धनकुटा बजारको बिहीबारे हाटः विगत र वर्तमान

कुनै निश्चित खुला स्थानमा व्यापारिक प्रयोजनका लागि ग्रामीण भेगमा हाट लाग्ने परम्परा पुरानै हो । नेपाललगायत भारत तथा पाकिस्तानमा पनि हाटको प्रचलन छ । युरोप तथा अमेरिकातिर पनि फार्मर मार्केट भनेर खुला स्थानमा तरकारीलगायतका स्थानीय उत्पादन बिक्री गर्ने चलन अद्यापि छँदैछ । नेपालमा हाट-बजारको आफ्नै पहिचान, स्वरूप र प्रयोजनमा रहेको पाइन्छ । अठारौँ शताब्दीदेखि नै नेपालमा हाट-बजारको स्थापना भई सञ्चालनमा आएका दृष्टान्त पाइन्छन् । तत्कालीन समयमा नियमित हप्ताको दुई पटक, साप्ताहिक वा पाक्षिक रूपमा हाट-बजार लाग्ने व्यवस्था मिलाइएको हुन्थ्यो । पूर्वी नेपालमा त हाट लाग्ने दिनकै आधारमा सो स्थानको पहिचान हुने गरेको देखिन्छ । आइतबारे, सोमबारे, मङ्गलबारे, बुधबारे, बिहीबारे, शुक्रबारे, शनिबारे जस्ता ठाउँको नामकरण हाट लाग्ने स्थानबाटै गरिएको हो । पाक्षिकरूपमा हाट लाग्ने ठाउँलाई पञ्चमी, नवमी, सप्तमी आदि भन्ने गरिन्थ्यो । यहाँ चर्चा गर्न खोजिएको धनकुटामा साप्ताहिक रूपमा लाग्ने बिहीबारे हाटको हो । यसै कारण धनकुटा बजारलाई धेरैले बिहीबारे भन्ने पनि गर्दथे ।

धनकुटाको बिहीबारे हाटको लामो कथा–व्यथा छ । आरोह–अवरोह, मिलन–बिछोड, सङ्घर्ष–सम्झौताका अनेकौँ अनेक पक्षसँग जोडिएको छ, बिहीबारे हाट । धनकुटा बजारमा बिहीबारे हाट कहिलेदेखि लाग्न थाल्यो, तिथिमिति त यकिन गर्न सकिएको छैन । तर, धनकुटा प्रशासनिक तथा व्यापारिक केन्द्रका रूपमा परिणत भएपछि सायद उन्नाइसौँ शताब्दीको प्रारम्भदेखि बिहीबारे हाट लाग्ने गरेको हुनुपर्छ ।

धनकुटा बजारमा बिहीबार हाट लाग्ने गरेको छ । यसको त्यस्तो विशेष कारण त छैन । तथापि, वरपरका जिल्लामा हाट लाग्ने दिन हेरेर सरकारले नै बिहीबार हाट लाग्ने दिन तोकेको हो । व्यापारीहरूलाई सबै ठाउँमा पुग्न सरल र सहज होस् भन्नका लागि सो दिन तोकिएको हुनुपर्छ । राणाकालको अन्तिम समयतिर दशैँ र तिहारभन्दा ठीक अगाडिको हाट चाहिँ बडाहाकिम निवासछेउ माथिल्लो टुँडिखेलमा लाग्थ्यो । तर, पछि यो प्रचलनबन्द भयो ।

धनकुटा बजार आसपासका गाउँ-घरमा उत्पादित अन्न घिउ सागपात फलफूल बिक्री गरी लत्ताकपडा, चिनी, नुनतेल, मसला,  भाँडाकुँडा खरिद-बिक्री गर्ने स्थान सोही हाट थियो । सागपात र तरकारी बिक्री गर्ने प्रचलन सुरू भएकै थिएन । तर, कालान्तरमा सागपात पनि बिक्री वितरण हुन थाल्यो । नत्र त आलुबाहेक अन्य तरकारीको बिक्री हुँदैनथ्यो ।

