विज्ञानभनेपछि ज्वरो आउने मान्छे अहिले त्यही बिज्ञानमा डुबेको छु..

काठमाडौं, गैरिधारामा जन्मिएर कन्क्रिटको जङल वरिपरि हुर्किएँ । हुर्किदै गर्दा यता-उता  डुल्न जाने भन्ने नि कहिले भएन, आर्थिक वा तार्किक हिसाबले । कहिलेकाँही बुढानिलकण्ठ मन्दिर जाँदा जङल, खोलानालाहरु देखिन्थ्यो । रमाइलो लाग्थ्यो । तेही खोलानालातिर हुन्थे सयौं चराहरु । फुर्र-फुर्र उढ्दै आकाशमा रमाइ रहेका । त्यसबेला चराहरुको खासै मत्लब हुँदैन थियो ।

के कसो भन्ने बुझिन्न थियो । जनावरहरुको संसारबाट टाढै थिएँ ।

घरमा बस्दा त झन खासै केही देखिदैन थियो । घर छेउको रुखमा एक जोडी कागले गुँड  बनाएको थियो । हाम्रो घरको छतमा लुगा सुकाउन वा अचार सुकाउन जाँदा मलाई ठुङ्न आउथ्यो । टाउकोमा धेरै पटक ठुङेको थियो । रिस त उठ्दैन थियो, उस्ले नि आफ्नो बच्चाहरुको सुरक्षाको लागि नै गरेको हो जस्तो लाग्थ्यो । आमा र दिदी जाँदा भने केही गर्दैन थियो । मलाई भने किन हो ठुङेर माथि बस्नै दिंदैन थिए  ।

त्यसैले चराहरुसँग खासै लगाभ थिएन । कुकुर भने धेरै  मनपर्छ। सानो छँदादेखि घरमा कुकुर नभएको समय मलाई थाहा छैन ।

अँ बाँदर, बाँदरदेखि त सधैं डर लाग्ने, छिमेकमा एक जनालाई बाँदरले टोकेर टाउकोमा नराम्रै घाउ बनाइ दिएको थियो, झन त्यसपछि त पशुपती वा स्वयम्भु नजिक जाँदा बाँदर भनेपछि सात्तो जान्थ्यो । नारायणहिटी नजिकै भएकोले, उ बेलाको दरबार बाहिरका रुखमा उल्टो झुन्डेर बस्ने चमेराहरु कहिले-काहीं हाम्रो घर तिरको आकाशमा नि उढ्थे । नभए त्यो बाटो हिड्दा सधैं अचम्म मान्दै माथि हेर्थें । कस्तो बिचित्रका जनावर, उल्टो झुन्डेर बस्ने ! त्यो बाटो हिड्दाको मेरो आकर्षण नै त्यही थियो ।

हुर्किदै गर्दाको घरका माटोको भित्ताहरुबाट कहिलेकाहीं सर्प निस्किंन्थे । आमाले कपडामा आगो लगाएर सर्प भगाउनुहुन्थ्यो । “मार्न हुन्न बिचरालाई , यसले टोक्छु भनेर आउने हैन, हामीले जिस्काए चलाए मात्र टोक्ने हो” भन्दै।

त्यती बेला जनावर प्रती घृणा नि कहिले भएन, तर तटस्थ भावनाहरु थिए ।

घरमा एउटा थोत्रो ब्ल्याक एण्ड व्हाइट टि.भी थियो । कुन साल हो त थाहा भएन, तर सानै हुँदैको कुरा हो, टीभी च्यानल (केबल) राख्ने कुरा भयो । स्पेस टाइम नेट्वर्क भन्ने भर्खर खुलेको थियो । अनी लाजिम्पाटमा अफिस भएकोले त्यो सबै एरियामा प्रचार गरिएको थियो । हाम्रोमा नि केबल आयो।

शुरुशुरुमा त सधैं कार्टुन हेरेर बिथ्यो। कार्टुन नेट्वोर्कसमा टम एण्ड जेरी, सट क्याट्स, डेक्स्टर्स ल्याब र अरु पनि।

बाले समचार र हिन्दी चलचित्र हेर्नुहुन्थ्यो । कहिले काही अल्छि लाग्यो भने डिस्कभरी वा न्यास्नल ज्योग्राफी हेर्नुहुन्थ्यो । बाले त्यो लगाउँदा भने म पनि सँगै बसेर हेर्थे । चिताले मृग लखेटेको र समातेको हेर्न धेरै मजा लाग्थ्यो । आमा भने छेउमा बसेर खायो बिचराको बच्चालाई भन्दै बस्नुहुन्थ्यो ।

