस्थितिबीच खुल्ला सभा हलमा कार्यक्रम आयोजना हुन नपाए पनि जुम प्रविधिबाट उल्लेखनीय सहभागिताबीच सञ्चालन गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजूदत खतिवडाले अमेरिका नेपाल सहयोगी समाजले आफ्नो स्थापनाका बाह्र वर्ष पूरा गरी तेह्रौं वर्षमा अर्थात् भर्खर किशोर उमेरमा प्रवेश गरेको भए पनि आफ्ना विभिन्न कार्यक्रममार्फत भने संस्था परिपक्व देखिएको बताउनुभयो ।
दूतावासका गतिविधिलाई अधिकतम जनउपयोगी तुल्याउनका लागि दूतावासका जम्मा पन्ध्रजना कर्मचारीमध्ये दुईजनालाई टेलिफोन रिसिभिङ सेवामा खटाएको उल्लेख गर्दै राजदूत खतिवडाले दूतावासका धेरैजसो कार्यक्रम एवम् सूचनाहरू वेबसाइटमा नियमित राखिने गरिएको हुँदा सर्वप्रथम त्यसलाई नै प्रयोग गर्नुपर्ने र त्यसमा नभेटिएका सूचना वा जानकारीका लागि टेलिफोनमा सम्पर्क गर्दा बेहतर हुने विचार व्यक्त गर्नुभयो ।
त्यसै अवसरमा प्रमुख अतिथि राजदू खतिवडाले अमेरिका नेपाल सहयोगी समाजद्वारा पहिलोपटक प्रकाशित ‘अमेरिका नेपाल सहयोगी समाज स्मारिका २०२१’ र एएनएचएस एकेडेमीका लागि प्रकाशित ’मेरो मातृभाषा नेपाली उच्च–मध्यम तह’ पुस्तकको विमोचन कार्यक्रमका अध्यक्ष, समाजका संरक्षक, पूर्व–अध्यक्षहरू, सम्पादकद्वय, प्रकाशन समिति सदस्यहरू र सल्लाहकारहरूसमेतसँग संयुक्त रूपमा गर्नुभयो ।
निवर्तमान अध्यक्ष केदारप्रसाद तिम्सिनाको अध्यक्षतामा उपाध्यक्ष रमेश ढकालले स्वागत भाषण गर्नुभएको कार्यक्रममा समाजका संरक्षक मधुसूदन पन्थी, संस्थाका संस्थापक–अध्यक्ष सागर कँडेल, पूर्व–अध्यक्ष पदमराज रेग्मी, नेपाल अमेरिका सामुदायिक केन्द्रका प्रमुख सम्पर्क व्यक्ति (पिओसी) डा. मदन उप्रेती लगायत विभिन्न व्यक्तिहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।
यसैगरी सल्लाहकारहरू गोपाल रेग्मी, पुरुषोत्तम सुवेदी र प्रेम पौडेल, आजीवन सदस्यका तर्फबाट मञ्जु सङ्ग्रौला र मुक्तिनाथ पन्तले शुभकामना व्यक्त गर्नुभएको थियो ।
‘अमेरिका नेपाल सहयोगी समाज स्मारिका २०२१’ का सम्बन्धमा सम्पादक मञ्जु थापा र ‘मेरो मातृभाषा नेपाली उच्च–मध्यम तह’ पुस्तकका सम्बन्धमा लेखकरसम्पादक शिव लामिछानेले प्रकाश पार्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष कमल भट्टराई र महासचिव चन्द्र विष्टको सम्बोधनले सहभागीहरूलाई भावुक तुल्याएको थियो ।
निवर्तमान महासचिव हरिराम भण्डारी र सचिव आरती सिग्देलद्वारा सहजीकरण तथा शिव तिम्सिनाद्वारा प्राविधिक संयोजन गरिएको कार्यक्रमको शुरुआत क्रमशः नेपाल र अमेरिकाका राष्ट्रिय गानहरू बजाएर भएको थियो भने कार्यक्रमको बीच–बीचमा दीप्ति अधिकारी, महिमा शर्मा, ईर्षिता श्रेष्ठ, तथा सीता खरेल र सगुन लुइँटेल जोडीले आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो । विद्यार्थी रोजी गौतमले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रम अपरान्ह तीन बजे आरम्भ भई राती नौ बजे सम्पन्न भएको थियो । सभाको दोस्रो चरण बन्द–सत्रमा समाजका सम्पन्न कार्यक्रमहरूको प्रगति प्रतिवेदन महासचिव हरिराम भण्डारीले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामभक्त अधिकारीले, आगामी वर्षको प्रस्तावित कार्ययोजना वरिष्ठ उपाध्यक्ष जानु ओझाले, विधान संशोधनसम्बन्धी प्रस्ताव संशोधन समितिका पुरु सुवेदीले प्रस्तुत गर्नुभएको थियो ।
पदमराज रेग्मीको संयोजनमा बिमला निरौला, रोम ज्ञवाली र शिव तिम्सिना रहेको निर्वाचन समितिले घोषणा गरेको निर्विरोध निर्वाचित नयाँ कार्य समितिमा अध्यक्ष कमल भट्टराई, वरिष्ठ उपाध्यक्ष रमेश ढकाल, उपाध्यक्ष कामना पन्थी अधिकारी, महासचिव चन्द्र विष्ट, सचिव तनुजा पोखरेल, कोषाध्यक्ष रामभक्त अधिकारी र सदस्यहरूमा क्रमशः लक्ष्मी रेग्मी, मीनदत्त ढुंगाना, विष्णु न्यौपाने, भूपाल पौडेल, सन्तोष प्रसाईं, उत्तम अधिकारी, कमल अधिकारी र प्रेम नुवाकोटी हुनुहुन्छ ।