हाटमा स्थानीय सरसामानका अतिरिक्त बाहिरबाट ल्याइएका आवश्यकीय सामग्रीको पनि बजार लाग्थ्यो । अन्नमा चामल, मकै, कोदो, फापर, गहुँ, चिउरालगायतका खाद्यान्नका साथै आलु र मौसमअनुसारका तरकारीहरू बजारमा पाइन्थ्यो । मौसमअनुसारका फलफूल तथा घिउ मह आदि पाइन्थे, बजारमा । तेल, मट्टितेल, चिनी, मरमसला तथा सुख्खा फलफूल र लत्ताकपडाको व्यापार हुन्थ्यो । ओखलढुङ्गा रूम्जाटारका राडी तथाओलाङ्चुङगोलाका गलैँचासमेत हाटमा आउँथे । दलितहरूलाई निर्दिष्ट गरेको स्थानमा फलामकाऔजार तथा स्वदेशी छालाका जुत्ताबिक्रीका लागि राखिएका हुन्थे । अण्डा, कुखुरा हाँस, बोका, खसी बेच्न ल्याउने गर्दथे मानिसहरू । मासु चाहिँ रागाको मात्र पाइन्थ्यो हाटमा तर आजभोलि भने सबै किसिमका माछामासु पाइने गरेको छ । फलामका हातहतियार, माटो तथा काठबाट बनेका भाँडाकुडाँ, राडी-पाखीहरू र अन्य घरायसी मालसामानहरू हाटका प्रमुख जिनिस हुन् । भोट तथा भारतमा उत्पादित वस्तुहरूको सङ्गम स्थल बनेको थियो बिहीबारे हाट । यस हाटमा पाइने एक अनौठो खाद्यपदार्थ हो, किनेमा । जुन स्थानीय राई जातिमा विशेष प्रिय खाद्य वस्तु हो । यो भटमासलाई Fomentation गरी बनाइन्छ । यसको बास्ना सबैलाई मन नपर्न सक्ने भएकाले कतिपयले यसलाई रूचाउँदैनन् । यस्तै प्रकारको खाद्यलाई जापानमा नेट्टो (Netto) भन्दछन् यसमा भिटामिन ई पाइन्छ जुन हड्डी मजबुतबनाउन सहयोगी मानिन्छ । यस अर्थमा यो खाद्यपदार्थ उपयोगी छ । यसका लागि हाम्रा पूर्वजप्रति हामी कृतज्ञ हुनै पर्दछ ।

धनकुटा प्रशासनिक केन्द्र भएको हुँदा कर्मचारीहरूको बाहुल्यता थियो । हप्ताभरिका लागि कर्मचारीहरू आफूलाई आवश्यक पर्ने सरसामान यसै हाटबाट जोहो गर्ने गर्दथ । त्यसैले धेरैपछिसम्म बिहीबार सरकारी कार्यालय १ बजेदेखि मात्र प्रारम्भ हुन्थे भने स्कुल कलेज बिहीबार आधा दिनमात्र या विहानको कक्षा संचालन हुन्थ्यो ।

बिहीबारे हाटको समय बिहान नौ बजेदेखि प्रारम्भ भएर दिउँसो तीन/चार बजेसम्म रहन्थ्यो । टाढाका मानिसहरू त हाट लाग्ने दिनभन्दा अघिल्लै दिन रात नै बस्नेगरी पनिआउँथे । दिनको १२ बजेदेखि १ बजेसम्म हाटको व्यापार उत्कर्षमा पुग्थ्यो ।

हाटबजारमा कति मानिसको सहभागिता हुन्थ्यो त्यसको यकिन गर्न त सकिएको छैन तर धेरै परबाट हाट कराएको प्रस्ट सुनिन्थ्यो । हाल हाटमा सहभागीहरूको सङ्ख्या कम हुँदा हाट कराउँदो रहेनछ । बिहीबारे हाट किनमेल तथा खरिद-बिक्रीगर्ने स्थलमात्र थिएन, गाउँघरमा समाचार आदानप्रदान गर्ने तथा मनोरञ्जनको स्थल पनि थियो ।