आखिरमा उस्ले नखाए उस्का बच्चा नि मर्ने फेरी…

प्रकृति नियम नै तेस्रै रहेछ।

त्यहाँबाट बिस्तारै जनावरहरु मन पर्दै गए । सबैभन्दा मनपर्ने सर्प थियो ।

न हात छ न खुट्टा, सलल बघेर च्याप्प भागुता वा अरु जनावर समातेको हेर्न धेरै मन पर्ने। न्यास्नल जोग्राफीमा बिहान ७ बजे तिर स्नेक र्याङ्लर भन्ने कार्यक्रम आउथ्यो, त्यो लगभग हरेक दिन नछुटाइ हेर्थे । स्कुल जान अगाडि त्यो मेरो दैनिकी नै थियो ।

पछी जेफ क्रोविन, हेसुस रिभास, र विश्वप्रख्यात स्टिभ अर्विनको शोहरु हेर्न थालें । स्टिभ अर्विनले गोही समातेको देखेर डर तथा आस्चर्य उतिकै लाग्थ्यो । तर मन मनै, यस्तै गर्न पाए हुन्थ्यो जस्तो नि लाग्थ्यो। तर  त्यति बेलाको मलाई , त्यो गोहीले शायद एकै सासमा खान सक्थ्यो होला।

भोली पर्सी ठुलो भएर यस्तो  गर्छु भन्ने नि थिएन। खासमा कसरी गर्ने हो भन्ने थाहा थिएन। पढ्न पर्छ होला त्यस्को लागि जस्तो लाग्थ्यो, र म पढेर खान सक्ने जस्तो विद्यार्थी हुँ जस्तो आफैंलाई लाग्दैनथ्यो । किन हो म आफैंलाई एसएलसी समेत पास गर्न सकौंला जस्तो लाग्दैनथ्यो ।

अझ त्यस्ता जीवजन्तुसँग सम्बन्धित काम गर्न शायद बिज्ञान नै पढ्न पर्थ्यो होला जस्तो लाग्थ्यो । त्यो मेरो बसको बिषय थिएन ।

गोही समात्ने त टाढाको कुरा सर्पसम्म पाए चाँही समात्थें होला जेफ क्रोविनले समातेको जस्तो लाग्थ्यो । एक चोटि घरमा त्यही पहिलेपहिले आउने सर्प पर्खालमा देख्दा ४ कोस पर भागें। त्यस पछी लाग्यो त्यो काम म बाट हुन्न । हुन त त्यो सानै छँदाको कुरा थियो। सर्पको बारे जती थाहा थियो त्यो त्यही टेलिभिजनमा देखिने शोहरु हेरेर थियो, त्यो भनेको केही नि थाहा थिएन । त्योबेला टेलिभिजनमा बोलेको अंग्रेजीमा भरर भनेको सर्पका विवरण पनि राम्ररी कहाँ बुझिन्थ्यो र ?।

पछि पछि बिस्तारै टेलिभिजनमा देखाइएका शोहरु बुझ्दै जादै थिएँ । तर जब बुझ्न थाले, त्यो घरमा आउने सर्प नि आउन छोड्यो। वरिपरिका हरिया जङल र झ्याङहरुमा बिस्तारै महल बन्न थाले। शायद त्यो सर्प बस्ने गरेको प्वाल नि टाल्ली सकेको थियो ।

धेरै बर्ष सम्म त्यही नियमित चराहरु, कहिलेकाहीं डुल्न आउने बाँदर बाहेक अरु केही जनावर नै देखिएनन् । काग धेरै बर्षसम्म त्यहीं थियो । पछि-पछि त्यो कागले पनि मलाई ठुङन छोडि सकेको थियो । शायद आफ्नै रहेछ यो भन्ने लागेको थियो होला ।

कती बर्ष वा कती कक्षामा पढ्दाको कुरा हो थाहा छैन, तर एक साँझ घरको बरण्डामा बसेर रोडतिर नियाल्दै थिएँ । हाम्रो घरको तल एउटा सानो पसल थियो । बरण्डाको भित्तामा त्यो पसलको साइनबोर्ड राखेको थियो, स्टिलको साइनबोर्ड जुन घरबाट बाहिरतिर निस्किन्थ्यो, छेउबाट देख्ने गरी । म रोडमा गुढेका गाडीको गतीमा डुबी राख्दा, मेरो आँखै अगाडि त्यही बोर्ड्मा एउटा सेतो कुरा उढेर आएर बस्यो । म झस्याङ भए ।

सात्तो नै गयो ।

चिचाउन मात्र बाँकी थियो ।

“आमा” भनेर कराएँ ।

म कराएको सुनेर त्यसले टाउको फर्लक्कै घुमायो, मनाउ ३६० डिग्री नै घुमाएको जस्तो।

मेरो अगाडि सेतो मुहारमा कालो टाउको भएको चरा थियो । तर त्यो अरु चरा जस्तो थिएन । ट्वाल्ल परेर हेर्थ्यो, घाटी फनफनी घुमाउथ्यो र केही आवाज आए टाउको नि तल माथि गर्दै घुमाउथ्यो ।

मैले बोलाएको सुनेर आमा दौडिदै आउनुभएको थियो । तर एक्कासी अर्को मान्छे आएको देखेर त्यो चरा उढेर गयो । के भयो भन्दै आएको ले मैले उ त्यहाँ के चरा छ भने र त्यो सुन्न नपाई आमाले ए उल्लु आएछ, कहाँबाट आएछ यहाँ भनेर अचम्म मान्नुभयो ।

उल्लुको बारे त सुनिएको त थियो, तर त्यो मेरो पहिलो अवलोकन थियो उल्लुको । त्यो बेला के कसो भन्ने नि थाहा थिएन । पछी प्राणीशास्त्रमा स्नातक गर्ने बेला थाहा भयो त्यो ‘बार्न आवल’ रहेछ ।

त्यो उल्लु पछि पछि नि धेरै पटक आउँथ्यो, एक हिसाबले उस्लाई हामीसँग बानी पेरिसकेको थियो । पछि बास त्यहीं हुन थाल्यो ।

त्यो नै शायद अली रोचक जनावर थियो होला जुनसँग मिलन वा संगत नै भएको थियो । काठमाडौं त्यसपछि झन धेरै कन्क्रिट बन्दै गयो । देखिने जनावरहरु हराउँदै गए । ति राजदरवार बाहिरका रुखमा बस्ने हजारौ चमेराहरु नि बिस्तारै हराउँदै गए ।

कहिलेकाहीं शोभाभगवती मन्दिर जाँदा  त्यता कछुवा देख्थे, ढाडमा अबिर दलेर राखेको, म जान्थे र यसो छुन्थें, मनौकी म स्टिभ अर्विननै हुँ।

कछुवा भने डराएर टाउको लुकाउँथ्यो । त्यता तिर जाँदा म सधैं त्यो माथिको मन्दिरमा कछुवा खोज्न भनेर जान्थें । कहिलेकाहीं नदेख्दा नरमाइलो लाग्थ्यो । कहिलेकाहीं त लाग्थ्यो, बोकेर घर नै लिएर जाउँ र पालौं।

कहिलेकाहीं धुम्बराही हजुरआमाको घरमा बस्ने गरी जाँदा धोबिखोला पारी राती स्याल कराएको सुनिन्थ्यो। मलाई त कोही रोएको कराएको जस्तो लाग्थ्यो, काकाहरुले स्याल हो भनेको भएर थाहा पाएको थिए । देख्न भने कहिले पाएको थिएन । डर पनि लाग्थ्यो खाइ पो दिन्छ कि भनेर, दिउसोतिर धोबिखोला डुल्न जाँदा देखिइपो हाल्छ कि भनेर आँखा घुमाउथे ।

त्यस बाहेक त्योबेला अरु जनावर खासै आएनन्, घर बाहिर आएर तर्साउने उल्लुको सट्टा पढाई र परिक्षाले तर्साउन थाल्यो । घर छेउको रुख बस्ने कागले भन्दा धेरै स्कुलमा शिक्षकहरुको लठ्ठीले हातमा ठुङ्न थाले । शोभाभगवतीमा मैले छुँदा टाउको लुकाउने कछुवा जस्तै शिक्षकहरुको कक्षामा प्रश्न सोध्दा मैले टाउको लुकाउन थालें ।


एसएलसी दिंदा सम्ममा पढाई भनेको पीडा रहेछ भन्ने भैसकेको थियो । कहिले पढ्न नपरे हुन्थ्यो जस्तो लाग्थ्यो । बल्लतल्ल एसएलसी पास भएँ । त्यसपछि के पढ्ने ठेगान थिएन, तर बिज्ञान चाँही पढ्दिन भन्ने निश्चित थियो। तर, अन्त्यमा बिज्ञान नै पढे । २ बर्ष ब्याक नलागी पास नि भएँ । कहिलेकाही आँफैलाई अचम्म लाग्छ कसरी पास भएँ ।

प्लस टु भरीको पीडा सम्झेर प्लस टु पछी जे गरे नि बिज्ञान चाँही पढ्दिन भन्ने भावना निश्चित थियो । यसपाली भने पढिन पनि ।  दिदीले एक वर्षअघि कलेज अफ याप्लाइड बिज्नेसमा बिबीए जोइन गर्नुभयो  । म नि बिज्नेसम्यान बन्छु भनेर तेतै तिर लागे । एक सेमेस्टर पढि सक्दासम्म मनमा के के कुरा खेल्न थाली सकेको थियो । आफुलाई हरिलन्ठु भएर डुलेर हिंड्न पर्ने । बिज्नेस गरेर खान्छु जस्तो नि लाग्न छोडि सकेको थियो । बैंक वा अफिसमा १०-५ जागिर खान सक्छु जस्तो नि लागेन । बिबीए दोश्रो सेम्स्टेर भर्ना त गरे, तर २/३ हप्ता हुन नपाई पढ्ने इच्छा हरायो, र छोड्ने निर्णय गरें ।

त्यसपछि  के गर्छु भन्ने ठेगान अझै थिएन, तर घरबाट नि समर्थन पाएँ । त्यस बेला के गर्ने सोच्दा सोच्दै त्रि-चन्द्रमा भर्ना गर्दै गर्छु, अनी बाले भन्या जस्तो आइ ओ यममा जाच नि दिन्छु भनेर बसेको थिएँ  ।

स्नातक सुरु गरे पछी प्राणीशास्त्रले कहाँ कहाँ मैले छोडेर आएको जनावरहरुसँग पुनर्मिलन गरायो । पहिलो बर्षसम्म त पछी गएर माइक्रोबायोलोजिस्ट बन्छु जस्तो लाग्थ्यो । प्राणीशास्त्रमा धेरै चित्र बनाउन पर्ने भएकोले पढ्न मनै थिएन । आफ्नै बा चित्रकार भए नि चित्रको चि पनि राम्ररी लेख्न भने कहिले आएन ।

तर दोश्रो बर्षमा भने ढाड भएका जनावरहरु पढ्ने क्रममा उही बच्चामा आफुले चिनेको देखेको जनावरहरु फेरी आँखा सामु आएँ । त्यो मेरो घर बाहिर बसेर मलाई ट्वाल्ल हेर्ने उल्लु मैले फेरी जुलोजी ल्याबमा ट्याक्सीडर्मीको रुपमा पाएँ । जेफ क्रोविनले समात्ने गरेको त्यो पुछर “ट्यार्र” गर्ने सर्प पनि त्यहीं देखें । स्टिब अर्विनले समात्ने गोहीको बारे पढे । राजदरवार बाहिर झुण्डिने चमेराको बारेमा पढें । माइक्रोबायोलोजी पढ्ने चाहना र सपना आँफैमा माइक्रो हुँदै मेरो जिन्दगीको माइक्रोस्कोपबाट नै नदेखिने गरी बिलिन भए ।

कता कता म भित्र मैले नै नचिनेको प्राणीशास्त्रीको, वसन्तमा पालुवा पलाए झै, म भित्रको त्यो प्राणीशास्त्री जाग्न थाल्यो । त्यो कुन दिन थियो, जुन दिन मैले म जुलोजीमै करियर बनाउछु भनेर सोचेको थिए, त्यो मलाई याद छैन, तर त्यो दिन जुन निर्णय मैले गरे, मिल्ने भए समयमा फिर्ता गएर म आँफैले आफुलाई धन्यवाद भन्थे । त्यसैबेलादेखि  पछाडि फर्केर कहिले हेरिएन ।

अहिले म यही संसारमा रमाउँछु, चरा, जनावर, बिज्ञान- विज्ञानभनेपछि ज्वरो आउने मान्छे अहिले त्यही बिज्ञानमा डुबेको छु । आफुले चाहेर म यही गर्छु भनेर नि हैन, तर शायद अवचेतन अवस्थामै त्यो बल्यकालमा न्यास्नल जोग्राफीमा रमाएर म यही गर्छु भन्ने मेरो मनले आट नगरे पनि आस चाँही गरेको रहेछ, र तेही आसले यहाँसम्म डोराएर ल्यायो । र शायद मैले यो बाटो नलिएर अरु बाटो चुनेको भए म आज जती खुशी हुने थिएन होला ।

यो प्राणीशास्त्रीको यात्रा मेरो मात्र लगानी वा अठोटले भने पक्कै भएको हैन, मेरो बा-आमाको अन्तहीन समर्थन र साहयता बिना यो सम्भब थिएन । त्यसैले यो लेख ति आमा-बा प्रति समर्पण ।

(लेखक घिमिरे नर्थ डाकोटा स्टेट युनिभर्सिटीमा प्राणीशास्त्रमा विद्यावारिधि गर्दैछन् । उनको अध्ययनको क्षेत्र, वातावरणीय दबाबले भंगेराका चल्ला वृद्धि र तिनको आयुमा पर्ने असरबारे हो ।)

https://twitter.com/mrophiophagus

Add a Comment

Your email address will not be published. Required fields are marked *