अब निरो एक्लो छैन

ए आशा बाँड्ने शासकहरू हो
हर प्रकारले आशाहरू बाँड्यौ
तर्साएर आशाहरू बाँड्यौ
लोभ्याएर आशाहरू बाँड्यौ
बेफिक्री आशाहरू बाँड्यौ
बेहिसाब आशाहरू बाँड्यौ
धेरै आशाहरू बाँडिरहँदा
दुई मुठी गाँस बाड्न बिर्सियौ
एक मुठी सास बाँड्न बिर्सियौ
अहो कस्तो विडम्बना !

ए आशा बाँड्ने शासकहरू हो
तिमी क्रेता बनेर आशाहरू बाँड्यौ
तिमी बिक्रेता बनेर आशाहरू  बाँड्यौ
तिमीले बन्दुक बोकाएर आशाहरू बाँड्यौ
तिमीले सन्दुक देखाएर आशाहरू बाँड्यौ
धेरै आशाहरू बाँडिरहँदा
थोरै  सास बाड्न बिर्सियौ
अहो कस्तो धोखा  !

ए आशा बाँड्ने शासकहरू हो
तिमी आशाहरु बाँड्न अभ्यस्त बन्यौ
तिमी लालचमा लिप्त बन्यौ
अनि तिमीले मात्र आशाहरू बाँड्यौ
धेरै आशाहरू बाँडिरहँदा
थोरै सास बाँड्न बिर्सियौ
अहो कस्तो दुर्भाग्य !

ए आशा बाँड्ने शासकहरू हो
डर लाग्दैन तिमीहरूलाई
सिंगै शहर सासै फेर्न नसकेर मर्यो भने ?!

तिम्रा आशाहरू कसलाई बाँड्छौ
सारा बस्ती सासै फेर्न नपाएर मर्यो भने
तिमीले परजीवी बनेर कसलाई चुस्ने ?
यो नगर चिर निन्द्रामा सुतिदियो भने
तिम्रो नग्न नाँच कस्ले हेर्ने ?
लौन यो सहर मसानघाट बन्यो भने
तिमीलाई काँध कसले दिने ?

ए आशा बाँड्ने शासकहरू हो !
एकादेशका शासक,
सिंहदरबार बल्दा आफू भित्र भित्रै जलेका थिए रे
टुँडिखेल ढल्दा आँफै लडेका थिए रे
शासक यस्ता पनि थिए रे
जसले धुरीका धुँवा हेरेर
जनताका भोक बुझ्थे  रे ।

ए आशा बाँड्ने शासकहरू हो !
तिमी जीवित स्तम्भहरु ढल्दा मुरली फुकिरह्यौ
बस्ती रुँदा ढोल बजाइरह्यौ
मलामी जाँदा थपडी पिटिरह्यौ
तिमीले केही गरेनौ कसरी भनुँ  ?
जीवित देवताहरूलाई टेकेर
मूर्ति शिला र शिवलिङ्गहरूमा जलप लगाइरह्यौ
तिमीले यत्ति भने गर्यौ है,
तिमीले युगले धिक्कारेको निरोलाई गुन लगाइदियौ
अब इतिहासले,
रोम जल्दा वंशी बजाइरहने निरोलाई मात्र धिक्कार्ने छैन
अब निरो एक्लो रहने छैन
अब निरो एक्लो  छैन ।

One Comment

Leave a Reply to नवीन पौड्याल Cancel reply

Your email address will not be published. Required fields are marked *