यहीबिहीबारे हाटमा मानिस भेटघाटका लागिआउने गर्दथे । त्यसबेलाआजको जस्तो समाचारका माध्यम थिएनन् । त्यसैले मानिसबाटै सन्चो बिसन्चोको खबर आदान प्रदान गर्ने चलन थियो । हुलाकी पनि चिठीपत्र वितरण गर्न यसै हाटमा आइपुग्थे । अझै रमाइलो कुरा, विवाहका लागि केटा र केटीको देखाभेट गराउँदा पनि बिहीबारे हाटलाई नै प्रयोग गर्दथे, मानिसहरू । यही बिहीबारे हाटमा मायाप्रिती गाँसिएर कतिको घरजम हुन्थ्यो भने कतिको घरबार पनि बिग्रन पुग्थ्यो । हाटको एक कुनामा बिहानैदेखि स्थानीय मदिराको बिक्री-वितरण हुन्थ्यो । हाटका दिन मानिसहरू दिउँसै लरखराउँदै हिँडेका पनि देखिन्थे ।
धनकुटा बजारको अर्थतन्त्रमा बिहीबारे हाटको ठूलो योगदान रहेको थियो । बिहीबारे हाटकै कारण पनि तल्लो कोप्चे र माथिल्लो कोप्चे व्यापारिक केन्द्र जस्ता भएका थिए । यही बिहीबारे हाटले धेरैको गुजारा चलाएको थियो । समग्रमा भन्नु पर्दा चियादेखि सुनसम्मको व्यापार हुन्थ्यो, हाटमा । धनकुटाको बिहीबारे हाट किरात, खस र नेवारहरूको सङ्गमस्थलबनेको थियो ।

सम्बत् २००७ सालदेखि बिहीबारे हाटको रौनक क्रमशः घट्दै जानथालेको छ । यसकाप्रमुखकारणहरूहुन् ः

धनकुटाको हिले नै व्यापारिक केन्द्र भएपछि आसपासकामानिसहरूलाई किनमेलकै लागि धनकुटा बजारको बिहीबारे हाटसम्म झरिरहनुपर्ने अवस्थानआउनु,

साग-सब्जी तथा खाद्यान्न बजारमा सहज उपलब्ध हुँदा मानिसहरूलाई बिहीबारे हाट नै कुर्नुपर्ने अवस्था नरहनु,

जिल्लाका अन्य धेरै बस्तीहरू यातायातले जोडिएपछि मानिसहरूलाई बास तथा किनमेलका लागि धनकुटा बजार आइरहनु नपर्नु,

यातायात तथा सञ्चारको विकासले भेटघाट तथा समाचार आदान प्रदान गर्न बिहीबारे हाट धाइरहनु नपर्नु,

समयक्रमसित धनकुटाको हिले बजारमा रूपानतरण हुँदै गएपछि हिले बजारको साप्ताहिक हाट पनि बिहीबार नै लाग्नथालेको ।

विसं २००७ सालभन्दापहिले हाट लाग्ने क्षेत्रमा निर्दिष्ट स्थान दलितहरूका लागि तोकिएको हुन्थ्यो । हाट लाग्ने मूल स्थानमा प्रवेश गर्न उनीहरूले पाउँदैन थिए । तर, यो विभेद २००७ सालपछि कायम रहेन । विसं २०३५ सालदेखि तराईबाट समेत व्यापारका लागि व्यापारीहरू धनकुटा आउन थाले । पूर्वाञ्चलविकास क्षेत्रको सदरमुकाम नै धनकुटा तोकिएपछि त बिहीबारे हाटको रौनक झनै बढेको थियो । तर, मोटरबाटो तयार भएपछि हाटको गरिमा क्रमशःकम हुँदै आयो ।

धनकुटाबजारको अर्थतन्त्रमा यस हाटले ठूलो टेवा दिएको थियो । बन्द व्यापारका कारण बजारको चहलपहल पनि निकै थियो तर क्रमशः घट्दै गयो । त्यसपछि भने धनकुटाका व्यापारीहरूले वैकल्पिक रोजगारीको खोजी गर्न थाले । कति त बसाइँ सरेर गए । धनकुटा बजारमा कुनै माडवारी व्यापारी थिएनन् । अन्य पहाडी बजारमा माडवारी व्यापारी पुगेकाभए पनि धनकुटामा नपुग्नुको कारण के होला ? यो जिज्ञासाको विषय बनेको छ ।

वास्तवमै धनकुटा बजारको बिहीबारे हाट खस, नेवार र किरात जातिकै सङ्गमस्थल थियो । हाटमा यीती नै जातिका मानिसहरूको समान सहभागिता हुन्थ्यो । एक किसिमले जातीय हार्दिकताको अनुपम नमुना थियो बिहीबारे हाट । विगतमा विविधतामा एकता कायम राख्न सफलभएको उक्त ऐतिहासिक स्थल हाल अतीतको गौरव जपेर बसेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *